बडादसैंको धार्मिक, सामाजिक एवं सांस्कृतिक मान्यता

बडादसैंको धार्मिक, सामाजिक एवं सांस्कृतिक मान्यता

आश्विन १०, २०७१

विजयादशमी हिन्दू धर्मावलम्बीहरूको सर्वमान्य र साझा चाड हो । यो पर्वका धार्मिक, सामाजिक एवं वैज्ञानिक पक्ष पनि त्यत्तिकै महत्वपूर्ण छन् । राष्ट्रिय पर्वका रूपमा महत्व पाएको विजयादशमीले मुलुकको पहिचान गराई हाम्रो संस्कार, संस्कृति एवं पहिचानलाई जीवन्त बनाएको छ ।

संस्कृतिको धनी देश नेपाल र हामी नेपालीका लागि विभिन्न महत्वपूर्ण चाडपर्वमध्ये दसैं र तिहार ठूला राष्ट्रिय पर्व हुन् । दसैं आश्विन शुक्लप्रतिपदादेखि सुरु भएर कोजाग्रत पूणिर्मासम्म रहन्छ । नौ दिनसम्म शक्तिमाता दुर्गा देवीको पूजा गरिन्छ भने दसौं दिन अर्थात् दशमीका दिन देवीको पूजा गरिन्छ । दशमीका दिन देवीको प्रसादका रूपमा टीका ग्रहण गरिन्छ ।

टीका हामी नेपालीहरूको मौलिक परम्परा हो भने नवरात्रको पूजा भने सबै सनातनी समाजमा गरिन्छ । विजयादशमीको टीकाले नयाँ उत्साह, उमङ्ग, हौसला, प्रेरणा एवं आशीर्वाद प्रदान गर्छ ।

शरद ऋतुको आगमनसँगै आउने बडादसै वर्षभरिको कामकाज, वर्षायामको हिलोको अन्त्यपछि वातावरण स्वच्छ र जताततै हरियाली, पहेंलो धानखेती, घर-आँगनमा फूलको वासना आदिले गर्दा प्रकृति नै हाँसेको यो समयमा मनाइने चाडको विशेष महत्व छ । दसैं सबै जाति, वर्ण, सम्प्रदाय एवं वर्गमा कुनै प्रकारको भेदभाव नराखी एकता, सद्भाव, स्नेह र भातृत्वका आधारमा मनाइने महत्वपूर्ण पर्व हो, तसर्थ पनि नेपाल र नेपालीका लागि बडादसैं एउटा गौरव हो । दसैं सामाजिक, धार्मिक, सांस्कृतिक मूल्य-मान्यताको अनुसरण तथा आपसी समन्वयको माध्यम पनि हो ।

सुख-शान्ति र समृद्धिको कामना गरेर दैवीशक्तिको उपासना एवं पूजा गरी आसुरी प्रवृत्तिको अन्त्यका लागि नौ दिनसम्म भक्तिभावमा लीन हुने पर्व हो— दसैं । रामले रावणलाई पराजित गरेको एवं देवीले दानवको वध गरेर भय, डर र त्रासबाट मुक्ति दिलाएको दिनको सम्झनामा बडादसैंको प्रचलन सुरु भएको हो । दसैंमा विजय र खुसीको प्रतीक रातो अक्षताको टीका एवं पहेंला जमरा लगाई मान्यजनबाट आशीर्वाद लिइन्छ ।

मान्यजनले टीका लगाइदिँदा अश्वत्थामाको जस्तै आयु होस्, दशरथको जस्तो श्री होस्, रामका जस्तै शत्रु नाश होऊन्, नहुषको झैं ऐश्वर्य प्राप्त होस्, वायुको झैं सधै शक्तिशाली गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो पराक्रम होस्, बलरामको जस्तो बल होस्, युधिष्ठिरझैं सत्यवादी, विदुरझैं ज्ञानी र नारायणको जस्तै कीर्ति होस् भनेर आशीर्वाद प्रदान गरिन्छ । कहिल्यै नमर्ने दूबोझैं मौलाओस् । लक्ष्मीले सधै बास गरून् र चिताएको पुगोस् । यी सबै कुराको सधैभरि सबै जनालाई आशीर्वाद लागोस् भन्ने कुरा पनि आशीर्वचनमा उल्लेख हुन्छ ।

अहिले चाडपर्वहरूमा पनि विकृति र विसंगति भित्रिएको छ । चाडपर्वको गुण र महत्व घट्दै गएको छ । मानिस-मानिसबीच आसुरी र दानवी प्रवृत्तिले स्थान पाएको छ । एक-अर्काप्रति विश्वास र आत्मीयताको भावनामा खडेरी परेको छ । शान्ति एवं भाइचाराको हात बढाउने कर्तव्य र जिम्मेवारी हुँदाहुँदै पनि हामी संवेदनशील अनि नैतिकवान् हुन सकिरहेका छैनौं ।

चाडपर्वमा हुने पशु बलि रोक्नुपर्ने अभियानको थालनी गर्नुपर्नेबेलामा एक नेपालीले अर्को नेपालीलाई शारीरिक, मानसिक एवं राजनीतिक हिंसा गर्ने होड चलिरहेछ । त्यसैले पनि अबका दिनमा मातृशक्तिको पूजा, आराधना, व्रत र उपासना अत्यावश्यक हुँदै गएको छ । महाशक्ति दुर्गा भवानीको आत्मशक्तिको प्रेरणा, हौसला एवं आँटले मानव जातिको अस्तित्व अजर र अमर बन्नपुग्छ ।

दसैंका नौ दिन नौवटा देवी, कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा तथा सुभद्राको पूजा-आराधना गरिन्छ । नौरथाको प्रथम दिन घटस्थापना गरिन्छ । बालुवा र माटोमा मकै, जौ छरिन्छ जसलाई उमि्रएपछि जमरा भनिन्छ । नौ दिनसम्म चण्डीको पाठ गर्नुका साथै शक्ति पीठहरूमा पूजा-आराधना गरिन्छ । नवरथाको सातौं दिनलाई फूलपाती भनिन्छ । यही दिनदेखि बलि पूजा सुरु हुन्छ । कालरात्रि अष्ठमीको राति पर्छ र नवमीका दिन पनि देवीको पूजा गरिन्छ । यस दिन मात्र वर्षको एकपटक हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर खुला रहन्छ । विजयादशमीको दसौं दिनदेखि कोजाग्रत पूणिर्मासम्म टीका लगाउने चलन छ । दुर्गा पूजा र दुर्गाको प्रसादस्वरूप दही, अक्षता र विधिविधानका साथ उमारिएको जमराको मौलिक मूल्य-मान्यता र आफ्नैपन छ । बडादसैंले आपसी मतभेद, वैमनस्यता र कटुता त्यागी आपसमा सद्भाव कायम गर्नुका साथै काम विशेषले टाढा-टाढा पुगेका परिवारका सदस्यहरूको भेटघाट पनि गराउँछ । आफूभन्दा ठूला अग्रज मान्यजनहरूबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिनु पनि दसैंको विशेषता हो ।

दसैं महँगो, भड्किलो, विकृत एवं विसंगति पूर्ण हुनुहुँदैन । किनभने चाडपर्व भनेको सबै र सधैका लागि हुनुपर्छ । सबै वर्ग र क्षेत्रले समान र सहज रूपले दसैं मनाउन सकिने वातावरण भए मात्र पर्वहरूप्रति सबैको आस्था र सम्मान  रहन्छ । दसैंको अर्को महत्वपूर्ण पक्ष भनेको वर्ष दिनभरिको सुख-दुःख बिर्सेर आफन्तहरूबीच रमाउनु पनि हो । दसैंमा लामो बिदा हुन्छ । त्यही बिदामा टाढा-टाढाका आफन्तहरूसँग भेटघाट हुन्छ । दसैंको अर्को रमाइलो पक्ष राम्रो लाउनु, मीठो खानु, घर-आँगन लिपपोत गरी झिलिमिली पार्नु, रोटे पिङ र लिङ्गे पिङमा मच्चिनु, आकाशमा रंगीचंगी चङ्गा उडाउनु पनि हो ।

- मीना सुवेदी

(लेखिका संस्कृति तथा पुरातत्वविद् हुनुहुन्छ ।)

प्रकाशित :आश्विन १०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्