'फेल’ हुनुभो ? ल बधाई छ !

'फेल’ हुनुभो ? ल बधाई छ !

असार ६, २०७१-

'सुरेशले आलु खायो,' ज्योति माध्यमिक विद्यालय, इटहरीमा कक्षा चारको रिजल्ट हेरेर आएको रात भान्सामा दिदीले आमालाई सुनाई- 'अनि मेरो चैँ नाम निस्कियो, सिर्जना निरौला- फेयर्ली पास।' आफ्नो नाम भने उसले बडो गर्वसाथ लिई। म घोसेमुन्टो लाएर चुपचाप चबाउँदै थिएँ। म 'फेल' भएँको थिएँ। आमाले लामो सास तान्नुभयो, साह्रै थाकेपछि निस्कने सासजस्तो। मेरो अगाडिको थालमा भात थपिदिँदै आफैँसँग कुरा गरेजसरी बिस्तारै भन्नुभयो- 'बुबा आएपछि कुरा नगरी भएन।' म झसङ्ग भएँ। बुबाको चाँदे भेटिने भइयो भनेर मेरो होस उड्यो। भात निल्न सकिनँ। घाँटी कोक्यायो। उता मेरै छेउमा बसेर खाँदै गरेकी दिदी भने दङ्ग देखिन्थी। उसको मसिनो खितिती म प्रस्ट सुन्न सक्थेँ। मेरो दिमाग तात्यो। रिसले आगो भएँ। मेरो पालो, थाल उठाएर ऊतिर हुर्‍याइदिएँ 'ल हाँस् अझै झुम्री,' भन्दै।

त्यसपछि मलाई कक्षा २ मा झारियो। दिदी ५ मा गई, म २ मा झरेँ। 'कतिमा पढ्छौ ?' भनेर सोध्नेहरूदेखि झनक्क रिस उठ्थ्यो। मलाई जिस्क्याउनैका लागि कोही त दिनदिनै सोध्थे, पछि बुझेँ। हुन पनी कक्षा २ मा पढ्ने केटाकेटीभन्दा उमेर अनि उचाइमा म ठूलै थिएँ। कतिपल्ट त म चिनेको मान्छे अनि छिमेकीको घर छल्दै दौडन्थेँ पनि ! 'कतिमा पढ्छौ ?' सोध्छन् भन्ने डरले। भन्छन्- ईख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन। त्यसपछिका वर्षहरूमा दिदीले भनेजस्तो कहिल्यै आलु खानुपरेन।

मेरो प्रसंगलाई यतै रोकेर फलामे ढोका मानिने, एसएलसीको कुरातिर एकैछिन् यहाँहरूको ध्यान केन्दि्रत गराउन चाहन्छु। एसएलसी परीक्षाको नतिजा निस्किएपछि पत्रपत्रिकामा आएका केही 'हेड्लाइन' यस्ता छन्- 'एसएलसीमा आधाभन्दा बढी फेल', 'एसएलसी परिणाम ः दुई खर्ब लगानी, बालुवामा पानी', 'एसएलसीमा फेल भएपछि आत्महत्या', 'एसएलसी ओरालै ओरालो' ..

२०६९ मा पनि ५२ दशमलव ८४ प्रतिशत विद्यार्थी 'फेल' भए भनेर पत्रपत्रिका एवं टेलिभिजन आदिमा धेरै समाचार आए। तत्कालीन सरकारमै बसेकाहरूको मुखबाट सुनेअनुसार, सरकारले दसवर्षे विद्यालय शिक्षाका लागि ४ खर्बभन्दा बढी खर्च गर्दै आएको छ अनी आधाभन्दा बढी फेल भएकाले २ खर्ब खेर गयो। २०७० को नतिजा पनि खासै उत्साहजनक रहेन। गएको वर्षभन्दा पनि खस्कियो। समाचारअनुसार ४१ दशमलव ५७ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए यो वर्षको एसएलसी परीक्षामा। शिक्षामन्त्रालयको अनुसार, २०६७ सालमा सरकारी स्कुलबाट एसएलसी दिनेहरूमध्ये ४६ दशमलव ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथ्यांक छ। सोही वर्ष निजी स्कुलबाट एसएलसी दिनेहरूमध्ये ८५ दशमलव ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उक्त तथ्याकंले देखाउँछ। विगत ११ वर्षको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी २०६५ मा ६८ दशमलव ४७ प्रतिशत विद्यार्थी एसएलसी परीक्षामा उत्तीर्ण भएको देखिन्छ। २०६५ अघि र पछिको अवस्था खस्कँदो छ। यी र यस्तै तथ्यांकहरूले पनि देशको दुर्भाग्य अनि सरकारको नालायकीपन देखाउँछन्।

स्ववियु चुनावका लागि नक्कली विद्यार्थी भर्ना, करोडौं रकमको चलखेल, क्याम्पसहरूमा विद्यार्थी संगठनहरूको झडपजस्ता गतिविधि बढ्दो छ। अब प्रश्न उठ्छ- सरकारमा बसेका र सरकारबाहिर बसेका माउ पार्टीहरू राजनीति गर्न करोडौँ रकम बगाउन सक्छन् भने त्यही रकम रचनात्मक अनी विद्यार्थीको बौद्धिक विकासमा किन खर्चिन सक्दैनन ? शिक्षक प्रशिक्षणमा, प्रयोगात्मक शिक्षामा अनी शिक्षक-विद्यार्थीको कक्षामा हुनुपर्ने अनुपात घटाउनमा किन खर्चिन सक्दैनन् ? यी प्रश्नको उत्तर तपाईं-हामीलाई त थाहै छ, तर के ती नेताहरूले ठाडो शिर गरेर उत्तर दिन सक्लान् ? ५२ दशमलव ८४ प्रतिशत विद्यार्थी 'फेल' भएर सरकारको २ खर्ब खेर गयो भन्ने तिनैलाई प्रश्न छ- ९ अर्बको सरकारी खर्च र चार वर्षको समय व्यर्थमा खर्च गरेर २०६९ जेठ १५ को मध्यरातपछि संविधानसभा त झन् १ सय प्रतिशत फेल भयो। सरकारले पास संख्या बढाउन पहिले नै विद्यार्थीहरू किन फेल हुन्छन् भन्ने कुरा थाहा पाउनुपर्दैन्? ९ अर्ब सरकारी खर्चको प्रतिफल नदिने संविधानसभाको निर्वाचन किन चाहियो ? शिक्षामा 'फेल' भन्ने शब्द नै हुँदैन। फेल त ६ सय १ सभासद् भएका हुन्। पैसा खर्च गरेर मात्र शिक्षामा गुणस्तरता आउन नसक्ने कुरा पनि ओहदामा बस्नेहरूले बुझ्नु आवश्यक देखिन्छ। विद्यार्थी कहिल्यै फेल हुँदैन। मेरो शुभकामना सम्पूर्ण १० कक्षासम्म पुगेर एसएलसी दिनुभएकाहरूलाई। कक्षा १० सम्म पुग्ने विद्यार्थीहरू आजका धेरै नेताभन्दा शिक्षित हुनुहुन्छ। अर्को वर्ष अझ मेहनत गर्नुहोला।

दोष सरकारको मात्र पनि छैन। सम्पूर्ण दोष सरकारमाथि थोपरेर पन्छिन् खोज्नेहरूको जत्थामा पनि आंशिक दोष देखिन्छ। त्यो जत्थामा थोरबहुत म पनि पर्न सक्छु। तपाईं पनि पर्न सक्नुहुन्छ। विद्यालय प्रशासन पनि पर्छ। पढाउने शिक्षक-शिक्षिकादेखि नागरिक समाज अनि स्वयं विद्यार्थीको परिवार पर्छौं। सरकार, विद्यालयका शिक्षक र सञ्चालकले मात्र होइन, परिवारले समेत दोष तिनै पीडित बालबालिकामाथि थोपर्छन्। आफू परीक्षामा उत्तीर्ण नहुने प्रायः पक्का हुने विद्यार्थीहरूको मानसिकता बुझ्ने अनि उनीहरूलाई अर्को पटकका लागि प्रेरणा र हौसला दिनु आवश्यक छ। सबै विद्यार्थी पढेर डा. बाबुराम भट्टराई नै बन्नुपर्छ भन्ने छैन। कोही 'फेल' भएर पनि सबैका प्रिय हरिवंश आचार्य पनि बन्न सक्छन्। विद्यार्थी भनेका काँचो माटोजस्तै हुन्। शिक्षक र परिवार भनेका कुमाले हुन्। कुमालेले काँचो माटोलाई कुन आकार दिन्छ, त्यो कुमालेको हातमा भर पर्छ। परिवार अनि स्कुलका शिक्षक-शिक्षिकाहरूको भूमिका र सक्रियता एसएलसीताका मात्र होइन, बाल्यकालदेखि नै बढ्नु आवश्यक छ।

हिजोआज थुप्रै राष्ट्रिय अनि अन्तर्राष्ट्रय गैरसरकारी संस्थाहरू गाउँ-गाउँमा पुगेर स्कुल बनाउने काममा लागेका छन् जुन अत्यन्त सराहनीय छ। यस्ता काम जति गरे पनि धेरै हुँदैन, बरु थोरै हुन्छ। कसैले स्कुलको छानो हाल्ने काम गरेका छन्। कोही स्कुल परिसर सफा पार्ने, रङ्ग-रोगन आदि गर्छन्। कोही पढ्न नपाएकाहरूलाई पढाउन दान संकलनमा लागेका छन्। यस्ता कामको प्रशंसा जति गरे पनि कमै हुन्छ। हरेक मानिसले आफ्नो क्षमता-दक्षताले भ्याएजति सहयोग गर्ने हो भने, यो देशको काया

फेरिन कुनै समय लाग्दैन। यति भन्दाभन्दै गर्दा कुरा के पनि बुझ्नु आवश्यक छ भने स्कुलमा छाएको नयाँ छानोले अथवा रङ्गीन भित्ताले भौतिक सुबिधा दिए पनि विद्यार्थीको विद्या आर्जन गर्न सक्ने क्षमताको विकासमा कुनै ठोस उपलब्धि दिन सायदै सक्ला। त्यसैले स्कुल भवन निर्माण र पुनः निर्माणका साथसाथै विद्यार्थीहरूको बौद्धिक विकास-निर्माणमा पनि संघसंस्थाहरूले ध्यान दिनुपर्ने देखिन्छ।

विद्यार्थीका हकमा भन्नु पर्दा- आवेगले होइन, ईखले काम गर्न सक्नुपर्छ। सुरुसुरुमा साइकल चलाउन सिक्दा नलड्ने सायदै कोही होला। प्रायःले पहिले तलबाट 'कैँची' चलाउन सिक्छौँ अनि माथि सिटबाट, हाफ पाइडल। त्यसपछि माथिबाट नै, फुल पाइडल। जब फुल पाइडल चलाएर पहिलोपल्ट म स्कुल पुगेँ, तब मेरा खुट्टाभरि साइकल सिक्दा लागेका चोट, ठेसहरू त त्यसै निको भएजस्तो लाग्यो। अलिकति पनि दुखेको याद आएन। पौडी खेल्न 'स्वीमिङ पुल' बनाइदिएर मात्र पुग्दैन। पौडिन सिकाउने सक्षम प्रशिक्षकको नै अझ बढी आवश्यकता हुन्छ। नत्र त पुल जतिसुकै झििलमिली भए पनि तैरिन सकिएन भने त्यसको के काम ? अनि परिवारका सदस्यहरूले पनि आफ्ना छोरा-छोरीले कत्तिको तैरिन, पौडिन सिक्दैछन् भन्ने बुझ्नु र हौस्याउनु आवश्यक छ। पछि राम्रो पौडिन सके भने, तिनै हुन् पूरै परिवार र समाजलाई डुब्नबाट बचाउने।

सुरेश 'समान’

म एसएलसी पास भएँ अब के गर्ने ?

- कुन विषय अध्ययन गर्न मन लागेको छ, त्यसका बारेमा विस्तृत रूपमा बुझ्नुपर्छ र त्यसको स्कोप कस्तो छ जानकारी लिनुपर्छ।

- राम्रो कलेज छनोट गर्न सक्नु सफलताको पहिलो सिंढी हो। त्यसैले कसैको लहैलहैमा नलागी स्तरीय कलेज खोज्नुपर्छ।

- परिवारका सदस्य तथा साथीहरूसँग आफ्नो इच्छाका सम्बन्धमा खुलस्त छलफल गर्नुपर्छ। उनीहरूको धारणा बुझ्नुपर्छ, तर छलफलपछिको निर्णय आफैं लिनुपर्छ। कसैले दबाब दिँदैमा आफ्नो इच्छाविपरीत गइयो भने त्यसले आफैंलाई हानि पुर्‍याउन सक्छ।

- वास्तविक रूपमा कलेजको शैक्षिक परिणाम कस्तो छ, जानकारी लिन सकिन्छ।

- आफूलाई राम्रा लागेका सबै कलेजमा जानुहोस्। त्यहाँको वातावरण बुझ्नुहोस्। यसका लागि अभिभावक तथा साथीहरूको सहयोग लिन सकिन्छ। राम्रो शैक्षिक वातावरण, आवश्यक भौतिक संरचना, शिक्षक तथा पाठ्यक्रमहरूको जानकारी लिनुहोस्।

- आफूलाई अध्ययन गर्न मन लागेको विषयका सम्बन्धमा सोही विषयका विशेषज्ञबाट जानकारी हासिल गर्नुपर्छ।

- निर्णय गर्दा हतारिएर नगर्ने, उक्त विषयको अध्ययनपछि आउने अवसरका बारेमा बुझेर मात्र निर्णय लिने। राम्रो विषय पढ्ने भन्दैमा नसक्ने विषय पढेर असफल हुने प्रयास गर्नुहुँदैन। जुनसुकै विषयमा पनि राम्रोसँग उच्च शिक्षा लिने हो भने प्रशस्त अवसर पाइन्छ।

- सार्‍है कन्फ्युज भएको अवस्थामा मनोवैज्ञानिक परामर्शदाताहरूसँँग पनि सम्पर्क राख्नुपर्छ।

- प्लस टु जीवनको महत्वपूर्ण समयको महत्वपूर्ण शिक्षा हो, यो शिक्षा पार गरेपछि करियर लगभग तय भैसकेको हुन्छ। विद्यार्थीले अंक ल्याउने गरी पढ्नेभन्दा यो लेभलमा ज्ञान हासिल गर्ने लक्ष्य राखेर पढ्नुपर्ने भएकाले कलेजको विषयगत शिक्षण समूहका बारेमा पर्याप्त जानकारी लिनुपर्छ।

- कतिपय विद्यार्थीलाई राजनैतिक क्रियाकलापमा सक्रिय हुने इच्छा हुन्छ, यो उमेर राजनीतिमा लाग्ने समय होइन, त्यसकारण राजनैतिक क्रियाकलापबाट सक्दो टाढा रहँदै अध्ययनमा ध्यान दिनुपर्छ।

- चलचित्र र अन्य मनोरञ्जक क्रियाकलापमा बढी ध्यान जान्छ, एसएलसी उत्तीर्ण भएपछि स्वतन्त्र महसुस गरेर अध्ययनका अतिरिक्त मनोरञ्जन लिन सक्रिय भइन्छ त्यसकारण विद्यार्थीले अध्ययनमा ध्यान दिने।

राम्रो उमावि कसरी छनौट गर्ने ?

- उमाविको वातावरण शान्त हुनुपर्छ, भौतिक रूपमा साँघुरो तथा अति व्यस्त हुने सडक छेउका उच्च माविमा अध्ययन गर्दा असजिलो महसुस हुन सक्छ।

- कुनै पनि प्लस टु कलेजका बारेमा बुझ्नु छ भने त्यहाँ अध्ययनरत वा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरू उपयुक्त माध्यम हुन सक्छन्।

- उमाविको उत्तीर्णांक दर हेरेर पनि उमाविको अध्यापनको स्तरीयता आँक्न सकिन्छ।

- उच्च माविमा अध्यापन गराउने शैलीका बारेमा प्रारम्भिक कक्षा लिएर अनुमान गर्ने।

- राम्रो उमाविले विद्यार्थीलाई ध्यानमा राखेर भौतिक संरचना विकासमा त्यतिकै ध्यान दिएका हुन्छन्, त्यो बुझ्न सक्नुपर्छ।

- आफन्त एवं परिवारले चिनेको मानिसले भनेको भन्दैमा जानकारी नै नलिइ कहीँ भर्ना हुनुहुँदैन।

- सुगम स्थलको उमावि छनौट गर्ने, जसले गर्दा समयको बचत होस्।

- आफूलाई रुचिकर लाग्ने विषय अध्यापन हुने उमाविहरूको शैक्षिक कार्यक्रमसम्बन्धी पर्याप्त जानकारी लिने।

- साथी भाइ कहाँ अध्ययन गर्छन् भन्ने भन्दा पनि स्तरीय अध्यापन कहाँ हुन्छ बुझ्ने।

- उमाविमा अध्यापन गराउने शिक्षकका बारेमा जानकारी लिने।

- आफूले कक्षा १० सम्म अध्ययन गरेको भन्दैमा वा त्यही उमाविमा राम्रो शिक्षण सुविधा हुँदाहुँदै इरिटेट भैसकियो भनेर परिवर्तन खोज्नु आफ्नै भविष्यमा बन्चरो हान्नु हो।

- आजभोलि बढी मात्रामा अतिरिक्त क्रियाकलापलाई महत्व दिएको भनेर कलेजहरूले आफ्नो प्रचार गरिरहेका हुन्छन्, विद्यार्थीको पहिलो प्राथमिकता अध्ययन हो, त्यसकारण ल्याब, लाइब्रेरीजस्ता सुविधामा ध्यान दिने। अझ भच्र्युअल लाइब्रेरीको सुविधा विद्यार्थीहरूलाई फाइदाजनक हुन्छ।

- महँगो उच्चमावि, हाइफाइ स्टाइल खोज्दै हिँँड्नुभन्दा कम पैसामा पनि राम्रो शिक्षा हासिल गर्न सकिन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ।

- अक्सर विद्यार्थीहरू अनुशासन भन्नेबित्तिकै डराउँछन्, यो उमाविमा कडा अनुशासन छ वा दण्डित हुनुपर्छ भनेर स्वच्छन्दता खोज्न अर्को उमाविको खोजीमा लाग्छन्, अनुशासन जीवनको महत्वपूर्ण पक्ष हो। बुझ्नुपर्ने कुरा के हो भने कडा अनुशासन भन्दैमा गल्ती नै नगरी सजाय पाइने होइन।

- साथीसंगतको कुरामा पनि असल अनि जेहेन्दार साथीले रोजेको उमाविलाई प्राथमिकतामा राख्न सकिन्छ।

प्रकाशित :असार ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्