
भित्रिँदै उभौली साकेला
वैशाख २६, २०७१
ढोल झ्याम्टाको तालमा रमाइलो गीतसँगै नाचेर मनाइने किराँत-राई समुदायको सांस्कृतिक पर्व उभौली साकेला आगामी बुधबारदेखि औपचारिक रुपमा प्रारम्भ हुँदैछ। किराँत-राई समुदायले हरेक वर्ष वैशाख पूणिर्मादेखि १५ दिनसम्म उभौली साकेला चाड मनाउँछ। सांस्कृतिक महत्व बोकेको यो चाडको अवधिभर किराँती बस्तीहरूमा घरदेखि गाउँ-टोल हुँदै साकेला थानमा भेला भएर सामूहिक रूपमा साकेला मनाइन्छ। हातमा चमर, सेउली र सिर्लिङ्मा बोकेर सिली प्रमुखको इसारामा गोलाकार रूपमा घेरा बनाएर बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म लामबद्ध भएर गीत गाउँदै एकसाथ सिली टिप्छन्।
साकेला नाच्ने कलाकारहरू मायाप्रीति, मिलन, बिछोड, मानवीय समवेदना, देशको वर्तमान परिस्थिति एवं मौसमसम्बन्धी गीत गाउँदै मनोरञ्जन गर्छन्। सिली प्रमुखले एकपछि अर्को गर्दै नयाँ नयाँ सिली टिप्छन् र उनको इसारालाई गोलो घेरामा लामबद्ध भएका अन्य कलाकारले एकसाथ पच्छ्याउँछन्। कलाकारहरूले बालीबिरुवा छरेको, रोपेको, गोडेको, टिपेको, थन्क्याएको, धागो बाटेको, कपडा बुुनेको, चरा चुरुङ्गी नाचेको आदि अभिनय गर्छन्। मानव सभ्यताको विकासक्रमको झ-झल्को दिने नाचको यही अभिनयलाई सिली भनिन्छ।
साकेलाभर किराँत-राईहरू आफ्नो वेशभूषा लगाउने आफन्त, कुलकुटुुम्ब भेट्ने, माइती मामली जाने, मिठो मसिनो खाने आदि काममा व्यस्त हुन्छन्। मुन्धुममा आधारित किराँत धर्मप्रति विश्वास राख्दै आएका राईहरू यो अवसरमा पुर्खाहरूको सम्झना गर्दै पितृ र प्रकृतिको पूजा गर्छन्। खेतीमा पस्ने बेला समयमै वर्षात होस्, बाली-बिरुवामा रोग नलागोस्, बालीबिरुवा सप्रियोस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामनासहित सिमेभूमे, नदी तथा खोलाहरू, रूख-बिरुवा पूजा गर्ने चलन छ।
पूर्वी नेपालको इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, बारा तथा काठमाडौं उपत्यकामा बस्ने राईहरूले साकेला मनाउँछन्। नेपालबाहेक राईहरूको बसोबास रहेको भारतको दार्जीलिङ, सिक्किम, अमेरिका, दुबई, हङ्कङ, अस्टे्रलिया, बेलायत, मलेसिया आदि देशमा समेत साकेला पर्व मनाइने किराँत-राई यायोक्खा केन्द्रीय समितिका उपमहासचिव दिवस कोयुले बताए।
प्रकाशित :वैशाख २६, २०७१












तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्