नेटमै प्रेम, नेटमै विहे

नेटमै प्रेम, नेटमै विहे

वैशाख २६, २०७१

एउटा जमाना थियो, भेटेपछि माया लाग्छ नभेटेकै जाती भन्ने गीत गाइन्थ्यो। कर्णदासले पनि त्यही विषयमा एउटा गीत गाए, भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो। भेटको कति महत्त्व हुन्थ्यो भन्ने कुरा नेपाली गीतहरूमा यसरी दसाईएका कुरा हेरे थाहा हुन्छ। बल्ल-बल्ल भेट भा'को दिन, सङ्लो पानी धमिलो मन किन ? धेरै पछि भेट भो दर्शन नमस्ते जस्ता धैरै गीतले भेटको बखान गरेका छन्।

भेटपछि चिठीपत्रको युग आयो। चिठी तिमीलाई लेखूँ भन्छु, मनको कुरा मनमै रह्यो भन्ने गीतले प्रस्ट पार्छ, मनको कुरा अभिव्यक्त गर्न भेट्नैपर्ने आवश्यकता रहेनछ। चिठ्ठी आएन, मलाई मेरो मायालुको चिठ्ठी आएनजस्ता थुप्रै गीत छन्, जसले आपसी सम्बन्धमा चिठ्ठीको महत्त्व दर्साएका छन्।

चिठ्ठीको युगलाई टेलिफोनले विस्थापित गर्‍यो। हुलाक कार्यालयहरू सुनसान हुन थाले, टेफिफोन बुथहरू व्यस्त देखिए। त्यसपछि संसार मोबाइल युगमा प्रवेश गर्‍यो। मोबाइलमा फोन गर, घरकोमा बूढीले उठाउँछे जस्ता गीत बज्न थाले। पोस्टबक्सहरू खाली भए, मोबाइलका इनबक्सहरू भरिन थाले। तिम्रो मिसकल आउँछ कि भनेर कुरिरहन्छु भन्ने खालका गानाको बाढी आउन थाल्यो।

मोबाइलपछि इन्टरनेट युगले प्रवेश पायो। बगैंचा, बार तथा रेस्टुराँहरू खाली हुन थाले। इमेल, च्याट र वेभ क्यामको लोकप्रियता बढ्यो। च्याटमा भेट, वेबक्याममा डेटिङ र स्काइपमा हनिमुन मनाउन थालियो। भेट के हो, चिठ्ठी के हो, अंकमाल के हो, सबै कथाजस्तो हुन थाल्यो। नेटमा भेट, नेटमै प्रेम र नेटमै बिहे हुन थालेपछि लगन जुराउने र जन्ती जाने-आउने संस्कृति पनि लोप हुने स्थिति आयो।

इन्टरनेट युगको मध्यतिर आएर सबै सम्बन्धहरू फेसबुकमा भेला भए। फेसबुकबाटै प्रेम, फेसबुकबाटै घृणा, फेसबुकबाटै झगडा, फेसबुकबाटै सम्बन्ध सुधार हुन थाल्यो। मानौं, गाउँघर, टोल-छिमेक सबै फेसबुकभित्रै अटाउन थाले। फेसबुक एकाउन्ट नहुने मान्छेलाई दोस्रो दर्जाको नागरिक मान्न थालियो।

खै फेसबुकमा कमेन्ट नै लेख्न छोड्यौ त, बिर्सियौ कि क्या हो ? मेरो तस्बिरमा लाइक नगर्दा मलाई चित्त दुख्यो। तपाईं हराउनुभयो, फेसबुकतिर देखिनुहुन्न त ? देशमा यति ठूलो घटना घटिसक्यो, तपाईं थाहा छैन भन्नुहुन्छ, फेसबुकतिर हुनुहुन्न कि क्या हो ? यो विवादका बारेमा आफ्नो धारणा पत्रिकामा लेखेर मात्र भएन, फेसबुकको स्टाटसमै केही आउनुपर्‍यो आदि कुरा सुन्नु सामान्य लाग्न थाले।

माथिका संवाद फेसबुकले हाम्रो जीवनमा पारेको प्रभावका उदाहरणहरू हुन्। मानिसलाई फोनको मतलब हुन छाड्यो, फेसबुक कमेन्टको महत्त्व बढ्न थाल्यो। मुहारको प्रत्यक्ष प्रशंसाभन्दा पिक्चर लाइकको अर्थ रहन थाल्यो। समाजमा सक्रिय रहे पनि फेसबुक अपडेट भएन भनै हराएको मानिन थालियो। अरू माध्यमबाट समाचार थाहा पाएर नहुने भयो, फेसबुक नै चलाउनुपर्ने भयो। टेलिभिजनको अन्तर्वार्ताभन्दा फेसबुक स्टाटसले चर्चा बटुल्न थाल्यो। यो कथा सबै मानिसको होइन। समाजमा एउटा वर्ग छ, जो फेसबुकलाई नै सबथोक मान्छ। फेसबुकको स्टाटस अपडेट्सबाट सुरु भएको उनीहरूको दैनिकी कमेन्ट्स र रिभ्यूमा गएर सकिन्छ।

गजुरियल बिश्लेषण भन्छ, कुनै पनि चीजले सबैथोक दिँदैन, केही-केही मात्र दिन्छ। त्यो केही के हो भन्ने कुराचाहिं आफूले खोज्नुपर्छ। भेटघाटको आफ्नै महत्व हुन्छ। चिठ्ठीपत्रको महत्त्व अझै पनि घटेको छैन। इन्टरनेटले मानवजीवनलाई सहज बनाउन निकै ठूलो योगदान दिएको छ। इन्टरनेटको एउटा फेसबुकले पनि मानिस-मानिसबीचको सम्बन्धलाई नजिक बनाइदिएको छ, तर त्यसको अर्थ अरू पाटाहरू सदाका लागि बन्दै भएका होइनन् भन्ने बुझ्नु आवश्यक भएको गजुरियल ठम्याइ छ।

प्रकाशित :वैशाख २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्