नेपाली तारालाई २५ लाख

नेपाली तारालाई २५ लाख

श्रावण ९, २०७१

सांगीतिक रियालिटी शो नेपाली ताराको तेस्रो संस्करणका सहभागीहरूका लागि झन्डै २५ लाखको पुरस्कार व्यवस्था गरिएको उक्त कार्यक्रमका निर्माता तथा निर्देशक रञ्जित आचार्यले बताएका छन्। भदौको दोस्रो हप्तातिर अडिसन प्रारम्भ हुने उक्त शोका विजेताले एउटा मोटरसाइकल लगायत  २ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारका साथै नेपाली ताराका रूपमा तीनवटा गीत गाउन पाउने अवसर प्राप्त गर्नेछन् र ती तीनवटै गीतको म्युजिक भिडियो पनि निर्माण गरिनेछ। टप टेनमा पुग्ने प्रत्येक प्रतियोगीले ११ हजार रुपैयाँ नगद पुरस्कारका साथ टप १० एल्बममा एक-एकवटा गीत रेकडिङ गर्न पाउनेछन्।

संगीत निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगीतकार तथा गीतकार सुरेश अधिकारी एवं गायक रामकृष्ण ढकाल निर्णायक रहने नेपाली तारामा गायक तथा संगीतकार जेम्स प्रधान र राजन इसानले अन्तिम २० प्रतियोगीलाई मेन्टोर जजका रूपमा प्रशिक्षण प्रदान गर्नेछन्। भदौको दोस्रो साता अडिसनको पहिलो भाग काठमाडौंको डिल्लीबजार, नयाँबजार र चाबहिलका साथै ललितपुर, भक्तपुर, पोखरा, धरान बुटवल तथा नारायणगढमा हुँदैछ। कार्यक्रममा सहभागिता वृद्धि गर्न मोबाइल अडिसन पनि लिइनेछ। कार्यक्रमको मुख्य आयोजक निल बाराही फिल्म्सका अनुसार करिब २० हजार प्रतियोगीले यो मेगा ट्यालेन्ट सोको अडिसन दिनेछन्।

नेपाल टेलिभिजन र एनटिभी प्लसको प्रसारणसँगै नेपाली ताराको विभिन्न चरण युट्युब डटकमबाट पनि प्रसारण गरिनेछ। आठ वर्षअघि आयोजना गरिएको नेपाली ताराका दुई संस्करणले अहिलेका चर्चित गायक-गायिका दीपक लिम्बू, धर्मेन्द्र सेवान, सन्तोष लामा, इन्दिरा जोशी, पुष्पा पौडेल, रूपक डोटेल, दुर्गा खरेल, रोजिना गुरुङ, अजहर जंगम, तारा लक्सम, सुरज थापा, मल्लिका कार्की आदिलाई अवसर प्रदान गरेको थियो।

प्रकाशित :श्रावण ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्