किस्सा रक्सीको

किस्सा रक्सीको

- शिव मुखिया

आश्विन १०, २०७१

'एकताका किरण केसी, रतन सुवेदी र म खुव रक्सी पिउँथ्यौं । कतिसम्म भने थापाथलीको पुलमा बसेर रक्सी पिइन्थ्यो र त्यहीँ रात कटाइन्थ्यो ।' रक्सीको प्रसंग कोट्याउँदा हास्यकलाकार सुरेन्द्र केसी 'मुलासाग'ले सुनाए- 'एक दिन के भयो भने हामी तीन भाइ बसेर पिउन थाल्यौं, राति ११ बजेदेखि । पुलको फुटपाथमा बसेर कहिले गाउँदै, कहिले गफ गर्दै मस्तसँग पिइयो ।'

यो त्यतिबेलाको कुरा हो, जतिबेला उनीहरू करियरको एउटा उचाइमा थिए । किरण केसी '१५ गते' नामक टेलिश्रृंखलाबाट हिट भएका थिए भने रतन सुवेदीको प्यारोडी गीत जनजिब्रोमा झुन्डिसकेको थियो । सुरेन्द्र केसी पनि टेलिश्रृंखलामार्फत दर्शकमाझ छाइसकेका थिए ।

'मध्यरातपछि आसपासका पसलहरू वन्द भैहाल्ने,' हास्यकलाकार केसीले प्रसंग जोडे- 'एक दिन हामीसँग भएको चुरोट सकियो, तर किन्ने ठाउँ छैन । बिहान मिर्मिरे उज्यालो भएपछि त्यही बाटोबाट भैंसी धपाउँदै भैयाहरू आए । हामीले बिनासंकोच उनीहरूसँग नै बिंडी माग्यौं र चुरोटको तलतल मेटायौं ।'

सुरेन्द्रको परिवारमा रक्सी वर्जित थियो । खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? साथीको संगतले किशोरवयदेखि नै रक्सीको स्वाद भिज्यो, उनको जिब्रोमा । केसी भन्छन्- 'म जन्मी हुर्किएको सानेपा आसपासमा हुने भोजभतेरमा जाँड पिइन्थ्यो । नेवार साथीहरूको घरमा गएपछि छोयलाको सितनसँग धीत मरुञ्जेल पिउन पाइन्थ्यो ।'

रक्सीसँग जोडिएका थुप्रै किस्सा छन्, सुरेन्द्रसँग । घोडेजात्राका बेला साथीको घरमा भोज खान गएको प्रसंग पनि रमाइलो छ । भोजमा उनले यति जाँड पिएछन् कि उठेर हिड्नै गाह्रो । बल्लतल्ल उठेर घर र्फकंदै गर्दा लडेर कान्लामुनि पुगेछन् । त्यही बान्ता गरेर एक निन्द्रा सुतेछन् ।

भोलिपल्ट ह्याङओभर नहट्दै अर्को जात्रा । कडा मिजासका उनका बुबाले उनलाई घरको थाममा बाँधेछन् अनि, अगाडि मासु र भात ल्याएर राखिदिएछन् । 'एकातिर भोको पेट, त्यसमाथि मासुभात,' उनले सम्भिmए- 'तर खाने हात नै बाँधिएपछि र्‍याल चुहाउँदै बस्नुपर्‍यो ।'

खुसी मनाउन होस् वा दु:ख भगाउन, रक्सीको साथ खोजिन्छ । चैनमा भएका बेला होस् वा बेचैन भएका बेला नै किन नहोस् रक्सी नै चाहिन्छ । त्यसैले त पियक्कडहरू भन्छन्- 'सुख-दु:खको साथी हो, रक्सी ।'

रक्सीसँग जोडिएका रमाइला किस्साहरू सुन्न पाइन्छ, समाजमा । नारायणगोपालदेखि धुव्रचन्द गौतमसम्मका 'रक्सी किस्सा' मनोरञ्जनको खुराक बन्ने गरेको छ । हालै मात्र विजयकुमारले पनि रक्सीसँग जोडिएको रोचक घटनाहरू बाहिर ल्याएका छन् ।

होटल सांंगि्रलामा एक विशिष्ठ पाहुनालाई डिनरका लागि निम्तो गरेको प्रसंग उल्लेख गर्दैर् उनले लेखेका छन्- 'मैले त्यस दिन खाली पेटमा यति धेरै रक्सी खाएँकी, डिनर सकिँदा-नसकिँदै म हिड्नै नसक्ने अवस्थमा पुगें ।' त्यतिबेला उनीसँग आफ्नो गाडी थिएन । त्यसैले ट्याक्सी चढेर सांगि्रला पुगेका थिए । त्यसैले रक्सीले लठ्ठ विजयकुमारलाई होटलबाट अमेरिकी झन्डा फर्फराइरहेको गाडीमा बोकेर वानेश्वरस्थित डेरामा पुर्‍याइएछ । विजयकुमार लेख्छन्- 'आफूले बोलाएको पाहुनाले नै आफैंलाई बेहोस हालतमा डेरा पुर्‍याइदिएको कुरा सम्झँदा धेरै लाज लाग्यो ।' उनको पुस्तक खुसीमा यस्ता किस्सा प्रशस्तै पढ्न पाइन्छ ।

रक्सी पिएपछि मान्छेको बोली बदलिन्छ, स्वभाव बदलिन्छ, हाउभाउ बदलिन्छ । कसैलाई कविता फुर्छ, कसैलाई नाच्न मन लाग्छ । कोही रमाउँछन्, कोही उफ्रिन्छन्, कोहि भावुक हुन्छन्, कोही रुन्छन् । हास्यकलाकार सुरेन्द्र केसी भन्छन्- 'रतन सुवेदी पिउँदै गएपछि वेपत्तासँग रुन्थे । उनलाई रुन कुनै निहुँ चाहिँदैनथ्यो ।' रक्सीको पारो चढेपछि रतन सुवेदी 'भोक लाग्यो' भन्दै विनासित्ति रुने गरेको केसीले सम्झिए ।

पियक्कडहरू रक्सीलाई 'हानिकारक' भन्न रुचाउँदैनन् । उचित समयमा उचित मात्रा मिलाएर पिउनाले रक्सीले पनि स्वस्थ्यमा सकारात्मक प्रभाव पार्छ भनिन्छ । यद्यपि रक्सीको मात चढ्दै गएपछि मान्छेले सतर्कता अपनाउन आवश्यक मान्दैनन्, अनि वेपर्वाह पिउँछन् ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित भन्थे- 'मात्रा मिलाएर पिउन यो कुनै औषधी होइन । पिउनै परेपछि अनलिमिटेड पिउने हो ।' अर्का पूर्वमेयर पिएल सिंहको भनाइ पनि उस्तै छ । 'पिउनै परेपछि कि बोतल ढल्नुपर्‍यो, कि त आफू ढल्नुपर्‍यो,' उनले भनेका थिए-'होइन भने रक्सी खाने क्रम रोकिँदैन ।'

एक प्रसंगमा साहित्यकार राजन मुकारुङले मुन्धुमी संस्कारमा हुर्किएकाले रक्सीलाई अल्कोहलका रूपमा नभै औषधीका रूपमा लिने बताएका छन् । किराँत संस्कृतिमा रक्सीलाई 'सगुन'का रूपमा पस्किइन्छ । राजन आफूले लिएको ऋणको बोझबाट मन हलुंगो बनाउन पिउँछन् । एकपटक भट्टीबाट बाहिरिने क्रममा ऋणकै तनावले साथीहरूमाथि जाइलागेछन्, उनी । अहिले ती साथीहरू उनीसँग चिया पिउन पनि तर्सन्छन् रे ।

रक्सीले कसैलाई उत्तेजित बनाउँछ त कसैलाई एकदमै शान्त । 'म त रक्सी पिएपछि गौतम बुद्ध बन्छु,' संगीतकार बिजु बज्रले ठट्यौली शैलीमा भने- 'प्रतिक्रियाविहीन चुपचाप बस्ने ।' रक्सीकै कारण नराम्रोसँग थलिए पनि उनले पिउने क्रम त्यागेका छैनन् । 'ससुराली जाँदा ज्वाइँका लागि भनेर मीठो रक्सी राखिदिएका हुन्छन्,' बिजु भन्छन्- 'त्यति स्नेहपूर्वक दिएको चीजलाई अस्वीकार गर्नु त भएन नि ?'

किशोरवयमा उनले घरको पसलबाट 'पाइनापल' नामको रक्सी चोरेर घुट्क्याएको प्रसंग पनि रमाइलो छ । 'मलाई त्यसको स्वाद कस्तो होला भन्ने कौतूहल रहन्थ्यो । एक दिन लुसुक्क पसलभित्र पसें र पाइनापलको बोतल खल्तीभित्र घुसारे ।'

घरछेवैको परालको माँचमुनि पुगेर उनले बोतल रित्याए । 'सुरुमा त रमाइलो भैरहेको थियो,' बिजुले थपे- 'तर मात चढ्दै गएपछि टाउको रन्कियो, संसार घुमेजस्तो भयो ।' त्यसपछि उनी परालकै माँचमुनि ढले ।

प्रकाशित :आश्विन १०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्