म आँखामा राख्दा पनि नबिझाउने केटी

आँखामा राख्दा पनि नबिझाउने केटी

  • प्रियंका कार्की, नायिका

- अश्विनी कोइराला

आश्विन १०, २०७१

नायिका प्रियंका कार्की फरासिली छिन्, त्यसैले सुन्दर पनि छिन् । दुई वर्षयता नेपाली रजतपटकी सर्वाधिक व्यस्त नायिका प्रियंकासँग अझै दुई वर्ष कामको चाप छ । गएको वर्ष दोहामा दसैं मनाएकी प्रियंकाको यसपटकको दसैं दक्षिण कोरियामा बित्नेछ । सन् २००५ मा मिस टिन भएलगत्तै प्रियंकाले ग्ल्यामरको संसारमा हामफालिन । कान्तिपुर टेलिजिभनका विभिन्न कार्यक्रम तथा टेलिश्रृंखलाहरूमा देखिएपछि प्रियंका लगातार दुई वर्ष म्युजिक भिडियो एवं केही विज्ञापनमा पनि सक्रिय भइन् । यसले उनमा कतिसम्म उत्साह थप्यो भने चलचित्र विषय पढ्नकै लागि उनी अमेरिका गइन् । अमेरिकामा झन्डै पाँच वर्ष अध्ययन एवं केही कामको अनुभव बटुलेर उनी नेपाल फर्किएकी हुन् । त्यसयताका दुई वर्षमा उनले १२ वटा चलचित्रमा काम गरिसकेकी छिन् । थप १२ वटा चलचित्रमा उनी कुनै न कुनै रूपमा संलग्न छिन् । यिनै व्यस्त नायिकासँग साप्ताहिकले लामो समय लगाएर रमाइलो कुराकानी गरेको थियो । फरासिली प्रियंकाले यसपटक काठमाडौंमा सुरु हुन थालेको चिसो मौसमलाई चुनौती दिँदै हृदय खोलेर कुराकानी गरिन् ।

दसैं आइसक्यो, कस्तो लागिरहेको छ ?

हेर्नुस् त, मौसम नै रोमान्टिक छ । मौसमले नै दसैंको आभास दिन्छ । खुसी लागिरहेको छ ।

यस्तो रोमान्टिक मौसममा तपाईं कोरियातिर हिँड्न लाग्नुभयो, खल्लो लाग्छ होला, होइन ?

हो, दसैंमा नेपालमा नहुँदा केही खल्लो त हुन्छ नै, तर कोरियामा चलचित्र 'सुन्तली' को वल्र्ड प्रिमियर हुँदैछ । त्यहाँका नेपालीहरूले तपाईंको दसैं रमाइलो बनाउन कुनै कसर छाड्दैनौ भन्नुभएको छ । जहाँ भए पनि नेपालीहरूसँगै हुने भएकाले त्यति चिन्ता छैन । गएको वर्ष दोहाको दसैं पनि रमाइलो भएको थियो ।

घरभित्रको दसैं र बाहिरको दसैंमा के फरक पाउनुभयो ?

घरभित्र सेलिब्रेटी हुन पाइँदैन, परिवारको सदस्य मात्र भइन्छ । बाहिर कतिपयले घरकै सदस्यजस्तो केयर गर्नुहुन्छ अनि सेलिब्रेटीको व्यवहार पनि हुन्छ । दुवै टेस्ट लिन पाइन्छ ।

कुन व्यवहारमा बढी खुसी लाग्छ ?

म जहाँ पनि खुसी हुन्छु । मलाई आफ्ना कारणले कोही खुसी हुन्छ भन्ने लाग्यो भने त्यो नै मेरा लागि ठूलो कुरा हो । विदेशमा भएकाहरूले प्रियंका आइदेओस् भन्नुको अर्थ उहाँहरूलाई खुसी लागेरै हो । गएको दसैंमा म जसरी कतारमा रमाएँ, यसपटक कोरियामा पनि त्यसैगरी रमाउनेछु ।

दसैं भन्नेबित्तिकै मनमा कुन कुरा आउँछ ?

केटाकेटीमा गरेको रमाइलो । त्यति बेलाको नयाँ नोटले भरिएको पर्स र लिङ्गे पिङ्को सम्झना आउँछ । दसैंमा टीका लगाएर भुइँ छाड्नुपर्छ भनेर पिङ खेल्ने चलन छ । म भुइँ छाड्ने होइन, सकेसम्म अरूलाई खेल्नै नदिई आफैं मात्र खेल्ने प्रयास गर्थें । त्यस्तै टीकामा कसले धेरै पैसा दिन्छ भन्ने कुरामा ध्यान जान्थ्यो । कसले ठूलो नोट दियो भन्ने भन्दा पनि कसले धेरै पैसा दियो भनेर हामी खुसी हुन्थ्यौं । त्यो पैसा नितान्त व्यक्तिगत आम्दानीजस्तो हुन्थ्यो । यस्तो लाग्थ्यो, म संसारकै सबैभन्दा धनी र सुखी मान्छे हुँ...।

हरेक मान्छेका ती दिनफर्केर आउँदैनन्, त्यस्तो बेला दसैं कसरी मनाउने सल्लाह दिनुहुन्छ ?

जुन बेला जस्तो मुडमा दसैं आउँछ, त्यही मुडलाई सकेसम्म इन्जोय गर्नुपर्छ । जस्तो सन् २०१२ मा अमेरिकाबाट फर्किएपछि मैले काम सुरु गरिसकेकी थिइनँ । त्यतिबेला परिवारसँग बसेर टीका लगाइएको थियो, पिङ खेलिएको थियो । भेडेटार घुम्न पनि गइयो । त्यति बेला त्यसैगरी खुसी भइयो । व्यस्त भएपछि विदेशमा बस्ने नेपालीहरूसँग भइन्छ । त्यहाँ पनि रमाइलो हुन्छ ।

मान्छे किन कलाकार हुन्छ ? कलाकार हुने मान्छे र अन्य मान्छेमा के फरक पाउनुभयो ?

सम्भवतः कलाकार पहिलेदेखि नै फरक हुन्छ । ऊ सुरुदेखि नै त्यसतर्फ आकषिर्त हुन्छ । जस्तो मेरो हकमा म कलाकार हुनकै लागि जन्मिएकी हुँ । म सानैदेखि नाच्थें, गाउँथें । तँ के बन्छेस् भनेर ममी-ड्याडीले सोध्दा म टेलिभिजनतिर देखाउँदै 'त्यसभित्रको मान्छे' भन्ने जवाफ दिन्थें रे अझ रमाइलो कुरा त मेरो चिना हेर्ने बाजेले भन्नुभएको थियो रे, 'यो केटीले नाचेरै तपाईंहरूलाई पाल्छे ।' मेरो विचारमा कलाकारहरू सुरुदेखि नै केही फरक हुन्छन् ।

सुरु-सुरुमा तपाईं कान्तिपुर टेलिभिजनमा आउनुहुन्थ्यो, काम गर्नुहुन्थ्यो । कसैलाई 'भाउ' दिनुहुन्नथ्यो । सबैले घमन्डी केटी भन्थे । हिजोआज त्यसमा ठूलो परिवर्तन आएको छ, किन होला ?

मिस टिन हुँदा म जम्मा १६ वर्षकी थिएँ । त्यतिबेला मैले पुरस्कारबापत एउटा स्कुटर पाएकी थिएँ । एउटा म्युजिक भिडियो खेल्दा ५ देखि २० हजार रुपैयाँ पाउँथे । घरबेटी बाको एक्टिङ हेरेर यो केटी त हिरोइन हुन्छे भन्थे । टेलिभिजनमा कार्यक्रम चलाउँदा तिम्रो होस्टिङ क्या गज्जब भन्थे । म कलेज पढ्दा-पढ्दै अचानक आकाशको तारा गन्ने भैसकेकी थिएँ । पत्रपत्रिकामा ठूला-ठूला तस्बिर छापिन्थे । साथीहरूले पनि स्पेसल टि्रट गर्थे । मलाई आफू राजकुमारी नै हुँ भन्ने लाग्थ्यो । ग्ल्यामरको क्षेत्रमा सुरु-सुरुमा यस्तै हुँदो रहेछ ।

आजको परिवर्तन साँच्चैको हो कि यो पनि चलचित्रमा गरिने अभिनय जस्तो मात्र हो ?

जब मेरो हवि अभिनय हो, यही नै मेरो जीवन हो भन्ने लाग्यो, म यही विषय पढ्न अमेरिका गएँ । त्यहाँको खर्च जुटाउन म एउटा मेक्सिकन रेस्टुराँमा काम गर्थें । रात-दिन मेहनत गर्थें, तर तेरो हाल खबर के छ, तैंले कसरी यो सब काम गरिरहेकी छेस् भनेर कसैले सोध्दैनथे । तँ स्टार होस् भन्ने कुरा कसैले गर्दैनथे । त्यहाँ त म फगत एउटी टिनएजर विद्यार्थी मात्र थिएँ । मेरो कुनै पहिचान थिएन । एउटा ब्युटी प्याजेन्ट, दुई-चारवटा म्युजिक भिडियो तथा केही एडमा काम गर्ने बित्तिकै र दुई-चार पत्रिकामा तस्बिर छापिनेबित्तिकै ठूलो मान्छे भएँ भनेको त केही पनि होइन रहेछ । चार वर्ष पहिचानविहीन जीवन बाँचेपछि थाहा भयो, संसार निकै ठूलो छ । मेरो स्टारडम फुलेको बेलुनजस्तै हो । नेपालमा हुँदा फुलेको थियो, अमेरिकामा फुट्यो ।

फेरि अहिले त्यही स्टारडम फर्किएर आएको छ, होइन ?

हो, बेलुन फेरि फुलेको जस्तो देखिएको छ । वास्तवमा प्रियंका एउटा कलाकार मात्र हो । यसमा घमन्ड गर्नुपर्ने वा उसलाई स्पेसल मान्नुपर्ने कुनै कुरा छैन । हो, कलाकारका रूपमा उसले जति इज्जत पाएकी छे, त्यसमा खुसी लाग्छ तर यही नै अन्तिम सत्यचाहिँ होइन ।

तैपनि सबैलाई कसरी मिलाउनुहुन्छ । सबैले प्रियंका असल केटी हो, सबैलाई उत्तिकै महत्व दिन्छे भन्छन् । यो जादु छर्ने सूत्र के हो ?

तपाईंले अरूलाई खुसी दिनुभयो भने अरूले पनि खुसी नै दिनेछन् । तपाईंले अरूलाई महत्त्व दिनुभयो भने अरूले पनि महत्त्व दिन्छन् । चलचित्र प्रिंयकाले रोजेको क्षेत्र हो । त्यसैले यो क्षेत्रलाई प्रियंकाले माया गर्नुपर्छ । उसले माया गरी भने उसले यहाँका सबैलाई महत्त्व दिइ भने उसलाई पनि अरूले महत्त्व दिन्छन् । म अभिनयको माध्यमले, व्यवहारले एवं मेरो सम्पूर्ण उपस्थितिले अरूलाई खुसी दिन चाहन्छु । यो नै मेरो सूत्र हो । सायद यही कारण हो, दुई वर्षमा १२ वटा चलचित्रमा काम गरें । आगामी दुई वर्षका लागि करिब-करिब प्याक छु । म आँखामा राख्दा पनि नबिझाउने मान्छे बन्न चाहन्छु ।

तर कहिलेकाहीँ तपाईंले बोलेका कतिपय कुराले चलचित्र नगरीमा हलचल नै ल्याइदिन्छ । यति खुला हुनु जरुरी छ ?

खुला केलाई भन्ने, बन्द केलाई भन्ने ? यसमा पनि छलफल आवश्यक छ । म भन्छु सेक्स त्यति लुकाउने कुरा पनि होइन, जति यसलाई छोप्ने प्रयास गरिन्छ र, यो त्यति उदाङ्दो पनि हुनुहुँदैन कि केही बाँकी नै नरहोस् । केही कुरा छोपिएकै राम्रो हुन्छ, त्यसैले छोप्ने चलन पनि आयो । अँ, कहिलेकाहीँ एउटा कुरा गर्दा छापामा अर्को भएर आइदिन्छ त्यसले पनि समस्या सिर्जना गर्छ ।

डाइनिङ टेबलमा सेक्स गर्दा रमाइलो हुन्छ भन्ने तपाईंको कुराले अझैसम्म बजार तातिरहेको छ...

खासमा मैले भन्न खोजेको कुरा के थियो भने सेक्समा रमाइलो गर्नुपर्छ । यसलाई भरपुर उपयोग गर्नुपर्छ । मैले त्यसका लागि कसैले डाइनिङ टेबलमा, कसैले स्वीमिङ पुलमा रमाइलो गर्न चाहन्छन् भने त्यो उनीहरूको च्वाइस हो भनेकी थिएँ तर मलाई डाइनिङ टेबलमा रमाइलो लाग्छ भनेर आइदियो । मेरो ट्याग नै यस्तो लाग्यो कि जहाँ गए पनि यही कुरा आइहाल्छ ।

सेक्सको विषयमा तपाईंको आधिकारिक धारणाचाहिँ के हो ?

मेरा लागि सेक्स प्रेमकै अर्को रूप हो । जब प्रेम गहिरो हुन्छ, तपाईंले प्रेम गर्छु भनेर भन्ने शब्द नै बाँकी रहँदैन । त्यतिबेला सेक्स हुन्छ । यसका लागि विवाह हुनुपर्छ वा सेक्सचाहिँ विवाहका लागि साँच्नुपर्छ भन्ने हुँदैन । यसमा मान्छेको आ-आफ्नो च्वाइस हुनसक्छ ।

त्यस्तो प्रेम महसुस गर्नुभयो ?

गरें, महसुस नगरेको भए विवाह नै गर्ने थिइनँ ।

तर त्यो विवाह त टुट्यो, त्यसको अर्थ त्यो प्रेम र त्यसपछि भएको विवाहलाई कसरी लिने ?

प्रेम भएको हो, त्यसमा शंका छैन तर म अभिनयलाई पनि त्यति नै माया गर्थें, अझ त्यो भन्दा धेरै । मैले प्रेम वा विवाहले मेरो करियरलाई असर पार्छ भन्ने सोचेकै थिइनँ । जब विवाहकै कारण मेरो अभिनयमा पूर्णविराम लाग्छ भन्ने लाग्यो, हामीले सहमतिमै विवाहलाई टुङ्ग्याइदियौं । हाम्रो कतिसम्म समझदारी छ भने अहिले पनि हामीबीच कुराकानी हुन्छ । उसले अर्की केटीसँग विवाह गर्ने कुरा सुन्दा मलाई खुसी लागेको थियो ।

अहिले सिंगल हुँदा कहिलेकाहीँ माया गर्ने मान्छे होस्, फेरि ती रमाइला क्षण आऊन् भन्ने लाग्दैन ?

प्रेम र सेक्सप्रति जुन एक्साइटमेन्ट थियो, त्यसको अनुभव भैसकेपछि त्यसप्रति त्यति चासो नहुँदो रहेछ । कहिलेकाहीँ फेरि त्यस्तै प्रेम भैदेओस् भन्ने नलाग्ने होइन, तर म चलचित्रनगरी, मेरो अभिनयसहितको प्रेम चाहन्छु । यी सबै कुरामा सहमति जनाउँदै मलाई खुला हृदयले कसैले माया गर्छ भन्ने लाग्दैन । म यो नगरी र अभिनयमा यसरी डुबेकी छु कि म यसैमा पूर्ण छु ।

तपाईं महिला पनि हो । माया गर्ने मान्छे नभएपछि आमा बन्ने सपना पनि पूरा नहुने भयो, जीवन खल्लो हुन्छ भन्ने लाग्दैन ?

मलाई बालबालीकाहरू साह्रै मनपर्छन् । आजको समयमा आमा बन्न लोग्नेमान्छेसँग सेक्स नै गर्नुपर्छ भन्ने छैन । कसैलाई अमेरिकन वीर्य मन पर्छ कि रसियन मन पर्छ कि नेपाली ? त्यसैको वीर्य आफ्नो पेटमा राखेर बच्चा जन्माउन सकिन्छ । म माया खोज्दै जान्नँ, पाए ठीकै छ, नपाएको अवस्थामा मेरी एकजना ममी चिकित्सक हुनुहुन्छ । उहाँलाई भनेर गर्भवती हुन्छु, बच्चा जन्माउँछु ।

माया गरेको मान्छेसँगको रमाइलो र त्यसको परिणाम राम्रो कि नचिनेको मान्छेको वीर्यबाट जन्मिएको बच्चा ?

तपाईं कसैलाई जबरजस्ती मेरै कन्डिसनमा माया गर त भन्न सक्नुहुन्न नि । मेरो आशय के हो भने आजको समयमा सबै कुरा सम्भव छ, बच्चा पनि...।

त्यसो भए रमाइलो गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

अभिनय, नृत्य र यो क्षेत्रका प्रत्येक मान्छेसँगको भेटघाट नै मेरो रमाइलो हो । म चुरोट-रक्सी पिउँदिनँ भने राति अबेरसम्म पनि बस्दिनँ । किन थाहा छ ? किनभने मैले यो क्षेत्रमा अझै २० वर्ष चल्नु छ । चुरोट, रक्सी र राति अबेरसम्मको पार्टीले मेरो स्वास्थ्यमा अलिकति पनि परिवर्तन ल्याउनु हुँदैन्ा । मलाई देख्दा मान्छेले भनून्, के हो तपाईंको स्वास्थ्यको रहस्य ?

आजको दिनमा यी त पुराना कुरा लाग्छन्, लाग्दैन र ?

मैले धेरै पिएँ । मात्तिनुको हद के हो मलाई थाहा छ । अब त्यही कुरा कति दोहोर्‍याउनु ? कुनै पनि टेस्ट थाहा पाएपछि रमाइलैका लागित्यसैमा मरिहत्ते गर्नु हुँदैन ।               

 

प्रकाशित :आश्विन १०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्