Teej banner
विश्वकपमा चेल्सी प्रभाव

विश्वकपमा चेल्सी प्रभाव

जेष्ठ ९, २०७१

विश्वकपमा सहभागी हुने सबै देशले आ-आफ्नो टिम घोषणा गरिरहेका छन्। अहिले सबैको ध्यान त्यसैमा छ, कुन टिममा कस्ता खेलाडी छन् ? केहीको ध्यान भने थप एक पाइला अघि छ, उनीहरू विश्लेषण गरिरहेका छन्, कुन टिममा कताका खेलाडी बढी परे ? उनीहरूका लागि यसपल्टको विश्वकप-२०१४ मा कुनै एक क्लबको दबदबा रहने छ भने त्यो चेल्सीनै हो।

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका १८ खेलाडीले यसपल्टको विश्वकप खेल्नेछन्। यो कुनै पनि क्लबका लागि खेल्ने खेलाडीले विश्वकप खेल्न पाउने सर्वाधिक ठूलो संख्या हो। यस्तोमा टिमका पोर्चुगली प्रशिक्षक जोसे मोउरिन्हो दंग पर्नेछन् र यही कारणले अर्को सिजन घरेलु लिगमा टिमको सम्भावना केही न केही त बढ्ने नै छ।

सबैभन्दा महत्त्वपूर्ण तथ्य, ब्राजिलका चार महत्त्वपूर्ण खेलाडी चेल्सीमै छन्, ओस्कार, विलियम, रामेरेस र डेविड लुइज। त्यति मात्र होइन, चेल्सीका खेलाडीमध्ये इङ्ल्यान्डका लागि खेल्ने फ्रायन्क लाम्पार्ड र ग्यारी कहिल, स्पेनका लागि खेल्ने फर्नान्डो टोरेस र सिसर एजपिलिक्वेटा तथा बेल्जियमका लागि खेल्ने एडन हजार्ड, रोमेलु लुकाकु र थिएबट कोरटिस पनि उत्तिकै महत्त्वपूर्ण खेलाडी हुन्।

चेल्सीपछि छन्, म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख। इङ्लिस प्रिमियर लिग क्लब र जर्मन लिग च्याम्पियनका १६-१६ खेलाडीले विश्वकपमा आ-आफ्नो देशको प्रतिनिधित्व गर्नेछन्। म्यानचेस्टरका लागि यो सिजन राम्रो रहेन तर पनि उसका केही खेलाडी आफ्नो देशका लागि उत्तिकै प्रभावशाली छन्।

जस्तो, वायन रोनी, ज्याभिएर हर्नान्डेज र राबिन भान पर्सि। बायर्न म्युनिखले भने यो सिजनमा चार ठूला प्रतियोगिता जित्यो र त्यसमा जर्मन बुंडेसलिगा र जर्मन कप प्रमुख छन्। यस्तोमा विश्वकपमा बायर्नको योगदान पनि राम्रै रहनेछ, विशेषतः जर्मन टिममा। स्वभाविक रूपमा जोचिम लोको जर्मन टिम पेप ग्वार्डिओलोको बायर्नकै खेलाडीको वरीपरी घुम्नेछ। त्यस्ता खेलाडीमा, म्यानुएल नेउर, जरोमी बोटेङ, बास्टिन स्वाइन्सटाइगर, टोनी क्रस, थोमस मुलर, मारियो गोएट्ज र फिलिप ल्हाम प्रमुख छन्। इटालीमा नेपोली सिरी 'ए' को तेस्रो स्थानमा मात्र रह्यो, युभेन्ट्स र एएस रोमापछि, तर यही टिमका १४ खेलाडी ब्राजिल पुग्नेछन्। राफेल बेनिटेजको टिमका तीन खेलाडी भालोन बेहरामी, ब्लेरिम जेमिली र गोखान इनलेरले स्विट्जरल्यान्डको टिम सम्हाल्ने छन्।

रमाइलो के छ भने दुई स्पेनी क्लब रियल म्याडि्रड र बार्सिलोनाको तुलनामा नेपोलीका खेलाडी बढी संख्यामा ब्राजिल जानेछन्। स्पेनी फुटबलमा यी दुई टिम एकआपसका सत्रु हुन्, तर संयोग कस्तो छ भने दुवै टिमका समान १३-१३ खेलाडी ब्राजिलमा खेल्नेछन्। फरक तथ्य के पनि छ भने यिनै दुई क्लबका दुई प्रमुख खेलाडी यसपल्टको विश्वकपका दुई प्रमुख आकर्षण हुनेछन्।

क्रिस्टियानो रोनाल्डो रियलका हुन भने लियोनल मेसी बार्सिलोनाका। त्यति मात्र होइन, ब्राजिलीयन स्टार नेयमार पनि बार्सिलोनाकै हुन्। यो सूचीको पाँचौं स्थानमा इटालीको सिरी

'ए' च्याम्पियन युभेन्ट्ससँगै दुई थप इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र आर्सनल छन्। ती तीन टिमका लागि खेल्ने १२-१२ खेलाडी विश्वकपका लागि ब्राजिल पुग्नेछ। त्यसपछि सूचीमा अहिले स्पेनी फुटबलमा तहल्का मच्चाइरहेको, एटलेटिको म्याडि्रड छ, ११ खेलाडीको योगदानसँगै।

प्रकाशित :जेष्ठ ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्