
आर्यनको वैवाहिक समारोहमा जे देखियो
वैशाख १२, २०७१
गत शनिबार थानकोटस्थित निवासबाट अभिनेता आर्यन सिग्देल दुलाहा बनेर अन्मिँदा मुख्य सडकमा ट्राफिक जाम भयो। वैवाहिक समारोहको दृश्य कैद गर्ने क्यामेराम्यानहरूका क्यामेरा दुलाहाको अघि-पछि गर्न थालेपछि थानकोटको मुख्य राजमार्गका अधिकांश यात्रुले चलचित्रको छायांकन भैरहेको अनुमान गरे। यसअघिका केही चलचित्रमा दुलाहाको भूमिकामा प्रस्तुत हुँदा लगाएको पहिरन अर्थात् दौरा-सुरुवाल र ढाकाटोपीमा सजिएकाले पनि कतिपयले चलचित्रको छायांकन नै भैरहेको माने। वास्तवमा उनी त्यतिबेला कुनै चलचित्रको छायांकनमा थिएनन्, नयाँ बानेश्वरस्थित बानेश्वर बैंकटमा सजिएर बसेकी आफ्नी वास्तविक दुलही सपना भण्डारीलाई लिन जन्तिसहित अघि बढिरहेका थिए।
बिहान करिब ११ बजे नजिकका साथीभाइ, परिवारका सदस्य तथा केही चलचित्रकर्मीसहित राजधानीको बानेश्वर बैंक्वेटमा उपस्थित हुँदा दुलही पक्ष्ाकाले दुलाहा आर्यनको भव्य स्वागत गरे। दिन छिप्पिँदै जाँदा आर्यनले जीवनभर साथ रहने प्रण गर्दै सपनाको सिउँदो रंगाए। वैवाहिक समारोहमा जोरपाटी घर भएकी सपनाका परिवारका सदस्यको पनि बाक्लो उपस्थिति देखिन्थ्यो। लामो समयदेखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा रूपान्तर गर्ने प्रक्रिया साँझ ५ बजेसम्म जारी रह्यो। धार्मिक विधिका क्रममा वर र वधू निकै हषिर्त देखिन्थे। साँझ ७ बजे बेहुली लिएर थानकोट पुग्दाको वातावरण बेग्लै थियो। मुख्य राजमार्गदेखि नै नाचगानसहित अघि बढेका जन्तीले ट्राफिक प्रहरीलाई समेत केही बेर व्यस्त बनाए।
विवाहको भोलिपल्ट अर्थात् गत आइतबार वानेश्वर बैंक्वेटमै आर्यनले प्रीतिभोज आयोजित गरेका थिए। भोजमा चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति देखिन्थ्यो। दिउँसो ३ बजे नै प्रारम्भ भएको मदिरारहित भोज राति १० बजेसम्म जारी रह्यो। अघिल्लो दिन ठेट नेपाली पहिरनमा सजिएका आर्यन पार्टीमा भने कालो सुटमा देखिए। वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गर्न आउने आगन्तुकको स्वागतमा दुलाहा-दुलही लामै समयसम्म उभिएका थिए। त्यसक्रममा सपनाको तुलनामा आर्यन रोमान्टिक देखिए। आगन्तुकहरूसँग सामूहिक तस्बिर खिच्ने क्रममा उनी दुलही सपनालाई जिस्क्याइरहेका देखिन्थे। क्यामेराम्यानको क्यामेरा तेर्सिएपछि आर्यनले आफ्नो रोमान्टिक छविलाई धेरै समयसम्म लुकाउन सकेनन्। दुलही सपनालाई सार्वजनिक स्थलमै चुम्बन गर्दै अँगालोमा बाँध्न भ्याए। आर्यनले चुम्बन गर्दा सपना लाजले रातो-पीरो भएकी थिइन्। भोजको उत्तरार्द्धमा आर्यन र सपनाले नृत्य गरेर आनन्द उठाए। उनीहरू दुवैले खुलेर नृत्य गरे। उनीहरूको नृत्यसँगै विवाह भोज पनि सम्पन्न भएको थियो।
प्रकाशित :वैशाख १२, २०७१















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्