अब खेलकुदमा पनि करियर

अब खेलकुदमा पनि करियर

- श्यामकुमार सिंह

जेष्ठ ९, २०७१

खेलाडीको सरसामान, भोजन, आवास, भ्रमण एवं सुरक्षासँग सम्बन्धित आवश्यकताको प्रबन्धन खेल प्रशासकले गर्नुपर्छ। खेलाडी छनोट खेल आयोजनसँग सम्बन्धित विभिन्न पक्षको समन्वय खेल प्रशासकले गर्नुपर्छ। खेल प्रशासनको क्षेत्रमा खेलमा सक्रिय रुचि राख्ने व्यवस्थापकीय गुणले भरिपूर्ण व्यक्ति तथा राम्रो खेलाडीका लागि राम्रो अवसर उपलब्ध हुन्छ।

'पढोगे लिखोगे बनोगे नबाब, खेलोगे कुदोगे होगे खराब' हिन्दी भाषाको यो उखान, जसको अर्थ हुन्छ- पढ्यौं लेख्यौं भने ठूलो मान्छे बन्छौ, खेल्यौं कुद्यौं भने बिग्रन्छौं। आज पनि हाम्रो समाजमा यस्तै विचार जरा गाडेर बसेको छ। प्रत्येक आमाबुबाको चाहना हुन्छ, छोराछोरी डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट वा एमबीए जस्ता विषय पढून्, तर कुनै पनि आमाबुबा छोराछोरी खेलाडी बनेको हेर्न चाहदैनन्। यद्यपि आज समय फेरिएको छ। खेलप्रति आमजनमानसमा अभिरुचि र त्यसको स्वीकार्यता बढेको छ। युवाहरू खेलको क्षेत्रमा पनि आफ्नो भविष्य बनाउने कुरामा जागरूक छन्। कुनै पनि खेलको लोकप्रिय तथा श्रेष्ठ खेलाडी बन्न सकियो भने पैसा र प्रसिद्धि दुवै प्राप्त हुन्छ। सरकार तथा खेलकुद मन्त्रालयदेखि लिएर राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरू अहिले खेलकुदको विकासमा ठूलो रकम खर्च गर्न थालेका छन्। खेलकुदप्रतिको अभिरुचि बढाउन विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिन्छ। निजी तथा सार्वजनिक क्षेत्रका कम्पनीमा खेल-खेलाडीको कोटाअन्तर्गत खेलाडीलाई जागिर दिइन्छ। विद्यालय, कलेज तथा विश्वविद्यालयमा केही सिट खेलाडीका लागि आरक्षित हुन्छ। यी सबै कुरा हेर्दा के भन्न सकिन्छ भने खेलकुद युवाहरूलाई सकारात्मक आधारभूमि दिने दिशामा अग्रसर छ। आज प्रत्येक विद्यालयमा शारीरिक शिक्षा पढाइ हुन्छ। त्यहाँ शारीरिक शिक्षा पढाउने शिक्षकको माग पर्याप्त छ। निजी विद्यालय तथा कलेजहरूले आफ्ना विद्यार्थीलाई शारीरिक रूपमा प्रशिक्षित बनाउन शारीरिक प्रशिक्षक नियुक्त गर्छन्। यसले खेलाडी तथा खेल प्रशिक्षकका लागि धेरै ठूलो अवसर उपलब्ध भएको छ। खेलमा अभिरुचि राख्ने कुनै पनि व्यक्ति विभिन्न भूमिकामा आफ्ना लागि रोजगारीको अवसर खोज्न सक्छन्।

खेलाडी

खेलको मेरुदण्ड त्यसका खेलाडी हुन्छन्। खेलको सबै आकर्षण खेलाडीमा टिकेको हुन्छ। राम्रो प्रदर्शनबाट राम्रो खेलाडीको पहिचान बनाएर धेरै कुरा प्राप्त गर्न सकिन्छ। विद्यालय, महाविद्यालय, विश्वविद्यालय वा संस्थागत स्तरबाट आफ्नो करियर सुरु गरेर क्षेत्रीय तथा राष्ट्रिय स्तरको टिममा छनोट हुने प्रयास गर्नुपर्छ। यदि कुनै खेलाडीले क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्न सके भने अनेकौं निजी तथा सार्वजनिक कम्पनीले विज्ञापन अनुबन्ध गर्न सक्छन्। खेल कोटाअन्तर्गत सरकारी जागिर पाउन सक्छन् अथवा निजी वा सार्वजनिक कम्पनीमा नियुक्त हुन सक्छन्। कतिपय अवस्थामा खेलाडीले खेल्न र अभ्यास गर्न तलबी विदा पनि पाउँछन्।

प्रशिक्षक

खेलाडी र टिमको सफलतामा प्रशिक्षकको भूमिका सर्वविदित छ। पारस खड्का, जुमानु राई, दीपक विष्ट आदिलाई प्रतिभावान् खेलाडी बनाउनमा प्रशिक्षकको भूमिका पनि सहायक भएको पाइन्छ। क्रिकेट, फुटबल, बक्सिङ आदि खेलमा पूरै टिमका लागि प्रशिक्षक नियुक्त गरिन्छ। प्रशिक्षकले खेलाडीको क्षमता एवं दक्षतामा ध्यान दिन्छन्, टिमलाई जित्न योग्य बनाउँछन्। प्रशिक्षकका रूपमा वरिष्ठ तथा श्रेष्ठ खेलाडीलाई पनि राम्रो अवसर प्राप्त हुन्छ। स्कुल, कलेज, विश्वविद्यालय तथा क्लबहरूलाई प्रशिक्षकको अनिवार्य आवश्यकता हुन्छ। प्रशिक्षक टिम र खेलाडीसँगै रहन्छन्। यो गुरुत्तर दायित्वको पद हो।

निर्णयक (अम्पाएर, रेफ्री वा जज)

चाहे क्रिकेट होस् वा फुटबल, टेनिस होस् वा कुस्ती वा कबड्डी। प्रत्येक खेलमा निर्णायकको आवश्यकता पर्छ। निर्णायकले नै निर्णय गर्छ कि खेल नियमसम्मत ढंगले भैरहेको छ कि छैन र कसले जितिरहेको छ वा हारिरहेको छ। निर्णायक को नियुक्ति राष्ट्रिय स्तरमा राष्ट्रिय खेलकुद परिषद् र क्षेत्रीय स्तरमा स्थानीय खेल प्रशासनद्वारा गरिन्छ। प्रायः खेलाडीहरू नै आफ्नो करियरको बिरामपछि निर्णायक बन्छन्। निर्णायकले केवल खेलको निष्पक्ष आयोजनामा ध्यान दिँदैन, अपितु खेल सामग्री, खेल मैदान तथा खेलाडीको अनुशासित आचरण तथा खेल भावनाको रक्षाको उत्तरदायित्व पनि निर्वाह गर्छ।

कमेन्टेटर (विश्लेषक)

खेलप्रति विशाल जनसमुदायको रुचि तथा जनसञ्चारमाध्यमद्वारा त्यसको प्रस्तुतीकरणका क्रममा कमेन्टेटर (विश्लेषक) को पद महत्त्वपूर्ण भैसकेको छ। खेलका रोचक तथ्य तथा प्राविधिक पक्षको जानकारीले पूर्ण एवं राम्रो वाचन क्षमताले सम्पन्न व्यक्ति कमेन्टेटर बन्न सक्छन्। आजभोलि पूर्वखेलाडी पनि राम्रो कमेन्टेटरका रूपमा प्रस्तुत भैरहेका छन्। विभिन्न रेडियो तथा टेलिभिजन च्यानलले कमेन्टेटरको कामलाई अत्यन्त आकर्षक, प्रसिद्ध र आर्थिक रूपले सन्तोषजनक बनाइदिएका छन्।

शारीरिक प्रशिक्षण निर्देशक

सरकारले युवाको स्वस्थ शारीरिक तथा मानसिक विकासको आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय एवं क्षेत्रीय स्तरमा स्कुल, कलेज तथा विश्वविद्यालयमा शारीरिक प्रशिक्षणको व्यवस्था गरेको छ। विद्यालयमा नियुक्त शारीरिक प्रशिक्षण प्रशिक्षक (पीआईटी) का लागि शारीरिक शिक्षाको कोर्स गर्नु आवश्यक छ। कलेज तथा विश्वविद्यालयमा शारीरिक शिक्षकका लागि शारीरिक शिक्षामा एमपीएड (मास्टर इन फिजिकल एजुकेसन) गर्नु अनिवार्य हुन्छ। खेलसँग सम्बन्धित व्यक्ति तथा खेलाडीका लागि शारीरिक प्रशिक्षण निर्देशकको पदमा नियुक्त हुन केही सघाउ पुग्छ। हिजोआज निजी विद्यालय, हेल्थ क्लब तथा पाँचतारे होटलमा पनि शारीरिक प्रशिक्षणको ठूलो माग हुन थालेको छ।

खेल प्रशासन

खेलको आयोजना, विकास, खेलाडीको सुविधा, व्यावसायिक पक्ष आदिको कुशल सञ्चालनका लागि खेल प्रशासन विभाग आवश्यक हुन्छ। विद्यालय, महाविद्यालय, विश्वविद्यालय होस् वा क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना सबैमा प्रशासन विभागको भूमिका महत्त्वपूर्ण हुन्छ। खेल मात्र मैदानमा हुँदैन त्यससँग सम्बन्धित अनेकौं तयारी गर्नुपर्छ। खेलाडीको सरसामान, भोजन, आवास, भ्रमण एवं सुरक्षासँग सम्बन्धित आवश्यकताको प्रबन्धन खेल प्रशासकले गर्नुपर्छ। खेलाडी छनोट खेल आयोजनसँग सम्बन्धित विभिन्न पक्षको समन्वय खेल प्रशासकले गर्नुपर्छ। खेल प्रशासनको क्षेत्रमा खेलमा सक्रिय रुचि राख्ने व्यवस्थापकीय गुणले भरिपूर्ण व्यक्ति तथा राम्रो खेलाडीका लागि राम्रो अवसर उपलब्ध हुन्छ। खेल प्रशासनसँग सम्बन्धित विभागमा तृतीय श्रेणीदेखि लिएर प्रथम श्रेणीका खेल निर्देशक, शारीरिक शिक्षा निर्देशक, अतिरिक्त निर्देशक, उपनिर्देशक, सहायक निर्देशकजस्ता पद हुन्छन्।

खेल पत्रकारिता

खेलको बढ्दो लोकप्रियताले खेल पत्रकारितालाई प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियामा एउटा छुट्टै पहिचान दिएको छ। हिजोआज खेल पत्रकारको एउटा वर्ग नै तयार भैसकेको छ जसमा विशुद्ध पत्रकारका साथै स्वनामधन्य खेलाडी पनि सम्मिलित छन्। क्रिकेटको टी-२० वा एक दिवसीय म्याच, फुटबल, टेनिस, एथलेटिक्स, एसियाड, ओलम्पिक आदिलाई पत्रिका, रेडियो तथा टेलिभिजनमा जुन ठूलो कवरेज मिलेको छ त्यसबाट खेल पत्रकारिताको व्यापकतालाई सजिलै बुझ्न सकिन्छ।

स्पोर्ट्स क्लब, फिटनेस सेन्टर तथा मार्केटिङको क्षेत्रमा आफ्नो करियर बनाउन उत्सुक व्यक्तिका लागि अनेकौं नयाँ क्षेत्र पनि खुल्दै गएका छन्। स्पोर्ट्स क्लबले खेलाडीको प्रशिक्षण तथा परिपूर्णताका लागि खेल विशेषज्ञ तथा शारीरिक प्रशिक्षक नियुक्त गर्छ। फिटनेस सेन्टरमा पनि दक्ष खेल विशेषज्ञ तथा शारीरिक व्यायाम प्रशिक्षकको आवश्यकता हुन्छ। आधुनिक जीवनशैली तथा बढ्दो प्रदूषणले जुन नकारात्मक प्रभाव व्यक्तिको स्वास्थ्यमाथि पारेको छ, त्यसले स्वास्थ्यप्रति आममानिसको जागरूकता बढेको छ। यसले खेल विशेषज्ञको काम बढाइदिएको छ। खेलकुदको बढ्दो प्रचलन एवं सर्वस्वीकार्यताले खेलकुदको सामान बेच्ने कम्पनीका लागि पनि अनेकौं अवसर उपलब्ध गराएको छ।

शारीरिक प्रशिक्षण पाठ्यक्रम

सीपीएड (सर्टिफिकेट कोर्स इन फिजिकल एजुकेसन) ः यो एकवर्षे पाठ्यक्रम प्रवेशिका (एसएलसी) पछि गर्न सकिन्छ। यो कोर्स गरिसकेपछि प्राथमिक विद्यालयमा शारीरिक शिक्षकका लागि आवेदन गर्न सकिन्छ।

बीपीएड (ब्याचलर इन फिजिकल एजुकेसन) ः यो तीन वर्षीय पाठ्यक्रम प्स टु उत्तीर्ण गरिसकेपछि गर्न सकिन्छ। यो कोर्स गरिसकेपछि माध्यमिक विद्यालयमा शारीरिक शिक्षक पदमा आवेदन गर्न सकिन्छ।

डीपीएड (डिप्लोमा इन फिजिकल एजुकेसन) ः यो एकवर्षीय डिप्लोमा पाठ्यक्रम स्नातकपछि गर्न सकिन्छ। यो कोर्स गरिसकेपछि माध्यमिक विद्यालयमा शारीरिक शिक्षकका लागि आवेदन गर्न सकिन्छ।

एमपीएड (मास्टर अफ फिजिकल एजुकेसन) ः यो दुईवर्षीय प्रशिक्षण पाठ्यक्रम बीपीएड वा डीपीएडको डिग्री प्राप्त गरे उप्रान्त गर्न सकिन्छ। यो कोर्स गरिसकेपछि माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा शारीरिक शिक्षक पदमा आवेदन गर्न सकिन्छ।

एमफिल/पीएचडी इन फिजिकल एजुकेसन ः यो उच्च डिग्री प्राप्त गरेपश्चात् खेल प्रशासन विभागमा शारीरिक शिक्षा निर्देशक, उपनिर्देशक, अतिरिक्त निर्देशक आदि पदका लागि आवेदन गर्न सकिन्छ।

माथि उल्लेखित कोर्सहरूबाहेक स्पोर्ट्स फिजियोथेरापी, स्पोर्ट्स फिजियोलोजी, स्पोर्ट्स मेडिसिन, स्पोटर््स म्यानेजमेन्ट आदि पाठ्यक्रम पनि उपलब्ध छन् जसलाई पूरा गरेर राम्रो भविष्य बनाउन सकिन्छ।

 

प्रकाशित :जेष्ठ ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्