विषय छान्दा दबाबमा होइन रहरमा

विषय छान्दा दबाबमा होइन रहरमा

वैशाख १२, २०७१

एसएलसीको लब्धांकपत्र पाउनेबित्तिकै अभिभावक र सन्तानबीच घम्साघम्सी हुन्छ। बाबु भन्छन्— तैँले अब डाक्टरी पढ्नुपर्छ। आमा भन्छिन्— होइन, इन्जिनियरिङ पढ। छोरा पनि जिद्दी गर्दै भन्छ— म संगीत लिएर पढ्छु। यो द्वन्द्व कहिले बाबुआमाको हार हुन्छ त कहिले  छोराछोरीको। नेपाली समाजमा चलिआएको प्रथा हो यो। आजको स्वतन्त्र समयमा कसैको भविष्यलाई कुनै कम्पनीको सेयरपुँजीजस्तो विभाजन गरी बिक्री गर्ने अधिकार कसैलाई छैन। गलत बाटोमा लागेको छ भने औंल्याउनु अभिभावकको कर्तव्य हो। कोही गणितको सूत्र होइन, गीतारको 'माइनर र मेजर'को फर्मुला घोक्छन् भने त्यो उनीहरूको नैसर्गिक इच्छाको कुरा हो। उसलाई पारिवारिक स्नेह र प्रेम प्रदान गर्नुपर्छ। कुनै विद्यार्थीले संंगीत, होटल म्यानेजमेन्ट, कम्प्युटर, नेपाली र शिक्षा रोजेर अपराध गरेका छैनन। बरु आफ्नो खुबी र प्रतिभालाई चिनेका छन्। उनीहरूको यो प्रतिभा र खुबीलाई अभिभावकहरूले हौसला प्रदान गर्नुपर्छ। यस्ता कुरामा कति पनि ख्याल नगरी दबाब मात्र दिने अभिभावक वर्ग पनि नभएका होइनन्। पारिवारिक दबाबकै कारण कैयन् छोराछोरीले बाबुआमाका लागि त्याग गरेका  छन्। एसएलसीपछि पनि छोराछोरी केही वर्ष बाबुआमामै निर्भर हुने हुँदा उनीहरूमा बाबुआमाको विरोधमा जाने हिम्मत र साहस हुँदैन।  डाक्टरी पढन दबाब पाएको छोराले बाबुलाई भित्तामा झुन्ड्याएको गीतार झिकेर भन्न सक्दैन- मैले यो गीतारमा भविष्य खोजिसकेको छु। किनभने बाबुको दबाबसामु गितारबाट सुमधुर धुन सिर्जना  गर्नु पनि अपराध हुन्छ यसरी एउटा सिर्जनाका लागि अर्को सिर्जना लुकाउँदा कैयन् विद्यार्थीको भविष्य चकनाचुर भएको छ। विद्यार्थीले संकाय र विषय रोज्दा आफ्नो अभिरुचिको विषयलाई प्राथमिकता दिनुपर्छ। आजको समय स्वतन्त्रताको युग हो। आजको समयमा कोही पनि हस्तक्षेप चाहँदैन, तर कैयन्का अभिभावकले आफ्नो सपना पूरा गर्न छोराछोरीहरूमाथि दबाब दिन्छन्। अभिभावकहरूले आफ्ना छोराछोरीलाई आफ्नो रहरको विषय पढाउँदा उनीहरूमा आउन सक्ने विरक्तिको पहिचान गर्न सक्दैनन्। मेरो छोरोले दश दुईको परीक्षामा एसएलसीको जस्तो किन नतीजा ल्याउन सकेन भनी चिन्तित हुने बाबुआमाले छोराछोरीले लिएको विषयमा कही बाध्यता पो थोपरिएको छ कि भनेर कहिल्यै ध्यान पुर्‍याउँदैनन्। इच्छाबिनाको विषय पढ्नुपर्दा विषय नै बोझ भएर, परिणाममा ह्रास आएको पनि हुन सक्छ। त्यसकारण अभिभावकले आफ्ना सन्तानको चाहना तथा अभिरुचि बुझेर उनीहरूले रोजेको विषय पढ्न दिनुपर्छ। यसरी आफ्नो रोजाइको विषय पढ्न पाए उनीहरूमा मैले स्वविवेकमा रोजेको विषय ठीक छ भन्ने मनौवेज्ञानिक प्रेरणा प्रवाह हुन्छ उनीहरूको अध्ययनले सफलताको सिंढी उक्लँदै जान्छ। अभिभावकहरूले के बुझ्नुपर्छ भने एसएलसी उत्तीर्ण गरेको विद्यार्थीमा स्वविवेक हुन्छ र उनीहरूको उमेर त्यस्तो उमेर हो, जुन उमेरमा कसैले पनि हस्तक्षेप चाहँदैन।

हाम्रो पुरानो पुस्ताको सामाजिक दृष्टिकोण पनि अलिक संकीर्ण छ। हाम्रो पुरानो पुस्ताले नयाँ पुस्तालाई 'डाक्टर भएस्, इजिनियर भएस्' भनेर आशीर्वाद प्रदान गर्ने परम्परा छ। यो शुभेच्छाको शैलीबाट अरू क्षेत्र उपेक्षित हुन पुगेका छन्  भने केही औलामा गन्न सकिने क्षेत्र मर्यादित बनाइएका छन्। यो पेसाप्रति पुरानो पुस्ताले हेर्ने दृष्टिभ्रम मात्र हो। यो केही पेसाप्रति सम्मान र बाँकी पेसाप्रति अपमान पनि हो।  आजको समयमा धेरै नयाँ विषय र प्रविधि भित्रिँदैछन्। नयाँ-नयाँ प्रविधिमा छोराछोरीको आकर्षण हुन सक्छ। कुनै समय नेपालमा हुँदै नभएको कम्प्युटर आज सबैको अध्ययनको विषय भएको छ, तर पनि अभिभावकहरूको सन्तानप्रति हस्तक्षेप गर्ने परम्परा टुंगिएको छैन। यही समाजमा बाबुआमाको दबाबमा आफ्नो अभिरुचिको विषयलाई तिलाञ्जली दिँदा आज कैयन् विद्यार्थी उच्च शिक्षाको भुमरीमा न तैरिन सक्ने न त डुब्न सक्ने अवस्थामा पुगेका छन्। अभिभावकहरू आफ्ना सन्तानलाई डाक्टर र इन्जिनियर पढाएर सामाजिक प्रतिष्ठा उच्च हुने भावनाले ऋण लिएर भए पनि पढाउँछन्। यसरी छोराछोरीलाई बाध्यात्मक शैलीमा आफ्नो सपनाको बाटो देखाउँदा सन्तानको अभिरुचि केमा छ ? कसैले सोच्दैनन्। वास्तवमा कोही पत्रकारिता पढेर देशको सेवा गर्न चाहिरहेका हुन्छन् भने कोही राजनीतिशास्त्र पढेर। राजनीतिशास्त्र पढेर केही हुँदैन भन्ने खालको भ्रम पनि उत्तिकै छ। फलस्वरूप राजनीतिशास्त्र आज नेपालमा परित्यक्त छ, उपेक्षित छ। त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा कम विद्यार्थी राजनीतिशास्त्रमै छन्। विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीबीच संख्यात्मक सन्तुलन आजको आवश्यकता हो। व्यवस्थापन, मानविकी र प्रविधिको तराजुमा अलिकता मात्र असन्तुलन आयो भने त्यसले देशको सिङ्गो रोजगारीमा असर पार्छ।

जब सन्तानको अभिरुचिप्रति अनभिज्ञ भएर उनीहरूमाथि आफ्नो इच्छा थोपरिन्छ, त्यसले उनीहरूको कलिलो मनमा ठूलो चोट वा धक्का पुग्छ। आफ्नो सपना कुल्चिएकोमा उनीहरूको हृदयमा आफ्नै अभिभावकप्रति एक प्रकारको आक्रोश र घृणा हुर्कन सक्छ। यस्तो आक्रोशले उनीहरू आफ्नो उज्ज्वल भविष्यतर्फ पाइला टेक्न छाडेर विकृतिको बाटामा अग्रसर हुन सक्छन्। गत वर्ष एक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणमा १६ प्रतिशत बालबालिका मद्यपान र धूम्रपानमा फस्नुको कारण पारिवारिक दबाब नै जिम्मेवार पाइयो। यसर्थ नयाँ पुस्तामाथि दासता थोपर्नु कुनै पनि कोणबाट उचित होइन। छोराछोरीको अभिरुचि बुझेर उनीहरूको प्रतिभा जेमा छ त्यसमै अघि बढ्न दिनुपर्छ।

बर्नाड शाले एटम बम बनाउन सक्दैनन् भने आइन्सटाइनले कविता लेख्न सक्दैनन्। देवकोटाले मीठो गीत रच्न सक्लान्, तर मीठो धुन गुनगुनाउन सक्दैनन्। प्रत्येक व्यक्तिभित्र प्रतिभा हुन्छ। यदि त्यो प्रतिभा पहिचान भए मात्र सृजना हुन्छ। जसको प्रतिभा जेमा छ, उसलाई त्यही विषय छान्न दिनुपर्छ। गीत गुनगुनाउने छोरालाई नेपाली पढ्न दबाब दिनु, व्यापारमा अभिरुचि राख्ने छोरीलाई बिज्ञानमा दबाब दिनु उनीहरूको प्रतिभा खोस्नु मात्र होइन, उनीहरूको नैसर्गिक अधिकारमाथिको प्रहार पनि हो।  विज्ञानमा इच्छा राख्ने छोरालाई दबाबमा व्यवस्थापन पढाउनु, एउटा आइन्सटाइनको हत्या हो भने नेपालीमा इच्छा राख्ने छोरीलाई दवाबमा संगीत पढाउनु एउटी पारिजातको हत्या हो। यसैले आजको समयमा  विद्यार्थीलाई उसको इच्छाअनुसारको विषय छनौट गर्न ।

प्रकाशित :वैशाख १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्