सर्पका सारथि

सर्पका सारथि

- विमल खतिवडा

भाद्र २०, २०७१

तपाईं सर्प देख्दा के गर्नुहुन्छ? आत्तिएर भाग्नुहुन्छ होला। पक्कै त्यसलाई समात्न जानुहुन्न, तर चितवन, शिवनगरका सुनिल सापकोटा सर्प देख्दा खुसी हुन्छन्। उनलाई कत्ति पनि डर लाग्दैन, तर सर्पलाई कसरी सुरक्षित स्थानमा लगेर छाड्ने चिन्ताले भने उनलाई सताउँछ। वर्षातको समयमा यी २४ वर्षीय ठिटालाई सर्पलाई सुरक्षित स्थानमा लगेर छाड्न भ्याइनभ्याइ हुन्छ। कहिले सौराहाबाट त कहिले नवलपरासीबाट फोन आउँछ।

उनले सर्पसँग मित्रता गाँसेको पनि ६ वर्ष भयो। अहिले उनी सर्पको सारथि बनेका छन्। कसैले सडक, गल्ली, घर-आँगन र नदी-किनारमा सर्प देख्नासाथ उनलाई बोलाउँछन्। इलेक्ट्रोनिक इन्जिनियरिङ पढेका सापकोटा पेसाले यो बेला इन्जिनियर बन्नुपर्ने हो, तर उनमा इन्जिनियर बन्ने रहर छैन। सुनिल जागिरे बन्ने सोचमा पनि छैनन्। उनी फरक पेसामा रमाउन चाहन्छन्। 'बुवा-आमाका लागि इन्जिनियर पढ््नु थियो, पढेर सकें,' सापकोटाले भने, 'अब मलाई आफूलाई मन पर्ने क्षेत्रमा सक्रिय हुनु छ, जसको सुरुवात मैले गरिसकें।'

उनको सोच बेग्लै छ। उनी रामपुर कृषि क्याम्पसभित्र रहेको मुनाल शिशु सदनमा पढ्दादेखि नै रामपुर कृषि क्याम्पसको प्रयोगशाला पुग्थ। सापकोटा त्यहाँ सर्प देख्दा रमाउँथे। उनी सर्प देख्नासाथ त्यसका बारेमा जान्ने इच्छा राखिहाल्थे। सर्पका बारेमा सोधिहाल्थे। 'सबै सर्प देख्नासाथ डराउँछन्,' सापकोटाले भने, 'तर म कहिल्यै डराइनँ। सर्प राम्रो लाग्थ्यो, हातमा राखेर खेलाउँथे, कहिलेकाहीं खेलाउँदा-खेलाउँदै मर्दा भने आँखाबाट आँसु झर्थे।'

सुरुमा सर्पले नटोके पनि पछि भने टोकेको उनले बताए। सुनिललाई ९ पटकसम्म सर्पले टोक्यो, तर तुरुन्तै उपचार गराए, केही भएन। उनलाई अजिंगर, पानी सर्प र करेतले टोकेको थियो। उनी अहिले जेठदेखि मंसिरसम्म घरघरमा पुगेर सर्प बचाउन सक्रिय हुन्छन्। त्यति मात्र होइन, अरूलाई सर्पको टोकाइबाट समेत जोगाउँछन्। सुरुमा मोबाइल नहुँदा उनलाई समस्या थियो।

अहिले मोबाइलले सहज बनाएको छ। बोलाएको ठाउँमा पुगेर सर्पको उद्धार गर्छन्। त्यसैले सुनिललाई 'स्नेक रेस्क्युअर' का रूपमा चिन्नेहरू धेरै छन्। अहिले उनको पेसा नै सर्पको उद्धार गर्ने भएको छ। उनले केही समयअघि सौराहामा पुगेर दुर्लभ र विषालु मानिएको किङ कोब्रा (राज गोमन) को उद्धार गरे। होटलमा फेला परेको उक्त सर्पलाई उनले उद्धार गरेर चितवन निकुञ्जमा सुरक्षित छाडे।

'यस्तो सर्प दोस्रो पटक नेपालमा फेला परेको हो,' सापकोटाले भने, 'यसअघि काठमाडौंमा फेला परेको थियो।' उनले लौराले समाएर सर्पलाई सकुशल उद्धार गरे। सापकोटाका अनुसार यो सर्प एकपटकमा १ सय जना सम्मलाई टोक्न सक्ने क्षमता राख्छ। ३ दशमलव ७५ मिटर लामो उक्त सर्पको तौल साढे ५ किलोग्राम थियो। 'यो सबैभन्दा खतरानाक सर्प हो,' सापकोटाले भने, 'त्यसैले कसैलाई केही क्षति नहोस् र सर्पलाई सुरक्षित बासस्थानमा पठाउन तुरुन्तै उद्धार गर्न पुगे।' उनले अहिलेसम्म १ सय ३१ वटा सर्पलाई सकुशल उद्धार गरिसकेका छन्।

उनी चितवन निकुञ्ज र आसपासका सामुदायिक वनमा परामर्श गरेर सर्पलाई सुरक्षित बासस्थानमा पुर्‍याउँछन्। 'अजिंगर मात्र २७ वटा उद्धार गरें,' सुनिलले भने। उनी सर्पसम्बन्धी ज्ञान भएका विज्ञसँग सर्पका बारेमा सोधेर जानकारी लिन्छन्। उद्धारमा जाँदा उनी सर्प हेर्न भेला भएकाहरूलाई सर्पको अवस्थाका बारेमा जानकारी गराउँछन्। कसैले सर्प मार्न लागेको थाहा पाए उनी तुरुन्तै पुगेर जानकारी गराएर बचाउँछन्। सापकोटाले सर्पका बारेमा विषयगत रूपमा अध्ययन गरेका भने होइनन्, तर इन्टरनेटमा तस्बिर र भिडियो हेरेर जानकारी लिन्छन्। त्यस्तै सर्पसम्बन्धी हाते पुस्तिका साथै लिएर हिंड्छन्। सर्पका बारेमा पढ्छन्। 'आफुले सर्पका बारेमा थाहा पाएका कुरा सबैलाई सिकाउँछु,' उनले भने।

पढेको विषयभन्दा फरक क्षेत्रमा लाग्दा उनका परिवार रिसाए। सर्पसम्बन्धी अध्ययनका लागि बाहिर जान पासपोर्ट बनाउन खोज्दासमेत परिवारले दिएनन्, तर उनलाई चिन्ता छैन। उनको यो सक्रियताले सर्प मार्नेहरू सचेत भएका छन्, सर्प मार्दैनन् बरु उनलाई बोलाएर जिम्मा लगाउँछन्। सधंै सर्पलाई कसरी बचाउने भन्ने कुरा मात्र सोच्ने उनका लागि आफ्नो भन्दा सर्पको बढी चिन्ता छ। 'सर्प नदेखिने समयमा स्कुलमा पढाउने काम गर्छु,' सुनिलले भने, 'गणित र विज्ञान पढाएर पैसा जम्मा गर्छु, त्यही पैसाले सर्पको उद्धारमा जुट्छु।' उनी सर्पको उद्धार गरेर जंगलमा लगेर त छाड्छन् नै, सडक, घर र जंगलमा घाइते तथा बेवारिसे अवस्थामा फेला परेका सर्पलाई घरमा लगेर पाल्छन् अनि स्वस्थ बनाएर सुरक्षित ठाउँमा लगेर छाड्छन्। सुनिलको एउटा सोच छ। उनी आफैंजस्ता सर्पको उद्धार गर्ने ५० भन्दा बढी युवा तयार पार्न चाहन्छन्। चितवनमा उनले सर्पका बारेमा अभियान थालिसकेका छन्।

सापकोटा सर्प प्रभावित नेपालका पूर्वदेखि पश्चिमसम्मका जिल्ला घुम्ने योजनामा छन्, तर स्रोत जुटाउन सकेका छैनन्। उनी उक्त अभियानका माध्यमबाट सर्प मारिने क्रम घट्ने बताउँछन्। 'तर खर्च छैन,' उनले भने- 'एक वर्षसम्म स्कुल र ट्युसन पढाएर पैसा जम्मा गरी भ्रमणमा जाने सोचमा छु।' उनले सर्पका बारेमा अध्ययन गर्न भारत जाने योजना समेत बनाएका छन्। सुनिलका अनुसार सबै सर्प विषालु हुँदैनन्। विषालु सर्पले टोक्दा समयमै उपचार गराउनुपर्छ। उनी सर्पबाट बच्न राति हिँड्दा टर्चलाइट बोक्न र जुत्ता लगाउन सल्लाह दिन्छन्। त्यस्तै घर वरिपरि झाडी, ढुंगा गिट्टी नराख्न र प्वाल टाल्न पनि आग्रह गर्छन्। 'बिरुवा रोपे १०/१५ वर्षसम्म हरियो होला,' सापकोटाले भने- 'विचार रोपे दीर्घकालसम्म हुन्छ, त्यसैले म सर्प नमार्ने र सर्पबाट बच्ने उपायका बारेमा अभियान चलाउन चाहन्छु।'

प्रकाशित :भाद्र २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्