Teej banner
भोट माग्दै फाईनलिस्ट

भोट माग्दै फाईनलिस्ट

- रेम विक

भाद्र ६, २०७१

उमेर समूह करिब-करिब उस्तै छ, २० देखि ३० को बीच। भविष्यका योजनाहरू त व्यक्तिपिच्छे फरक छ, तर अहिले उनीहरू सबैको लक्ष्य भने एउटै हो, 'बिग आईकनको उपाधि जित्ने'। फरक पारिवारिक पृष्ठभूमि, फरक संस्कार र फरक स्थानबाट एकै ठाउँ जोडिन आइपुगेका यी चार जना अहिले बिग आईकनको उपाधि हत्याउने होडमा आ-आफ्नै तरिकाले भोट मागिरहेका छन्।

कुन्साङ गुरुङ, ल्हामो डोल्कर, सन्दीप ढुंगाना र राम लिम्बू पाँचौं संस्करणको बिग आइकनका फाइनलिस्ट हुन्। करिब दुई महिनासम्म सँगसँगै प्रतिस्पर्धामा उत्रिएका उनीहरू एक-आपसमा मिल्ने साथीभाइसमेत भैसकेका छन्। ५० जिल्लाका ८ सय ९० प्रतिस्पर्धीमध्येबाट फाइनलका लागि छानिएका उनीहरू प्रतिस्पर्धी भए पनि खुब मिल्छन्।

प्रतिस्पर्धीहरूको पृष्ठभूमि पनि निकै फरक छ। मुस्ताङका कुन्साङ गुरुङ गुम्बा स्कुलमा काम गर्छन्। मुस्ताङका स्थानीय बासिन्दा गुरुङ अहिले भकुण्डेस्थित गुम्बामा कार्यरत छन्। भरतपुर-७, कृष्णपुरका सन्दीप ढुंगाना पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा जिओम्याटिक्स इन्जिनियरिङमा ब्याचलर गर्दैछन्। उनी कलेजकै होस्टलमा बसिरहेका छन्। ल्हामो डोल्कर हेम्जाको टिबेटिएन क्याम्पमा बस्छिन् भने धरानका राम लिम्बू पोखरामा बसेर संगीत सिकिरहेका छन्।

लक्ष्य प्राप्तिका लागि दौडधूपमा रहेका चार जनामध्ये एक जना भदौ ७ गते भोलि शनिबार सम्पन्न हुने ग्रान्ड फिनालेमा बिग आइकन घोषित हुनेछन्। यद्यपि आशा सबैमा उत्तिकै छ, त्यसैले उनीहरू विभिन्न कार्यक्रम गर्दै भोट माग्न व्यस्त छन्।

प्रकाशित :भाद्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्