Teej banner
ब्रान्डिङ एक्स्पोमा आकर्षण

ब्रान्डिङ एक्स्पोमा आकर्षण

वैशाख १९, २०७१

आइसिटी एसोसिएसन अफ नेपालले आइसिटी इलेक्ट्रोनिक्स एन्ड ब्रान्डिङ एक्स्पो-२०१४ सम्पन्न गरेको छ। उक्त एक्स्पो राजधानीको भृकुटीमण्डपमा वैशाख ११ देखि १५ गतेसम्म चलेको थियो। उक्त प्रदर्शनीमा ६० भन्दा बढी कम्पनीका १ सय ४ वटा स्टल थिए। प्रदर्शनीस्थलको मुख्य हलमा ३२ कम्पनीका ४४ वटा स्टल तथा बाहिर ४२ कम्पनीका ६० स्टल राखिएका थिए। सूचना प्रविधिको क्षेत्रमा भएका स्वदेशी तथा विदेशी उपलब्धि एउटै छानामुनि एकसाथ अवलोकन गर्न र बुझ्न उपयुक्त उक्त प्रदर्शनी सहभागीहरूका लागिसमेत उपलब्धिमूलक रह्यो। प्रदर्शनीमा विभिन्न ब्रान्डका ल्यापटप, टेलिभिजन तथा मोबाइलको उपस्थिति उल्लेखनीय थियो। एक्स्पोमा विभिन्न शैक्षिक संस्था एवं सूचना प्रविधि सम्बद्ध कम्पनीहरू पनि सहभागी थिए।

विभिन्न ब्रान्डका मोबाइल

प्रदर्शनीमा विभिन्न ब्रान्डका मोबाइल फोन प्रदर्शन गरिएका थिए। ती कम्पनीले आफ्ना उत्पादनमा विभिन्न छुटसमेत प्रदान गरेका थिए। प्रदर्शनीमा युनाइटेड अरब इमिरेट्सको ब्रान्ड टचकनले आधिकारिक विक्रेता लेजर इन्फोटेकमार्फत उत्कृष्ट फिचरसहितका विभिन्न मोबाइल प्रदर्शन गर्‍यो। सागर ग्रुपले प्रेस्टिजियोका विभिन्न मोडलका मल्टिस्मार्ट फोन तथा ट्याब्लेट सार्वजनिक गर्‍यो। जापानी ब्रान्ड पानासोनिक पनि पहिलो पटक प्रदर्शनी स्थलमा देखियो। एलाइड ट्रेडलिंक इन्टरनेसनलले ४ वटा मोडलका स्मार्टफोन प्रदर्शनीमार्फत सार्वजनिक गर्‍यो। त्यसैगरी चिनियाँ कम्पनी हुवावेले डिटिसी मोबाइलको जुपिटर प्लस तथा एसेन्ड पीलाई प्रदर्शनीमा राखेको थियो। भिडियोकोनका फिचर फोनदेखि टुजी र थ्रीजी चल्ने ट्याब्लेट एवं एन्ड्रोइड फोन प्रदर्शनीमा राखिएका थिए। त्यसैगरी बेस्ट क्वालिटी अर्थात् बिक्यु मोबाइलका विभिन्न मोडलका फिचर फोन तथा स्मार्टफोन सार्वजनिक गरिए। केही समयअघि मात्र नेपाललगायत विश्वमै एकैपटक लन्च गरिएको सामसुङको ग्यालेक्सी एस ५ पनि प्रदर्शनीमा थियो। नोकियाले केही समयअघि मात्र बजारमा ल्याएको 'नोकिया एक्स' पनि प्रदर्शनीमा उपलब्ध थियो।

त्यसैगरी जेएसएस ग्रुपले उपलब्ध गराएको किभी ब्रान्डका थ्रीडी स्मार्टफोन पनि प्रदर्शनीको आकर्षण रह्यो। नेपाल ग्यालेक्सी टेक्नोलोजिजले नेपालमा पहिलो पटक रगगियरका स्मार्टफोन र फिचर फोन प्रदर्शनीमार्फत उपलब्ध गराएको छ। माइक्रोम्याक्सको क्यानभास नाइट ए ३५० पनि प्रदर्शनीको आकर्षण रह्यो।

डिकेड इन्टरनेसनलले चिनियाँ कम्पनी बाओफेङका वाकिटाकीसमेत प्रदर्शनीमा राखेको थियो। त्यसैगरी एलजी, इन्टेक्स, लेनोभो आदि ब्रान्डका मोबाइल पनि प्रदर्शनीका आकर्षण रहे।

विद्यालय सफ्टवेयर

प्रदर्शनीमार्फत आइसिटी एसोसिएसन नेपालले शिक्षा मन्त्रालयसँगको सहकार्यमा सामुदायिक विद्यालयलाई विद्यालय नामक सफ्टवेयर उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गर्‍यो। पहिलो चरणमा ५ सय बिद्यालयलाई १५  हजार रुपैयाँ बराबरको सफ्टवेयर नि:शुल्क रूपमा प्रदान गरिनेछ। यो अन्तर्राष्ट्रिय स्तरको स्कुल म्यानेजमेन्ट सफ्टवेयर हो, जसले सामुदायिक विद्यालय व्यवस्थापन तथा सञ्चालन गर्न सहयोग पुर्‍याउँछ। उक्त सफ्टवेयर अंग्रेजी तथा नेपाली दुवै भाषामा चलाउन सकिने गरी तयार गरिएको छ।

इन्फोकसको ह्वाइट बोर्ड

अमेरिकी ब्रान्ड इन्फोकसको नेपालका लागि आधिकारिक वितरक ह्युमन क्लिक इन्टरप्राइजेजले प्रदर्शनीमार्फत ७० इन्चको स्क्रिन भएको इन्टर्‍याक्टिभ ह्वाइट बोर्ड सार्वजनिक गर्‍यो। यसलाई विद्यालयहरूले शिक्षण सिकाइका लागि प्रयोग गर्न सक्छन्। नयाँ प्रविधिको उक्त टच प्यानलमा विद्यार्थीहरू आफैं पनि टच चलाउँदै सिक्न सक्छन्। ठूलो कक्षाकोठामा सीधै ल्यापटप, ट्याब्लेट वा स्मार्टफोन कनेक्ट गरेर पनि एप्लिकेसन चलाउन वा प्रिजेन्टेसन गर्न सकिन्छ। थि्रडी स्तरको गुणस्तर दिने भएकाले यसलाई अस्पताल वा ठूला संस्थाका मिटिङ हलमा पनि प्रयोग गर्न सकिन्छ।

डिलिंकको मोबाइल कम्प्यानियन

प्रदर्शनीमार्फत भारतीय बिल्डिङ नेटवर्क कम्पनी डिलिंकले डिआइआर-५०५ नामक मोबाइल कम्प्यानियन उपलब्ध गराएको छ।  उक्त डिभाइसबाट ग्राहकले वाइफाई कनेक्टिभिटी, कन्भेनिएन्ट फाइल सिंक्रोनाइजेसन, यूएसबी सेयरिङ तथा मोबाइल चार्ज गर्ने सुविधा प्राप्त गर्न सक्छन्। अल इन वान मोबाइल कम्प्यानियनले राउटर, एक्सेस प्वाइन्ट, वाइफाई हट स्पट तथा रिपिटर गरी चारवटा वायरलेस अपरेटिङ मोडलको सुविधा दिनेछ।

लोडसेडिङमै टेलिभिजन

लोडसेडिङकै अवस्थामा पनि ब्याट्रीबाट चलाउन मिल्ने गरी टेक्नोस ब्रान्डका टिभी प्रदर्शनीमा उपलब्ध थिए। १३६६.७६८ को यो फुल एचडी टेलिभिजनलाई ब्याट्रीकै सहायताले ६ घण्टासम्म चलाउन सकिन्छ।

स्मार्ट प्रिन्टर

सागर इन्फोसिसले प्रदर्शनीमा विभिन्न प्रकारका प्रिन्टर उपलब्ध गराएको थियो। तीमध्ये एमएफसी-जे ३५२० मोडलको प्रिन्टर निकै आकर्षक थियो। यसबाट स्क्यान, फोटोकपी र प्रिन्ट सबै कार्य गर्न सकिन्छ। वाइफाई र युएसबी पोर्टको सुविधाले युक्त यो प्रिन्टरमा स्मार्टफोनबाटै कमान्ड दिएर विभिन्न कार्य गर्न सकिन्छ।

टेरा मोटर्सको इलेक्टि्रक स्कुटर

जापानी कम्पनी टेरा मोटर्सले प्रदर्शनीमार्फत आफ्नो इलेक्टि्रक स्कुटर सिड ६० अल्फा नेपालमा सार्वजनिक गरेको छ। टेराको उक्त स्कुटर एकपटक फूल चार्ज गरेपछि ४५ किलोमिटरसम्म चल्न सक्छ र यसलाई सामान्य मोबाइल फोन चार्ज गर्ने सकेटमा पनि चार्ज गर्न सकिन्छ। यो स्कुटरको चार्जिङ मूल्य १५ रुपैयाँभन्दा कम छ भने उच्चतम गति ५५ किलोमिटर प्रतिघण्टा छ।

easypaynepal.com

नेपाली बजारमा नयाँ कम्पनीका रूपमा इजी पेले सेवा प्रारम्भ गरेको छ। इजी पे रूसको सिटी टेलिकम्युनिकेसन तथा विङस सोलुसनको एसोसिएटेड कम्पनी हो। २५ भन्दा बढी देशमा सफलताका साथ सेवा विस्तार गरिसकेको इजी पेले नेपालमा पनि इलेक्ट्रोनिक पेमेन्ट सेवा प्रारम्भ गरेको हो। यसको सेवा लिन यो साइटमा गएर लग इन गर्नुपर्छ। त्यसपछि निश्चित पासवर्ड प्राप्त हुन्छ र एउटा खाता खुल्छ। उक्त  खातामा आवश्यक मात्रामा पैसा जम्मा गर्न सकिन्छ। त्यसपछि आफूले विभिन्न स्थानमा तिर्नुपर्ने पैसा यही कम्पनीमार्फत तिर्न सकिन्छ। इजी पेले नेपाल टेलिकम, डिसहोम, ब्रोडलिंक तथा प्रभु मनी ट्रान्सफरसँग साझेदारी गरिरहेको छ। पेमेन्टसित सम्बन्धित सबै काम, युटिलिटी बिल, टिकटजस्ता सबै अत्यावश्यक काम यो वेबसाइटमार्फत अनलाइन र मोबाइलबाटै सम्पन्न हुन्छ।

टि्वटरका आधाजसो प्रयोगकर्ता निष्क्रिय

सामाजिक सञ्जाल टि्वटरका आधाजसो प्रयोगकर्ता निष्क्रिय छन्। टि्वटरका प्रयोगकर्ताको अनुगमन गर्ने संस्था टुपचार्ट्सले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार टि्वटरका झन्डै ४४ प्रतिशत प्रयोगकर्ता निष्क्रिय छन्। तीमध्ये कतिपयले टि्वटर साइनअप गरेसँगै त्यसको प्रयोग त्यागेका छन् भने कतिपयले टि्वटर लगइन गरे पनि अरूका टि्वटमात्र हेर्छन् आफूले टि्वट गर्दैनन्। टि्वटरले गत फेब्रुअरी महिनामा २४ करोड ४० लाख एक्टिभ युजर रहेको जनाएको थियो, जसमा टि्वटर खोली केही पनि पोस्ट नगर्नेहरूलाई समेत गनिएको थियो। टुपचार्टका अनुसार ४७ प्रतिशत प्रयोगकर्ताले आफ्नो प्रोफाइल तस्बिर राखेका छन् भने आफ्नो पूरा विवरण राख्ने प्रयोगकर्ताको संख्या २४ प्रतिशतमात्र छ। टि्वटरका ३० प्रतिशत प्रयोगकर्ताले अहिलेसम्म १ देखि १० वटासम्म टि्वट गरेका छन् भने १३ प्रतिशत प्रयोगकर्ताले कम्तीमा १ सयवटा टि्वट गरेका छन् । टि्वटरको आठ वर्षको इतिहासमा झन्डै डेढ अर्ब प्रयोगकर्ता रजिस्टर भए पनि करिब ५० करोड प्रयोगकर्ताको खाता विभिन्न कारणले हटाइएको छ।

अब मेमोरी अनलिमिटेड

यदि मोबाइल वा कम्प्युटरको  मेमोरी अनलिमिटेड भयो भने कस्तो होला ? पक्कै पनि सबैलाई राम्रो लाग्छ। कम्प्युटरमा थप हार्डडिस्क तथा मोबाइलमा थप मेमोरी कार्ड राख्ने आवश्यकता नै परेन भने त ठूलै उपहार दिए बराबर नै भयो। यो कुरा छिट्टै व्यवहारमा आउन लागेको छ। भारतको आगरास्थित  दयालबाग शिक्षण संस्थान (डीईआई) का वैज्ञानिकहरू यो कामलाई वास्तविक बनाउन अहिले निकै जोडतोडका साथ काम गरिरहेका छन्। वैज्ञानिकहरूले अहिले क्वान्टम डिभाइस तयार गरिरहेका छन्। उक्त डिभाइसले मोबाइलका साथै कम्प्यूटर तथा अन्य उपकरणहरूको क्षमता बढ्नेछ। वैज्ञानिकहरूका अनुसार अब यो डिभाइस छिट्टै बजारमा आउने तयारीमा छ।

इन्टरनेटमा यी खेल

अहिले प्रविधिको विकास र प्रयोग मानिसहरूका लागि श्वास-प्रश्वासजत्तिकै महत्वपूर्ण भएको छ। दिन-प्रतिदिन इन्टरनेट प्रयोगकर्ताको चाहना तथा आवश्यकता पनि बदलिइरहेको छ। उनीहरूमा तीव्र गतिको तथा सजिलो ब्राउजरको चाहना बढिरहेको छ, जसबाट छिटो र सजिलो तरिकाले इन्टरनेटको संसारमा रमाउन पाइयोस्। यस क्रममा फन्नी तथा गेमिङ एप्लिकेसन तयार गरी इन्टरनेट प्रयोगकर्तालाई आकर्षक रूपमा उपलब्ध गराउने इन्टरनेट ब्राउजरहरू पहिलो रोजाइमा पर्न थालेका छन्। पछिल्लो समयमा गुगल क्रोमको बढ्दो लोकप्रियताको कारण पनि यही हो। गुगल क्रोमले विभिन्न खालका रोचक तथा ज्ञानवर्द्धक इन्टरनेट गेमहरू नि:शुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। गुगल क्रोमका केही रोचक गेम्स जसबाट आफ्नो दिक्कलाग्दो समयलाई रमाइलो बनाउन सकिन्छ :

तमाइन स्विपर

गुगल क्रोममा उपलब्ध यो नि:शुल्क गेम एप्स तीन विभिन्न साइजको ग्राफिकल गेम हो, जसमा स्कोर बोर्डर टाइमर स्क्रिनमा हेरेर खेल्न सकिन्छ। त्यसका लागि  <https://www.chrome.google.com.webstore.detail.inesweeper> मा जानुपर्छ।

चेस

गुगल क्रोम ब्राउजरमार्फत निर्देशनबमोजिम चेस खेल्न <https://www.chrome.google.com.webstore.detail.sparkchess>मा जानुपर्छ। <https://www.freeworldgroup.com.chromestore.htm> मा क्लिकगरेर आफूलाई मन पर्ने खेल छानेर मज्जा लिन सकिन्छ।

प्रकाशित :वैशाख १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्