चलचित्र नै मेरा सन्तान हुन्

चलचित्र नै मेरा सन्तान हुन्

  • विकास आचार्य, चलचित्र लेखक

- नरेन्द्र रौले

भाद्र २७, २०७१

एड्रिनोल्युकोडिस्ट्रफी त्यस्तो रोग हो, जुन लाखौंमा एक जनालाई हुन्छ। यो रोग केही वर्षअघि नेपालमा पनि देखियो। ६ देखि ८ वर्षका बालबालिकाहरूलाई लाग्ने यो रोग एक जना चिनेकै व्यक्तिका छोरालाई लागेको देखेका थिए, चलचित्र निर्देशक विकास आचार्यले। उनले ती बालकले पाएको दु:ख र परिवारले झेलेको कष्टलाई नजिकबाट नियाले र त्यही विषयमा आधारित भएर चलचित्रको कथा लेखे। नाइँ नभन्नु ल-२ मा त्यही कथालाई फिल्मांकन गरिएको छ। आचार्यले बनाएका र हेरेका चलचित्रमध्ये उनलाई रुवाउने चलचित्र पनि त्यही थियो।

'हो, त्यो वास्तविकता देख्दा, लेख्दा मलाई पीडा भयो। आचार्यले सुनाए, 'चलचित्रको पर्दामा हेर्दा त आँखामा आँसु रोक्नै सकिएन।' पछिल्ला १० वर्ष यता उनले ६० वटा चलचित्रको कथा लेखे। लेखनमा सबैभन्दा लामो समय लागेको चलचित्र पनि नाइँ नभन्नु ल-२ नै थियो र सबैभन्दा सन्तुष्टि दिने चलचित्र पनि त्यही। एउटा कथा लेख्न उनलाई लगभग आठ-नौ महिना लाग्छ। 'एकैचोटिमा पूर्णता पाउँदिनँ। लेख्दै, परिमार्जित गर्दै लान्छु।' आचार्य अनुभव बाँड्छन्, 'कथा, पटकथा र त्यसमा गीतको संयोजन कसरी गर्ने भन्ने कुरामा विशेष ध्यान दिन्छु।' आफू चलचित्रमार्फत मनोरञ्जनसँगै भाषा-साहित्यको जगेर्ना गर्न प्रयासरत रहेको आचार्यले बताए। मानसपटलमा आएका कथाहरू उनी आफ्ना साथीभाइलाई सुनाउँछ। सबैले सकारात्मक प्रतिक्रिया दिएपछि मात्र अघि बढ्छु। लेखिसकेपछि अरूलाई पढ्न दिन्छु र राय लिन्छु। आफूले बनाएको चलचित्र संसारभरि बस्ने नेपालीहरूका लागि हेर्न लायक होस् भन्ने उनी चाहन्छन्। एउटा चलचित्र बनाउँदा ५० देखि ६० लाख रुपैयाँ खर्च हुने उनको अनुभव छ। अहिलेसम्म आफूले कुनै चलचित्रबाट घाटा बेहोर्नु नपरेको आचार्य बताउँछन्। चलचित्र बनाउन गार्‍हो, चलाउन अझ गार्‍हो, पैसा उठाउन झन् गार्‍हो हुने उनले बताए। हरेक दिन उनले एउटा न एउटा चलचित्र हेरेकै हुन्छन्। आचार्य अंग्रेजी, हिन्दी तथा नेपाली भाषाका सबै खालका चलचित्र हेर्न रुचाउँछन्।

आचार्य बिहानै ५ बजेतिर ब्यँुझिन्छन्। नयाँ बानेश्वर, मिलनचोकदेखि पशुपतिसम्म उनको मर्निङवाक हुन्छ। फर्किएर पुरानो बानेश्वर पुग्दा उनका साथीभाइहरू जम्मा भैसकेका हुन्छन्। चिया पिउँदै उनीहरूसँग कुराकानी हुन्छ। ८ बजेपछि उनी घर र्फकन्छन्। नुहाउने कर्म पूरा गरेपछि खाना खाने समय हुन्छ। अहिले उनी शाकाहारी हुन्। दाल, भात, तरकारी नै उनलाई मन पर्ने परिकार हुन्। रेस्टुराँ छिर्दा स्यान्डविच र आलु जीराको स्वाद लिन्छन्। बिहानको खानापछि सधैंझैं चलचित्र लेखनमा व्यस्त हुन्छन्, प्राय: घरमै बसेर लेख्ने काम गर्छन्। दिउँसो पुरानो बानेश्वरस्थित वन टाइम सिनेमाको कार्यालयमा केही घण्टा बिताउँछन्। ४ बजेतिर इन्द्रेणी क्लब जाने समय हुन्छ। उनी त्यहाँ शारीरिक व्यायाम गर्नुका साथै स्टिम तथा साउना लिन्छन्। क्लबबाट र्फकंदा साँझको ६ बजिसक्छ।

चलचित्र लेखक आचार्यले अप्पोदेव भव शीर्षकको उपन्यास प्रकाशन गरेका छन्। कुनै समय उनी देशान्तर साप्ताहिक र पर्दा नामक पाक्षिक पत्रिकाका लागि कलम चलाउँथे। त्रिभुवन विश्वविद्यालयबाट नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्वमा स्नातकोत्तर गरेका विकास आचार्यले नर्वेको वर्गेन विश्वविद्यालयबाट पुरातत्त्वमा एमफिल गरेका छन्। तीन वर्ष नर्वेमा बिताएका आचार्यलाई त्यहाँको समाज, वातावरण एवं प्रकृतिले मोहनी लगायो। 'नर्वे एकदम मिलनसार मानिसहरू बसोबास गर्ने, आपराधिक गतिविधि नहुने तथा ढुक्कले सास फेर्न सकिने ठाउँ हो,' उनले भने। पढाइ सकेर सीधै नेपाल फर्किएका आचार्य चलचित्र क्षेत्रमा समर्पित भएर लागे। दोलखाको कालिन्चोक अति नै राम्रो लाग्छ उनलाई। त्यो सबैले एकपटक घुम्नैपर्ने ठाउँ हो भन्ने लाग्छ। 'त्यहाँको चिसो हावापानीमा बस्न पाउँदा र गौरीशंकर हिमाल हेर्न पाउँदा बेग्लै आनन्दको अनुभूति हुन्छ,' -आचार्य भन्छन्। एक्लो जीवन बिताइरहेका आचार्य चलचित्रलाई नै जीवनको अभिन्न अंग मान्छन्। उनी यही कर्ममा रमाएका छन्, खुसीले बाँचेका छन्। आफ्नो मनोभावना सुनाउनुपर्दा उनी यसकै सहारा लिन्छन्। दाइका छोराछोरीसँग बसिरहेका विकासलाई एक्लो महसुस हँुदैन। उनको विचारमा संयुक्त परिवारको सबल पक्ष नै यही हो। चलचित्रलाई नै उनी आफ्नो सन्तान मान्छन्। यिनैमार्फत आफू परिचित हुन पाएकोमा गर्व गर्छन्।

आचार्य धर्म र ईश्वरप्रति आस्था राख्छन्। नित्य मन्दिर जान्छन्। उनको अनुभवले भन्छ, आफ्नो काममा व्यस्त हुँदै गएपछि जीवन छोटो लाग्दो रहेछ। आफू यो संसारमा नरहे पनि रहने भनेको आफ्नो कर्म मात्र हो। मरेर गएपछि कसैको केही लाँदैन भन्ने कुराको बोध जब गहिरोसँग हँुदै जान्छ तब मानिस सत्कर्ममा बढी जोड दिन थाल्छ, -उनको अनुभवले भन्छ। विकास आफूले बाँचेको जीवनलाई फर्किएर हेर्दा असन्तुष्ट हुनुपर्ने कारण पनि देख्दैनन्। छुट्टनिे बेला आचार्यले भने- 'जीवन सोचेजस्तै त कहाँ हुन्छ र ?'

चलचित्र    :    प्रेमपिण्ड, कन्यादान, साइनो तथा चिनो।

पुस्तक     :    सुम्निमा, मोदीआइन, लेखनाथका कविता, घामकीरी तथा अ ग्लिम्प्स अफ चाइल्डउड

लेखक     :    देवकोटा, शंकर लामिछाने, रमेश विकल, भवानी भिक्षु तथा बीपी

पहिरन     :    जिन्स पाइन्ट र टिसर्ट

कलाकार    :    नारायणगोपाल, फत्तेमान, अरुण थापा, बच्चुकैलाश तथा तारादेवी

घुमघाम    :    नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड तथा नेपालका ३० जिल्ला।

प्रकाशित :भाद्र २७, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्