सुरु भयो गोसाइँकुण्ड मेला

सुरु भयो गोसाइँकुण्ड मेला

- विष्णु तारुके

श्रावण २३, २०७१

हरेक वर्षझैं यस वर्ष पनि गोसाइँकुण्ड मेला प्रारम्भ भएको छ। हिन्दूहरूको धार्मिक तथा पवित्र तीर्थस्थल रसुवाको गोसाइँकुण्डमा आइतबार जनैपूणिर्माको अवसरमा विशेष मेला लाग्दै आएको छ। प्रत्येक श्रावण शुक्ल पूणिर्मा अर्थात् जनैपूणिर्माको दिन लाग्ने मेला यो वर्ष जनैपूणिर्माभन्दा पाँच दिनअघि नै सुरु भएको हो। जनैपूणिर्माका दिन भीड बढ्ने भएका कारण तीर्थयात्रीहरू पाँच दिनअघिदेखि नै गोसाइँकुण्ड पुग्न थालेका हुन्। २०६३ सालमा रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डमा स्नान गर्न देशका विभिन्न स्थानबाट आउने तीर्थयात्रीको संख्यामा लगातार वृद्धि भैरहेको छ।

मेला भर्न आएका तीर्थयात्रीहरू सधैंजसो गैरहने मूलखर्क र राम्चेको पहिरोमा रोकिने गरेका थिए, तर यो वर्ष राम्चेको पहिरोले पनि पर्यटकहरूलाई साथ दिएको छ। मेलाका लागि सम्पूर्ण तयारी पूरा भैसकेकाले शनिबारदेखि नै गोसाइँकुण्डमा तीर्थयात्रीहरूको घुइँचो छ। समुद्री सतहबाट १४ हजार १ सय फिटको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेलामा आउने भक्तजनलाई आवश्यक सहयोग पुर्‍याउन गोसाइँकुण्ड क्षेत्र विकास समितिले विभिन्न उपसमिति गठन गरेको छ।

भक्तजनलाई पर्याप्त बासको व्यवस्था मिलाउन भैरहेका होटलका अतिरिक्त सयभन्दा बढी थर्कु छाप्रो राखिने भएको छ। तीर्थयात्रीहरूको स्वास्थ्यको विशेष हेरचाह गर्न गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, लौरीविनायकमा जिल्ला स्वास्थ्य कार्यालय र गि्रनसिटी अस्पताल तथा चोलाङपाटीमा नेपाली सेनाको नारायणदल गणद्वारा नि:शुल्क शिविर सञ्चालन गरिनेछ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिले मेला भर्न आउने तीर्थयात्रीहरूका लागि खाने-बस्ने दररेटसमेत तोकेको छ। मेलामा आउने तीर्थयात्रीहरूका लागि घट्टेखोलादेखि गोसाइँकुण्डसम्मकै लागि खाने-बस्ने दररेट तोकिएको छ, घट्टेखोलामा दाल-भात-तरकारी-अचारको १ सय ५० देखि २ सय ५० रुपैयाँसम्म पर्नेछ भने छाप्रामा सुतेको ३ सयदेखि ५ सयसम्म लाग्नेछ। तोकिएको दररेटभन्दा बढी रकम लिने उपर कारबाही गरिने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताए।

यस्तै गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रीहरू बीच बाटोमा लुटिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, रसुवाले सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी खटाएको छ। तीर्थयात्रीहरूलाई ठग्न नदिन प्रशासन कार्यालयले सिभिलमा गुप्तचरसमेत पठाउने योजना बनाएको छ। होटलवालाहरूले मौकाको फाइदा उठाउँदै तीर्थयात्रामा आउनेहरूलाई विगतका दिनमा ठगेको गुनासो आएपछि प्रशासनले यस्तो सतर्कता अपनाएको हो।

 

प्रकाशित :श्रावण २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्