नेपालमा अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन

नेपालमा अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन

- युवराज गौतम

जेष्ठ २३, २०७१-

पुरानै विषयहरू पढाइ भैरहने त्रिभुवन विश्वविद्यालयमा केही वर्षयतादेखि नयाँ-नयाँ विषयले पनि प्रवेश पाउँदै गएका छन्। त्रिभुवन विश्वविद्यालयमा पछिल्ला पाँच वर्षयता सोसियल वर्क र द्वन्द्व व्यवस्थापनको अध्यापन भैरहेको छ भने ती विषयको अध्ययन सकेका अधिकांश विद्यार्थीले बेरोजगार बस्नुपरेको छैन। विदेश गएर महँगो खर्चमा पढ्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यो वर्षदेखि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा 'अन्तर्राष्ट्रिय सम्बन्ध' (आईआर) को अध्यापन प्रारम्भ गरिएको छ। पहिलो विश्वयुद्धपछि युरोप तथा अमेरिकामा र सन १९९६ पछि दक्षिण एसियाली राष्ट्रहरूमा पाठ्यक्रममा समावेश गरिएको यो विषयले नेपालमा भने अहिले मात्र प्रवेश पाएको हो। स्नातकोत्तर तहमा सेमेस्टर सिस्टममा आईआरको पढाइ यही वर्ष सुरु भएको छ। मानविकी संकायअन्तर्गतको यो विषयमा विभिन्न देशसँगको सम्बन्ध, विदेश नीति वा कूटनीतिका विषयमा अध्यापन गराइन्छ।

सार्वभौमसत्ता सम्पन्न मुलुकका लागि भरपर्दो परराष्ट्र नीति एवं असल कूटनीति अत्यवश्यक भएकाले यो विषयको अध्यापन प्रारम्भ गरिएको आइआर कार्यक्रम संयोजक तथा प्राध्यापक खड्ग केसीले जानकारी दिए। देशको हरेक तह-तप्कासम्म राजनीतिको प्रभाव रहेकाले देशको समग्र राजनीतिक साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि सक्षम कूटनीतिज्ञ उत्पादन गर्ने उद्देश्यले यो विषयको अध्यापन प्रारम्भ गरिएको हो। सेमेस्टरका आधारमा अध्यापन गराइने यो विषयका लागि विदेशमा आईआर कोर्स सकेर आएका शिक्षक, देशभित्रकै अनुभवी कूटनीतिज्ञ एवं विषयवस्तुका बारेमा जानकारहरूको सहयोगमा दक्षजनशक्ति उत्पादन गरिनेछ।

अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी पाठ्यक्रम

चार सेमेस्टरमा चल्ने अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी विषयको पाठ्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धको परिचय, विश्व राजनीति, राष्ट्रिय नीति तथा सुशासन, विदेश नीतिको विश्लेषण, विश्वको राजनीतिसँग नेपालको मूल्यांकन, अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त, अन्तर्राष्ट्रिय राजनीतिको अर्थतन्त्र, कूटनीतिक सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन तथा अन्तराष्ट्रिय कानुन अध्ययनको विधिजस्ता विषय दुई सेमेस्टरमा पूरा हुन्छन्। त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र क्षेत्रीय संगठनहरू मानवअधिकार एवं मानवीय कानुन, विदेश नीति र कूटनीति, जलवायु परिवर्तन र त्यसको रोकथाम, साना राज्यसँग अन्तर्राष्ट्रिय सम्बन्ध, विकसित अर्थतन्त्रका साथै अन्तर्राष्ट्रिय द्वन्द्वका विषयमा तेस्रो र चौथो सेमेस्टरमा पढाइ हुनेछ। यो विषय अध्ययन गर्दा राष्ट्रिय राजनीति तथा राजनीतिको ऐतिहासिक पक्षको जानकारी हासिल गरेको विद्यार्थी भए सफल हुन गार्‍हो पर्दैन।

भर्ना योग्यता

अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा भर्ना हुन न्यूनतम योग्यताको मापदण्ड बनाइएको छ। यो विषयका लागि अंग्रेजीमा दख्खल भएकाहरूलाई विशेष प्राथमिकता दिइन्छ। स्नातक तहमा जुनसुकै विषय लिएर सेकेन्ड डिभिजन हासिल गरेका विद्यार्थीले आवेदन दिन पाउँछन्। सीमित कोटा हुने भएकाले यसमाआवेदन दिने सबै भर्ना हुन सक्दैनन्। त्रिभुवन विश्वविद्यालयमा यो वर्ष १ सय ३१ जनाले आवेदन दिए पनि विभिन्न प्रक्रियाबाट ५० जना मात्र छनोट भएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पहिलो ब्याचको अध्ययनका लागि डबल डिग्री गरेका साथै विभिन्न संकायमा उत्कृष्ट अंक हासिल गरेका विद्यार्थीहरू भर्ना भएका छन्। विद्यार्थी छनोट लिखित परीक्षा, शैक्षिक योग्यताको प्रमाणपत्र, विषयवस्तुको ज्ञानजस्ता विषयमा विद्यार्थीको मूल्यांकन गरेर गरिन्छ। अन्य संकायका विषयहरूको अध्ययन-अध्यापनभन्दा फरक तरिकाले कक्षा सञ्चालन हुने यो विषयको अध्यापन शैली अलि पृथक् पनि छ।

अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा अमेरिकी प्रणालीको सेमेस्टरका आधारमा पढाइ हुने भएकाले प्याकेज भित्र स्टुडेन्ड सेमिनार, प्यानल सेमिनार, गेस्ट लेक्चर, भिडियो कन्फरेन्स, ग्रुप एसाइनमेन्ट आदिका साथै विदेशी प्राध्यापकहरूद्वारा स्काइपबाट भिडियो कन्फरेन्सजस्ता आकर्षक कार्यक्रम समेटिएका छन्। अनिवार्य कक्षा उपस्थित हुनुपर्ने र सेमेस्टर परीक्षमा सामेल हुनैपर्ने अर्को व्यवस्था पनि छ। कक्षा सुरु भएपछि प्रत्येक हप्ताका लागि फरक-फरक कार्यक्रम तय गरिन्छ र विद्यार्थीलाई सक्रिय राख्ने प्रयास हुन्छ। दुईवटा सेमेस्टरमा बढी सैद्धान्तिक ज्ञान सिकाइन्छ अन्य सेमेस्टरमा विशिष्टीकरणका आधारमा विद्यार्थीलाई पोख्त बनाइन्छ। यसका लागि विभिन्न देशमा अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन पूरा गरेर आएका आठ जना शिक्षकको व्यवस्था गरिएको छ। करिब ३ लाख रुपैयाँमा यो विषयको अध्ययन पूरा हुन्छ।

रोजगारीको अवसर

अन्तर्राष्ट्रिय सम्बन्ध विषयको अध्ययन सिद्विएपछि निश्चित क्षेत्रमा मात्र रोजगारीको अवसर हुन्छ भन्ने छैन। अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, राजदूतावासहरू, परराष्ट्र मन्त्रालय, आईएनजिओ, ठूला कर्पोरेट तथा मिडिया हाउसहरू अन्तर्राष्ट्रिय सम्बन्ध विषयको रोजगारीका लागि लक्षित क्षेत्र हुन्। कतिपय विद्यार्थीले शैक्षिक संस्थामा पनि रोजगारी पाउन सक्छन्। वास्तवमा नेपालको विदेश नीति एवं अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि सक्षम व्यक्तिको अभावमा कतिपय कूटनीतिक प्रयास असफल भैरहेकाले सक्षम एवं सैद्धान्तिक ज्ञान हाँसिल गरेका विद्यार्थी उत्पादन गरी राजदूतावास तथा परराष्ट्र मन्त्रालयहरूमा जनशक्ति परिचालन गर्ने उद्देश्य त्रिभुवन विश्वविद्यालयको छ।

 

प्राध्यापक खड्ग केसी,

संयोजक, आईआर कार्यक्रम, त्रिभुवन विश्वविद्यालय

अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी विषयको पढाइ सुरु गर्नुको उद्देश्य के हो?

नेपालमा सैद्धान्तिक हिसाबले सक्षम कूटनीतिकहरूको अभाव खड्किएकाले नयाँ जनशक्ति उत्पादनका लागि यो विषय आवश्यक छ।

अन्तर्राष्ट्रिय स्तरमा यसको पढाइ कहिलेदेखि भैरहेको छ?

युरोप तथा अमेरिकामा पहिलो विश्वयुद्धपछि यो विषयको पढाइ आवश्यक मानियोे। यता दक्षिण एसियाली मुलुकहरूमा सन् १९९६ देखि पढाइ भैरहेको छ।

नेपालमा यो विषयको पढाइ दीर्घकालीन हुनसक्छ?

नहुने भन्ने कुरै छैन। पहिले सुरु गरौं अनि अभ्यास गर्न थालौं अवश्य सफल भइन्छ। देश विकासका लागि यो विषयबाट उत्पादित जनशक्ति अत्यन्तै सक्षम मानिनेछन्।

रोजगारीको सम्भावना कत्तिको देख्नुहुन्छ?

प्रशस्त सम्भावना छ। नेपालमा धेरै विदेशी निकायहरूको संघसंस्था, आइएनजीओ तथा नियोगहरू छन्। त्यहाँ हामीले उत्पादन गरेको जनशक्ति सहज रुपमा परिचालन गर्न सकिन्छ।

शैलेन्द्र शर्मा,

विद्यार्थी, आईआर, त्रिभुवन विश्वविद्यालय

तपाईले स्नातक कुन विषयमा गर्नुभयो?

पत्रकारिता र अंग्रेजीमा।

 पत्रकारिताको विद्यार्थी, अन्तर्राष्ट्रिय सम्बन्ध नै किन रोज्नुभएको?

अन्तर्राष्ट्रिय सम्बन्धमा भविष्य सुनिश्चित हुन्छ जस्तो लाग्यो। नयाँ विषय भएकाले सफल हुनसक्छु भन्ने आँट पनि आयो।

रोजगारीको सम्भावना कत्तिको देख्नुहुन्छ?

रोजगारीका क्षेत्रहरू त प्रशस्त छन्। एउटा असल कूटनीतिज्ञ भएर राष्ट्रिय हितमा काम गर्ने चाहना छ।

तपाईंको लक्ष्यचाहिँ के हो?

म विद्यार्थी राजनीतिमा पनि आबद्ध भएकाले भविष्यमा एक कुशल कूटनीतिज्ञ बन्ने सपना बोकेको छु।

प्रकाशित :जेष्ठ २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्