दसैं प्लान

दसैं प्लान

- सुविन भट्टराई

आश्विन १०, २०७१

एउटा जमाना थियो, दसैं भन्नासाथ लामो छुट्टी, छोटो जमघट र प्रचुर उत्साह भन्ने बुझिन्थ्यो । विशेषतः बाल्यकालमा कत्रो हर्ष र उल्लास हुन्थ्यो ! असोज महिना लाग्नासाथ शरीरले पनि थाहा पाउँथ्यो, दसैं आउँदैछ भन्ने । जस्तो कि— हजुरआमाहरू पानी पर्न लाग्दैछ भन्ने कुरा हातगोडाका जोर्नीको दुखाइबाट थाहा पाउनुहुन्थ्यो । दसैंमा मेरो चैँ शरीर आलस्य हुन्थ्यो । स्कुल नजाऊँ-नजाऊँ लाग्ने । स्कुलमा मास्टरहरूसमेत अल्छी गर्थे । घटस्थापना लाग्नुअगावै टाढा-टाढाका साथीहरू टिकट काटेर गाउँ हान्निइसकेका हुन्थे । क्लासमा एक चौथाइ जनसंख्या घटिसकेको हुन्थ्यो ।

हावामा पनि एउटा विशेष प्रकारको गन्ध फिँजिएको हुन्थ्यो, मादक गन्ध ।

मलाई दसैंको अर्को रमाइलो कुरा लाग्थ्यो— दसैंको लुगा । वास्तवमा वर्षमा एकपटक आउने दसैंको लुगाको प्रतीक्षा वर्षैभरि रहन्थ्यो । दसैंपछि साथीहरूलाई देखाउन कम्पिटिसन हुन्थ्यो ।

मामाघर नजिक थिएन । नभए, मामाघरमा गएर लगाइने टीका र दक्षिणाको आशा पनि रहन्थ्यो होला ।

टोलतिर कता छ भनी खोज्दै पिङ पनि खेलिन्थ्यो ।

वास्तवमा सानो छँदा स-साना खुसीहरूमै रमाइन्थ्यो । उमेर बढ्दै गएपछि रमाउनलाई खुसीहरू पनि ठूल्ठूला नै चाहिने रै'छन् ।

हो त ! जसै उमेर बढ्दै जाँदो रहेछ, रुचि र इच्छाहरू पनि फेरिँदै जाँदा रहेछन् ।

हेर्दाहेर्दै यस्ता दसैं पनि आए, जुन आउनुभन्दा अघि नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । दसैंमै गएर लुगा किन्न लाज लाग्न थाल्यो । सबैले त किन्छन् । सबैले गरेको काममा मिसिन मन नलाग्ने स्वभाव विकसित भैसकेछ ।  

बाल्यावस्थामा पिङ खेल्दा खुब मजा लाग्थ्यो । अलिक ठूलो भएपछि तासमा मन जान थाल्यो । त्योभन्दा ठूलो भएपछि कौडा पनि खेलियो । हिजोआज जुवा-तास केहीमा मन जाँदैन ।

खसीका मासुका परिकार वरपर फिँजाएर छेउमा बोतलबाट गिलासमा फेन्टा खन्याउँदै खाइन्थ्यो । बाहरू रक्सी खान्थे ।  फरक यही भएको छ, हिजोआज गिलासमा बाहरूसँगै बसेर ह्वीस्की खन्याइन्छ । परिवर्तन भनेको सायद यही होला ।

टीकाको दिनको जमघटको प्रतीक्षा पनि निकै लामो समय अघिदेखि रहन्थ्यो । आठ-दस जना गोलो घेरा बनाएर फलाँस खेल्दा जति रौनक सायदै कुनै खेलमा आउँथ्यो ।

आजकाल त टीकाको दिनको भीडभाडदेखि पनि भाग्न मन लाग्छ । मान्छे भएर पनि खै किन हो, मान्छेदेखि नै दिक्क लाग्न थालेको छ । समग्रमा दसैं नै फिक्का लाग्न थालेको छ ।

मान्नैपरे आजकाल म अरूका लागि दसैं मान्दिन्छु । दसैंको बेला भरसक घर बस्दिनँ । कुम्लो-कुटुरो बोकेर लाग्छु एकातिर । म घुम्न खुब मन पराउँछु । कि जान्छु पोखराको लेकसाइडमा र बिताउँछु आफ्नो निजी समय । कि जान्छु कतै भारतकै कुनै बीच पहाड वा रेगिस्तान । या त जान सक्छु आफ्नै देशकै कुनै नेसनल पार्क । मलाई मानिसहरूको भीडभाड र उकुसमुकुसभन्दा पहाड मन पर्छ, हिमाल मन पर्छ, खोला, समुद्र अनि बालुवा मन पर्छ । यात्रा मन पर्छ । यात्राले दिएको थकान मन पर्छ । नयाँ ठाउँ, नयाँ परिवेशले दिन सक्ने उत्सुकता मन पर्छ । फरक ठाउँको फरक भूगोल, फरक स्वादका खानेकुराहरू मन पर्छन् ।

वास्तवमा मैले जे-जे भनें त्यो मन नपराउने को नै पो होला र ?

यद्यपि यसो भनेर मैले दसैं मान्न मन पराउनेहरूको उपेक्षा निश्चय पनि गरेको होइन । आ-आफ्नो विचार हो । मलाई लागेको— दसैं केवल घरभित्र बसेर मनाइने चाडमात्र नहुन सक्छ । लामो बिदा र दुई-चार पैसा हरकोहीको गोजीमा हुने बेला हो यो । यो समयलाई हामी आफ्नै देश घुमेर पनि बिताउन सक्छौँ । पोखरा, लुम्बिनी, पाल्पा, स्वर्गद्वारी, सौराहा, घलेगाउँजस्ता कम खर्च लाग्ने ठाउँदेखि, अन्नपूर्ण बेस क्याम्पको ट्रेकिङ, डोल्पा, खप्तड आदि लंग रुट का एड्भेन्चरस यात्राको मज्जा उठाउन सक्ने वातावरण हाम्रै देशमा छ ।

हरेक वर्ष नसके पनि कमसेकम कुनै-कुनै दसैं हामी अलिक फरक ढंगले बिताउन सक्छौँ । नयाँ प्लानले निश्चय पनि नयाँ ऊर्जा दिन्छ, नयाँ सोच दिन्छ । रिफ्रेसमेन्ट, केही आनन्द पक्कै दिन सक्छ । एकपटक सोचौँ है !

प्रकाशित :आश्विन १०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्