अवकाशपछिको जीवन समाजसेवामा बिताउँछु

अवकाशपछिको जीवन समाजसेवामा बिताउँछु

  • रमेश खरेल (एसएसपी)

- नरेन्द्र रौले

जेष्ठ २, २०७१

रमेश खरेलका लागि सबैभन्दा नजिकको साथी वाकिटकी हो, जुन हरबखत उनकै साथमा रहन्छ। बाथरुममा नुहाउँदा होस् वा कतै जाँदा वाकिटकी सधैं अन हुन्छ। त्यसमा प्रवाहित हुने सूचनाका आधारमा उनको दैनिक सेड्युल बन्छ र त्यही अनुसार कार्यक्रम तय हुन्छ।

खरेलको दैनिकी सामान्यतः बिहान ५ बजे प्रारम्भ हुन्छ। एफएममा समाचार सुन्दै, चिया-कफी पिउँदै बिहानै दैनिक पत्रिकाहरू हेर्न छुटाउँदैनन् उनी। खेलकुदमा रुचि राख्ने खरेल हरेक दिन भृकुटीमण्डपस्थित पुलिस क्लब पुगेर व्यायाम गर्छन्। एक घण्टा ब्याडमिन्टन खेलेर बिताउँछन्। पसिना निस्कने गरी ब्याडमिन्टन खेलिसक्दा उनलाई फ्रेस भएको महसुस हुन्छ। अझ जाँगर र फुर्ती थपिएझैं लाग्छ। अफिस पुग्न उनलाई सधैं हतार हुन्छ। पुलिस क्लबबाट सीधै हनुमानढोकास्थित कार्यालय दौडन्छन्। पौने १० बजे कार्यालयमै बिहानको खाना खान्छन्। कुनै प्रमुख दलको नेतालाई जस्तै खरेललाई भेट्नेहरूको लर्को सधैं हुन्छ। गत हप्ता हनुमानढोकास्थित प्रहरी कार्यालय पुग्दा एक स्कुलका शिक्षक नन्दकुमार झा आइपुगेका थिए। उनी गरिब विद्यार्थीहरूको शिक्षादीक्षामा सहयोग जुटाउन कसरी अघि बढ्ने भनेर छलफल गरिरहेका थिए। खरेलबाट सहयोगको अपेक्षा गरिरहेका थिए। 'झा सर, तपाईं नमुना स्कुल बनाउनुहोस्। कहाँ के-के गर्नुपर्छ, म सबैतिर पहल गर्छु।' उनले आश्वासन र विश्वास दिँदै हँसिलो मुद्रामा ती शिक्षकलाई बिदाइ गरे। एकपछि अर्को गर्दै विभिन्न ठाउँबाट न्याय र सहयोगका लागि मानिसहरू आउने क्रम चलिरहन्छ। खरेल सकेसम्म सबैलाई सन्तुष्ट पार्न, आफूले सक्ने सहयोग गर्न पछि पर्दैनन्।

खरेल दिनभरि मिटिङ, सभा, सेमिनारहरूमा व्यस्त हुन्छन्। शनिबार अझ बढी कार्यक्रमबाट निम्तो आउँछ। उनी भ्याएजति सबै कार्यक्रममा सहभागी हुने प्रयास गर्छन्। यस्ता कार्यक्रमले आफ्नो पेसालाई थप सहयोग पुग्ने उनको अनुभव छ। 'जनतासँग सीधै अन्तर्क्रिया गर्न, छलफल गर्न, सहयोग माग्न सजिलो हुन्छ।' खरेलले सुनाए— 'म जनतालाई आफ्नो इमेल तथा फोन नम्बर दिन्छु।'

जनताबाटै पाइने सहयोगले शान्ति, सुव्यवस्था कायम गर्न थप बल पुग्छ। उनीअन्य सामाजिक क्रियाकलाप विवाह, ब्रतबन्ध, संघसंस्थाको वाषिर्कोत्सवमा पनि पुग्न भ्याउँछन् । 'यस्ता कार्यक्रमहरूमा पुग्दा अरूले कमी-कमजोरीहरू औंल्याउँछन्, सँगसँगै आड, भरोसा पनि मिल्छ।' खरेलले सुनाए— 'जसले गर्दा काम गर्न हौसला थपिन्छ।' जहाँ पुगे पनि आममानिसबाट माया पाउँदा उनलाई बिछट्टै आनन्द मिल्छ। सहकर्मीहरूले व्यावसायिक भएर काम गर्दा आफूलाई सहयोग पुग्ने खरेलको अनुभव छ। त्यसरी आफ्नो काम सहज बनाउन एसपी नारायण खड्कालगायत अन्य थुपै्रको सहयोग रहने उनले सम्झिए। व्यावसायिकता, निडरपन र इमानदारिताले जनताको मन जित्न सकिने उनको अनुभव छ। सुरक्षा निकायमा प्रवेश गर्न चाहने हरेकलाई खरेलले यिनै कुरा आत्मसात् गर्न सल्लाह दिन्छन्।

खरेल कार्यालयमा रहँदा त्यसैको क्यान्टिनवाट चिउरा, चना, आलु तथा दही अर्डर गर्छन्। मःम उनलाई सबैभन्दा मनपर्ने परिकार हो। खानासँग आलुको अचार पनि त्यत्तिकै रुचाउँछन्। सपिङ उनलाई खासै मन पर्दैन। कुनै बेला परिवारसँग कुनै डिपार्टमेन्ट स्टोर जाँदा उनी एकै ठाउँमा बसिरहन्छन्। हाइकिङ, टे्रकिङ उनलाई खुब मनपर्छ, तर समय पर्याप्त नभएकाले जान भने पाउँदैनन्। स्वीमिङ गर्न रहर लाग्छ तर जान नपाएको धेरै भयो।

खरेल ब्याडमिन्टन खेल्न रुचाउँछन्, हेर्न भने क्रिकेट र फुटबल। कहिलेकाहीं सुट-बुटमा ठाँटिए पनि धेरैजसो समय क्याजुअल पहिरन नै लगाउँछन्। सर्ट, जिन्स पाइन्ट, ट्रयाकसुट लगाउदा सजिलो लाग्छ। खरेललाई प्रेरक व्यक्तिका जीवनी, आत्मकथाहरू पढ्न मन लाग्छ। कार्यालयमा आउने शुभचिन्तकहरूले ल्याइदिएका पुस्तकको चाङ लागेको छ। टेबल र अफिसमा राखिएका ती पुस्तक पढ्न भने खरेलसँग पर्याप्त समय छैन। आफ्नो अवकाशपछिको जीवन समाजसेवामा लगाउने सोच उनको छ। उनी काभ्रेको आफ्नै गाउँमा केही गर्ने सोच बुन्दै छन्।

खरेल बेलुकी अबेरसम्म कार्यालयकै काममा व्यस्त हुन्छन्। र्फकंदा ढिलो हुन्छ। परिवारका सदस्यलाई पर्याप्त समय दिन नपाएकामा अलिकति दुःख लाग्छ। छोरा-छोरी र श्रीमतीसँगै बसेर लन्च, डिनर गर्न खोज्दा पनि समयले साथ दिँदैन। समय व्यवस्थापन गर्न नसक्दा कहिलेकाहीं गुनासो पनि सुन्नुपर्छ। आफ्नो व्यस्तताका सम्बन्धमा बताएपछि परिवारले त्यसमा चित्त बुझाउनै पर्छ। आमनागरिकको शान्ति-सुरक्षामा अहोरात्र खट्दा, न्याय दिलाउन पाउँदा खरेललाई सन्तुष्टि मिल्छ। निदाउँदा अबेर राति साँढे १२, कहिलेकाहीं १ बज्छ र अर्को बिहानी उस्तै दौडधूपको दैनिकी प्रारम्भ हुन्छ।

प्रकाशित :जेष्ठ २, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्