साउन महिनाको सांस्कृतिक तथा आर्थिक महत्त्व

साउन महिनाको सांस्कृतिक तथा आर्थिक महत्त्व

  • संस्कृतिविद् प्रा.डा. विना पौड्याल

श्रावण ९, २०७१

धार्मिक दृष्टिकोणले साउन महिनालाई महत्त्वपूर्ण मानिन्छ। भगवान् शिव र प्रकृतिको पूजा गर्ने महिनाका रूपमा लिइने साउनलाई फलदायी महिना पनि भनिन्छ। कुनै खास पर्व मनाउँदा त्यहाँ परम्परा तथा संस्कृतिको समेत जगेर्ना भैरहेको हुन्छ। अर्को कुरा, हामी प्रकृतिप्रेमी भएकाले पनि हाम्रा पर्वविशेषसँग प्रकृतिका विशेषताहरू जोडिएका हुन्छन्। खाद्यान्न बालीका लागि महत्त्वपूर्ण मानिने साउन महिनामा धार्मिक एवं प्राकृतिक दृष्टिले समेत सबैको मनमा उत्साह थपेको हुन्छ। मनोरञ्जनका दृष्टिकोणले पनि यो महिनाको विशेष महत्त्व छ। अघिपछि घर बाहिर निस्कन नपाएका वा व्यस्ततामा अल्झिएका महिलाहरू साउन महिनाको सोमबार व्रत बस्छन् र त्यही बहानामा मन्दिर जान्छन्। मन्दिर जाने क्रममा आफन्त तथा साथीभाइहरूसँग भेट हुनु स्वाभाविक हो। यसै क्रममा उनीहरू श्रृंगारपटारमा समेत देखिन्छन्। यो महिना प्रायःजसो महिला हरियो, पहेंलो, रातो चुरा-पोते तथा पहिरनमा सजिएका हुन्छन्।

ढुङ्गे युगका मानिसहरू पनि ढुङ्गा वा अरू कुनै वनस्पतिलाई शरीरमा धारण गर्थे। त्यसको अर्थ परापूर्वकालदेखि नै सौन्दर्यका कुरामा मानिसहरू सचेत थिए भन्नेे हो। अहिलेको विकसित समाजमा प्रकृतिसँग सामीप्यता राखेर आफूलाई सजाउनु कुनै ठूलो कुरा होइन। अहिले चाडपर्व मनाउने क्रममा तथा संस्कृतिको नाममा फेसन बढेको हो कि भन्ने भ्रम सिर्जना हुनसक्छ। मानिस सदैव सौन्दर्यप्रति आकषिर्त रहने भएकाले पनि साउन महिनामा महिलाहरूले हरियो चुरा, पहेंलो पोते, रातो तथा हरियो पहिरनमा सजिन रुचाएको हुनसक्छ। यद्यपि, अरू बेला पनि पहेंलो, हरियो र रातो रंगले हाम्रो श्रृंगार तथा पहिरनको अभिन्न अंगका रूपमा रहन्छ, तर साउन महिनामा भने यी रंगले हामीलाई अझ बढी आकषिर्त गरिरहेका हुन्छन्। जसरी छेपारो, चरा, पुतलीहरूले वर्षमा एकपल्ट रूप फेर्छन् र त्यस क्रममा उनीहरूको शरीरमा बेग्लै चम क देखिन्छ त्यसैगरी मानिसले पनि साउन महिनामा प्रकृतिको सिको गर्दै आफ्नो रूप फेर्ने प्रयास गर्छन््। त्यसैले पनि साउन महिनामा महिलाहरूले हरियो, पहेंलो र रातो रंग धारण गरेर आफ्नो रूप फेर्ने प्रयास गरेका हुन्। यसै क्रममा सोमबारको व्रत वसी भगवान् शिवको पूजा गरेर मन शान्त राख्ने चलन पनि पहिलेदेेखि नै चलिआएको हो। भगवान शिवको आराधना गर्दा पूण्य प्राप्त हुने भएकाले महिलाहरूले यो महिनाको सोमबार व्रत बस्ने गरेका हुन्।

हामीले यस्ता परम्परा जोगाउनु आवश्यक छ, किनभने हाम्रो समाजको आधार र मर्मलाई यस्तै परम्पराले धानेका हुन्छन्। समाजले कतिपय धार्मिक आस्था एवं मान्यतालाई दर्शनका रूपमा अँगाल्दै आए पनि कालान्तरमा त्यो कर्मकाण्डका रूपमा विकसित भएर जान्छ। अहिले झट्ट हेर्दा हाम्रा कतिपय परम्परा कर्मकाण्डी लाग्छन् तर त्यसका पछाडि लुकेका ठोस कारणहरू केलाउने हो भने त्यस्ता कतिपय परम्परा विज्ञानसम्मत नै देखिन्छन्। यस्ता कुराले हाम्रो समाज धार्मिक एवं प्राकृतिक सम्पदामा कति धनी छ भन्ने कुराको छनकसमेत दिन्छ।

धर्मबाट निःसृत यस्ता परम्पराहरूको संरक्षणका लागि अहिलेका पुस्तालाई सचेत बनाउन तथा भविष्यको पुस्तालाई यस्ता परम्परा अवगत गराउन यसलाई पाठ्यक्रममा समेत समावेश गर्नुपर्ने देखिन्छ। पठनपाठनको माध्यमबाट नयाँ पुस्तालाई हाम्रा परम्पराहरूका सम्बन्धमा जानकारी दिन सकेको खण्डमा हाम्रो धार्मिक सम्पदाको संरक्षण हुन सक्छ। अर्को कुरा हाम्रा धार्मिक मान्यताहरूमा वैज्ञानिक आधार पनि छ भन्ने कुरा घामजत्तिकै छर्लंग पनि हुन्छ।

यस्ता परम्पराले अहिले व्यावसायिक रूपमा पनि महत्त्व पाउँदै गएका छन्। जस्तो अहिले साउन महिनाका लागि नै भनेर विशेष रूपमा हरियो, पहेंलो र रातो चुरा, पोते, टीका, गहना, पहिरन आदिको व्यवसाय फस्टाएको छ। अहिले यस्ता सामग्री भारतबाट आयात हुने भए पनि त्यस्ता वस्तुहरूको उत्पादन आफ्नै देशमा गर्न सक्ने हो भने त्यसले एकातिर थप रोजगारी सिर्जना गर्नेछ भने त्यसले हाम्रो अर्थतन्त्रलाई समेत टेवा दिन सक्छ। परम्परागत रूपमा चलिआएका पर्वहरू आम्दानीका राम्रा स्रोत पनि हुन सक्छन् भन्ने कुरा बुझ्नु पनि उत्तिकै आवश्यक छ।

प्रकाशित :श्रावण ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्