परिमार्जन हुन सकेन पाठ्यक्रम

परिमार्जन हुन सकेन पाठ्यक्रम

श्रावण ९, २०७१-

एक समय थियो, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रवीणता प्रमाणपत्र तहका शैक्षिक पाठ्यक्रम अब्बल मानिन्थे। दक्षिण एसियास्तरमै नवीन शैक्षिक कार्यक्रम प्रस्तुत गर्ने यो विश्वविद्यालयले समयानुकूल शैक्षिक कार्यक्रम चलाएको थियो, त्यसमा पनि हरेक वर्ष अपडेट गरेर शैक्षिक कार्यक्रमहरू लागू गरिन्थ्यो, यो क्रम लामो समय चलेन, पछि २८ देखि ३० वर्ष पुराना शैक्षिक कार्यक्रममा अध्ययन गर्नुपर्ने बाध्यता विद्यार्थीहरूले बेहोर्नुपर्‍यो। यही क्रममा प्रवीणता प्रमाणपत्र तह फेज आउट भयो। त्यसपछि उच्च माध्यमिक शिक्षा परिषद्अन्र्तगत समानान्तर प्लस टु कार्यक्रमको शैक्षिक पाठ्यक्रम लोकप्रिय हुन थाल्यो। विद्यार्थीले हरेक वर्ष अपडेट हुँदै परिमार्जित पाठ्यक्रममा अध्ययन गर्ने अवसर पाए। लोकप्रिय प्लस टुका रूपमा परिषद्को उच्च माध्यमिक तहको यो पाठ्यक्रम स्थापित भैसकेको थियो, तर यो क्रम पनि अब लामो समय नटिक्ने संकेत देखिन थालेको छ। परिषद्को शैक्षिक पाठ्यक्रम अपडेट हुँदै तथा नयाँ विषयहरू थपिँदै जानुपर्नेमा तीन वर्षयता पाठ्यक्रम अद्यावधिक हुन सकिरहेका छैनन्।

परिषद् स्रोतका अनुसार नयाँ पाठ्यक्रम लागू गर्न तथा पुराना पाठ्यक्रमलाई अद्यावधिक गर्न सबै तयारी गरेर शिक्षा मन्त्रालयमा फाइल पेस गरिएको छ, तर मन्त्रालयले फाइल सदर गरेको छैन, जसका कारण न नयाँ विषयमा अध्यापन प्रारम्भ गर्न सकिएको छ, न पुराना पाठ्यक्रम अपडेट नै हुन सकेको छ। मन्त्रालय र परिषद्बीचको तादात्म्यता नमिल्दा समयअनुकूल शैक्षिक कार्यक्रम सञ्चालनमा आउन नसकेको परिषद् स्रोतले जानकारी दिएको छ।

उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रम महाशाखाले समयानुकूल पाठ्यक्रम थप्ने तथा परिमार्जन गर्ने नीतिअनुरूप गत वर्ष नै नयाँ विषयका तीनवटा पाठ्यक्रम लागू गर्ने तयारी गरेको थियो। कक्षा ११ र १२ मा खेलकुद विज्ञान तथा कक्षा १२ मा सामान्य कानुन विषयको पाठ्यक्रम तयार भएर गत वर्षदेखि सञ्चालनमा आउने परिषद् पाठ्यक्रम महाशाखाका प्रमुख रामचन्द्र पाण्डेले बताएका थिए। न्यायसेवामा खपत हुन सक्ने जनशक्ति विकासका लागि सामान्य कानुनको पाठ्यक्रम विकास गरिएको पाण्डेको तर्क थियो। पाण्डेका अनुसार न्यायक्षेत्र, सुरक्षा व्यवस्था आदि विषयका ज्ञाताहरूसँगको परामर्शमा उक्त पाठ्यक्रम विकास भएको थियो। सामान्य कानुन अध्ययन गरेका विद्यार्थीहरूले स्नातक तहमा कानुन विषय लिएर अध्ययन गर्न चाहे उनीहरूलाई थप सहज हुने बताइन्छ। खेलकुद विज्ञान पनि नेपालको हकमा नयाँ विषय हो। खेदकुदसँग सम्बन्धित विभिन्न पक्षका बारेमा ज्ञान हासिल गर्न यो विषय उपयोगी हुने पाण्डेले जानकारी दिए। यी विषयहरू शिक्षा सचिवसहितको बोर्डले पास गरेर मन्त्रालयले पनि सकारेपछि मात्र अध्यापनका निम्ति उपयुक्त मानिनेछन् तर दुर्भाग्य पाठ्यक्रम तयार गरेर ३ वर्षअघि नै पेस गर्दा पनि अहिलेसम्म निर्णय हुन सकेको छैन भने त्यतिबेलाको पाठ्यक्रम अहिले अपडेट गर्नुपर्ने अवस्थामा पुगिसकेको छ।

समस्या अर्को पनि छ, परिषद्ले समयअनुसार नयाँ तथा परिमार्जित पाठ्यक्रम लागू गर्ने बताए पनि तयार भैसकेका नयाँ पाठ्यक्रम जनशक्तिको अभावमा अध्यापन गराउन सकेको छैन। तीन वर्षअघि नयाँ विषयका रूपमा 'ह्युमन भ्यालु' लाई समावेश गर्ने योजना बनाएको परिषद्ले अर्को वर्ष मात्र यो विषयको अध्यापन सुरु गर्न सकिने बताएको छ। पाठ्यक्रम महाशाखाका प्रमुख पाण्डेका अनुसार यो विषयको अध्यापन सुरु गर्न सबै तयारी पूरा भैनसकेका कारण रोकिएको हो। अहिले एक संस्थासँग मिलेर मानवीय मूल्य विषयको जनशक्ति विकासमा समेत ध्यान दिइएको छ। परिषद्का अनुसार कक्षा ११ र १२ मा गरेर ह्युमन भ्यालुको २ सय पूर्णाङ्कको पाठ्यक्रम तयार गरिएको थियो। मानविकी संकायसँग सम्बन्धित यो विषयको पाठ्यक्रम भविष्यमा सामाजिक कार्य, शान्ति शिक्षा, द्वन्द्व व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा उच्च शिक्षा हासिल गर्न आधारभूत ज्ञान मिल्ने गरी बनाइएको छ।

समस्या मानवीय मूल्यको मात्र होइन, तीन वर्षअघि योसहित ९ वटा विषयको पाठ्यक्रम लागू गर्ने गरी परिषद्ले शिक्षासचिव रहेको बोर्डबाट पास गरी मन्त्रालयमा पठाएको थियो, तर अर्को वर्षको नयाँ सेसन सुरु भैसक्दा पनि ती फाइल मन्त्रालयका कर्मचारीहरूले थन्क्याएर राखिदिएका थिए। गत वर्षदेखि यी विषयमा अध्यापन सुरु भएको छ।

गत वर्ष नै पाठ्यक्रम महाशाखाले अर्थशास्त्र, आमसञ्चार, जनजंख्या अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षाका ११ र १२ दुवै कक्षाका पाठ्यक्रम पनि परिमार्जन गरेको थियो, तर निर्णयको अभावमा ती परिमार्जित शैक्षिक कार्यक्रम लागू हुन सकेका छैनन्। 'पाठ्यक्रम महाशाखाअन्तर्गत विषय समितिले तयार पारेको पाठ्यक्रममा सबै प्रक्रिया पुर्‍याएर पेस गर्दा पनि लागू गर्न ढिलाइ हुन्छ' महाशाखा प्रमुख पाण्डेले भने- 'फलोअप गरिरहनुपर्ने हुन्छ, आज फेरि फलोअप गर्छु, सकेसम्म यी सबै शैक्षिक कार्यक्रम यही वर्षदेखि सञ्चालनमा ल्याउने पहल हुन्छ, मन्त्रालयमा पाठ्यक्रमका फाइल थन्क्याएर राख्ने बानीका कारण समस्या उत्पन्न भएको हो।'

दुई वर्षअघि परिषद्ले कक्षा १२ का लागि १ सय पूर्णाङ्कको संस्कृत रचना, ११ र १२ का लागि २ सय पूर्णाङ्कको व्याकरण कक्षा, कक्षा १२ का लागि १ सय पूर्णाङ्कको संगीत विषयको थप पाठ्यक्रम लागू गरेको थियो। यस्तै परिमार्जन गरिएका ४ वटा विषयमा कक्षा ११ र १२ का लागि परिमार्जित २ सय पूर्णाङ्कको संगीत तथा कक्षा ११ र १२ का लागि परिमार्जित २ सय पूर्णाङ्कको कृषि विषयका पाठ्यक्रम थिए।

परिषद्ले चार वर्षअघि विजनेस अर्गनाइजेसन एन्ड अफिस म्यानेजमेन्ट (बुम) तथा अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल प्राक्टिस (ओमएसपी) समावेश गरी बिजनेस स्टडिज नामको नयाँ पाठ्यक्रम लागू गरेको थियो। परिषद्ले रोजगारमुखी शिक्षालाई प्राथमिकता दिने योजनाअनुरूप गत वर्ष भोकेसनल कोर्सका रूपमा 'एप्लाइड ब्युटी' र 'फलोरिकल्चर' को पाठ्यक्रम पनि लागू गरेको थियो। ब्युटिसियन पेसा अपनाउन तथा फूलको व्यवसाय गर्न यी पाठ्यक्रमको अध्ययन प्रभावकारी सावित हुनेछन्।

महाशाखा प्रमुख पाण्डेले साप्ताहिकसँग भने- 'योजनाअनुरूप यो वर्ष धेरै विषयका पाठ्यक्रम परिमार्जित हुनुपर्ने भए पनि मन्त्रालयको कार्यशैली, शिक्षक तालिम, विभिन्न गोष्ठी-सेमिनारमा व्यस्त हुनुपरेको तथा बजेट विनियोजन ढिला भएकाले योजनाअनुरूप काम गर्न सकिएन।' पाण्डे भन्छन्- 'आशा गरौं, अर्को वर्ष धेरै विषयको पाठ्यक्रम परिमार्जन हुनेछ।'

परिषद्ले तीन वर्षअघि कक्षा १२ का मार्केटिङ, प्राक्टिस टिचिङ, सोसियल स्टडिज, इन्स्ट्रक्सनल इभालुएसनका पाठ्यक्रम परिमार्जन गरेको थियो। पाँच वर्ष अघि कक्षा १२ मा जेन्डर स्टडिज, फुड एन्ड न्युटि्रसन, रुरल डेभलपमेन्ट, एलिमेन्ट अफ फिनान्स, को-ओपरेटिभ म्यानेजमेन्ट, जनरल ल, लाइब्रेरी एन्ड इनफरमेसन साइन्स, केमेस्ट्री एजुकेसन, इनभाइरोमेन्ट एजुकेसन, जनरल कन्सेप्ट अफ एजुकेसन, इन्ट्रोडक्सन टु एजुकेसनल साइकोलोजीको नयाँ पाठ्यक्रममा अध्ययन सुविधा मिलाइएको थियो।

समयसापेक्ष पाठ्यक्रममा विद्यार्थीलाई शिक्षित बनाउने उद्देश्यअनुरूप परिषद्ले नयाँ पाठ्यक्रम विकास तथा पुरानो पाठ्यक्रममा परिमार्जन गर्दै लगेको बताएको छ। उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार अन्तर्राष्ट्रिय मापदण्डको प्लस टुको पाठ्यक्रम प्रत्येक वर्ष केही न केही परिवर्तन हुनुले परिषद् पाठ्यक्रमप्रति सचेत रहेको स्पष्ट हुन्छ। अर्याल भन्छन्- 'पाठ्यक्रम उत्कृष्ट हुनु नै प्लस टु लोकप्रिय हुने मूख्य आधार हो। व्यावहारिक शिक्षा पद्धतिमा जानुपर्छ भन्ने मान्यताअनुरूप हामीले शैक्षिक कार्यक्रम विकास गरेका छौं।'

प्लस टु तहमा होटल म्यानेजमेन्ट, आमसञ्चार तथा पत्रकारिता, ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्ट, फ्लोरिकल्चर, एप्लाइड ब्युटी, समाजशास्त्र, दर्शनशास्त्र, सहकारी व्यवस्थापन, सामान्य कानुन, ग्रामिण विकास, पुस्तकालय तथा सूचना विज्ञानका साथै अन्य भाषागत विषय जस्ता व्यवहारिक तथा सैद्धान्तिक विषयहरू समेटिएका छन्।

अझ ठूलो समस्या विश्वविद्यालय तहअन्तर्गत स्नातक तहदेखिको पाठ्यक्रममा छ। समयअनुसार ती पाठ्यक्रम अपडेट हुन नसक्दा प्लस टुको शैक्षिक पाठ्यक्रम जति नै स्तरीय भए पनि विशेषज्ञता हासिल गर्न चाहने विद्यार्थीको सपना अधुरै रहने शिक्षाविद्हरू बताउँछन्। प्लस टु गरेका विद्यार्थीको शैक्षिक वातावरण सुहाउँदो शिक्षा विश्वविद्यालयमा नहुनुले उनीहरू त्यहाँ पुग्दा 'बालुवामा पानी हाले जस्तो हुने' टिप्पणी शिक्षाविदहरू गर्छन्। 'माथीको शैक्षिक प्रणालीमा सुधार नगरेसम्म प्लस टु शिक्षा जति नै राम्रो भए पनि समग्र शैक्षिक उपलब्धि प्राप्त हुन सक्दैन,' दिव्यदर्शन उमाविका निर्देशक एवं प्राध्यापक सुबास खतिवडा भन्छन्- 'त्यसैले अब विश्वविद्यालयले पनि समय अनुसार शैक्षिक पाठ्यक्रममा परिवर्तन ल्याउन सक्नुपर्छ।'

प्लस टुको शैक्षिक पाठ्यक्रममा खोट लगाउने स्थान पनि पर्याप्त भएको एकथरी विज्ञहरू बताउँछन्। प्लस टुमा व्यवसायिकता एवं क्षणिक आकर्षणका विषयलाइ मध्यनजर गरेर राम्रा र पढ्नै पर्ने विषयलाई समायोजन नगरी व्यावसायिक तालिमको भरमा पुरा गर्न सकिने पाठ्यक्रममा जोड दिइएको विज्ञहरू बताउँछन्। प्लस टु उच्च शिक्षाको आधार भएकाले बहुआयामिक पाठ्यक्रममा जोड दिइनुपर्ने उनीहरूको तर्क छ।

प्लस टु पाठ्यक्रम एकल पथ उन्मुख पाठ्यक्रम हो। जसमा विद्यार्थीले ऐच्छिक विषय राखेर अध्ययन गर्न पाउँछन्। उच्च शिक्षाका क्रममा कुनै पनि संकायमा जानेभन्दा पनि प्लस टुको शिक्षालाइ माध्यमिक स्तरको शिक्षा मानेर विद्यार्थीको रोजाइअनुरूपका विषयमा अध्ययन गर्न पाउने सुविधा एकलपथ हो, तर अहिलेको अवस्थामा परिषद्को प्लस टुलाइ एकलपथ मान्न सकिँदैन। किनभने प्लस टुमा एसएलसी उत्तीर्ण विद्यार्थीले विश्वविद्यालयमा जस्तै विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा शास्त्र संकाय अन्तर्गत कुनमा अध्ययन गर्ने हो त्यही संकाय रोज्नुपर्छ। यद्यपि प्लस टु को शैक्षिक पाठ्यक्रमलाई परिषद्ले संकायगत मान्दैन। परिषद्ले नयाँ विषयको पाठ्यक्रममा ध्यान दिए पनि संरचनागत पुरानो ढर्रालाइ अझै छोड्न सकेको छैन्। प्लस टुलाई माध्यमिक स्तरकै शिक्षा मान्ने हो भने यसमा विशिष्टीकरणका लागि छुट्टाछुट्टै संकायको आवश्यकता छैन। त्यसकारण एकलपथ उन्मुख पाठ्यक्रम लागू गर्नेतर्फ परिषद् व्यवहारिक हुन सकेको छैन।

परिषद्को अहिलेको पाठ्यक्रम परिषद्अन्तर्गतकै पाठ्यक्रम विकास समितिले तयार गरेको हो। त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू सम्मिलित विषय समितिले पाठ्यक्रम विकास समितिअन्तर्गत रहेर यी पाठ्यक्रम निर्माण गरेका हुन्। अर्को मुख्य कुरा, परिषद् मात्र यस्तो निकाय हो, जहाँ पाठ्यक्रम विकासका लागि पाठ्यक्रम विकास केन्द्र नै छैन। पाठ्यक्रम महाशाखाले शिक्षकहरूको सहयोगमा पाठ्यक्रम निर्माण गर्दै आएको छ।

उच्च माध्यमिक शिक्षा परिषद्ले सिटिइभिटी अन्तर्गत ३ वर्षे पाठ्यक्रममा अध्ययन गरेका हेल्थ साइन्सका विद्यार्थीलाइ ६ सय पूर्णाङ्क बराबरको परीक्षा दिएपछि समकक्षता प्रदान गर्ने बताएको छ। महाशाखा प्रमुख पाण्डेका अनुसार अंग्रेजी, नेपाली, फिजिक्स, केमेस्ट्री र बायोलोजीमा ६ सय पूर्णाकंको परीक्षा उत्तीर्ण गरे प्लस टु साइन्स अध्ययन गरेबराबर मानिनेछ।

प्रकाशित :श्रावण ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्