
भाग्यबाट ठगिएका चिरनले समाज बदले
जेष्ठ २३, २०७१
भाग्यले पनि कतिपय मानिसप्रति अन्याय नै गर्छ। भाग्यसँग न्याय पनि खोज्न सकिँदैन। त्यसैले त मानिसले भाग्यसामु हार बेहोर्नुपर्छ। चिरञ्जीवी पौडेल (३१) अर्थात् 'चिरन'लाई पनि भाग्यले ठग्यो। उनी भाग्यबाट अन्यायमा परे, तर पनि संसार चकित पार्ने पात्रहरूको सूचीमा चिरनको नाम पनि जोडिन्छ। विरलै मानिसले बाहिरी संसार नदेखे पनि संसारलाई चकित पारिदिन्छन्। उनी एक यस्ता पात्र हुन् जो दृष्टिविहीन भएर पनि अन्य सामान्य मानिसले जस्तै व्यवसाय गरेर सफल भएका छन्। पौडेल सफल हुनुका पछाडि लामो कथा छ। जो-कोहीले यस्तो सफलता हात पार्न सक्दैनन् जुन उनले हात पारिरहेका छन्। एउटा कठिन संघर्षले चिरनलाई सबैका अगाडि छाती फूलाएर हिँड्न सक्ने बनाएको छ।
पौडेल गजेहेडा, कपिलवस्तुमा चार जना दिदीबहिनी र नौ जना दाजुभाइमध्ये छैटौं सन्तानका रूपमा जन्मिए। आमा हरिकला र बुबा काशीनाथ उपाध्यायका सन्तानमध्ये चिरनसहित चार जना जन्मजात दृष्टिविहीन थिए। चिरनले बाहिरी संसार हेर्ने सौभाग्य पाएनन्, तर बाहिरी संसार देख्नेहरूभन्दा सफल व्यवसायी भएर देखा परे। रूखोसुखो खाएर हुर्किएका चिरन १० वर्षको उमेरमा गजेहेडा छोडेर बाग्लुङ पुगे। त्यहाँ उनले स्थानीय विद्यालयमा उपलब्ध ब्रेललिपिमा अध्ययन गर्ने मौका पाए। स्कुल पढ्दा उनी अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए। चिरन भन्छन्- 'गायन, सामान्य ज्ञान र स्पेलिङ कन्टेस्टमा मैले कहिल्यै दोस्रो हुनुपरेन।' कतिपय राष्ट्रिय प्रतियोगितामा उनी प्रथम र दोस्रो भएका छन्।
बाग्लुङको जनताधन उच्च माविबाट माध्यमिक तहको पढाइ सकेका चिरनले २०५७ सालमा प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरे। त्यसपछि पृथ्वीनारायण क्याम्पस, पोखराबाट बीएड पूरा गरे। शिक्षक बन्ने धुनमा शिक्षा संकायमा भर्ना भएका चिरनले कालान्तरमा पेसा परिवर्तन गर्नुपर्यो। पढाइ खर्च जुटाउन पोखरामा उनी दोहोरी साँझमा काम गर्थे। 'सार्है दुःख भयो दोहोरीमा, त्यतिमात्र होइन, कतिपय मानिसको दृष्टिकोण पनि राम्रो थिएन,' -उनले भने। एक दिन उनले कान्तिपुर दैनिकमा 'ठमेलमा मसाजको रमाइलो' भन्ने समाचार पढे। मसाजमा रमाइलो भन्ने समाचारले उनमा सकारात्मक प्रभाव पार्यो। त्यसपछि उनले मसाज थेरापी तालिम लिने सोच बनाए। पोखराको लेकसाइडमा बेलायतबाट आएका 'एन्ली कपल'ले थेरापीको तालिम सेन्टर खोलेका थिए। उनले पनि त्यही तालिम सुरु गरे। चिरन भन्छन्- 'त्यसपछि मेरो जीवनको बाटो मोडियो।'
तालिम सकिएपछि चिरञ्चीवी अब के गर्ने भन्ने सोचले पिरोलिए, तर हिम्मत कसेर उनले तीनै एन्ली कपलसँग मुखै फोरेर काठमाडौंमा मसाज सेन्टर खोल्ने प्रस्ताव गरे। कपल सकारात्मक देखिए। सन् २०१० मा ठमेलमा सिङ्गङि ह्यान्ड क्लिनिक खुल्यो। ठमेलको ज्याठामा उनले केही कोठा भाडामा लिएर काम थाले। मसाज व्यवसाय विकृतितर्फ उन्मुख भैरहेका बेला चिरन 'साधु' बनेर मसाज व्यवसायमा सक्रिय भए। उनको अनुभवमा शरीर माड्ने कामलाई विकृतिका रूपमा नै हेरिन्थ्यो। शारीरिक उपचार पद्धति भनेर बुझ्नेहरूको संख्या न्यून थियो। 'अझ दृष्टिविहीनले दिने मसाज सेवामा कति नै ग्राहक आउलान् र भन्नेहरूको संख्या पनि बाक्लो थियो', उनी सम्झन्छन्। यस्ता अनेकौं चुनौती पार गर्दै क्लिनिक सञ्चालनमा आयो। मन लगाएर गर्दा के हुँदैन? भन्ने साहस लिएर चिरनले यो काम सुरु गरेका थिए। ७ लाख रुपैयाँको लगानीमा सुरु भएको उक्त व्यवसाय यतिबेला शिखरतर्फ उक्लिरहेको प्रस्ट देख्न सकिन्छ।
व्यवसाय सुरु गरेको केही महिनामै चिरनको पसिना नै छुट्यो। 'महासंकट नै पो आइलाग्यो। मानिसहरूले दृष्टिविहीन भनेर मेरो लगनशीलता र क्षमतामा विश्वास गरेनन्। कम सुविधा मिल्छ भनेर हल्ला पिटे,' त्यतिबेला मेरो चित्त दुख्यो, उनले भने। घरबेटीले पनि विश्वास गरेनन्। व्यवसायले फड्को लिने छाँट देखाएन, तर स्थिति सधैं एकनास रहेन। होटल, रेस्टुराँमा मार्केटिङ गरेपछि बिस्तारै विदेशीहरू आउन थाले। 'ब्रोसर छापेर गल्ली-गल्ली बाँड्दै हिँडियो, होटल र रेस्टुराँ सबै चहारियो', उनले भने। त्यसपछि क्रमशः क्लिनिकमा ग्राहकको संख्या बाक्लिँदै गयो। दुई जनाले मात्र व्यवसाय धान्न मुस्किल पर्न थाल्यो। व्यवसायमा सुधार हुँदै गएपछि सन् २०११ मा तीन जना दृष्टिविहीन विद्यार्थीलाई कामदारका रूपमा क्लिनिकमा भित्र्याइयो। त्यसपछि ग्राहकहरू थपिँदै गए। पौडेल भन्छन्- 'सुरुमा आउने ग्राहक त नेपाली नै हुन्थे, तर बिस्तारै विदेशी धेरै आउन थाले।' विदेशी आउन थालेपछि व्यापार वृद्धि हुँदै गयो। यतिबेला नसोचेको सफलताहरू हात पर्दै गएको छ।
संसार हेर्ने सौभाग्य नपाएका चिरनको यस्तो व्यवसायले उनलाई दुनियासामु चर्चित मात्र गराएको छैन, जिन्दगी चलाउने र केही जोहो गर्ने राम्रो अवसर पनि दिएको छ। दृष्टिविहीन लक्ष्मी अधिकारीसँग प्रेमविवाह गरेका चिरनले यतिबेला एक दर्जनभन्दा बढी दृष्टिविहीनलाई रोजगारी दिइरहेका छन् भने पोखरामा समेत शाखा विस्तार गरेका छन्। लक्ष्मीले उनलाई व्यवसाय हाँक्न सहयोग गरेकी छिन्। उनीहरू दुवै जनाले संसार हेर्ने सौभाग्य नपाए पनि उनीहरूबाट जन्मिएकी छोरी संसार हेर्न सक्छिन्। उनले व्यवसायमार्फत आफ्नो दुनो मात्र सोझ्याएका छैनन्, आफूजस्तै साथीहरूलाई तालिम प्रदान गर्छन् र ग्राहकले तिरेको केही रकम जम्मा गरेर छात्रावृत्ति पनि बाँडिरहेका छन्। उनको मसाज सेन्टरमा काठमाडौं र पोखरामा गरी करिब १६ जनाले रोजगारी पाएका छन्।
चिरन आफूजस्तै युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। अरूको मात्र मुख ताक्ने प्रवृति अन्त्य गर्नुपर्छ, केही गर्न चाहनेहरूले धैर्यधारण गर्न सक्नुपर्छ चिरन भन्छन्।
प्रकाशित :जेष्ठ २३, २०७१












तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्