
नीता ढुंगाना, नायिका
वैशाख १९, २०७१
नायिका नीता ढुङ्गानाद्वारा अभिनीत चलचित्र किसान, मसान, नोटबुक आदि हुन्। उनको पछिल्लो चलचित्र ६ एकान ६ ले निकै नै चर्चा बटुल्यो। आफूद्वारा अभिनीत चलचित्रहरू व्यावसायिक रूपमा सफल वा असफल जे भए पनि फरक-फरक चरित्र निर्वाह गरेर राम्रो अनुभव र ज्ञान बटुल्न सकेकोमा ढुंगाना सन्तुष्ट देखिन्छिन्।
छ एकान छले त धुम नै मच्चायो नि ?
यो चलचित्रलाई दर्शकहरूले अत्यधिक रुचाउनुभयो। छ एकान छ देश विदेश जताततै प्रशंसा बटुल्न सफल पनि भयो। यो चलचित्रबाट म आफू पनि खुसी र उत्साही छु।
नायिका नीता ढुङ्गाना कसैको वहकाउमा नपर्ने नायिका हुन् भनिन्छ। नेपाली चलचित्र क्षेत्रमा कसरी बनाउन सक्नुभयो यस्तो छवि ?
म जस्ती छु, त्यस्तै सुन्नुभएको रहेछ। खासमा मैले म को हुँ र के हुँ भन्ने कुरालाई सधैं आत्मसात् गर्दै आएकी छु। मेरो काम भनेको अभिनयमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने हो। म त्यसका लागि तनमनले लागिपर्छु। आफ्नो कामलाई बढी महत्व दिने भएका कारणले पनि होला, म कसैको बहकाउमा आउँदिनँ।
चलचित्रको त लाइन लाग्न थालेको छ रे नि ?
मह जोडीले निर्माण गर्न लागेको चलचित्र साला जिन्दगी, तँ, म र ऊ लगायत अहिले म सँग ९ वटा चलचित्र छन्।
कस्तो खालका ब्यानर रोज्नुभएको छ ?
मलाई ब्यानरले मात्र चलचित्रलाई सफल बनाउँछ भन्नेमा विश्वास लाग्दैन। मुख्यत: स्क्रिप्ट राम्रो हुनुपर्छ। निर्देशकलगायत सम्पूर्ण युनिट आ-आफ्नो काम प्रति इमान्दार र लगनशिल भएर लाग्नुपर्छ। मैले ब्यानरभन्दा पनि राम्रा स्क्रिप्टलाई प्राथमिकता दिएकी छु।
पब्लिसिटीले चलचित्र बिकाउन कस्तो भूमिका खेल्दो रहेछ ?
अत्यावश्यक छ पब्लिसिटी। केही समयअघि राम्रै ब्यानरमा निर्माण भएका चलचित्रले समेत दर्शकलाई आकषिर्त गर्न सकेनन्। त्यसको प्रमुख कारण नै पब्लिसिटीको कमी हो भन्ने लाग्छ।
नेपाली चलचित्रमा आफूले कुन स्थान प्राप्त गरेकी छु भन्ने लाग्छ ?
मैले आफूलाई सफलतातर्फ अघि बढिरहेकी छु भन्ने मानेकी छु।
कस्तो भूमिकामा रमाउन चाहनुहुन्छ ?
मैले आजसम्म जति पनि चलचित्रमा अभिनय गर्ने अवसर पाएँ ,फरक-फरक भूमिका निर्वाह गरें। आफूले चाहेजस्तो वा खोजेजस्तो त पक्कै पाइँदैन।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अहिले मेरो जति प्रशंसा भैरहेको छ, त्यो मेरो विगतका चलचित्रहरूमा प्रस्तुत अभिनयको संयोजन हो। दर्शकहरूले पनि मप्रति धेरै नै माया दर्साउनुभएको छ। त्यसका लागि म सदा आभारी रहनेछु। मलाई अझै पनि दर्शकहरूको मायाको खाँचो छ।
प्रकाशित :वैशाख १९, २०७१













तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्