पर्दापछाडिको कुरा राजाराम पौडेल, हास्यकलाकार

पर्दापछाडिको कुरा राजाराम पौडेल, हास्यकलाकार

श्रावण २३, २०७१

नाटकमा अभिनय गरिरहेका बेला पनि हामी कलाकारबीच भित्रभित्रै अर्को नाटक चलिरहेको हुन्छ। यद्यपि यस विषयमा दर्शकलाई छेउटुप्पो पत्तो हुँदैन। 'रिमोट कन्ट्रोल' शीर्षकको प्रहसन गर्दाको यस्तै एउटा घटना सम्झन्छु। प्रहसनमा किरण केसीले हरिवंश आचार्यको गर्लफ्रेन्ड हुनुपर्ने। मचाहिँ मदनकृष्ण श्रेष्ठकी श्रीमती। दुवै केटीको गेटअपमा थियौं। अझ किरण केसीको ब्याकलेस ड्रेस थियो।

स्टेजमा नाटक चलिरहेको थियो। त्यही मौकामा मैले किरण केसीको पछाडिको खुला भागमा काउकुती लगाइदिए। उनलाई खुब काउकुती लाग्ने। त्यसैले पनि मैले नजानिँदो पाराले उनको खुला ढाँडमा हात पुर्‍याएर काउकुती लगाइदिएँ। उनलाई भने डायलग बोल्नै गाह्रो भयो। स्टेजमा हामी जानीजानी नै मनोरञ्जनका लागि यसरी एक-अर्कालाई पेलिरहेका हुन्छौं।

'विज्ञापन' नाटकको कथा अर्कै छ। त्यसमा मैले लमीको भूमिका निर्वाह गरेको थिएँ। दृश्यअनुसार बेहुली लिन आएकासँग भुँडीले ठेलमठेल गर्नुपर्ने थियो। यसरी ठेलमठेलमा म लड्नुपथ्र्यो। नाटक भैरहेको राष्ट्रिय सभागृहको स्टेज टल्काउन भुइँमा मैन दलिएको रहेछ।  त्यो यति चिप्लो थियो कि ठेलमठेल गर्दा चिप्लिएर म सोफामा नराम्रोसँग ठोक्किन पुगें। हेर्ने दर्शकलाई त त्यो दृश्य गजबको लाग्यो होला तर मेरो दशा अर्कै। पछाडिको भाग ठोक्किएर बोल्नै सकिनँ। के गरौं, कसो गरौं भयो। लामो सास तानेर छाडें। केही क्षण यो क्रम दोहोर्‍याएपछि बल्ल ठीक भयो र नाटकलाई निरन्तरता दिएँ।

चलचित्रको छायांकनमा पनि यस्ता घटना घट्छन्। चलचित्र 'माइली' को एउटा दृश्यमा राजेश हमालले धकेलेपछि मैले लड्नुपर्ने थियो। सुरुमा हामीले कसरी धकेल्ने र कसरी लड्ने भन्ने अभ्यास गर्यौं। एउटा प्वाइन्टमा पुगेपछि राजेश हमालले मलाई 'पुस' गर्ने र म एक कान्ला तल खस्ने कुरा थियो। जब छायांकन सुरु भयो अभ्यासअनुसार नै राजेश हमालले मलाई धकेलिदिए। यद्यपि मैले आफूलाई सन्तुलनमा राख्न सकिनँ र लड्न थालें। अनि गुड्दै-गुड्दै सात कान्ला तल पुगें। लडेको ठाउँमा ढुंगा रहेनछ र मात्र चोटपटक लागेन। पछि चलचित्रमा त्यो दृश्य 'नेचुरल' देखिएको थियो।  टेलिसिरियल 'दुस्मन' को छायांकनमा खुब ठट्टा गरियो। त्यसका लागि हामी विराटनगर गएका थियौं। काठमाडौंबाट निर्माताले पैसा पठाइदिए भने खसी काटेर खाइन्थ्यो, नभए फर्सी-लौकामा झोल हालेर काम चलाउनुपर्ने। यद्यपि किरण केसी टन्न खाएर बसेका हुन्थे, म नजानेजस्तै गरेर अर्कै ठाउँमा गएर दालभात खाने 'अफर' गर्थें। त्यस्तै, मलाई बिहानै निद्राले छाड्छ, त्यसमाथि लामखुट्टेले सुत्नै नदिने। उता किरण केसीको बानीचाहिँ बिहान अबेरसम्म सुत्ने। उनी सुतिरहेकै बेला स्टिलको गिलासमा तातो चिया लिएर जान्थें र उनको गर्दनमा गिलासले छोइदिन्थें।

प्रकाशित :श्रावण २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्