बायोमेडिकल इन्जिनियरिङको अध्ययन

बायोमेडिकल इन्जिनियरिङको अध्ययन

- शिव मुखिया

आश्विन २४, २०७१-

भविष्यमा के बन्ने भन्ने जिज्ञासामा अक्सर रेडिमेड जवाफ आउँछ— डाक्टर-इन्जिनियर । अब डाक्टर वा इन्जिनियरमध्ये एउटा विकल्प रोज्नुपर्ने बाध्यता छैन । दुवै क्षेत्रको फ्युजन कोर्स पनि गर्न सकिन्छ । जस्तो कि, बायोमेडिकल इन्जिनियरिङ ।  बायोमेडिकल इन्जिनियरिङ यस्तो विषय हो, जसमा चिकित्सा र इन्जिनियरिङ दुवै विषय अध्ययन गर्नुपर्छ । यसअन्र्तगत शरीर विज्ञानसँगै उक्त क्षेत्रमा प्रयोग हुने उपकरणका सम्बन्धमा अध्ययन गर्न सकिने सोनम सुब्बा बताउँछन् । उनी कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाई साइन्समा यही विषयमा स्नातक गरिरहेका छन् । हाँडीगाउँस्थित यो कलेज बायोमेडिकल इन्जिनियरिङ पठनपाठन हुने नेपालकै एकमात्र कलेज हो । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा उक्त कलेजले बायोमेडिकल इन्जिनियरिङको स्नातक तहको चारवर्षे कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विज्ञान विषय लिएर प्लस टुमा ६० प्रतिशतभन्दा बढी अंक हासिल गरेका विद्यार्थीले बायोमेडिकल इन्जिनियरिङ अध्ययनका लागि आवेदन दिन सक्छन् । ५० जनाको कोटा रहेको कलेजले प्रवेश परीक्षाको माध्यमबाट विद्यार्थी भर्ना लिन्छ । चारवर्षे कोर्स अध्ययनका लागि करिब ७ लाख रुपैयाँ खर्च हुन्छ । कलेजले ९ वर्षअघिदेखि नेपालमा यो विषयको पठनपाठन प्रारम्भ गरेको हो । यसअघि बायोमेडिकल इन्जिनियरिङ अध्ययनका लागि बिदेसिनु पर्ने बाध्यता थियो ।

'यो चलनचल्तीको भन्दा फरक मात्र होइन,' सोनम भन्छन्- 'रोजगार बजारमा उच्च माग भएको विषय पनि हो ।' अध्ययनपछि सोझै रोजगार बजारमा प्रवेश गर्न सकिने भएकाले यो विषय रोजेको भक्तपुरका राजेश प्रसाईं बताउँछन् । नेपालमा यो विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन नगरिएकाले स्नातकपछि धेरैजसो थप अध्ययनका लागि बिदेसिने गरेको राजेशले बनाए ।  जैविक चिकित्साजन्य वस्तु, तन्तुसम्बन्धी अध्ययन, अनुसन्धान गर्नेदेखि चिकित्सा क्षेत्रमा प्रयोग हुने उपकरण सञ्चालन गर्ने काममा बायोमेडिकल इन्जिनियरको विशेष भूमिका हुन्छ ।

यसअन्तर्गत मानव शरीर संरचनाका विषयमा गहन अध्ययन गर्नुपर्छ । त्यस्तै, सिभिल, मेकानिकल, इलेक्ट्रोनिक्सजस्ता इन्जिनियरिङका विभिन्न पाटोको आधारभूत ज्ञान लिनुपर्छ । त्यसैले यसलाई चिकित्सा र इन्जिनियरिङको मिश्रति विषयका रूपमा लिइन्छ । 'मेडिकल डाइग्नोसिस र उपचारका लागि इन्जिनियरिङको सिद्धान्त प्रयोग गरिन्छ,' सोनम भन्छन्- 'त्यसैले दुवै क्षेत्रका बारेमा राम्रो ज्ञान आवश्यक हुन्छ ।' यो बृहत् क्षेत्र भएकाले स्नातकपछि कुनै एक विषयमा केन्दि्रत हुन सकिन्छ । जस्तो कोही जेनेटिक विषयको अध्ययनतर्फ लाग्न सक्छन् भने कोही चिकित्सा उपकरणतर्फ । त्यस्तै, कोही औषधीसम्बन्धी अध्ययन एवं उत्पादनमा लाग्न सक्छन् ।

दुर्घटना वा कुनै पनि कारणबाट मानिसको अंग काम नलाग्ने भएको अवस्थामा कृत्रिम अंग प्रत्यारोपणका लागि एउटा तन्तुबाट अर्को अंग तयार गर्न यही विषय अध्ययन गर्नुपर्छ । यसैअन्तर्गत मानव शरीरमा लाग्ने रोगका कारण र निदान खोज्ने विधि सिकाइन्छ । चिकित्सा उपकरणको अध्ययन एवं प्रयोगका सम्बन्धमा पनि यो विषयको अध्ययन उपयोगी हुन्छ ।

'डाक्टरले के रोग लागेको छ भनेर पत्ता लगाउँछन्,' सोनम भन्छन्-'हामी चाहिँ रोगको निदान खोज्छौं ।' त्यस्तै, बायोमेडिकल इन्जिनियरले चिकित्सा क्षेत्रमा प्रयोग हुने उपकरणसम्बन्धी अध्ययन गर्ने र बनाउने काम गर्छन् । औषधीसम्बन्धी अध्ययन एवं उत्पादनका क्षेत्रमा पनि यस किसिमका जनशक्तिले काम गर्न सक्छन् ।  यो विषयको अध्ययनपछि कुनै पनि अस्पताल, औषधी कम्पनी, चिकित्सा उपकरण निर्माण गर्ने कम्पनीमा रोजगारी प्राप्त गर्न सकिन्छ । विश्व बजारमा यस किसिमको जनशक्तिको माग उच्च छ । विदेशमा हरेक अस्पतालमा न्यूनतम एक जना बायोमेडिकल इन्जिनियर हुनैपर्ने प्रावधान छ । यद्यपि नेपालका अस्पताल एवं स्वस्थ्य क्षेत्रमा यस किसिमको जनशक्ति विरलै राखिएको पाइन्छ ।

प्रकाशित :आश्विन २४, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्