
भाग्यमानी समा
भाद्र १३, २०७१
फेसन डिजाइन समा बानुको तालुमा आलु फल्न थालेको छ। १९ वर्षको उमेरमा कन्डमहरुबाट चेतनामूलक पहिरन बनाएर समा देशव्यापी फेसन प्रतियोगितामा प्रथम भएकी थिइन्। त्यो बेला मुसलमान समुदायकी फुच्चीको करामत देखेर धेरै छक्क परेका थिए। ५ वर्ष सुस्ताएकी समा अहिले फेरि फरक तरिकाले चर्चामा छिन्। यो वर्ष उनी अस्ट्रेलिया र अमेरिकामा भएका फेसन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर फर्किएकी छिन्। गएको महिना मिस नेपाल अस्ट्रेलियाको फेसन डिजाइनर भएकी समाले त्यहीँ निर्माण हुने नेवारी चलचित्र 'मासिका' को ड्रेस डिजाइनर हुने अवसर पाइन्। मिस नेपाल अस्ट्रेलियाको पहिरनबाट प्रभावित भएपछि उनलाई चलचित्रको फेसन डिजाइनर चुनिएको थियो। अस्ट्रेलियाबाट फर्किएलगत्तै समा अमेरिका पुगेकी छिन्। उनले त्यहाँ मिस नेपाल अमेरिकाको फेसन डिजाइन गरेर अर्को सफलता पाइन् ।
हमजायेगा विल्सन
कुनै समय थियो, हमजायेगा जोक्सको चर्चित पात्र मानिन्थ्यो। अहिले पनि हमजायेगाका जोक्सहरू सुनिन्छन्। यही हमजायेगा चरित्रमा अभिनेता विल्सन विक्रम राई तक्मे बूढाले अभिनय गरेका छन्। चलचित्रको शीर्षक नै हमजायेगा राखिएको चलचित्रमा चर्चित नृत्यागंना मोडल पार्वती राईले उनलाई साथ दिएकी छिन्। उक्त चलचित्रको एउटा प्रोमोसनल गीतको भिडियो हालै सार्वजनिक भएको छ, जसमा पार्वतीको ठुम्का सुहाउँदो हिसाबमा विल्सनले साथ दिएका छन्। धेरैले उक्त भिडियो हेरेपछि विल्सनलाई भनेछन्, तपाईंलाई नाच्न पनि आउँदो रहेछ। कमेडियन गायक तथा अभिनेताको परिचय बनाइसकेका राई राम्रो नृत्यकला पनि भएका कलाकार हुन् भन्ने कुरा उक्त गीतले पुष्टि गरेको छ। संघर्षको समयदेखि पछिल्लो कालखण्डसम्म पनि विल्सन देशविदेशका स्टेजमा अरू कलाकारहरूको गीतमा नाच्थे भन्ने कुरा धेरैलाई थाहा छ। दिलीप रायमाझीले अभिनय गरेको एउटा चलचित्रको गीतमा त उनले धेरैवटा स्टेजमा नृत्य प्रस्तुत गरिसकेका छन्।
मनीषाको चाहना
पाठेघरको क्यान्सरबाट मुक्ति पाएकी अभिनेत्री मनीषा कोइरालाले धर्मपुत्री पाल्ने तयारी गरेकी छिन्। सम्राट दाहालसँगको वैवाहिक जीवन टुक्रिएपछि एक्लो जीवन बिताइरहेकी मनीषाले आफ्नो जन्मदिनको अवसर पारेर धर्मपुत्री पाल्न लागेको रहस्योद्घाटन गरेकी हुन्। मनीषाको भनाइ उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्— 'मैले धर्मपुत्री पाल्ने निर्णय गरेकी छु। अब म आफ्नै तरिकाले पारिवारिक जीवन प्रारम्भ गर्दैछु।' त्यसो त मनीषाले यसअघि पनि धर्मपुत्री पाल्ने योजना बनाएको भए पनि तीन वर्षसम्म त्यसो गर्न डाक्टरले प्रतिबन्ध लगाएका कारण उक्त योजना स्थगित गर्नुपरेको थियो। 'आगामी वर्ष क्यान्सर मुक्त भएको ३ वर्ष पुगेपछि म धर्मपुत्री पाल्नेछु,' मनीषाले स्पष्ट पारेकी छिन्। उनले पुनःविवाह गर्ने-नगर्ने विषयमा भने कुनै प्रतिक्रिया दिएकी छैनन्। आफूले जहिले पनि गलत मानिसको प्रेममा परेर पीडा पाएको भावना व्यक्त गर्दै मनीषाले अहिले भने आफू पीडा नदिने प्रेमको खोजीमा रहेको बताएकी छिन्।
अर्चनाको आइटम
आइटम गीतको छायांकनसँगै चलचित्र आवेगको छायांकन प्रारम्भ भएको छ। आवेगमा अर्चना डेलालाले महँगो सेटमा आइटम नृत्य गरेकी छिन्। वनस्थलीस्थित बालाजु ल्याबमा महँगो सेट लगाएर छायांकन गरिएको उक्त गीतमा कविराज गहतराजको नृत्य-निर्देशन छ भने पुरुषोत्तम प्रधानले त्यसलाई क्यामेरामा कैद गरेका छन्। उक्त गीतको सेटका लागि करिब १० लाख खर्च भएको बताइन्छ। निर्मातासमेत रहेका गीतकार सूर्य कार्कीले यसअघि 'मेरो जीवनसाथी' मा पनि महँगो सेट लगाएका थिए। 'बिक्रीमा छ यौवन मेरो, किन्ने कोही छ कि' गीतमा 'मुन्नी बदनाम हुई' गाएर चर्चामा आएकी ममता शर्माले आवाज दिएकी छिन्, जुन गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। आर्यन सिग्देल, धु्रव दत्त, पवित्रा आचार्य तथा रमेश बुढाथोकीको समेत अभिनय रहने चलचित्र आवेगलाई एक्सनले भरिपूर्ण बनाउने योजना रहेको निर्देशक वसन्त निरौलाले बताए।
गायिका गायत्री
गीतकारका रूपमा आफ्नो परिचय स्थापित भैसकेपछि गायत्री थापामा गायिका बन्ने रहर पलायो। गीतकारका रूपमा उनले थुप्रै अवार्ड पनि पाएकी थिइन् तर गीतकारमा मात्र उनको चित्त बुझेन। गाउने रहर पलाएकै कारण उनले आफ्नो स्वरमा गीत रेकर्ड गरिन्। अहिले गायिकाका रूपमा एल्बम नै सार्वजनिक गरेपछि त उनी स्टेज सोहरूमा प्रस्तुतिसमेत दिन थालेकी छिन्। रुचिले मानिसलाई असम्भव कुरा पनि गराउँदो रहेछ भन्ने कुरा गायत्री गायिका बन्नुले प्रस्ट पारेको छ। नायिका रेखा थापाझैं देखिने भनेर उनको प्रशंसा गर्नेहरू पनि थुप्रै छन्। गुल्मीकी गायत्री गायिका बनेर अब देशविदेशका कार्यक्रममा सहभागी हुने तयारीमा छिन्। उनले गाएको बर माग्छु शिवजी अहिले हिट गीतमा दरिएको छ। गीतकारका रूपमा जमेकी गायत्रीको गायन कति जम्ला, त्यो त भविष्यले नै देखाउला।
प्रकाशित :भाद्र १३, २०७१















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्