एसएलसी र उच्च शिक्षाबीचको अन्यौल

एसएलसी र उच्च शिक्षाबीचको अन्यौल

- एकराज सुवेदी

असार १३, २०७१

एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उत्तीर्ण विद्यार्थीको ध्यान उच्च शिक्षामा केन्दि्रत भएको छ। उनीहरू एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन्। यो अवस्थामा विद्यार्थी र तिनका अभिभावक समेतले एउटा बलियो निर्णय लिनुपर्ने आवश्यकता छ। नेपालको वर्तमान शिक्षा प्रणाली केही अन्यौलताबाट पनि गुजि्ररहेको छ। विद्यार्थीले पढ्नुपर्ने बाध्यता पनि छ र पढ्नकै लागि कठिन अवस्था पार गर्नुपर्ने अवस्थासमेत छ। फेरि एसएलसी र उच्च शिक्षाका बीचमा केही समस्या पनि छन्। विषय वा कलेज छनोटमा पनि त्यत्तिकै समस्या छन्। सही कलेज र विषय छनोट भएन भने भविष्य नै अन्धकार हुनसक्छ। यस्तै विषयमा केन्दि्रत रही हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग छलफल गर्‍यौं। छलफल कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष उमेश श्रेष्ठ, उच्च माध्यमिक शिक्षा परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्याल तथा अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी सहभागी हुनुहुन्थ्यो।

डा. बिद्यानाथ कोइराला

शिक्षाविद्

यसपटक पोहोरको तुलनामा लगभग अढाई प्रतिशत बढी विद्यार्थी एसएलसी उत्तीर्ण भएका छन्। यसलाई सकारात्मक नै मान्नुपर्छ। व्यावसायिक हिसाबले हेर्दा यसले निजी विद्यालयहरूलाई फाइदा होला भन्न सकिन्छ, तर पछिल्लो समयमा यसरी थोरै विद्यार्थी उत्तीर्ण हुनुको फाइदा विद्यार्थी तथा अभिभावकहरूलाई पनि हुनसक्छ। यसले गर्दा कलेजहरूले मोल घटाएर र सुविधा बढाएर विद्यार्थी आकषिर्त गर्न सक्छन्। यद्यपि यसैका कारण दलाली गर्नेहरू पनि बढ्ने सम्भावना छ। नाम चलेका कलेजलाई त समस्या नहोला, तर नाम नचलेकाहरूले निश्चित विद्यार्थी कलेजमा ल्याइदिए कमिसन दिने चलन पनि बढ्न सक्छ। खासगरी पछिल्लो समयमा फस्टाइरहेको बि्रजकोर्स गराउने इन्स्िटच्युटहरूले त्यसो गर्न सक्छन्। यसले गर्दा विद्यार्थीहरू झुक्किएर नराम्रो कलेजको फन्दामा पुग्ने सम्भावना पनि हुन्छ। यो कुरामा विद्यार्थीहरू विशेष सचेत हुनु आवश्यक छ। बरु अहिले गाउँ-गाउँमा सरकारी प्लस टुको प्रभाव बढिरहेको छ, जसले गर्दा यो वर्ष ती कलेजमा विद्यार्थी बढ्ने मेरो अनुमान छ।

अहिले नेपालमा अब पढेर के गर्नु छ र ? भन्ने मानसिकतामा परिवर्तन आएको छ। पढाइ नै सबथोक हो भन्नेहरू बढिरहेका छन्। यसले गर्दा गरेर खाने सोच वा मानसिकता भएका मानिसहरूको जमात बढिरहेको छ। यसले गर्दा पनि कलेजहरूले आफूलाई प्रतिस्पर्धी बनाउनुपर्ने दबाब बढिरहेको छ। प्लस टुको पाठ्यक्रम आफैंमा नराम्रो छैन। बरु यसलाई कार्यान्वयनमा ल्याउने शिक्षकहरूले अझ बढी मेहनत गर्नुपर्ने आवश्यकता छ। त्यसो हुन सक्यो भने हाम्रो यो शिक्षा प्रणालीले राम्रो प्रतिफल दिनेमा म विश्वस्त छु।

सुप्रभात भण्डारी

अध्यक्ष, अभिभावक संघ

अहिलेको परीक्षा परिणामले एउटा ठूलो सामाजिक विभाजन ल्याएको छ। हाम्रो शिक्षा प्रणाली नै त्यस्तै छ। अधिकांश विद्यार्थी अनुत्तीर्ण हुनु भनेको शिक्षक, अभिभावक, नीति निर्माता सबै अनुत्तीर्ण हुनु हो। त्यसैले यो विषयमा सबैले ध्यान पुर्‍याउनु आवश्यक छ।

उत्तीर्ण भएका विद्यार्थीहरूका बीचमा पनि एक प्रकारको अन्यौल छ। अब कुन विषय पढ्ने र के बन्ने भन्ने छनोट प्रारम्भ भएको छ। यो एक प्रकारको कठिन अवस्था हो। यो अवस्थामा अभिभावक एवं विद्यार्थीहरूको रुचिका बीचमा द्वन्द्व हुनसक्छ। पढ्ने जिम्मेवारी विद्यार्थीको भए पनि उनीहरूले सही विषय वा कलेजको छनोट नगर्न सक्छन् भने अभिभावककै करकापका कारण सही विषय छनोट नहुन सक्छ। त्यसैले यो अवस्थामा आफ्नो आर्थिक वा शैक्षिक पृष्ठभूमि, कलेजले लिने शुल्क, कलेजका सञ्चालकहरूको पृष्ठभूमि, कलेजमा पढेका पुराना विद्यार्थीहरूको अहिलेको अवस्था आदि हेरेर कलेज छनोट गर्नुपर्छ। यो अवस्थामा अभिभावक एवं विद्यार्थी दुवै पक्ष संयमित भएर अघि बढ्नु आवश्यक छ।

ऋषि तिवारी, प्रिन्सिपल

पिनाकल कलेज, लगनखेल

अध्यक्ष, हिसान ललितपुर

कलेजहरूको प्रतिस्पर्धा तीव्र हुनुको कारण ?

एसएलसीमा उत्तीर्णदर कम हुनु तथा प्लस टुको संख्या बढ्दै जानुले प्रतिस्पर्धा बढेको हो। एसएलसी उत्तीर्ण भएर राम्रो उच्च शिक्षाको खोजीमा भौंतारिरहेका विद्यार्थीहरूका लागि पनि यो प्रतिस्पर्धा राम्र्रै मान्न्पर्छ, तर शैक्षिक मर्यादा नाघेर विद्यार्थी तान्ने प्रयास गर्नु हँुदैन। यो समयमा मर्यादित प्रतिस्पर्धा हुनु आवश्यक छ।

विद्यार्थीले कस्तो उमावि रोज्ने त ?

मूलतः ६ वटा कुरामा ध्यान दिनु आवश्यक छ। पहिलो उमाविको विगतको रिजल्ट। दोस्रो अनुभवी शिक्षण र व्यवस्थापन समूह। तेस्रो  उमाविको शैक्षिक तथा भौतिक वातावरण। चौथो उमाविको स्थानीय समाजसँगको सम्बन्ध। पाँचौं अतिरिक्त क्रियाकलाप। छैटौंमा उमाविबाट अध्ययन पूरा गरेका

विद्यार्थीहरूको प्रतिक्रिया।

विद्यार्थीहरूका लागि केही टिप्स ?

प्लस टु तह उच्च शिक्षाको सबैभन्दा महत्वपूर्ण तह हो। चिकित्सक, इन्जिनियर, बैंकर्स, चार्टड एकाउन्टेन्ट, अधिकृतजस्ता क्षेत्रमा जान यो तहमा अध्ययन गरेको पृष्ठभूमिले काम गर्छ। विद्यार्थीले यो समयमा आफ्नो स्वार्थ हेर्नुपर्छ नकि कलेजको। उच्च शिक्षाको लक्ष्यप्राप्त गर्न माथि उल्लेखित कुरालाई ध्यान दिएर उमावि छनौट गर्नु आवश्यक छ।

विद्यार्थीले किन सामुदायिक उमावि छोडेर निजी उमाविमा भर्ना हुने ?

निजी उमाविमा अध्ययन गर्नु विद्यार्थीका निम्ति बाध्यता हो। सामुदायिक उमाविमा पर्याप्त रिसोर्सेज हुँदाहुँदै पनि त्यहाँको परिणाम अपेक्षाअनुरूप छैन, किनभने त्यहाँको टिचिङ लर्निङ प्रोसेस इफेक्टिभ छैन। कक्षा नियमित हँुदैन। कुनै पनि सामुदायिक उमाविले विद्यार्थीको क्षमता हेरेर उसलाई अतिरिक्त कक्षाको आवश्यकता छ-छैन हेर्दैन। हामी त प्रतिस्पर्धाकै लागि भए पनि विद्यार्थीलाई सफल बनाउन सक्दो प्रयास गर्छौं। भविष्यमा उसले रोजगारी प्राप्त गर्ने बाटो निर्माण गर्छौं। विद्यार्थीले मेडिकल तथा इन्जिनियरिङको प्रवेश परीक्षामा सहजै सफलता हासिल गरून् भनेर त्यसलाई सपोर्ट गर्ने किसिमका कक्षाहरू सञ्चालन गर्छौं।

उमेश श्रेष्ठ

अध्यक्ष, उच्च माध्यमिक विद्यालय संघ (हिसान)

नेपालमा सरकारी शिक्षा प्रणाली नै असफल भएको संकेत हो यो। सरकारी विद्यालयमा लगभग २८ प्रतिशत र निजी विद्यालयका ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु पनि यो कुराको प्रमाण हो। हामी निजी क्षेत्रमा कार्यरत शिक्षाप्रेमीहरू खटेर काम गरिरहेका छौं भने सरकारी क्षेत्रमा त्यस्तो अवस्था छैन। खासगरी गाउँघरका विद्यालयहरूमा कोर्स सिध्याउने परिपाटी छैन भने विद्यालय व्यवस्थापन समितिदेखि लिएर धेरै कुरा राजनैतिक आस्थाका आधारमा सञ्चालन भैरहेको छ। शिक्षकहरूको अवस्था पनि त्यस्तै छ। राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था छैन। यसले गर्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यसमा सुधार ल्याउन सामुदायिक क्षेत्रले आर्थिक स्रोतको व्यवस्थापन गर्ने र निजी क्षेत्रले शैक्षिक व्यवस्थापन गर्ने जस्तो पब्लिक प्राइभेट पार्टनरसिपको व्यवस्था गर्नु राम्रो हुन्छ। यो कुरामा सरकारी क्षेत्रको ध्यान जानु आवश्यक छ।

अहिलेको नतिजाअनुसार एउटा विद्यालयलाई औसतमा २ सय विद्यार्थी उपलब्ध हुन्छन्। देशभर रहेका ३५ सय प्लस टुमध्ये गाउँमा पनि धेरै प्लस टु छन्। एसएलसीमा उत्तीर्ण धेरै भए नै विद्यार्थी पनि धेरै हुने हुन्, तर पनि विज्ञान, व्यवस्थापन, प्राविधिक तथा व्यावसायिक शिक्षा लिन चाहनेहरूले अझै राम्रोसँग पढ्न सक्ने उपयुक्त कलेज प्राप्त गर्ने वातावरण छैन। यी सबै कुरा अध्ययन गरी यो तहको शिक्षालाई थप व्यवस्थित तुल्याउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ।

स्वागत श्रेष्ठ, अध्यक्ष

काठमाडौं भ्याली कलेज, हिसान, काठमाडौं

विद्यार्थी तान्ने होडबाजी चर्को छ नि होइन ?

यसपटक विद्यार्थीहरूको उत्तीर्ण संख्या कम भएकाले पनि प्रतिस्पर्धा बढेको हो। ३ हजार ५ सय उच्च माध्यमिकका लागि १ लाख ८२ हजार विद्यार्थी भागबन्डा गर्दा प्रति उमावि ५१ विद्यार्थी पर्न आउँछन्। यस्तो अवस्थामा प्रतिस्पर्धा हुनु स्वाभाविक हो। एसएलसी उत्तीर्ण भएर राम्रो उच्च शिक्षाको खोजीमा भौंतारिएका विद्यार्थीका लागि पनि यो प्रतिस्पर्धाले राम्रो गरेको छ तर एजुकेसन नम्स नाघेर वा भनौं अमर्यादित ढंगले विद्यार्थी तान्ने प्रयास गर्नुहुँदैन।

विद्यार्थी खोज्न जिल्ला पुग्ने, सर्वोत्कृष्ट विद्यार्थीलाई आफ्नोमा तान्ने जस्ता कुरा पनि छन नि ?

योचाहिँ एकदमै अस्वस्थ प्रतिस्पर्धा हो, यसलाई रोक्न उच्च माध्यमिक शिक्षा परिषद्, हिसान, पत्रकार, अभिभावक सम्मिलित अनुगमन टोली सक्रिय छ। प्राप्त सल्लाह-सुझावअनुसार हामी कारबाही गर्दैछौं। शिक्षा भनेको सेवामूलक व्यवसाय हो, त्यसकारण यो क्षेत्र मर्यादित हुन आवश्यक छ।

विद्यार्थीले कस्तो उमावि रोज्ने त ?

पहिलो कुरा विद्यार्थीले नजिकको पायक पर्ने राम्रो उमावि रोज्न सक्नुपर्छ। दोस्रो कुरा उमावि सञ्चालकहरूको पृष्ठभूमि हेर्नु आवश्यक छ। प्लस टु कलेजमा नाफा छ भनेर विभिन्न व्यवसायका व्यापारीहरूको प्रवेश बढिरहेको छ, यो कुरामा विद्यार्थी सतर्क रहनुपर्छ। शैक्षिक क्षेत्रमा समर्पित शिक्षण टोलीका बारेमा बुझ्नुपर्छ। यस्तै उमाविमा न्यूनतम भौतिक पूर्वाधार छ-छैन, जानकारी लिनुपर्छ। हिजोआज जीवनोपयोगी शिक्षाका कुरा आएका छन्, त्यसैले अतिरिक्त क्रियाकलापमा उमाविको व्यवस्थापन पनि बुझ्नु जरुरी छ। विगतको शैक्षिक नतिजा पनि हेर्नुपर्छ।

दुर्गा अर्याल, परीक्षा नियन्त्रक

उच्च माध्यमिक शिक्षा परिषद्

यो वर्ष गत वर्षको तुलनामा लगभग अढाई प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भए। यसलाई केही सकारात्मक मान्न सकिन्छ। यद्यपि त्योभन्दा अघिल्लो वर्ष अझ धेरै परीक्षार्थी उत्तीर्ण भएका थिए। पहिले बढ्दै गएको उत्तीर्ण प्रतिशत पछिल्ला वर्षमा घट्दै गएको छ। यसमा परीक्षा नियन्त्रण कार्यालयले परीक्षालाई व्यवस्थित गर्न खेलेको भूमिकाले पनि मद्दत गरेको छ। चिट चोराउने र विद्यार्थीले पनि चिट चोर्ने कार्य निरुत्साहित भएको छ, तर पनि दुई विषयमा मात्र अनुत्तीर्ण विद्यार्थी लगभग १ लाख २० हजार छन्। पहिलेको ट्रेन्ड अनुसार मौका परीक्षामा तीमध्ये ७०/८० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन्। यो वर्ष पनि त्यसो भयो भने कुल उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत ५०-५५ को हाराहारी पुग्छ। त्यसैले यसलाई केही सकारात्मक नै मान्न सकिन्छ।

शिक्षा मन्त्रालयले सरकारी विद्यालयका शिक्षकका लागि शैक्षिक जनशक्ति विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र आदिका माध्यमले विभिन्न तालिमको व्यवस्था गरेको छ। निजी विद्यालयका शिक्षकले त्यस्ता कुनै पनि तालिम पाउँदैनन्, तर पनि एसएलसीको नतिजा भने ठीक उल्टो छ। यसले गर्दा सरकारी विद्यालयका शिक्षकहरूमा लगनशीलता नभएको र विद्यालयको व्यवस्थापन चुस्त नभएको प्रमाणित हुन्छ। एसएलसीपछि प्लस टुको नतिजामा पनि यस्तै किसिमको अन्तर छ, त्यसैले यसलाई पनि व्यवस्थित गर्न सबै जुट्नुपर्ने अवस्था छ।

प्रकाशित :असार १३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्