चिया र जिन्दगी

चिया र जिन्दगी

- सुविन भट्टराई

आश्विन ३, २०७१

एकपटक मेरो घरमा एक जना युवक आयो। ऊ मलाई आफनो रिडर बताउँथ्यो । आफ्ना केही समस्या भएकाले मैले त्यसको केही सम्बोधन (सम्भवतः निकास) गर्न सक्छु कि भन्ने आशाले उसले मसँग भेट्न अनुरोध गर्‍यो। म आंशिक अस्वस्थ भएकाले उसलाई आफ्नै घरमा निम्त्याएँ।

'भएको के हो ?' मैले सोझै विषयवस्तुमै प्रवेश गर्न चाहेँ।

'म यो धरतीमा आज अन्तिम दिन बिताउँदैछु,' उक्त युवकले पहिलो संवादमै भन्यो।

मेरा शरीरका रौँ ठाडा भए। गल्र्याम्म घरको बार्दलीसहितै भुइँतलामा पछारिए जस्तो भयो।

यद्यपि यस्ता कुरा मैले धेरै सुनिसकेको थिएँ। पुनः सम्हालिँदै म उसको कुरा सुन्न थालें।

मैले कारण नै जान्न चाहेँ।

उसले बिलम्ब नगरी भन्यो, 'म तीन वर्षदेखि ड्रग लिइरहेको छु। कलेजमा तिर्न दिइएको फी को पैसा सबै ड्रगमै गयो। घरमा सबै कलेज जान्छ भनेर ढुक्क हुन्थे। कुनै पनि जाँच एपियर भइनँ। धेरै पटक चोरी गरेँ। घरमा पोल खुल्यो। दुई पटक बुवासँग झगडा पर्‍यो। उहाँले मलाई घरबाट निकालिदिनुभो। कलेजका सिनियरहरूसँग पनि झगडा पर्‍यो। मलाई जहाँ भेटेपनि सिध्याउने भनेका छन्। म कहीँको रहिनँ अब यी सब कुराबाट मुक्ति चाहन्छु।'

अनि गोजीबाट फुलस्केप कागजको एउटा स्यानोतीनो मुठो झिकेर मलाई दिँदै भन्यो, 'मेरो जिन्दगीको सबै भोगाइ यसमा छ। यहाँले लेखिदिनुभए आभारी हुने थिएँ।'

उसलाई बार्दलीमै बसाएर म किचनमा चिया बनाउन गएँ। दुई कप चिया बनाएर ल्याएँ। म चियामा चिनी नहाली खान्थेँ, तर अरू पाहुना आएका बखत भने चिनी हालेको चिया दिन्थेँ। त्यस दिन मैले उक्त युवकलाई चिनी नहालेको चिया नै दिने विचार गरेँ।

अतः दुई कप चिया लिएर म बार्दलीमा आएँ।

चियाको पहिलो प्याला मैले नै लिएर सुरु गरेँ।

मैले आफूले पहिलो चुस्की लिइसकेपछि मात्र युवकलाई आग्रह गरेँ, 'चिया लिऊँ भाइ।'

युवकले चियाको चुस्की लियो अनि निधार खुम्च्यायो। म लुकीलुकी उसको अनुहार अध्ययन गरिरहेको थिएँ। चियाको दोस्रो सिप मैले नै लिएँ। युवकले एकदमै अन्यौल र अनुहारमा निकै ठाउँमा मुजा पार्दै चियाको दोस्रो सिप लियो।

यतिन्जेल मैले तीन-चार सिप लिइसकेको थिएँ।

केही बेरमा थाम्नै नसकेकर होला युवकले मतिर हेर्दै भन्यो, 'सर, चियामा चिनी छैन।'

मेरो अनुहार एक्कासि एउटा नजानिँदो ओजले पुलकित भयो।

भान्सामा गएर एक चम्चा चिनी ल्याएर युवकलाई दिएँ। युवकले चियामा त्यसलाई फिट्यो र स्वाद लिँदै चिया पिउन थाल्यो।

यसपालि चिया पिउने क्रममा उसको अनुहारमा कुनै तनाव थिएन। बरु उ स्वाद लिई-लिई चिया पिइरहेको थियो।

मैले उसलाई भनेँ, 'हेर भाइ ! जाबो एक कप चिया त तिमी चिनी बिना पिउन सक्दैनौ भने म कुन आधारमा विश्वस्त होऊँ कि तिमीमा जीवनप्रति कुनै मोह छैन ?'

ऊ पिइरहेको चियाको कपलाई रोकेर मतिर हेर्न थाल्यो।

म भन्दै गएँ, 'मैले जानीजानी तिमीलाई चिनी नहालेको चिया दिएको थिएँ। मलाई जान्नु थियो, तिमीले मसँग चिनी माग्छौ कि माग्दैनौ, तिमीले माग्यौ। हेर

भाइ ! हाम्रो जीवन पनि खल्लो छ। यसमा के नपुग्या हो, के थप्दा हुन्छ त्यो हामी आफैँले बुझ्नुपर्छ। तिमीमा जीवनप्रति मोह छ। म बाजी राख्न सक्छु, तिमी कुनै पनि हालतमा सुसाइड गर्न सक्दैनौ। जाबो एक कप चियालाई समेत मीठो बनाएर खाने चाहना भएको मान्छे जीवनविरोध कसरी हुन सक्छ ? तिमी जीवनलाई खुब प्रेम गर्छौ। जाऊ र जीवनमा के चीज तिमीसँग छ, त्यसको खोजी गर। भत्किएका, बिगि्रएका चीजहरूलाई सुधार्ने प्रयास गर। जीवनमा के थप्दा यो स्वादिलो हुन्छ, त्यतापट्ट िलाग। जीवन समाप्त गर्नेतिर होइन।'

युवकले चियाको प्याला सकेर मतिर पुलुक्क हेर्‍यो र उठेर फटाफट आफ्नो बाटो लाग्यो। मैले मुस्कुराउँदै बार्दलीबाट उसलाई हेरिरहेँ।

प्रकाशित :आश्विन ३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्