विषय छनौटको अन्यौल

विषय छनौटको अन्यौल

- एकराज सुवेदी

असार ६, २०७१-

एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उत्तीर्ण विद्यार्थीको ध्यान उच्च शिक्षामा केन्दि्रत भएको छ। उनीहरू एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला टेक्ने तयारीमा छन्। विद्यार्थीले पढ्नुपर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठिन अवस्था पार गर्नुपर्ने अवस्थासमेत छ। यो समय उनीहरूका लागि अन्यौलको समय हो। कतिपय विद्यार्थीले कुन कलेजमा कुन विषय पढ्ने भन्ने कुरा निश्चित गरिसकेका छन् भने कतिपय विद्यार्थीका लागि यो कार्य अझै बाँकी छ।

अहिले यस्ता उत्साह र उमंगले भरिएका विद्यार्थीहरू विभिन्न कलेज परिसरमा प्रशस्तै भेटिन्छन्। उनीहरूमा एक प्रकारको उत्साह त छँदैछ, विषय र कलेज छनौटमा केही कमजोरी रहला भन्ने डर पनि छ। यो कलेजमा पढ्न पाए हुन्थ्यो भन्ने रहर विद्यार्थी र अभिभावकमा बढ्दै गएको छ । कलेजको विज्ञापनले पनि विद्यार्थीको रुचि र छनौटमा प्रभाव पारेको हुन्छ । कुनै पनि विषय भविष्यका लागि कति महत्वपूर्ण छ भन्ने कुराले विषय छनौटमा सबैभन्दा बढी प्रभाव पार्छ।

'परिणाम जस्तो आए पनि विद्यार्थीले आफ्नो रुचिको विषय र त्यसको स्कोपका बारेमा पहिल्यै बुझ्न सक्छन् ।' शिक्षाविद्हरू भन्छन्- 'उनीहरूले आफ्नो लक्ष्य पहिचान गरेको खण्डमा सुरुदेखि नै औपचारिक अध्ययन पनि त्यही विषयमा गर्ने निर्णय लिन सक्छन् ।' उनीहरूका अनुसार विकासोन्मुख मुलुकमा मात्र होइन, विकसित मुलुकमा पनि धेरै विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गर्न नसक्दा आफूले पढेको विषयमा काम नगरी रुचिको क्षेत्रमा काम गरिरहेको उदाहरण प्रशस्तै भेटिन्छन् ।  

गुणस्तरीय अध्यापन गराउने कलेज हरेक दृष्टिकोणले सक्षम हुन्छन् । कस्तो कलेज छनौट गर्ने ? विद्यार्थीले सबै हिसाबले आफ्ना लागि उपयुक्त मानेको कलेजमा मात्र भर्ना हुनुपर्छ । एसएलसीपछि प्लस टुमा राम्रो अंक ल्याउन सक्ने विद्यार्थीले पनि उच्च शिक्षाका क्रममा राम्रो अवसर पाउँछन् । संकायगत पढाइमा प्लसटुको पाठ्यक्रम अरूभन्दा राम्रो मानिन्छ ।  संकायगत रूपमा हेर्दा अहिलेको समयमा व्यवस्थापन र मानविकी संकाय पनि रोजगारीका दृष्टिले सबल भैसकेका छन् । सम्पूर्ण व्यापारिक क्षेत्रमा व्यवस्थापन संकाय अध्ययन गरेको जनशक्तिको आवश्यकता हुन्छ भने अध्ययनमूलक धेरै क्षेत्रमा मानविकीका जनशक्ति उपयोगमा आइरहेका हुन्छन्, त्यसैले व्यवस्थापन एवं मानविकी संकायलाई तल्लो स्तरको मान्नुपर्ने अवस्था छैन ।

रोजाइका विषयका नाममा समाजमा अत्यावश्यक कतिपय विषय ओझेल पर्दै गएको अनुभव धेरैले गरेका छन्। यसले गर्दा भविष्यमा कतिपय प्रभावकारी विषयमा उच्च शिक्षित जनशक्तिको अभाव बढ्दै जाने हो कि भन्ने चिन्तासमेत बढेको छ। अरुणिमा कलेजका प्रमुख केशव जोशी इतिहास, भूगोल, मनोविज्ञानजस्ता समाजका लागि आवश्यक विषयहरूको चर्चा हराउँदै गएकोमा चिन्तित छन्। यद्यपि जीवनलाई सहज रूपमा अघि बढाउन एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्टजस्ता विषयको आवश्यकता छ। समाज विकासका क्रममा सान्दर्भिक विषय अध्ययन गर्नुपर्ने आवश्यकता पनि छ, तर यतिले मात्र पर्याप्त हुँदैन। हेर्दा सामान्य लाग्ने, तर समाज र देशका लागि सान्दर्भिक अन्य विषयतिर समेत सबैको ध्यान जानुपर्ने जोशीको तर्क छ।

विद्यार्थीको रोजाइमा पर्ने सबै बिषय नेपालका कलेजहरूले समेट्न सकेका छैनन्। कुनै विद्यार्थी संगीत, हास्यव्यंग्य वा यस्तै विषयमा रुचि राख्छ तर परीक्षामा राम्रो अंक ल्याएको छ भने उसले यस्ता विषय पढ्दा धेरैले अस्वाभाविक मान्छन्। कतिपय देशमा यी लगायत अन्य सामान्य विषयमा विद्यावारिधिसम्म गर्न पाइन्छ भन्ने कुरा उनीहरूले सुनेका छन्। धेरैको अनुभवमा नेपालमा घोकन्ते विद्याको बाहुल्यता छ। यहाँ रचनात्मकतालाई त्यति मान्यता छैन। कोर्समा आध्यात्म दर्शन र ध्यानजस्ता कुरालाई पनि समेट्नुपर्छ। पाठ्यक्रमलाई समयमै परिमार्जन गरिनुपर्छ र व्यावहारिक शिक्षामा ध्यान पुर्‍याउनुपर्छ।

एभरेस्ट कलेजका सिइओ विष्णुहरि पाण्डे प्लस टुको पाठ्यक्रमलाई विद्यार्थीको भविष्यका लागि एउटा आधारका रूपमा लिन्छन्। पाण्डेका अनुसार भविष्यमा इन्जिनियर बन्न चाहनेले फिजिक्स लिएर साइन्स, एमबीबीएस वा प्यारामेडिकल कोर्स अध्ययन गर्न चाहनेहरू बायोलोजी लिएर साइन्स पढ्छन्। म्यानेजमेन्ट अध्ययन गर्नेहरूले खासगरी भविष्यमा बीबीए, सिए,  होटेल म्यानेजमेन्ट र आइटी क्षेत्रतिर जान चाहेका हुन्छन्। त्यसैले प्लस टुमा के पढ्ने भन्दा पनि प्लस टु पछि के पढ्ने भन्ने उद्येश्यले विषय निर्धारण गर्नुपर्ने पाण्डेको तर्क छ।

होटेल म्यानेजमेन्ट नेपालका लागि नयाँ र आकर्षक विषय हो, यसमा वर्तमान मात्र नभै भविष्य पनि जोडिएको छ। पाण्डेका अनुसार नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न सकिएको छैन। यसलाई राम्रोसँग व्यवस्थित गरिनुपर्छ। यो सँग होटलको भविष्य पनि जोडिएको छ। त्यसैगरी ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्ट विषय नयाँ मात्र होइन, नेपालका लागि अपरिहार्य नै छ। नेपालजस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशमा केही गर्न सके सुन फलाउन सकिन्छ। यसका लागि काम गर्न सक्ने साहस र त्यसका लागि उपयुक्त वातावरण निर्माण हुनुपर्छ।

एसएलसीसम्मको अध्ययनमा लगभग सबै विद्यार्थीले एकै प्रकारको पाठ्यक्रम अध्ययन गरे पनि एसएलसीपछि रोजाइको विषय अध्ययन गर्न पाउँछन् । यतिबेला विद्यार्थीले जुन संकाय रोज्छन्, उनीहरूको करियर पनि लगभग त्यही क्षेत्रसँग जोडिन्छ । एसएलसी उत्तीर्ण भएपछि विज्ञान संकाय रोज्ने विद्यार्थीले प्लस टु वा प्रमाणपत्र तह उत्तीर्ण गरेपछि अन्य संकायमा गएर अध्ययन गर्ने अवसर पाए पनि व्यवस्थापन, मानविकी र शिक्षा संकाय अध्ययन गर्नेले विज्ञान संकायमा जान पाउँदैनन् । त्यस्तै व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीले स्नातक तहमा मानविकी संकायमा जान पाउने भए पनि मानविकी संकायको विद्यार्थीलाई व्यवस्थापनमा जान गाह्रो हुन्छ ।  यो दृष्टान्तले पनि विद्यार्थीले कुन विषय रोज्ने भन्ने निर्णय अहिले नै गर्नुपर्ने पुष्टि गर्छ ।

'एसएलसी उत्तीर्ण भएकाहरू कुनै विषयमा भर्ना नहुन्जेल कहाँ-के अध्ययन गर्ने भनेर अन्यौलमा हुन्छन्,' शैक्षिक परामर्शदाता संस्था नेसनल इन्स्िटच्युट अफ साइकोलोजीकी प्रमुख गंगा पाठक भन्छिन्- 'अन्यौल बढाउनमा सामाजिक प्रतिष्ठा, परिवारको अनावश्यक दबाब तथा विषयप्रति स्पष्ट जानकारी नहुनुजस्ता कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।' जसका कारण एसएलसीसम्म राम्रो भनिएका विद्यार्थी उच्च शिक्षामा कमजोर सावित हुन्छन्, त्यस्तै कमजोर विद्यार्थीले पनि उच्च शिक्षामा सरल विषय लिएर राम्रो गर्न सक्छ ।

प्रकाशित :असार ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्