नयाँ लुगा : विल्सनविक्रम राई, हास्यकलाकार

नयाँ लुगा : विल्सनविक्रम राई, हास्यकलाकार

- सुव्रत आचार्य

आश्विन १०, २०७१

मेरो उमेर धेरै त भएको छैन, तर अनुभव भने मैले निर्वाह गर्ने चरित्र 'तक्मेबूढो' जत्तिकै संगालेको छु । झापाको मेरो गाउँलाई म दसैंका बेला धेरै नै सम्झन्छु । सानो छँदा दसैंमा गाउँका खेतहरूमा चैट भएका चंगा समात्न जाँदाको रमाइलो, पिंड खेलेको, साथीभाइहरूसँग खानपिन गरेको जस्ता सम्झनाहरू मेरो मस्तिष्कमा ताजै छन् । विशेष गरी नयाँ लुगा लगाउन पाउँदा म र मेरा दाइहरू साह्रै रमाउँथ्यांै ।

हामी तीन दाजुभाइमा दसैंका बेला बेग्लै रौनक छाउँथ्यो । स्कुल पनि बिदा हुने भएकाले हामीलाई निकै फुर्सद हुन्थ्यो । घटस्थापनाताका बाबाले बजार लगेर थान कपडाबाट उस्तै पाइन्ट र सर्टका पिसहरू किन्नुहुन्थ्यो । उक्त कपडा चोकमा रहेको टेलर मास्टरलाई दिएर हाम्रो नाप लिन थालेपछि हामीलाई बल्ल दसैं आएको महसुस हुन्थ्यो । बाबाले एउटै कपडाका सर्ट-पाइन्ट, उस्तै डिजाइन र एउटै खाले जुत्ता किनिदिनुहुन्थ्यो । बुझ्ने भएपछि मैले एक दिन बाबासँग सोधें- 'हामीलाई किन उस्तै लुगा बनाइदिनुभएको ? फरक-फरक बनाई दिनु है ?' उहाँले हाँस्दै बेलिविस्तार लगाउनुभयो- 'तिमीहरू दसैंका बेलामा हाट मेला घुम्न जान्छौ । उस्तै देखिँदा भीडमा हराउने डर हुँदैन । नत्र जोगीले बोरामा हाल्यो भने नि ?' मेरो बालमस्तिष्क उक्त कुराले सन्तुष्ट भयो । अहिले सोच्दा लाग्छ, बाबाले सबै छोरालाई समान व्यवहार गर्नुभएको हो । उस्तै लुगा हुँदा हामीमा उसकोभन्दा मेरो राम्रो वा मेरो भन्दा उसको राम्रो भन्ने डाहा पनि हुँदैन भन्ने पनि विचार गरिएको हुनुपर्छ ।

नयाँ लुगाको प्रसंग आउँदा एउटा नमिठो, तर रमाइलो घटना सम्झनामा आउँछ । म सात वर्षको थिएँ होला । टीकाको दिन नयाँ लुगा लगाएर पिङ खेल्न गएको थिएँ । वास्तवमा नयाँ लुगा लगाएर साथीभाइहरूलाई देखाउँदाको फुर्ती नै बेग्लै हुन्थ्यो । पिङ खेलेर झर्दा ब्यालेन्स नमिलेर मेरो नयाँ पाइन्ट च्यातियो । मेरो पछाडि पूरै देखियो । लाजले भुतुक्कै भएर हातले पाइन्ट छोप्दै घर गएको त्यो दिनको घटना सम्झँदा अहिले पनि हाँसो उठ्छ ।

तास : ऋचा शर्मा, नायिका

तास खेल्न कहिल्यै जोस त चल्दैन, तर समय बिताउन कहिलेकाहीं दुई-चार हात खेल्न बसिन्छ । अहिले पनि तास मेरो पहिलो रोजाइमा पर्ने गरेको छैन । चाडपर्वमा पनि विशेषगरी दसैं तथा तिहारमा साथीभाइ तथा घर परिवारका सदस्यहरूसँग रमाइलो गर्न मात्र भए पनि तास खेल्न बसिन्छ । मैले त यस पटक म्यारिज पनि खेल्न सिकें । नत्र मलाई फ्लस मात्र खेल्न आउँथ्यो ।

धनगढीको हाम्रो घरमा म ११ बर्षकी हुँदा बुवाले मलाई पहिलो पटक तासका खेल सिकाउनुभएको थियो । त्यतिबेला चानचुन पैसा राखेर जुटपत्ती खेलिन्थ्यो । बुवासँग तास खेल्दा रमाइलो हुन्थ्यो । उहाँसँग तास खेल्दा म निकै झेली गर्थें । बत्ती गयो भने अगाडि भएको पैसा गायब पारिदिन्थें अनि हारें भने रिसाएर खाना नै खान्नथेँ । बुवाले निकै फकाएपछि मात्र खाना खान्थेँ । बुवाले मेरो त्यो बानी थाहा पाएर जानाजान हार्नुहुन्थ्यो । उहाँको भागमा जित्ने तास आए पनि गलत तास उठाएर हार्नुहुन्थ्यो ।

साथीभाइहरूसँग खासै तास खेलिएको छैन । अति मिल्ने साथी छन्, चाडपर्वका बेलामा उनीहरूसँग छु र समय बिताउनु छ भने तास खेल्न बस्छु । म आफूलाई तासको अनाडी भन्छु । मलाई तास खेल्दा गरिने बठ्याइँ आउँदैन । तासका पोख्त खेलाडीहरू जित्नका लागि अनेकौं तिकडम गर्छन् । मलाई त्यस्ता तिगडम आउँदैन र गर्नु पनि छैन । लप्पन छप्पन गरेर जित्नु पनि के जित्नु ?

मेरो दृष्टिमा तास भनेको रमाइलोसँग समय बिताउने एउटा मेसो हो । यसलाई आदत बनाउनु हुँदैन । मैले केही सहकर्मी साथीहरू छन्, जो जहाँ पनि तास खेल्न तम्सिन्छन् । गुलियो चिनी पनि धेरै भयो भने तीतो हुन्छ, त्यसैले म भन्छु— तास खेल्नका लागि दसैं-तिहार आएको होइन, यो बेला समय बिताउन रमाइलोका लागि तास खेल्ने हो ।

पिङ : शशि रावल, गायिका

दसैंमा टीका थापेपछि केही समय जमिन छाड्नुपर्छ भन्ने सुनेकीले म दसैंमा पिङ खेल्छु । मेरो घर काठमाडौंको बालाजुबाट केही पर फुटुङ गाविसमा छ । सानैदेखि त्यतै हुर्किएकीले मलाई दसैं आफ्नै गाउँ टोलमा बिताउन मन लाग्छ । त्यहाँको हावापानी र वातावरणमा म निकै रमाउँछु । दसैं लागेदेखि नै मलाई प्रायः गाउँतिरै भेटिन्छ ।

दसैंमा मेरो घरको अगाडि लिंगे पिङ राखेपछि हाम्रो दसैं सुरु हुन्छ । सानैदेखि पिङ खेले पनि मलाई पिङ मच्याउन आउँदैन । पिङबाट लडिएला कि भन्ने डर लाग्छ । केही वर्षअघि भक्तपुरस्थित मेरो मामाघर जाँदा एउटा मानिस पिङबाट लडेर नराम्रोसँग घाइते भएको देखेकी थिएँ । सडकको बीचमा पिङ ठड्याइएको रहेछ । गाडीलाई बाटो दिँदा त्यो मानिस लडेर घाइते भएछ । वास्तवमा खेल्न नजानेर वा लापरवाहीका कारण हरेक वर्ष दसैंमा  पिङबाट लडेर हात खुट्टा भाँचिएका, टाउको फुटेका घटना धेरै घट्छन् । कतिपय मानिसले त ज्यान पनि गुमाएको सुनिएको छ ।

पिङ खेल्दा सावधानीपूर्वक खेल्नुपर्छ । त्यसैले म उभिएर होइन, बसेर पिङ खेल्छु र धेरै मच्चाउन पनि दिन्नँ । केही बेर खेल्छु, रमाइलो हुन्छ । सानोमा दसैंमा बजार जाँदा काठमाडौं सहरमा धेरै ठाउँमा पिङहरू ठड्याइएको देखिन्थ्यो । अहिले निकै कम भएको छ । त्यसो त काठमाडौंको बढ्दो सहरीकरणले खाली ठाउँ पनि पाइँदैन, फेरि दसैं घरभित्र आफन्तहरूका साथ बिताउने चाड भैरहेको छ । घरमै बस्यो, खायो, पियो बस् । अझ टेलिभिजन र इन्टरनेटले गर्दा त घरमै समय बिताउन सबैलाई सजिलो भएको छ । पिङ खेल्नु हाम्रो परम्परा हो, तर मलाई लाग्छ केही वर्षपछि लिंगे पिङ पनि विशेष अवसरमा मात्र त्यो पनि एकाध स्थानमा देख्न पाइन्छ । बाँसको अभाव, अहिलेका युवामा परम्पराप्रतिको घट्दो चाख एवं आधुनिक हुँदै गएको समाजका कारण कुनै दिन लिंगे पिङको समेत जगेर्ना गर्नुपर्ने हुन्छ होला ।

नयाँ लुगा : सीताराम पोखरेल, गायक

 चाडपर्वमा साथीभाइ वा घरपरिवारसँग बसेर रमाइलो गर्दै मीठा-मीठा गीतहरू सुन्नु अथवा यति बेला आयोजित हुने कन्सर्टहरूमा नाच्दै गीतसंगीतको मज्जा लिनुको आनन्द बेग्लै हुन्छ । सबैभन्दा ठूलो चाड बडादसैंमा यसरी गीतसंगीत सुनेर रमाइलो गर्नेहरू धेरै हुन्छन् ।

मेरो थलो विराटनगरमा बर्षौदेखि दसैं-तिहारका बेलामा अनेकन सांगीतिक कार्यक्रम तथा जमघट हुने गरेका छन् । अहिले त चाडपर्वमा चोक-चोकमा युवाहरूले आफ्नै प्रकारले गीत घन्काएर रमाइलो गर्ने गरेका छन् । ०३४-३५ सालतिरको कुरा हो । मसहित ६ जनाको एउटा सांगीतिक समूह थियो- 'टाइरोज ब्यान्ड' । त्यतिबेला हामीले पूर्वाञ्चल मात्र होइन, देशका मुख्य सहरहरू पनि घन्काएका थियौं । हाम्रो समूह दसैं र तिहारका बेला सबैभन्दा बढी व्यस्त हुन्थ्यो । हामी भद्रपुरदेखि तौलिहवासम्मका चोक तथा स्टेजहरूमा आफ्ना गीत घन्काएर युवाहरूलाई मनोरञ्जन दिन्थ्यौं । हाम्रो समूहका मसहित भूपेन्द्र रायमाझी, विजय पाण्डे, विरोज लामिछाने, प्रकाश पोखरेल, मोहन शर्मा र हरिश माथेमा दसैं-तिहारका बखत हुने सांगीतिक कार्यक्रममा सहभागी हुन पोखरा र काठमाडौं पनि पुग्थ्यौं । त्यतिबेला कार्यक्रमहरू निकै कम हुने भएकाले मनोरञ्जनका लागि सयौं दर्शक भेला हुन्थे ।

एकपटक दसैंकै बेला सभागृहमा कार्यक्रम गर्न हामी काठमाडौं आयौं । त्यो हाम्रो ब्यान्डको एकल कार्यक्रम थियो । स्थानीय क्लबदेखि विभिन्न संघसंस्था एवं व्यक्तिगत रूपमा पनि हामीले सहयोग पायौं । कार्यक्रमका लागि धेरै सामान हामीले विराटनगरबाटै ल्याएका थियौं । टिकट पूरै बिक्री भएछ, हल खचाखच भरिएको थियो । कार्यक्रम सकिएपछि हाम्रो भागमा पर्ने रकमको खोजी भयो । टिकट बेच्ने संघसंस्था, क्लब तथा व्यक्तिहरू सम्पर्कमै आएनन् । निकै खोजी गरियो, तर फेला पार्न सकिएन । उनीहरू टिकट बिक्री भएको रकम लिएर बेपत्ता भएछन् । कार्यक्रम सफल भएर पनि हामीले पैसा नपाउने भएपछि हाम्रो स्थिति रुनु न हाँस्नुभयो । हल तथा अरूले पैसा तिर्न नसकेपछि उनीहरूले हाम्रो सामान नै जफत गरिदिए । पछि काठमाडौंका जिल्ला प्रशासकले हामीलाई सहयोग गरे र सामान त फिर्ता भयो, तर दसैं जस्तो चाडमा हामी रित्तो हात घर फर्कियौं । अहिले पनि त्यो घटना सम्झना दिक्क लाग्छ ।

प्रकाशित :आश्विन १०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्