गौरा पर्व सम्पन्न

गौरा पर्व सम्पन्न

- राजेन्द्र नाथ

भाद्र २०, २०७१

सुदूर पश्चिमाञ्चलको मुख्य पर्व गौरा गत मंगलबार सम्पन्न भएको छ। सुदूरपश्चिमवासीले दसैंभन्दा बढी महत्त्वका साथ मनाउने गौरापर्वको रौनकले बेग्लै सांस्कृतिक तरंग ल्याउँछ। सुदूर पश्चिममा गौरालाई विशेष पर्वका रूपमा मनाउने चलन छ। गौरा पर्व पवित्र नदी, तलाउ, धारा, पँधेरा र गौराघरमा विभिन्न किसिमका गेडागुडी (बिरुडा) भिजाएर प्रारम्भ गरिन्छ।

गौरापर्वको मुख्य दिन अष्टमी (अठेवाली) मा बिरुडालाई घरमा लगेर पकाएर खाने चलन छ, बिरुडाले नै टाउको पुजन हुन्छ। हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा पर्व मनाइएको हो। पार्वतीले शिव पति पाएझै अविवाहित युवती शिवझै पति पाउन व्रत बस्ने गरेका छन्। विवाहित महिलाले भने पतिको दीर्घायुको कामना गर्छन्। त्यस क्रममा महिला एवं पुरुषहरूले वर्ष दिनका पीडा बिर्सन विभिन्न खेलहरू खेलेर मनोरञ्जन गर्छन्। अठेवालीका दिन गौरा देवीको प्रतिमालाई टाउकामा राखेर नचाइन्छ। पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्छन्। धुमारी, ढुस्को र ठाडोमा खेलमा महाभारत, रामायण्ासहित धार्मिक ग्रन्थमा आधारित कथाहरू भनिन्छ। यद्यपि अचेल ठाडो खेलमा वीरगाथा हराउँदै जान थालेका छन्।

सामाजिक सद्भाव र महिलाहरूको सम्मानका लागि मनाइने गौरा सांस्कृतिक पर्व भएकाले सबैले मनाउनुपर्ने धारणा स्थानीय बूढापाकाको छ। पुरुषहरूले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने चलन छ। धामी झाक्रीलाई खुसी बनाउन अठेवालीका दिन पुरुषहरू विशेष गरी देवी-देवताका गाथा समेटिएका खेलमा रमाउँछन्। गौरामा नयाँ पहिरन लगाउने तथा मीठो खाने चलन छ। गच्छेअनुसार सबैले मनाउने गौराको अन्तिम दिन बाजागाजासहित जलाशय वा नदी किनारहरूमा पूजा विसर्जन गरिन्छ।

 

प्रकाशित :भाद्र २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्