एसएलसी र प्लस २ पछि अगाडिको तयारी

एसएलसी र प्लस २ पछि अगाडिको तयारी

वैशाख १९, २०७१

'पहिले मैले समयलाई बर्बाद गरें र अब समयले मलाई बर्बाद गरिरहेको छ।' यी शब्द हुन् हिन्दीका सुप्रसिद्ध लेखक-उपन्यासकार प्रेमचन्दको। निश्चित रूपमा यो पंक्ति ती छात्रछात्राहरूमाथि पनि लागू हुन्छ जसले समयको सदुपयोग गर्दैनन् पछि त्यसको मूल्य बुझ्छन् त्यति बेलासम्म पश्चाताप गर्नुबाहेक उनीहरूसँग अर्को कुनै बाटो हुँदैन। वैश्वीकरणको यो समयमा यदि कोही एक सेकेन्डका लागि पनि चुक्यो भने उसको हातबाट एउटा महत्वपूर्ण अवसर गुम्न सक्छ। त्यसैले एसएलसी र +२ का विद्यार्थीहरू खासरूपमा चनाखो हुनुपर्छ। समय र अवसरलाई खेर नफाली आफ्नो पढाइ र करियरका अवसरहरूमा विशेष ध्यान पुर्‍याउनुपर्छ।

एसएलसी परीक्षा दिइसकेपछि विद्यार्थीहरू सोच्न थाल्छन् कि अब ११ औं कक्षाको प्रवेश परीक्षाका लागि धेरै समय छ। त्यसैले उनीहरू मोजमस्तीमा लाग्छन्। उनीहरू के बिर्सन्छन् भने यो समय न केवल ११ औं कक्षाको प्रवेश परीक्षाका लागि बल्कि भविष्यको आधारस्तम्भ तयार गर्न पनि उत्तिकै महत्त्वपूर्ण छ।

करियरको ढोका + २ पछि मात्र खुल्छ, तर पनि यदि कुनै विद्यार्थी एसएलसीपछि नै त्यसको तयारीमा जुट्छ भने उसका लागि सफलता त्यति गारो कुरा हुँदैन। एउटा कुरा सधैं याद राख्नुपर्छ-१२ औं कक्षापछि विद्यार्थीहरू चाहे जुनसुकै विषय लिएर पढून् तर प्राय:जसो प्रवेश परीक्षामा सोधिने अधिकतर प्रश्न ११ औं तथा १२ औं कक्षाको पाठ्यक्रममै आधारित हुन्छ। त्यसैले ११ औं कक्षादेखि नै अगाडिको रणनीति तय गर्नुपर्छ।

एसएलसी परीक्षा दिइसकेका विद्यार्थीहरूले सर्वप्रथम कुनै करियर काउन्सलरको सल्लाहमा आफ्ना लागि उपयुक्त करियर छनौट गर्नुपर्छ। आफ्नो रुचिको विषयसँग सम्बन्धित संस्थान एवं संसाधनका बारेमा जानकारी जुटाउने प्रयास गर्नुपर्छ। यदि कोही मेडिकल वा इन्जिनियरिङको कोचिङ लिन चाहन्छ भने उसले सम्बन्धित संस्थानमा उपलब्ध सुविधाहरूका बारेमा जानकारी लिनुुपर्छ। उक्त कामका लागि संस्थानमा यसअघि कोचिङ क्लास लिइसकेका विद्यार्थी सहयोगी सावित हुन सक्छन्। यस क्रममा सामूहिक छलफल पनि उपयोगी सावित हुन सक्छ। सामूहिक छलफलमा विद्यार्थीहरूले जानकारी आदानप्रदान गर्ने अवसर प्राप्त गर्छन्। आफ्नो व्यक्तित्व एवं ज्ञानलाई विशेष बनाउन सेमिनार आदिमा भाग लिनु लाभदायक सिद्ध हुन सक्छ। नियमित पुस्तकालय गएर आफ्नो विषयसँग सम्बन्धित एकभन्दा बढी पुस्तक अध्ययन गरेर विद्यार्थीले आफ्नो ज्ञानको दायरा फराकिलो पार्न सक्छन् जसले गर्दा परीक्षामा राम्रो अंक प्राप्त हुन्छ।

१२ औं कक्षापछि विद्यार्थीहरू जब स्नातक वा आफूले मन पराएको कोर्समा प्रवेश लिन्छन् तब उनीहरूले अनेकौं चुनौतीको सामना गर्नुपर्छ। +२ पछि विद्यार्थीहरूको स्वतन्त्र र मोजमस्तीपूर्ण जीवन आरम्भ हुनुका साथै यो समय करियरका लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। यो समयमा विद्यार्थीहरूद्वारा गरिएको सकारात्मक प्रयासले उनीहरूलाई जीवनभर सफलताको बाटोतर्फ डोर्‍याइरहन्छ।

स्नातक तह अधिकांश प्रतियोगी परीक्षाका लागि आवश्यक सर्त मात्र नभएर यसमा राम्रो प्रदर्शनले नै सफल भविष्यको तानाबाना बुन्न सकिन्छ। यस्तोमा सुरुदेखि नै विषय, पाठ्यक्रम एवं योजनामाथि ध्यान दिइयो भने परीक्षारूपी भूतको डरले कहिल्यै सताउँदैन।

वर्तमान समयमा प्रत्येक क्षण प्रत्येक क्षेत्रमा तीव्र गतिमा परिवर्तन भैरहेको छ। यस्तोमा समय छँदै अवसर पहिचान गरेर भविष्यको योजना बनाउनुपर्छ। १२ औं कक्षापछि करियरका अनेकौं ढोका खुल्न थाल्छन्। त्यसैले यसप्रति सचेत रहनु आवश्यक छ। इन्जिनियरिङ, मेडिकल, चाटर्ड एकाउन्टेन्सीका अतिरिक्त पनि शारीरिक शिक्षा, होटल म्यानेजमेन्ट, वन व्यवस्थापन, पुस्तकालय विज्ञान, आईटी सेक्टर, फेसन डिजाइनिङ, म्यानेजमेन्ट, डाटा प्रिपरेसन एन्ड कम्प्युटर सफ्टवेयर, डेस्कटप पब्लिसिङ आदिसँग सम्बन्धित पाठ्यक्रममा प्रवेश लिएर आफ्नो भविष्यलाई एउटा नयाँ दिशा प्रदान गर्न सकिन्छ। अहिलेको वैश्वीकरणको युगमा दोभासेको माग पनि ह्वात्तै बढेको छ। हाम्रो देशमा पनि विभिन्न विश्वविद्यालयका कलेज एवं विदेशी कूटनीतिक नियोगहरूमा विदेशी भाषाको अध्यापन गराइन्छ।

करियर विकल्पको छनौट जस्तै आफ्नो चाहना पूरा गराउने संस्थानको छनौटमा पनि सावधानी अपनाउनु आवश्यक छ। त्यसका लागि इन्टरनेटको माध्यमले करियर काउन्सीलरहरूसँग परामर्श लिन सकिन्छ जुनले करियरका साथै संस्थानको छनौटमा पनि सहयोगी सावित हुनसक्छ। त्यसबाहेक इन्टरनेटबाट पनि विदेशी विश्वविद्यालयहरूका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।

प्रकाशित :वैशाख १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्