
'रेड मनसुन' र 'दमदार'
वैशाख २६, २०७१
निर्देशक ः इलम दीक्षित
कलाकार ः सरिता गिरी, सुदाम केसी, सृष्टि घिमिरे, सन्दीप क्षेत्री तथा हिमाली दीक्षित।
संगीतकार ः लोचन रिजाल
आज शुक्रबार सार्वजनिक हुने चलचित्र 'रेड मनसुन' यसअघि विभिन्न चलचित्र महोत्सवमा प्रदर्शन भैसकेको छ। चलचित्र, टेलिश्रृंखला तथा नाटकहरूमा अभिनय तथा निर्देशन गर्दै आएका इलम दीक्षितको यो डेब्यु निर्देशन हो। चलचित्रले काठमाडौं उपत्यकाका नयाँ पुस्ताको कथा भन्छ। काठमाडौंको समकालीन समाजको सटिक चित्रण गरिएको यो चलचित्रमा दक्षिण एसियाली चलचित्रको परिवर्तनको बहसलाई समेत बल पुर्याएको छ। नयाँ पुस्ताका संघर्षशील पात्रहरूको वास्तविक चित्रण गर्ने यो चलचित्रलाई युवापुस्ताका दर्शकले रुचाउने कुरामा निर्देशक दीक्षित विश्वस्त देखिन्छन्। निर्देशक इलमले विगत एक दशकको अवधिमा ओथेलो, अ भ्यु फ्रम दि बि्रज, दि क्लास मनेजरी, एक्जिट द किङ, अ स्टि्रटकार नेम्ड डिजायर आदि नाटक निर्देशन एवं अभिनय गरिसकेका छन्। 'रेड मनसुन' ले सबै तह र तप्काका दर्शकलाई लक्षित गरेको छ। यो चलचित्रबाट हामी को हौं भन्ने प्रस्ट्याउन खोजिएको बताइन्छ। चलचित्रले मानवीय संवेदनालाई छुने प्रयास गरेको छ। करुणा शर्माको 'शरण' शीर्षकको कथालाई 'रेड मनसुन' को मेरुदण्ड बनाइएको छ। यो चलचित्रले कोस्टारिकामा सम्पन्न सानजुआन चलचित्र महोत्सव, मुम्बई चलचित्र महोत्सव तथा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा समेत दर्शकको मन जितिसकेको छ। चलचित्रले समाजमा विद्यमान शक्ति र सम्बन्धहरूको देखाउनैपर्ने पक्ष प्रस्तुत गरेको छ, जहाँ पुराना अनिश्चितताहरू बिलाउँदै जान्छन्।
निर्देशक ः कमलकृष्ण
कलाकार ः रेखा थापा, सविन श्रेष्ठ, कमलकृष्ण तथा बासु पुडासैनी।
संगीतकार ः कमलकृष्ण
आज शुक्रबार सार्वजनिक हुने चलचित्र
'दमदार' ले नेपाली चलचित्र क्षेत्रमै एउटा नयाँ नियम बसाएको छ। सेन्सर बोर्डले यसअघि चलचित्रको धूम्रपान गरिएको दृश्यमा मात्र हानिकारक लेख्ने नियम बनाएकोमा 'दमदार' को युनिटले भने आफ्नो चलचित्रमा हेलमेट नलगाई मोटरसाइकल चलाएको दृश्यमा समेत 'मोटरसाइकल चलाउँदा हेलमेट लगाउनु अनिवार्य छ' लेख्ने भएको छ। सेन्सर बोर्डले पिजी अर्थात् अभिभावकसँग मात्र हेर्न मिल्ने प्रमाणपत्र दिएको यो चलचित्र एक्सनप्रधान छ। चन्द्र गौतम तथा सुमन विष्टले निर्माण गरेको यो चलचित्रमा नायिका रेखा थापा पुनः एकपटक एक्सन लेडीको भूमिकामा प्रस्तुत हुँदैछिन्। चलचित्रमा रेखाले बर्खास्तीमा परेर बर्दीविहीन भएकी एक राष्ट्रसेवकको भूमिका निर्वाह गरेकी छिन्। यो चलचित्रमा सविन श्रेष्ठ र बासु पुडासैनी नायक भए पनि रेखाले उनीहरूभन्दा एक कदम अघि बढेर खलनायकहरूसँग द्वन्द्व गरेकी छिन्। चलचित्र दमदारमा चन्द्र पन्तको द्वन्द्व निर्देशन छ भने सौरभ लामा यसका छायांकार हुन्। निर्देशक कमलकृष्णकै पटकथामा तयार भएको यो चलचित्रको संवाद नवराज शर्माले लेखेेका हुन्।
प्रकाशित :वैशाख २६, २०७१

















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्