बडादसैंका विविध पक्ष

- रामप्रसाद धिताल

आश्विन १०, २०७१

मुलुकमा यतिबेला बडादसैंको रमझम छ । सर्वसाधारणले घरमा राखेका दसैंघर एवं शक्तिपीठ तथा कोतघरहरूमा प्रत्येक दिन सप्तशती चण्डी पाठसहित नवदुर्गाको पूजा आराधना गरिँदैछ । घटस्थापनाका दिन दसैं घरमा छरिएका जौ अंकुराएर जमरा बन्ने क्रममा छन् ।

नेपालमा नवरात्रको दिन घटस्थापना गर्ने, नौ दिनसम्म पूजा गर्ने, देवी माहात्म्य पाठ गर्ने, शक्तिपीठ धाउने, दशमीका दिन मान्यजनको हातबाट टीका एवं जमरा लगाउने आफन्तहरूसँगको भेटघाट, खानपान आदिसहित एउटै किसिमले मनाइएको पाइन्छ । यसैगरी भारत, भुटान, बर्मा आदि मुलुकमा रहेका नेपालीभाषीहरूले पनि यही किसिमले दसैं मनाउँछन् ।

नवरात्रको महत्त्व विशिष्ट भए पनि फूलपाती, महाअष्टमी, महानवमी तथा विजयादशमी चार दिनको महत्त्व अझ बढी छ । दसैं मनाउने चलन एउटै भए पनि देशका कतिपय स्थान आफ्नै मौलिकतामा रमाइरहेका हुन्छन् । नवरात्रभरि महाकाली, महालक्ष्मी तथा महासरस्वतीका साथै भगवती दुर्गाका नौ स्वरूपको विशेष पूजा-आराधना गरिन्छ ।

दुर्गा सप्तशती पाठ

नवरात्रमा मातृशक्ति भगवतीको आराधना गरिने भएकाले उक्त अवधिभर दुर्गा सप्तशती चण्डी पाठ गर्ने परम्परा छ । मार्कण्डेय पुराणअन्तर्गतको देवी महात्म्यलाई चण्डी भनिन्छ । चण्डीमा ७ सय श्लोक भएकाले नै सप्तशति भनिएको हो । सप्तशती चण्डी मबाट सुरु भएर न मा पुगेर टंुगिन्छ । दुर्गासप्तशती मार्कण्डेय ऋषिले भगवती दुर्गाको महिमाका सम्बन्धमा वर्णन गरेको श्लोकहरूको संग्रह हो । यो १३ अध्यायमा विभाजित छ ।

शक्तिपीठको दर्शन

बडादसैंका अवसरमा महाकाली, महालक्ष्मी, महासरस्वतीका स्वरूप मानिने शक्तिपीठहरूमा दर्शन गर्ने चलन छ । काठमाडौंमा गुह्येश्वरी, शोभाभगवती, नक्साल भगवती नरदेवी (श्वेतकाली), रक्तकाली मैतीदेवी कालिकास्थान संकटा प्रमुख शक्तिपीठ मानिन्छन् । भक्तपुरमा इन्द्रायणी, नवदुर्गा, ललितपुरमा बज्रबाराही, रुद्रायणी उपत्यकाबाहिर गोरखामा मनकामना, पाल्पामा तानसेन भगवती, बाँकेमा बागेश्वरी, बाग्लुङमा माईस्थान, डोल्पामा त्रिपुरासुन्दरी, कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका भगवती, पोखरामा बिन्ध्यवासिनी, बारामा गढीमाई आदि शक्तिपीठहरूमा विशेष पूजाअर्चना गरिन्छ । अझ उपत्यकामा रहेको तलेजु भागवतीको मन्दिर त वर्षमा एकपल्ट अर्थात् दसैंको नवमीका दिन मात्र खुल्छ । शक्तिपीठको दर्शनबाट सुख, शान्ति एवं आध्यात्मिक शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

फूलपातीको महत्त्व

प्रत्येक दसैंघर, शक्तिपीठ एवं कोतघरहरूमा दसैंको सप्तमीका दिन फूलपाती भित्र्याउने परम्परा छ । कतिपय शक्तिपीठ र कोतघरहरूमा त टाढा टाढादेखि ल्याएर फूलपाती भित्र्याउने चलन छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कच्चु, बेल, अशोक एवं जयन्तीका पत्रको समूहलाई फूलपाती वा नवपत्रिका भनिन्छ । दसैंघरमा यी नौवटा वनस्पतिलाई नवरात्रको सप्तमीका दिन भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा विभिन्न देवीहरूको पूजा गर्ने विधान छ । काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती भित्र्याउने चलन छ । उता तानसेनको ऐतिहासिक पाल्पा दरबारमा पनि विधिपूर्वक फूलपाती भित्र्याइन्छ । नेपाली सेनाको गणले बाजागाजासहित फूलपाती भित्र्याउने चलन छ । पहिले-पहिले यहाँ पनि गोरखा दरबारबाटै फूलपाती लगिएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

बलिको विधान

शक्तिपीठहरूमा पशुबलि नदिन र फलफूलमात्र चढाउन आह्वान गर्दै यसवर्ष पनि विभिन्न समूहहरू बलिको विरोधमा उत्रिएका छन् । नवरात्रभरि नै बलि दिने परम्परा भए पनि सप्तमी अष्टमी र नवमीमा विशेष रूपले बलि दिने चलन छ । महाष्टमीको मध्यरातमा गरिने बलिको चर्चा शास्त्रमा विशेष रूपले गरिएको छ । अरू बेला मासु नखाने तर कुलदेवताको पूजा गरी विधिपूर्वक बलि दिएको मासुमात्र खानेहरू पनि छन् । यता जीवहिंसा गर्न नहुने मान्यताअनुरूप अहिंसावादीहरू कुभिन्डो, घिरौंलाजस्ता वनस्पतिजन्य वस्तुहरूको बलि दिन्छन् ।

महाअष्टमीमा शक्तिपीठ

विशेष गरी महाअष्टमीको रात प्रत्येक दसैंघर तथा शक्तिपीठहरूमा कालरात्रि गर्ने चलन छ । तान्त्रिक विधिअनुसार कालरात्रि गर्ने विधिका सम्बन्धमा शास्त्रमा उल्लेख छ । कालरात्रिका क्रममा कतिपय ठाउँमा बोका बलि दिइन्छ । शक्तिपीठहरूमा भने बोका-राँगा आदिको पञ्चबलि दिने चलन छ । मांसाहार नगर्ने वा अहिंसावादीहरू भने कुभिन्डो, घिरौंलाजस्ता कुराको बलि दिन्छन् । काम, क्रोध, लोभ, मोह आदि दुर्गुण अन्त्य गर्न बलि दिइएको विश्वास गरिँदै आएको छ । अर्कातर्फ बलिको माध्यमबाट पशुलाई उक्त योनिबाट मुक्ति दिएको भन्नेहरू पनि उत्तिकै छन् ।

नवरात्रमा कन्यापूजा

नवरात्रभर नवदुर्गाको पूजाका साथै प्रत्येक दिन एक-एकवटी कन्या पुज्ने चलन छ । प्रत्येक दिन फरक फरक उमेरकी कन्याको वस्त्रअलंकार सहित पूजा गर्ने विधान छ । प्रत्येक दिन कन्या पूजा गर्न अनुकूल नहुँदा नवमीका दिन नौ जना कन्यालाई पुज्ने गरिएको छ । यसैगरी काठमाडौं उपत्यकामा जीवित देवी कुमारीको दर्शन गर्ने परम्परा पनि छ । यसदिन तलेजु भवानीको मन्दिर पनि सर्वसाधारणका लागि खुला हुन्छ । काठमाडौ, ललितपुर तथा भक्तपुरका कुमारी घरहरूमा कुमारीको पूजा गर्नेहरूको घुइँचो हुन्छ । तलेजु भवानीको मन्दिरमा कुमारीचोक निर्माण गरी प्रत्येक वर्ष नवमीमा पूजा गर्ने चलन मल्लकालदेखि चलिआएको बताइन्छ ।

विजयादशमी र आशीर्वाद

नवरात्रभरि पूजा आराधना गरिएकी देवीको प्रसाद स्वरूप रातो टीका र पहँेला जमरा विजयादशमीका दिन मान्यजनको हातबाट लगाइन्छ । टीका लगाइदिँदा मान्यजनले आफूभन्दा सानालाई आर्शीवाद दिन्छन् । विजयादशमीको टीका लगाउँदा 'आयुदर््रोण सुते...' भन्ने मन्त्र प्रचलनमा छ । यो मन्त्रमा कुनै व्यक्ति खराब भए पनि त्यसमा कुनै न कुनै राम्रो पक्ष पनि हुन सक्छ भन्ने तथ्यलाई आत्मसात् गरिएको छ । यसैगरी 'जयन्ती मंगला काली....'जस्ता देवीका महिमा युक्त आशीर्वाद महिलाहरूलाई आशिष दिंदा प्रयोग गरिन्छ । संस्कृत नजान्नेहरूले व्यक्तिअनुकूलको आशीर्वाद दिन्छन् । दुर्गा भवानीको प्रसाद लगाउँदा मान्यजनले दिएको आशीर्वाद लाग्छ भन्ने विश्वास गरिन्छ ।

जमराको महत्व

बडादसैंको पहिलो दिन दसैंघरमा घटस्थापना गरी जौ छरेर नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा गरिन्छ । यसरी मातृशक्तिको आह्वान, आराधना गर्दै घडा र वेदीमा उमि्रएको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवता र अन्य देवीदेवतालाई अर्पण गरी प्रसादस्वरूप टीकासहित जमरा लगाउने चलन छ । वैदिक ग्रन्थहरूमा जौलाई रोगहरूबाट मुक्त गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने वस्तुका रूपमा लिइएको छ । यसैकारण होला यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा हुन्छ । पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश.... भनेर जौलाई अन्नको राजा मानिएको छ ।

आयुर्वेदिक ग्रन्थहरूमा जौ र जौको अंकुरबाट गर्न सकिने उपचारहरूको उल्लेख पाइन्छ । आधुनिक चिकित्साअनुसार उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूमा फाइदा पुर्‍याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ ख्वाउनाले शरीरमा चाँडै तागत आउँछ । हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरा सुकाएर विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ ।

प्रकाशित :आश्विन १०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्