कुञ्जना घिमिरे (सुन्तली), हास्यकलाकार

कुञ्जना घिमिरे (सुन्तली), हास्यकलाकार

श्रावण ३०, २०७१

हास्य कलाकारितामा सक्रिय कलाकार हुन् कुञ्जना घिमिरे। हास्यकलाकार सीताराम कट्टेल 'धुर्मुस' की जीवनसंगिनी कुञ्जनाले हास्यश्रृंखला 'मेरी बास्सै' मा सुन्तलीका रूपमा अभिनय गर्दै पर्याप्त लोकप्रियता हासिल गरेकी छिन्। रेडियो नेपालबाट प्रसारण हुने नाटकमा अभिनय गर्दै कलाकारितामा आएकी कुञ्जनाले चेतनाका स्वरहरू, दिन प्रतिदिन, एक आपसका कुरा, साथीसँग मनका कुरा आदि दर्जनौं नाटकमा समेत अभिनय गरेकी छिन्। २०५९ सालमा 'माटोले माग्दैन आफैंले दिनुपर्छ' शीर्षकको टेलिश्रृंखलामार्फत टेलिभिजनमा आएकी कुञ्जनाले त्यसयता थुप्रै टेलिश्रृंखलामा अभिनय गरिसकेकी छिन्। 'मेरी बास्सै' मा सहभागी हुनुअघि उनले तीतो सत्यमा समेत अभिनय गरेकी थिइन्। मेरी बास्सैमा धुर्मसकी श्रीमती सुन्तलीको भूमिका निर्वाह गर्न थालेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। गाईजात्रे महोत्सवमा मञ्चन हुने प्रहसनमा समेत अभिनय गरिरहेकी कुञ्जनाले म्युजिक भिडियो तथा विज्ञापनहरूमा समेत अभिनय गरिसकेकी छिन्। कुञ्जनालाई दर्शकहरूले सुन्तलीका रूपमा मात्र चिनिरहेका छन्। कुञ्जनाका केही सेक्रेट कुरा उनकै शब्दमाः

हवाईजहाज

मलाई संसारमा सबैभन्दा डर लाग्ने कुरा हवाईजहाज चढ्नु हो। नेपालभित्र म सकेसम्म हवाईजहाजको यात्रा गर्दिनँ। काठमाडौंबाहिरका अधिकांश कार्यक्रममा सहभागिता जनाउन म कारको सहारा लिन्छु। विदेशका कार्यक्रममा भने हवाइजहाज नचढी हुँदैन। काठमाडौंको एयरपोर्टबाट उडेको हवाइजहाज गन्तव्यमा नपुगुञ्जेल मेरो मुटुको धड्कन तीव्र रहन्छ।

छोरीको नाम

म आमा बनेको खबर त अधिकांश दर्शकले थाहा पाइसक्नुभएको छ। पहिलो सन्तानका रूपमा मैले छोरी जन्माएकी छु। छोरी जन्मिएपछि नाम के राख्ने भन्ने विषयमा धेरै विचार-विमर्श गरियो। अन्ततः हामीले छोरीको नाम 'सुबिहानी' राख्यौं। यो नाम कसरी जुर्‍यो भन्ने जिज्ञासा पैदा हुनसक्छ। मैले बिहानै छोरी जन्माएकी थिएँ। मेरी बास्सैकी सुन्तलीले बिहानै छोरी जन्माएकीले छोरीको नाम— सुबिहानी।

गायन

अभिनयमा आउनुभन्दा अघि ममा गायिका बन्ने ठूलो रहर थियो। गीत गाएर स्थापित भएपछि नाम र दाम कमाइन्छ भन्ने सुनेकी थिएँ। अहिले पनि मेरो गीत गाउने रहर बाँकी नै छ, तर बिडम्बना मेरो स्वरले साथ दिइरहेको छैन। मेरो स्वरमा गीत रेकर्ड भयो भने त्यो गीत गाईजात्रे कार्यक्रममा मात्र सुहाउला भन्ने डरले अहिलेसम्म यो रहर पुरा गर्ने आँट आएको छैन।

दूध चिया

मलाई सबैभन्दा मन पर्ने पेय दूध हालेको चीया हो। म बरु एक दुई छाक खाना नखाई बस्न सक्छु तर दुध हालेको चिया नखाई बस्न सक्दिनँ। मेरो यो बानी म गर्भवती भएलगत्तै रोक्नुपर्ने भयो। डाक्टरले मलाई विडियम सुगर (गर्भवती भएको बेला हुने सुगर) भएको बताउँदै दूधको चिया खान रोकिदिए। अब मैले जीवनभर दूधको चिया खान नपाउने भएकी छु।

अभिनयविहीन एक वर्ष

म गर्भवती भएपछि ठ्याक्कै एक वर्ष दर्शकमाझ आउन पाइनँ। अधिकांश दर्शकलाई यो कुरा थाहा छैन। आमा बन्ने भएपछि रेस्ट गर्नुपर्ने भएकाले मैले पछिल्लो एक वर्ष रंगमञ्च र मेरी बास्सैमा अभिनय गरिनँ। अभिनयबिनाको यो एक वर्ष मैले कसरी बिताएँ, मलाई मात्र थाहा छ। सन्तानका लागि एउटी आमाले कतिसम्म त्याग गर्नुपर्दो रहेछ भन्ने कुरा पनि अहिले आएर बुझेकी छु।

प्रकाशित :श्रावण ३०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्