एक पूर्वमन्त्रीको दैनिकी

एक पूर्वमन्त्रीको दैनिकी

- नरेन्द्र रौले

श्रावण १६, २०७१

पूर्व अर्थमन्त्री शंकर कोइराला यतिबेला सेवानिवृत्त जीवन बिताइरहेका छन्। सरकारी कामबाट फुर्सदिलो भए पनि उनीसँग व्यक्तिगत कामको लामै चाङ छ। कोइराला यतिबेला पहिले पूरा गर्न नसकेका, पछि गरौंला भनेर टारेका, योजना बनाएका तर पूरा गर्न नसकिएका कामहरू अघि बढाउँदैछन्। जागिरबाट अवकाश पाए पनि उनी जीवनबाट अवकाश भएका छैनन्। 'मेरो यात्रा जारी छ।' कोइरालाले भने, 'अझै समय नपुगेजस्तो भैरहेको छ।'

कविता लेखनमा विशेष चाख राख्ने कोइरालाको दैनिकी बिहान ६ बजे सुरु हुन्छ। उठेपछि योग, व्यायाम एवं नित्य पूजा गर्छन्। नबिराई नुहाउँछन्। नुहाइसकेपछि भने चिया पिउँछन् र एउटा स्याउ टोक्छन्। सामान्यत: १० बजेतिर उनको खाना खाने समय हुन्छ। कोइरालालाई नेपाली परिकार नै मन पर्छ। दाल-भात, तरकारी, गोलभेंडा र आलुको अचार उनको खान्कीमा छुट्दैन। उनी मासुका परिकार भनेपछि हुरुक्कै हुन्छन्। थकाली रेस्टुराँ छिरेर ढिंडोको स्वाद लिन पनि उत्तिकै रुचाउँछन्। पोखरा घुम्न जाँदा थकाली रेस्टुराँ उनको पहिलो रोजाइमा पर्छ। यता राजधानीमा पनि कहिलेकाहीं परिवारसँगै जाने रेस्टुराँ बानी छ।

कोइराला यतिबेला प्राय:जसो साहित्यिक एवं सांगीतिक कार्यक्रमहरूमा देखा पर्छन्। सामाजिक सम्बन्ध कायम राख्न पार्टीहरूमा सरिक हुन्छन्। पार्टीमा जानु रहरभन्दा पनि एक प्रकारको बाध्यता भन्न रुचाउँछन् उनी। औपचारिक कार्यक्रममा सहभागी हुँदा कोइराला दौरा-सुरुवाल र टोपी छुटाउँदैनन्। ६० वटा देश घुमेका कोइरालाले कहिल्यै नेपाली पोसाक बोक्न बिर्सिएनन्। कोइराला भन्छन्- 'नेपाललाई चिनाउन र मिडियाको ध्यान तान्न नेपाली राष्ट्रिय पोसाक एकदमै प्रभावकारी छ।' ५ दर्जन देश घुमेपछि कोइरालालाई सबैभन्दा बढी जापान र चीनले प्रभावित तुल्याए। उनी ५ पटक जापान पुगे। त्यहाँको सम्पन्नता, समृद्धि देखेपछि उनलाई लाग्यो, देश बनाउन एउटा पुस्ताले दु:ख गर्नैपर्ने रहेछ।

'अमेरिकाबाट प्रताडित जापानीहरू आफ्नै बुद्धि खियाएर माथि पुगे।' कोइराला भन्छन्-

'अर्थतन्त्र उकालो लाग्यो, सम्पन्नताको शिखरतर्फ लम्कँदै गयो।' नेपालीहरूले पनि कठोर मेहनत गर्ने हो भने ५ वर्षमा देशको मुहार फेरिनेमा कोइराला ढुक्क छन्। ०४८ देखि ०५१ मा आर्थिक वृद्धिदर ८ प्रतिशतले बढिरहेको थियो। त्यो बेला चीन र भारतभन्दा पनि नेपाल अगाडि थियो। 'हाम्रो एकल एजेन्डा विकास हुनैपर्छ।' कोइराला भन्छन्- 'हामी काम नगरेकाले मात्र पछाडि पर्‍यौं।' चीनको प्राकृतिक सुन्दरताबाट कोइराला विछट्टै मोहित छन्। हरेक पटक चीन पुग्दा उनलाई केही नयाँ लाग्छ। 'त्यहाँको राज्य, राजनीतिक दल एवं नागरिक सबै अनुशासित भएकाले प्रगति सम्भव भयो,' पाँच पटक चीनमा पाइला टेकेका कोइरालाले भने।  

भोजपुरको सरस्वती निमाविमा पढ्दा हाजिरीजवाफ, कविता प्रतियोगिताजस्ता अतिरिक्त क्रियाकलापमा सक्रिय कोइरालाको पहिलो कविता ०३७ सालमा 'मातृभूमि' साप्ताहिकमा छापियो। आफ्नो नाममा कविता प्रकाशित भएको रात खुसीले निद्रै नपरेको अनुभव छ उनीसँग। त्यसपछि त राष्ट्रिय स्तरका थुप्रै पत्रपत्रिकामा उनका कविता छापिए। कोइरालाका 'टाँकीको घाँस', 'निर्वस्त्र नगरी' गरी दुईवटा कविता-संग्रह तथा 'धड्कनभित्र' गीति-संग्रह प्रकाशित छन्। चलचित्रका लागि उनले लेखेका केही गीत थुप्रै श्रोताको मनमा बसेका छन्। उदितनारायण झाले स्वर दिएका

'लाजको लाली छोपेर आइदेऊ न, धड्कनभित्र लुकाइदेऊ न' जस्ता गीत थुप्रैले गुनगुनाइरहन्छन्। कर्णदासले स्वर दिएको 'आमा भन्दै रुन पाऊँ' र यम बरालले स्वर भरेको 'चिरेर हेर यो छाती मेरो' कैयौं श्रोताका प्रिय गीत हुन्। उनले सिर्जना गरेका गीत 'धड्कनभित्र', 'उपमा' र 'उत्साह' गरी तीनवटा एल्बममा संग्रहित छन्। गीतमा थोरै शब्दमा धेरै कुरा भन्नुपर्छ, तर कवितामा निर्भीकतापूर्वक अभिव्यक्ति दिन पाइन्छ। त्यसैले उनलाई गीतभन्दा कविता लेख्न बढी सजिलो लाग्छ। सरल शब्दमा अर्थपूर्ण अभिव्यक्ति दिन माहिर भूपी शेरचन उनका प्रिय कवि हुन्। कवि एवं गीतकारका रूपमा एसपी कोइरालाको परिचय बनाएका शंकर कोइराला देवकोटा, वैरागी काइँला, ईश्वर बराल तथा मोहन कोइरालाका कवितामा एकदमै चाख राख्छन्। नेपाली साहित्य अंग्रेजीलगायत अन्य भाषामा अनुवाद हुने हो भने विश्व साहित्यमा विशेष स्थान राख्ने उनको तर्क छ। कोइराला आफ्नो आवश्यकताअनुसार पुस्तक किन्छन्।

भोजपुरको पोखरेमा जन्मिएका कोइराला लेखनलाई जीवनको अभिन्न अंग मान्छन्। यात्रा गर्नु उनको अर्को रुचि हो। उनको चासो संगीतमा पनि छ। हार्मोनियम, किबोर्ड र गितार उनले सिकिसके। बाँसुरीको धुन उनलाई खुब मन पर्छ। गाडी, हवाईजहाज, बस र रेलमा उनी संगीतको धुन सुनेर यात्रालाई रमाइलो पार्छन्। यसले अर्कै संसारमा पुर्‍याएको अनुभूति दिन्छ- कोइराला भन्छन्। बच्चाहरूको स्कुल बिदाको समय मिलाएर बेलाबेला घुम्न, चलचित्र हेर्न जान्छन्। कोइराला नाम चलेका सबैजसो हिन्दी तथा अंग्रेजी चलचित्र हेर्छन्। अंग्रेजीमा अवतार, टाइटानिक, हिन्दीमा गजिनी र नेपालीमा मनको बाँध, कुसुमे रुमाल उनलाई अत्यधिक मन परेका चलचित्र हुन्।

 कोइरालाले पछिल्लो समय खिलराज रेग्मीको अध्यक्षतामा गठित सरकारको अर्थमन्त्रीका रूपमा ११ महिना जिम्मेवारी सम्हाले। 'मन्त्री बन्नु चुनौतीपूर्ण काम रहेछ,' कोइरालाले अनुभव सुनाए, 'आफ्नो जिम्मेवारी पूरा गर्न पाएकोमा भने सन्तोष लाग्छ।' आफू रहरले मन्त्री नभएको, परिस्थितिवश जिम्मेवारी आएकाले स्वीकार गरेको उनको तर्क छ। कोइराला भगवान्माथि विश्वास राख्छन्। देशका लागि केही गर्न पाए हुन्थ्यो भन्ने उनको मनमा लागिरहन्छ। 'ममाथि राज्यले यत्रो लगानी गरेपछि त्यसको गुन तिर्न आतुर छु,' छुट्टिने बेला उनले भने।

प्रकाशित :श्रावण १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्