जोत्ने गोरु भोकै भयो

जोत्ने गोरु भोकै भयो

  • केदार घिमिरे (माग्नेबूढो)

- अश्विनी कोइराला

जेष्ठ २३, २०७१

नेपाल टेलिभिजनमा सबैभन्दा बढी आम्दानी गर्ने कार्यक्रम हास्यश्रृंखला नै हुन्। तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सैले नेपाल टेलिभिजनलाई वाषिर्क करोडौं रुपैयाँ तिर्छन्। यी कार्यक्रममा १ सय २० भन्दा बढी कलाकार आश्रति छन्। केही महिनायता ती टेलिशृंखला दोहोरिन थालेका छन्। कार्यक्रम चलाउने विज्ञापन एजेन्सीले कलाकारलाई पैसा दिन छाडेपछि नयाँ श्रृंखला बन्न छाडेका हुन्। ती श्रृंखलामा अभिनय गर्ने कलाकारहरू आजभोलि बेरोजगार भएका छन्।

जहाँ समस्या, त्यही उपाय भनेझैं कलाकारले नेपाल टेलिजिभनको विकल्प खोज्दै इन्टरनेटलाई आफ्नो कला देखाउने माध्यम बनाउन थालेका छन्, जसको पहल गरेका छन्, मेरी बास्सैका माग्नेबूढा अर्थात् केदार घिमिरेले। माग्नेबूढो डटकम (magnebudo.com) मा आजभोली विभिन्न नाममा हास्यश्रृंखला अपलोड हुन थालेपछि यो साइट विश्वभरका नेपालीहरूका लागि गज्जबको खुराक बनेको छ। कुनै बेलाका फुटपाथ व्यापारी केदार अहिले इन्टरनेटबाट कलाकारलाई रोजगारी दिन थालेपछि चर्चामा छन्। अहिले उनले पाँचवटा टेलिश्रृंखलामार्फत ६० जना कलाकार एवं केही प्राविधिक रोजगारी दिएका छन्। यही विषयमा साप्ताहिकले घिमिरेसँग गरेको कुराकानीको सारसंक्षेप ः

हिजोआज तपाईंहरूका टेलिश्रृंखला दोहोरिन थालेका छन्, किन?

पैसा नपाएर। पैसै नपाएपछि कसरी सुटिङ गर्ने, कलाकारलाई कसरी पैसा दिनु?

हिट कार्यक्रमका कलाकारले पनि पैसा पाएनन् त?

गाउँघरमा रोपाइँ हुँदा मरी-मरी जोत्ने गोरु भोकै हिलोमा उभिरहेको हुन्छ। खेतका छेउछाउका गाई, बाख्रा भने मज्जाले हरियो घाँस चरिरहेका हुन्छन्। हाम्रो पनि त्यस्तै अवस्था भयो। हामी बूढो गोरुझैं पैसा आइहाल्ला नि भनेर जोतिइरह्यौं। छेउछाउका टेलिभिजन, विज्ञापन एजेन्सीहरूचाहिँ हरियो घाँस चरिरहेका रहेछन्, हामीलाई थाहै भएन। भोक लागेपछि हामीले पनि खान माग्यौं, हामीलाई घाँस त छैन पो भने, त्यसपछि हामीले पनि जोत्न छाडिदियौं।  

यत्रा कलाकार बेरोजगार भए, उनीहरू के गर्दैछन् त?

कहिले आकाशको फल झर्ला र खाऔंला भन्दै पर्खिरहेछन्। नयाँ काम गरौं भने अन्यत्र काम गर्न नपाइने शर्तनामामा ल्याप्चे लगाइएको छ। पर्खियौं, अहिलेसम्म पैसा आएको छैन।

तपाईंले त इन्टरनेटबाटै टेलिभिजन चलाउन थाल्नुभएछ, किन नि?

यसलाई टेलिभिजन नै भन्दा त वडाअध्यक्षलाई मन्त्री भनेजस्तो हुन्छ। कुरा के भने बेरोजगार भएपछि त इन्टरनेटले हामीलाई खोजिरहेजस्तो लाग्यो। नेपालीहरू विश्वभर छरिएका छन्। उनीहरूकै कारण युटुबमा तिते-जिरे-बास्सै जस्ता कार्यक्रम लाखौंले हेरिरहेका छन्। लोडसेडिङले गर्दा भनेको बेला टेलिभिजन हेर्न पाइँदैन, त्यो बेला नेपालीहरू पनि त्यही इन्टरनेटबाट हाम्रा कार्यक्रम हेर्न थालेका छन्। त्यसैले माग्नेबूढो डटकम सञ्चालन गरेर हास्य कार्यक्रमहरू अपलोड गर्न थालेको हुँ। यसमा सबै किसिमका हास्यव्यङसम्बन्धी चलचित्र, गीत, टेलिश्रृंखला अपलोड भैरहेका छन्।

निकै हिट भैसकेको रहेछ, कति भिजिटर छन्?

विश्वभरि छरिएका नेपालीहरूका लागि यो साझा थलो बन्न पुगेको छ। त्यसैले निकै हिट छ। एउटा श्रृंखला वा भिडियो हेर्नेको संख्या एक सातामै करिब लाख पुग्न थालेको छ।

सयभन्दा बढी कलाकार प्राविधिक पाल्नुभएको छ, कसरी थेग्नुहुन्छ?

कलाकारको स्थायी आम्दानी हुनुपर्छ, कला देखाउने स्थायी माध्यम हुनुपर्छ। लागतका कारण भोलि टेलिभिजनले हाम्रा कार्यक्रम देखाउन नसक्ने भए वा अन्य यस्तै कारणले काम पाइएन भने के कलाकार बेरोजगार हुने? यो कुरा हाम्रो दिमागमा धेरैअघि नै आएको थियो। अघिल्लो पटक म अस्ट्रेलिया जाँदा त्यहाँका नेपालीहरूलाई यो कुरा सुनाइयो। तीमध्ये केहीले लगानी गर्ने बताउनुभयो। अहिले अस्ट्रेलिया, अमेरिका र क्यानाडाका एक-एक नेपाली र म एक गरी चार जनाले यो साइटमा लगानी गरेका छौं। सयौं हास्यकार्यक्रम किनेर यसमा अपलोड गरिसकेका छौं। प्रत्येक साता ५ वटा टेलिश्रृंखला, हास्यचलचित्र, हास्यव्यङ्ग्य, म्युजिक भिडियोहरू पनि थपिरहेका छौं।

कहिलेसम्म थेग्नुहुन्छ?

अबको युग इन्टरनेटको युग हो। हाम्रो कार्यक्रम अहिल्यै यति हिट भैसक्यो भने आउँदा दिनमा यो हास्यव्यङ्ग्यको अनिवार्य साइट बन्छ। त्यसमा टेलिभिजनको भन्दा बढी विज्ञापन आउँछ। अस्ति भर्खरको कुरा, सहरमा कबड्डी चलचित्र प्रदर्शन भैरहेको थियो। हामीले एउटा दुई मिनेटको भिडियो राखेका थियौं, त्यसमा ५ मिनेटको कबड्डीको विज्ञापन आएको रहेछ। गुगलले आफैं यस्ता विज्ञापन राखिदिन्छ र हाम्रा नाममा पैसा पठाइदिन्छ। हाम्रा साइटमा विदेशी विज्ञापन पनि प्रशस्त आउन थालेका छन्। विदेशमा बस्ने नेपालीहरूले प्रयोग गर्ने सामग्रीहरूको विज्ञापन हाम्रो साइटमा आउन थालेका छन्।

भनेपछि इन्टरनेट टेलिभिजनभन्दा माथि जान्छ भन्ने विश्वास छ?

सय प्रतिशत। आजको पाँच वर्षपछि इन्टरनेटबिनाको संसार कल्पना पनि गर्न सकिँदैन। यत्रो श्रमशक्ति हामीसँग छन्, उनीहरूलाई रोजगारी चाहिएको छ, संसारभरि छरिएका नेपालीलाई काम गरेर थाकेका बेला नेपाली पाराको हास्य कार्यक्रम चाहिएको छ। त्यसैले यो माथि जान्छ।

माग्नेबूढो डटकम यति धेरै कार्यक्रम हेर्न पाइन्छ, तर नाम चलेका कलाकार देखिँदैनन्, किन?

हामी सबै नाम चलेका कलाकारले प्रायोजकसँग अरू कार्यक्रम गर्दैनौं, तपाईंको मात्र काम गर्छौ भनेर ल्याप्चे ठोकेका छौं। पैसा आउला, नयाँ कार्यक्रम सुरु होला भनेर पर्खिरहेका छौं। अहिले हामी सबै इन्टरनेटमा जान सक्दैनौ। आखिर टेलिभिजनका दर्शकले अन्याय पनि गर्नुभएन नि। अब कार्यक्रम नै गर्न पाइएन भने सबै इन्टरनेटमै आउन बाध्य हुनुपर्छ।

पुराना सबै कलाकारलाई रोजगारी दिन सक्नुहुन्छ?

सपना पालेको छु। आखिर सपना देख्दा के बिग्रन्छ र?

तपाईं कुनै बेला फुटपाथ व्यापारी हुनुहुन्थ्यो भन्ने सुनियो, सत्य हो?

सत्य हो। मकवानपुरबाट कानुन पढ्न काठमाडौं आएको, गरिबको छोरो कसरी कानुन पढ्नु। नाम लेखाएर पेट पाल्न फुटपाथमा व्यापार गर्न थालियो। पढाइ पनि पूरा गर्न सकिएन, व्यापारी पनि हुन सकिएन।

फुटपाथमा के बेच्नुहुन्थ्यो?

के बेचिएन ? काठको धूलो मिसाइएको मसला पनि बेचियो। चीनबाट आउने सस्ता इलेक्ट्रोनिक सामान पनि बेचियो।

यस्तो फुटपाथ व्यापारीलाई कसले कलाकारितामा ल्यायो?

सरकारले।

कसरी?

म पहिले लगनखेलमा व्यापार गर्थे, त्यहाँ सरकारले सडक चौडा पार्ने काम थालेपछि हामी सबै फुटपाथे बेरोजगार भयौं। अब के गर्ने? त्यही बेला कसैले भन्यो, मिटरवाला ट्याम्पु किन्यो भने निकै पैसा कमाइन्छ।' अलि-अलि भएको पैसाले मैले तीनवटा ट्याम्पु किने। केही समयपछि सरकारले त्यस्तो ट्याम्पु हटाउने घोषणा गर्दा ट्याम्पु सस्तोमा पाउनुको कारण थाहा भयो। त्यसपछि सस्तोमै भए पनि ट्म्यापु बेचेको पैसाले कलंकीमा चिनियाँ इलेक्ट्रोनिक सामानको पसल खोलें। एक वर्षपछि थाहा भो, त्यो त सडक विभागमा पो पर्दो रहेछ। अनि, त्यसपछि सरकारी डोजरले मेरो पसललाई खर्लप्प खाइदियो। त्यसपछि कलाकार नभएर के हुनु?

यो क्षेत्रमा ल्याइदिने को थियो?

कलंकीमा हामी जति पसले थियौं, सबैमा राम्रो मित्रता थियो। एउटा साथी त्यो बेलाको एचबीसी एफएममा काम गर्ने सुचित्रा खड्काको घरमा बस्दा रै'छन्। त्यो एफएममा बेला-बेलामा कविता पठाइन्थ्यो। स्कुल पढ्दा म कवितामा प्रथम हुन्थे ! त्यही सम्झेर नयाँ कविता लेखिन्थ्यो र रेडियोमा बजेको सुनेर मख्ख परिन्थ्यो। सटरलाई डोजरले खप्लक्क निलेपछि ती दिदीलाई भन्यौ, 'लौ दिदी, हामी कविता लेख्छौं, काम दिनुपर्‍यो' भन्यौं। ईश्वरको कृपाले त्यहाँ सानोतिनो जागिर पाइयो। संयोग कस्तो भयो भने मेरो भागमा हास्य कलाकारहरूको अन्तर्वार्ता लिने काम आइपर्‍यो।

पत्रकार?

पत्रकार नै नभनौं, हास्यकलाकार नै भन्दा राम्रो होला। त्यहाँ मैले सन्तोष पन्तदेखि जितु नेपालसम्मको अन्तर्वार्ता लिएँ। त्यसको रेकर्ड अहिले पनि मसँग छ।

हास्यकलाकार कसरी बन्नुभयो?

कलंकीमा मैले इलेक्ट्रोनिक सामानको पसल थापेपछि, क्यासेट प्लेयर बेच्न त बजाउनुपर्‍यो नि। मैले त्यो बेला गाईजात्रामा निस्कने क्यासेट बजाउनु उपयुक्त सम्झिएँ। अनि जति पनि मान्छे प्लेयर किन्न आउँथे, त्यही क्यासेट बजाएर चेक गर्थें। एक दिन होइन, दुई दिन होइन, महिनौं एउटै कुरा बजाएपछि त्यसका सबै लाइन याद हुने नै भए। यहि कुरा त्यही शैलीमा एफएममा बोल्न थालेपछि त म हिट हुन थालिहालें। त्यसमाथि कलाकारको अन्तर्वार्ता लिने मान्छे भएपछि एकैपल्ट फेद न टुप्पोको हास्यकलाकारमा परिणत भए।

कुन बेला यसलाई नै करियर बनाउँछु भन्ने सोच्नुभो?

म कलाकारको अन्तर्वार्ता लिन्थे। कुरा गर्दै जाँदा बाहिर कलाकारलाई खान पुग्दैन भन्ने जुन हल्ला छ, त्यो सत्य होइन भन्ने थाहा भयो। त्यसैले तुरुन्तै अभिनयको तालिम लिन थालें। त्यसपछि सन्तोष पन्तको हिजोआजको कुरामा लाइन लाग्न थालें। अन्तरवार्ता लिन आउने मान्छे नै अभिनय गर्छु भनेपछि सन्तोष दाइले पनि थोरै-थोरै रोल दिन थाल्नुभयो। त्यसपछि तीतो सत्यमा ठूला रोल गर्न थालियो। पछि मेरी बास्सैमा मिलेर काम गर्ने भइयो। त्यसपछि त आफ्नो हात, जगन्नाथ भैहाल्यो नि।

माग्नेबूढो नै किन बन्नुभयो?

यही बन्छु भन्ने थिएन। अरूलाई डिस्टर्ब गर्ने एउटा बूढो चरित्र चाहिएको थियो। त्यो मेरो भागमा पर्‍यो। काम गर्दै जाँदा त्यो हिट भयो।

कति पैसा कमाउनुभयो, सन्तुष्ट हुनुहुन्छ?

घर भयो, गाडी भयो। विदेश घुम्न पाइएको छ। हिजोका दिन सम्झँदा यो निकै राम्रो काम हो भन्ने लाग्छ। सन्तुष्ट छु।

भविष्यको योजना के छ?

माग्ने बुढाको रोल गरेरै प्रसिद्धि र पैसा कमाइयो। अब यही माग्नेबूढो डटकमलाई नै लोकप्रिय बनाउने र सबै कलाकारको साझा अभिनयको केन्द्र बनाउने योजना छ।

प्रकाशित :जेष्ठ २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्