पापको कुरा

पापको कुरा

भाद्र २७, २०७१

'धर्म'का बारेमा धेरै व्याख्या नगरौं, किनभने यसको अर्थ व्यापक छ। व्यापक अर्थ भएको चीजको अपव्याख्या हुन पुग्यो भने अरूलाई चित्त दुख्न सक्छ, आफ्नै पित्तले पनि दुःख पाउन सक्छ। जुन विषयको यथेष्ठ अध्ययन छैन, त्यसको विश्लेषण गरेर उसको मानमर्दन गर्ने अधिकार पनि कसैसँग छैन। त्यसैले आजको गजुरियल विश्लेषणमा 'पाप'को मात्र प्रसंग उठाइँदैछ।

'प्रसंग' मात्र किन भने पापको कुनै 'विश्लेषण' हुँदैन। पाप भनेको पाप हो। यसको न कुनै सम्प्रदाय हुन्छ, न त कुनै राष्ट्रियता नै। पापको जात, धर्म, पन्थ, मार्ग, लिंग केही पनि हुँदैन। पापी बन्न न कुनै गुरुबाट दीक्षा लिनुपर्छ न त कुनै नियम नै पालना गर्नुपर्छ। पापका लागि कुनै संस्कार पूरा गर्नु पर्दैन, निश्चित मन्त्र जप्नु पर्दैन। त्यसका लागि विशेष वस्त्र लगाउने वा भजन गाउनुपर्ने नियम हुँदैन। पापको चिरफार गर्दा कोही रिसाउँदैनन्।

अरूको 'पाप आस्था'मा चोट लाग्ला भन्ने डर पनि हुँदैन। पापेश्वर रिसाउलान् भन्ने स्थिति रहन्न। पाप पण्डितको प्रवचन पनि सुन्नु पर्दैन। पाप पुराणको आयोजना पनि गर्नु पर्दैन। अलग-अलग पापका अलग-अलग टेलिभिजन च्यानल पनि हेर्नु पर्दैन। दार्शनिक पारामा भन्दा पाप सर्वव्यापी छ। सामान्य पारामा भन्ने हो भने पापको अस्तित्व नै छैन। गजुरियल विश्लेषणमा भन्ने हो भने जन-जनमा मन छ, मन-मनमा पाप छ।

हत्या पाप हो। आत्महत्या पाप हो। चोरी पाप हो। चकारी पाप हो। व्यभिचारी पाप हो। झूटो बोल्नु पाप हो। बोल्दै नबोल्नु पाप हो। धेरै बोल्नु पनि पाप हो। बोलेको बोल्यै गर्नु महापाप हो। मानिसलाई ढाँट्नु पाप हो। पशुपन्छी काट्नु पाप हो। नसक्ने काम आँट्नु पाप हो। अर्काको कुरा काट्नु पाप हो। व्यभिचार, भ्रष्टाचार, तिरस्कार र अस्वीकार पाप हो।

अहंकार, लोभ, घृणा, गाली, बेइज्जती, तस्करी, कालोबजारी, आमा चकारी सबै पाप हुन्। लुट्नु, कुट्नु, फुट्नु, छल्नु, दल्नु, चल्नु इत्यादि पापका रूप हुन्। चोरी, फोहोरी पनि पाप मानिन्छन्। सण्ड, मुण्ड र घमन्ड पनि पाप मानिन्छन्। धोका दिनु, जिस्क्याउनु, खिसी गर्नु, ईष्र्या गर्नु पनि पाप नै हुन्। गजुरियल विश्लेषण भन्छ— अरूलाई गरेको पापको भोग आफैंले गर्नुपर्छ।

भनिन्छ, पाप लाग्छ तर अहिलेसम्म कसैले प्रस्ट पारेको छैन, कहाँ लाग्छ त पाप ? कमिजमा दाग लागेझैं लाग्ने हो कि ! शरीरमा लुतो लागेझैं पाप लाग्ने हो कि ! फोक्सोमा क्यान्सर लागेजसरी लाग्ने हो कि ! गजुरियल विश्लेषण भन्छ, पाप मनमा लाग्छ, किनभने पापले मनलाई अस्थिर बनाइदिन्छ। मन अस्थिर भएपछि पाप मस्तिष्कतिर सर्छ, किनभने मस्तिष्कले सही निर्णय गर्न सक्दैन। मस्तिष्कले सही निर्णय गर्न नसकेपछि पाप शरीरतिर सल्किल्छ किनभने अस्वस्थ मस्तिष्कले ज्यानमा सय थरी विमार आगोसरि सल्काइदिन्छ। त्यसैले भन्ने गरिएको हो, पापले पोल्छ भनेर।

धर्तीमा अहिलेसम्म पाप पखाल्ने पानी भेटिएको छैन। गजुरियल विश्लेषण भन्छ, हामीमा लागेको पाप पानीले होइन, बानीले मात्र पखाल्छ। जुन वचनले अरूको चित्त दुख्छ, त्यो बानी हटाउनुपर्छ। जुन कर्मले आफ्नो मन दुख्छ, त्यो बानी घटाउनुपर्छ। 'मै खाऊँ मै लाऊँ सुखसयल मै गरूँ'को दुर्भाव छोड्नुपर्छ, 'सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया' भाव जोड्नुपर्छ। त्यसपछि मनमा जे बाँकी रहन्छ, त्यही धार्मिकता हो भन्ने गजुरियल विश्लेषण छ।

प्रकाशित :भाद्र २७, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्