चर्चित उपन्यास 'समर लभ' को सिक्वेल 'साया'

चर्चित उपन्यास 'समर लभ' को सिक्वेल 'साया'

- सुविन भट्टराई

भाद्र २०, २०७१

अनि त्यसपछि सायाले भनी, 'फोन नम्बर कसरी पाएँ, यो महत्त्वपूर्ण कुरा होइन। जसरी पाएँ, बस् पाएँ। पाउनु नै एउटा उपलब्धि हो।'

म चुपचाप उसलाई सुनिरहेको छु।

'नभन्ने कसम खाएकी छौ?'

'तपाईंले पनि आफ्नो अडान नछोड्ने कसम खानुभएको छ?'

'अझ अप्ठेरोमा नपार, मलाई कम्पिटिसन गर्नु छैन।'

'सरेन्डर गर्नुभा'?'

'सरेन्डर गरेँ भने भन्छयौ?'

'मलाई बच्चा ठान्नुभा'छ?'

'मैले त्यस्तो ठानेँ र?'

'होइन। मैले त्यस्तै बुझेँ।

अब अन्तिमपटक सोध्दै छु।

'तपाईं सोधेर थाक्नुस्, म जवाफ नदिएरै थाक्छु,' उसलाई किच्करिन पुगेको छैन। फुङ्ग धूवाँ उडाउँदै भन्छे।

'म तिम्रो अतीत हुँ र यसरी सताउँछयौ?'

'म तपाईंकी को थिए र? तैपनि बेइमान बनाइदिनुभो।'

'कसरी?'

'साया बेइमान छे, तपाईंकै पुस्तकमा।'

'त्यो दोष अतीतमाथि थुपार।'

'लेख्ने तपाईं, दोषचैं अर्कोलाई, कहाँको न्याय यो?'

'अतीतले जे-जति भन्यो, त्यै लेखेँ।'

'म के भन्छु, कुर्न सक्नुभएन?'

'तिमीलाई खोजेकै हो, भेटिइनौ त म के गरौं।'

'मैले त तपाईंलाई खोज्न चाहेको एक दिनमै भेटेँ।'

'पुलिसमा जागिर किन खाइनौ त?'

'ह्वाट !'

'तिमीले मलाई सजिलै भेटयौ, यसमा मेरो के दोष?'

'दोष कोही हराउनु वा भेटिनुमा छैन। दोष तपाईंको एकतर्फी कथामा छ।'

'अब अर्कोतर्फी कथा बनाउन मद्दत गर्दिनौ?'

'के तपाईंलाई लाग्दैन हामी त्यसैका लागि यहाँ छौं।'

बादल फाटेर मेरो अनुहारमा अलिकति घाम लाग्यो। आफसेआफ एउटा ओजिलो मुस्कान नि:सृत हुँदै।

'तपाईंको पुस्तक नपढीकनै एड्भान्स प्रतिक्रिया पाइसकेकी थिएँ।'

'कसरी?'

'मेरा साथी सर्कलले मसँग सोध्थे। बेइमान त बनाउनुभो बनाउनुभो, बदनाम पनि गर्नुभो।'

ओठको लम्बाइ बढाइदिएँ। खिच्चो हाँसो टाँसिएको थियो त्यसमा।

अलिक नखरा पार्दै बोल्न लागि ऊ, 'जसले पनि सोध्ने, साया के हो? तेरो कथा छापिया रै'छ। के सबै कुरा साँचो हो? त्यो अतीत भन्या को हो? त्यसपछि के भयो?'

'साथीहरूलाई थाहा थिएन त तिमीहरूको प्रेमकहानी?'

'सबैलाई किन थाहा दिनु?'

हुँदाहुँदा फेसबुक नै डिएक्टिभेट गर्नुपर्‍यो, गरेँ। मलाई पढ्नु थियो तपाईंको किताब। ओस्लोमा सम्भव थिएन। काठमाडौं फिरेपछि पढ्छु भन्ने थियो। केही दिन व्यस्त भएँ। अस्ति पुस्तक किनेर ल्याएर पाँच घन्टामै सिध्याइदिएँ। तपाईंलाई भेट्ने इच्छा तीव्र भएर आयो। फेसबुक एक्टिभेट गरेँ र सर्च गरेँ। तपाईंका वाल सर्सर्ती हेरेँ। एक मनले लाग्यो, फेसबुकमै भए पनि एउटा म्यासेज पठाएर तपाईंको नम्बर किन नमागूँ? तर म तपाईंलाई सक दिन चाहन्थें। म पनि तासमा फलाँसको पत्ता शो गरेझैँ तपाईंको धुकधुकी र कौतूहल बढाउँदै तपाईंका अघिल्तिर प्रस्तुत हुन चाहन्थेँ।

बिहान फोन गर्दा मलाई तपाईंको दिमाग अझ चाट्न मन थियो, तर खै किन हो सकिनँ।'

'बेस्वादको भएर होला,' म पनि किच्करिएँ, 'तैपनि कम चाटेकी छुझैँ लाग्छ तिमीलाई?'

'त्यो त केही पनि होइन,' उसले भनी, 'अझ किस्ता-किस्तामा चाटेर पागल बनाउँछु भन्ने थियो।'

'तिमीले मलाई पागल बनाउनै पर्दैनथ्यो।'

'किन?' आँखीभौंमा मुजा पार्दै सोधी।

'म पहिल्यैदेखि पागल नै छु।'

हाँसोको वातावरण।

'अब त भन, नम्बर कसरी पायौ।'

'अँ, इन्टे्रस्टिङ नै भयो त्यो पनि,' टेबलमा भएको पानीको गिलासबाट दुई घुट्को पानी घुटुक्क निली अनि निरन्तरता दिई, 'तपाईंको फेसबुक चिहाउने बेलामा एउटा अर्को कुरा पत्ता लाग्यो।'

'के?' मुखले होइन आँखैले गरेँ यो प्रश्न।

'हाम्रा पाँच जना म्युचुअल फ्रेन्ड रहेछन् !' उसले भनी, 'सबैसँग सोधेँ। एक जनासँग रै'छ। उसले तुरुन्तै दिइहाल्यो।'

'अनि उनीहरूले चैं कोटयाएनन् तिम्रो इतिहास?'

'दुई जनाले सोधे। नम्बर पाउनासाथ फेरि फेसबुक डिएक्टिभेट।'

'पुस्तक त पढिछौ,' मैले भनेँ, 'तर मलाई लाग्दैन कि म तिमीबाट पुस्तकको प्रतिक्रिया लिऊँ।'

'मलाई पनि यो लाग्दैन, म पुस्तकको प्रतिक्रिया दिऊँ। यत्ति बुझ्नुस् म तपाईंको ननफ्यान रिडर।'

उसले अर्को चुरोट सल्काई र भनी, 'तपाईंका पाठकहरूले त मलाई बाटामा भेटे पनि छाड्दैनन् होला हगि?'

'किन?' सोध्नु आवश्यक नै थियो।

'त्यस्ती निष्ठुर बनाइदिनुभएको छ। चुरोटको धूवाँ आकाशतिर फ्याँकी अनि भनी, 'बिनाकारण आफ्नो हस्बेन्डलाई धोका दिने।'

म फिस्स हाँसे मात्र। अलिअलि त रोमाञ्चित डर पनि लागिरहेको थियो। पाठकहरूको रिस ममाथि पोख्ने त होइन?

ऊ पुन: भन्न थाली, 'तपाईंको फेसबुक वालमा कसैले पनि मेरा बारेमा राम्रो लेखेको देखिनँ।'

'भनिसकेँ त त्यो अतीतको कथा थियो,' मैले भनेँ।

'एउटालाई माथि उकास्न अर्कोलाई झार्नैपर्छ भन्ने छ र?'

'तिमी झरेकी कहाँ छयौ र साया?'

'तपाईंका पाठकले त झारे नि,' ऊ अलिक कड्किई।

'त्यो सब अतीतप्रतिको सहानुभूति हो।' मैले कुतर्क गरेर स्थितिलाई सामान्य अवस्थामा ल्याउने प्रयत्न गरेँ।

'लेखक पर्नुभो, पार्नुस् न मलाई आफ्ना शब्दका पासोमा,' व्यंग्यले भरिएको आवाजसाथ उसले भनी, 'जसरी तर्क गरे पनि हुने है तपाईंहरूले ! गल्ती स्वीकार गर्नुभन्दा तर्कैले जित्नु राम्रो नि। कम्तीमा आफ्नो इगो त डाउन भएन !'

मलाई लाज लाग्यो। मेरो कुतर्क फजुलमा गएजस्तै लाग्यो। त्यसैले केही बोलिनँ।

साया नै बोल्न लागी, 'जे देखिन्छ, त्यो कुरा मात्र सत्य हुँदैन। तपाईं अहिले यतिबेला मेरो अगाडिको भाग मात्र देखिरहनुभएको छ। त्यसको अर्थ तपाईंले मेरो ढाडको भागलाई इग्नोर गर्न पाउनुहुन्छ?'

'मैले त्यो पाटोलाई इग्नोर गरेकै छैन नि।' सायाको कडा आवाजको तुलनामा मैले अलिक लुते पाराले भनेँ, यद्यपि मसँग यथेष्ट तर्क थिए, तर किन हो, उसैलाई जित्न दिन मन लाग्यो।

'तिमीलाई थाहा छैन साया, धेरै छन् जसले तिम्रा पनि केही विवशता होलान् भनेर बुझेका छन्। बरु अतीतलाई गाली गरेका छन्। तिमीहरूको सम्बन्धले जुन रूप धारण गर्‍यो, त्यो सब अतीतमाथि दोषारोपण गरेका छन्।' मैले अलिक कुल हुँदै उसलाई फकाउने शैलीमा भनेँ।

ऊ पनि कुल भई। अतीतलाई तल खसाल्दा ऊ आफैँ माथि उठेको आभास गरिछ क्यार, थप प्रतिवाद गर्न चाहिन।

बरु विषयान्तर गर्दै भनी, 'तपाईंले आफ्नो पुस्तकको अन्त्यमा दुइटा इच्छा राखेको देखेँ। त्यसमध्ये एउटा चैं म पूरा गर्न सक्छु।'

म प्रश्नवाचक आँखाले उसैलाई हेरिरहेको थिएँ। म आफैँले अन्त्यमा के इच्छा राखेको थिएँ?

निकै बेरको मेहनतपश्चात् सम्झिएँ।

सोधेँ, 'कुन चैं इच्छा?'

'मेरोतर्फको कथा।' उसले भनी 'तर अपसोच पुण्य कमाउने तपाईंको इच्छा मबाट पूरा हुन सक्दैन।'

फेरि एकपटक प्रश्नवाचक आँखाले उसलाई निहारेँ।

छड्के हेराइले हेर्दै भनी, 'यसको उत्तर मेरै कथामा आउला।'

(सुबिन भट्टराईको चर्चित उपन्यास 'समर लभ' को सिक्वेल 'साया' बाट उद्धृत।)

प्रकाशित :भाद्र २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्