तथ्य अनुभूति

तथ्य अनुभूति

भाद्र १३, २०७१

मृत्यु

केही दिनयता मृत्यु चिन्तनमा छु। अहिलेसम्म जीवनकै बारेमा लेखियो, जीवन लेख्ने ध्याउन्नमा आफैंलाई जीवन्त राख्न प्रेरित गरियो। यद्यपि आजभोलि घरी-घरी आफ्नो टाउकोमाथि मृत्युले ताण्डव मच्चाइरहेको महसुस गर्न थालेको छु। जीवनको उत्सव मनाउने बेलामा किन मृत्यु चिन्तन ?

एक

आमा भन्नुहुन्छ, 'तँ ७ जना मानिसको लासमाथि जन्मिएको होस्। जब तँलाई देख्छु, बूढापाकाहरूको कहानी सम्झन्छु। कारण्ा के रहेछ भने ९० सालको भुँइचालोमा भोजपुरस्थित हाम्रो मूल घर भत्किएछ। त्यहाँ बूढा-बूढी र केटाकेटी गरी सात जना पुरिएर मरेका रहेछन्। अपसगुन हुने मानेर त्यो स्थानमा नयाँ घर बनेन। पछि जब मेरा बा मूलघरबाट छुटि्नुभयो र मेरी आमासँग विवाह गर्नुभयो, उहाँले अंश का रुममा त्यही ठाउँ पाउनुभयो, जहाँ मृत्युले ताण्डब मच्चाएको थियो। बुवाले त्यही ठाउँमा नयाँ घर बनाउनुभयो। म त्यही जन्मिए अर्थात् मृत्युको जगमा मेरो जन्म भयो।

दुई

मेरा हजुरबुवाको मृत्यु ३५ वर्षको उमेरमा भयो, त्यो बेला बुवाको उमेर ९ वर्ष थियो। मेरो बुवाले संसार त्याग्दा उहाँ ३७ वर्ष हुनुहुन्थ्यो। बुवाको मृत्युको बेला म ७ वर्षको थिएँ। आज मैले ३८ वर्षपार गरिरहेको छु र सोच्दै छु, हजुरबा ३५ वर्षमा जान सक्छन्, बुवा ३७ वर्षमा मर्न सक्छन् भने म अहिले बोनसको जीवन पो बाँच्न सुरु गरेको रहेछु । यसरी बोनसको जीवन कहिलेसम्म बाँचौंला ?

तीन

ओशो भन्छन्, 'हामी जहाँ उभिएका छौं, जहाँ हिँडिरहेका छौं, त्यसका मुनि कम्तीमा १५ जनाको हाडखोर छ अर्थात् हाम्रा प्रत्येक पाइलाले १५ व्यक्तिको मृत्यु टेकिरहेकी छ। आधुनिक विज्ञानले गरेको अनुसन्धानमा पृथ्वीमा जुन बेलादेखि मानव अस्तित्वमा आयो, त्यसयताका ३५ हजार वर्षमा  १ सय १३ खर्ब मानिसको मृत्यु भैसकेको छ। यो सानो पृथ्वीमा १ सय १३ खर्ब मानिस जन्मिए, जीवन बाँचे र मृत्युवरण्ा गरे। ओहो, १ सय १३ खर्ब मानिस मरिसके भने म जाबो मात्र कसरी बाँचिरहन सक्छु ?

चार

यो संसारमा जति मानिस छन्, आजको ८० वर्षपछि तीमध्ये ९९ प्रतिशत यो संसारमा हुने  छैनन्। अहिले जतिजनाले यो पढिरहेका छन्, तीमध्ये ९९ प्रतिशत मानिस आजको ५० वर्षपछि हुने छैनन्। तपाईं हामी सबै मृत्युको लाइनमा छौं।

पाँच

यसरी विश्लेषण्ा गर्दै जाँदा लाग्छ-म कुनै पनि बेला मर्न सक्छु। कुनै पनि बेला मेरा लेख छापिन छाड्नेछन्। आखिर मर्नुनै छ भने बाँच्नलाई के-को कन्जुसी ? मृत्युको यो डिलमा उभिएर म आफैंलाई हेर्दैछु, मर्नुनै छ भने बाँच्नलाई के-को कन्जुसी ? साथी हो, समाजले र आफन्तले के भन्लान् भनेर धेरै ठाउँमा हामीले सम्झौता गरिरहेका छौं।  धार्नीमा बाँच्न सकिन्छ भने धार्नीमा बाँचौं । किलोमा बाँच्न सकिन्छ भने किलोमा र सकिन्छ भने टनमा बाचौं । छाडिदिनुस्, मर्नुनै छ भने किन तोला-तोलामा बाँच्ने ?

प्रकाशित :भाद्र १३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्