Teej banner
'नोभेम्बर रेन' र 'कबड्डी'

'नोभेम्बर रेन' र 'कबड्डी'

वैशाख १२, २०७१

निर्देशक ः दिनेश राउत कलाकार ः आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम डोल्मा गुरुङ, केशव भट्टराई, शिशिर राणा, अमितेश शाह तथा हिउँवाला गौतम। संगीतकार ः ताराप्रकाश लिम्बू

दर्शकहरूमाझ प्रतीक्षाको विषय बनेको सुवास इन्टरटेन्मेन्टको नयाँ चलचित्र 'नोभेम्बर रेन' को देशव्यापी प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ। मल्टिप्लेक्सदेखि सिंगल थिएटरसम्म चल्ने यो चलचित्रका निर्माता सुवास गिरी हुन्। केही महिनाअघि मलेसियामा सम्पन्न चलचित्र एवार्डलाई भव्य बनाउन योगदान दिएका गिरीले अभिनेता आर्यन सिग्देलसँग मिलेर यो चलचित्र निर्माण गरेका हुन्। त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। निर्देशक दिनेश राउतको यो दोस्रो चलचित्र हो। उनले यसअघि आर्यन सिग्देल र केकी अधिकारीलाई लिएर चलचित्र 'आई एम सरी' निर्देशन गरेका थिए। 'नोभेम्बर रेन' मा पानी नपर्ने महिना नोभेम्बरमा अचानक पानी परेपछि फक्रिएको एउटा प्रेमकथा चित्रण गरिएको छ। यसअघि 'मेरो एउटा साथी छ' मा अनस्क्रिन रोमान्स गरिसकेका आर्यन र नम्रता दोहोरिएर जोडी बनेको यो पहिलो चलचित्र हो। गायक धीरज राईकी श्रीमती छुल्ठिम डोल्मा गुरुङ यही चलचित्रबाट नायिकाका रूपमा डेब्यु गर्दैछिन्। अधिकांश छायांकन धरानमा गरिएको यो चलचित्रका गीत-संगीत लोकप्रिय भैसकेका छन्। खासगरी गायक युवराज चौलागाईं र रजिना रिमालको 'पल भरमै खुसी' युवापुस्तामाझ लोकप्रिय छ। चलचित्रका अन्य गीतमा सनूप पौडेल, मेलिना राई तथा प्रविशा अधिकारीको पाश्र्व गायन छ। सञ्चारकर्मी सामीप्य तिमिल्सिना एवं छेतन गुरुङद्वारा लिखित यो चलचित्रमा हिमाल केसीको   द्वन्द्व निर्देशन छ।

निर्देशक ः रामबाबु गुरुङ

कलाकार ः दयाहाङ राई, रिष्मा गुरुङ, निश्चल बस्नेत, राजन खतिवडा, विजय बराल, शिरीष बाङ्देल, बुद्धि तामाङ, अरुणा कार्की तथा कमलमणि नेपाल।

आज शुक्रबार नै सार्वजनिक हुने चलचित्र 'कबड्डी' मार्फत अभिनेता दयाहाङ राई नयाँ गेटअपमा प्रस्तुत हुँदैछन्। मण्डला थिएटरका रंगकर्मीहरूले अभिनय गरेको यो चलचित्रको निर्माण 'लुट' का निर्देशक निश्चल बस्नेतले गरेका हुन्। चलचित्रमा निश्चल नायकको भूमिकामा समेत प्रस्तुत भएका छन्। काठमाडौंबाहेक चलचित्रका अधिकांश दृश्य मुस्ताङका आकर्षक लोकसनमा छायांकन गरिएका छन्। निर्देशक गुरुङको यो तेस्रो चलचित्र हो। यसअघि उनले 'अनागरिक' तथा 'ब्लक लिभ' निर्देशन गरेका थिए। वास्तवमा कबड्डी एउटा खेलको नाम हो। नेपालका ग्रामीण क्षेत्रमा अझै पनि यो खेलको क्रेज उस्तै छ। चलचित्र 'कबड्डी' भने खेल प्रधान चलचित्र होइन। प्रेमकथामा आधारित यो चलचित्रमा कबड्डीलाई प्रतीकका रूपमा मात्र चित्रण गरिएको छ। चलचित्रको प्रोमोले दर्शकमाझ कौतूहलता पैदा गर्छ। खासगरी अभिनेता दयाहाङ राईले बोलेको 'राम्रो जुत्ता पो जुत्ता, नत्र खाली खुट्टा नै ठिक छ...' प्रभावकारी सुनिएको छ। चलचित्रका कतिपय दृश्यमा दयाहाङ हास्यकलाकारझैं देखिएका छन्। उनको हाउभाउ तथा गेटअप पनि कुनै हास्य कलाकारको झैं देखाइएको छ। चलचित्रमा हास्यव्यंग्यका प्रसंगसमेत समावेश गरिएको बताइन्छ।

प्रकाशित :वैशाख १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्