Teej banner
कलाकारिताको आकर्षण

कलाकारिताको आकर्षण

भाद्र ६, २०७१

अरूका धेरै कुराको विश्लेषण गरियो, त्यसैले आज आफ्नै बारेमा गजुरियल कुरा गर्न चाहन्छु । प्रसंगले अर्को अर्थ नलागेमा आफ्नै भन्नुको अर्थ समग्र कलाकारका बारेमा हो । केहीलाई छोडेर अधिकांश कलाकारको जीवनकथा लगभग उस्तै हुन्छ । कमेडियनका आमाहरूसँग सोध्नोस्, बच्चामा उहाँ कस्तो हुनुहुन्थ्यो ? जवाफ आउँछ, यो सानैदेखि विभिन्न जनावरको नक्कल गथ्र्याे । सिंगरका बुबाहरूसँग प्रश्न गर्नोस्, भन्छन्, बच्चामा थाल, बटुका बजाएर गीत सुनाउँथ्यो । उद्घोषकका दिदीहरूसँग सोध्नोस्, मेरी बहिनी सानो छँदा ग्लासलाई माइक बनाएर बोल्थी आदि-इत्यादि ।

बाल्यकालको स्वभाव नै भविष्यको संकेत हो । अहिलेका बच्चाहरूलाई 'ठूलो भएर के बन्छौ ?' भन्ने प्रश्न गर्‍यो भने अधिकांशले 'डाक्टर' भन्ने जवाफ दिन्छन् । तर, उमेर पुगेपछि त्यो बच्चा डाक्टर त हुँदैन, तर विदेशीको खेत जोत्ने ट्याक्टरचाहिँ बनेको देखिन्छ । त्यसपछि विदेश जान्छु भन्नेहरू हुन्छन् । केहीले इन्जिनियर, केहीले वकिल भने पनि कलाकार बन्छु भन्नेहरूको संख्याचाहिँ ज्यादै थोरै छ । गजुरियल अनुरोध छ, सन्देशमूलक कलाकारिता मनमा आनन्द दिने डाक्टर हो, न्यायका गीत गाउने वकिल हो, विकासको बिगुल फुक्ने इन्जिनियर हो । आफ्ना सन्तानले कलाकार बन्छु भने भने नाईं नभन्नु ल ! त्यसो त कालकारिताका फाइदै-फाइदा, राम्रै-राम्रो, खुसी नै खुसी हुन्छ भन्ने छैन । जस्तो, कमेडियनहरूकै कुरा सुन्नोस् । उनीहरूका बारेमा अधिकांश दर्शकले सोध्ने प्रश्न बडो गाह्रो हुन्छ । 'हामीलाई त हँसाउनुभयो, घरमा चाहिँ कत्तिको हँसाउनु हुन्छ नि ?' 'भाउजू त हाँस्दा हाँस्दा निकै मोटाउनु भएछ हगी ?' 'हाँसेरै स्लिम हुनुभएको हो ?' 'घरमै हँसाउने मान्छे भएपछि खानै खानु पर्दैन होला नि ?' यस्ता प्रश्नले कलाकार त के तिनका श्रीमतीहरू पनि वाक्क हुन्छन् ।

विचरा श्रीमतीहरू ज्ावाफ दिन नसकेर अक्क न बक्क पर्छन् । 'घरमा त हँसाउने फुर्सद नै हुँदैन' भनून् भने आफ्नै हजुरको अपमान हुने डर । 'अँ, हँसाइरहनुहुन्छ' भन्ने जवाफ दिउन् भने विचराहरू कति पो झूट बोलून् । त्यसो त बोल्नका लागि श्रीमतीहरूलाई कसले पो जित्छ र ? उनीहरू मध्यमार्गी जवाफ दिन्छन्, 'बाहिर पो पैसा आउँछ र हँसाउनु हुन्छ, घरमा उल्टै जान्छ, सित्तैंमा किन हँसाउनु !'

धेरै श्रोता, दर्शकले यस्ता थुप्रै प्रश्न सोध्नुहुन्छ, सांस्कृतिक कार्यक्रमहरूमा दर्शकले त मनोरञ्जन लिइरहेका हुन्छन्, कलाकारले चाहिँ त्यस्तो मनोरञ्जन कत्तिको लिन्छन् होला ? प्रेमका गीत गाएर लाखौं प्रशंसक कमाउने गायक आफैंमा कति प्रेमपूर्ण हुन्छन् ? देशले रगत मागे ज्यान पनि दिन्छु भनेर कविता पढ्ने कविहरू साँच्चिकै परेको बेला रगत बगाउन तयार हुन्छन् होला त ? अर्थात्, मञ्चमा जुन प्रकृतिको कला र विचार प्रकट गर्छन्, यथार्थ जीवनमा पनि त्यस्तै होलान् ? दर्शकको प्रश्न गलत छैन ।

गजुरियल विश्लेषण भन्छ, राजनीतिक नेताभन्दा कलाकारहरू स्वभावैले यथार्थको नजिक हुन्छन् । राजनीतिज्ञहरू मुखले एउटा कुरा भन्छन्, व्यवहारमा अर्को काम गर्छन् तर,  कलाकारहरू मञ्चमा जे प्रस्तुति दिन्छन्, मञ्च बाहिर पनि त्यही गर्ने प्रयास गर्छन्, त्यो नसके नेताजस्तो उल्टोचाहिँ कहिल्यै गर्दैनन् । किनभने राजनीतिज्ञहरू भनेका मस्तिष्कले चल्ने प्राणी हुन् भने कलाकारहरू मनले चल्ने मानव हुन् । व्याख्या गर्नु आवश्यक छैन, मस्तिष्कले चल्ने मान्छे हिसाब-किताब गरेर चल्छ, मनबाट परिचालित मान्छे नाफा घाटा होइन, मनमौजी पाराले हिँड्छ ।

कलाकारिताको अर्को आकर्षण पनि छ । रंगमञ्चमा प्रस्तुत हुने कार्यक्रममार्फत दर्शकले मनोरञ्जन लिने कुरा त सबैलाई थाहा भएकै कुरा हो, तर प्रस्तुतकर्ताले पनि दर्शकहरूबाट पर्याप्त मनोरञ्जन लिइरहेका हुन्छन् भन्ने कुराचाहिँ नौलो हुनसक्छ, जसरी मञ्चबाट कलाकारले दिने प्रस्तुतिबाट दर्शकहरू आनन्दित भैरहेका हुन्छन् । त्यसैगरी हलमा उपस्थित दर्शकहरूबाट पनि मञ्चका कलाकारहरू परमानन्दित भैरहेका हुन्छन् । आउनुहोस्, यसैको गजुरियल विश्लेषण गरौं ।

झुर कार्यक्रम प्रस्तुत गरेबापत प्राप्त हुने अन्डा र गोलभेंडाबाट नेपाली कलाकारहरूले त्यति आनन्द प्राप्त गर्दैनन् । त्यसै त महँगा अण्डा र गोलभेंडा, त्यसमाथि झुर कार्यक्रमबापत यति महँगा उपहार दिन नेपाली दर्शकहरू सक्दैनन् । त्यस्तो अवस्थामा दर्शकबाट प्रस्तुत हुने होहल्ला, खाली बोतल, फुलाइएका कण्डम आदि बर्साउने चलन छ । आफूले तिरेको टिकटको दामबराबर मनोरञ्जन नपाएपनि कलाकार स्वयम् भने यस्ता उपहारले आनन्दित हुन्छन् ।

त्यसैगरी, दर्शकको चेतनास्तर एवं कलाकारको प्रस्तुतिको स्तर नमिल्दा पनि कलाकारले मञ्चमा मनोरञ्जन लिइरहेका हुन्छन् । लोकदोहोरीमा रमाउने बुवावर्गका अघि हेभी मेटलको  डांगडुंग, र्‍यापप्रेमिका सामुन्ने शास्त्रीय संगीतको प्रस्तुति, भजनप्रेमी हजुरआमालाई क्रान्तिकारी संगीत, कमेडीप्रेमी दर्शकलाई लभ ट्रेजेडी नाटक देखाउँदा दर्शकले होइन, कलाकारले चाहिँ मनोरञ्जन लिइरहेका हुन्छन् । प्रस्तुतकर्ता र दर्शकको केमेस्ट्री नमिल्दा दर्शकको अनुहारमा देखिने प्रतिक्रिया कम रमाइलो हुँदैन । त्यसैले तपाईंका छोरा, छोरी, भाइ, बहिनी, भान्जा, भान्जीले कलाकार हुन्छु भन्दा नाइँ नभन्नु ल !

प्रकाशित :भाद्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्