ब्रिजकोर्सको क्रेज

ब्रिजकोर्सको क्रेज

- रामजी बलामी

वैशाख ५, २०७१-

नर्सिङ पेसामा रमाउने लक्ष्य लिएकी आकांक्षा ब्रिजकोर्स अध्ययनका लागि राजधानीको गल्ली चहार्दै छिन्। 'ब्रिजकोर्स नगरी राम्रो कलेजमा नाम निकाल्न सकिँदैन, त्यसैले पढ्न लागेको' ब्रिजकोर्स पढ्न लाग्नुको कारण उनले यसरी प्रस्ट्याइन। राम्रो पढाइ हुने इन्स्टिच्युटको खोजीमा रहेकी आकांक्षाले छिट्टै भर्ना हुने बताइन। 'कक्षा सुरु भैसकेछ, चाँडै भर्ना हुनुपर्छ' उनले भनिन्। ब्रिजकोर्स गरेपछि उनी आफूले खोजेअनुसारकै कलेजमा नाम निस्कने कुरामा ढुक्क छिन्।

१० वर्ष लामो नियमित अध्ययन एवं परिश्रमबाट विश्राम पाएका विद्यार्थीहरू राम्रो कलेजमा नाम निकाल्न ब्रिजकोर्स पढ्न तम्तयार देखिएका हुन्। विशेषतः साइन्स पढ्ने विद्यार्थीहरू ब्रिजकोर्सलाई अनिवार्य जस्तै मान्छन्।

के हो ब्रिजकोर्स ?

ब्रिजकोर्स एउटा अनौपचारिक शिक्षण पद्धति हो। सामान्यतः यसलाई परामर्श र अतिरिक्त शिक्षाका रूपमा पनि लिन सकिन्छ। विद्यालय शिक्षा पार गरी उच्च अध्ययनका लागि उचित वातावरण तय गर्न, प्रवेश परीक्षा उत्तीर्ण गर्न एवं विद्यार्थीहरूमा हुने विभिन्न मनोवैज्ञानिक त्रास हटाउनसमेत ब्रिजकोर्स उपयोगी मानिन्छ। ब्रिजकोर्स विद्यालय शिक्षाबाट उच्च शिक्षामा पुग्ने पुल हो। उच्च शिक्षा अध्ययनका लागि के कस्तो तयारी गर्ने र कस्तो विद्यार्थीले कस्तो विषयमा कहाँ पढ्ने जस्ता व्यावहारिक एवं आन्तरिक कुरामा उचित परामर्श दिने काम पनि ब्रिजकोर्सअन्तर्गत पर्छ।

विद्यालय तह पार गरेपछिको अध्ययन भविष्य र जीवनसँग गाँसिएको हुन्छ त्यस कारण सानो कमजोरी हुंदा पनि पछुताउनुपर्ने अवस्था आउन सक्छ त्यसैले उचित सल्लाह, सुझाव एवं परामर्शका लागि पनि ब्रिजकोर्सलाई उपयुक्त मानिन्छ। कुन कलेज पढ्ने, कुन विषय पढ्ने, कुन विषयमा के कस्ता अवसर प्राप्त हुन्छन् ? कुन विषयका लागि कुन कलेज राम्रो ? विद्यार्थीको इच्छा, चाहनाअनुसार विषय छनौट कसरी गर्ने जस्ता कुराहरू पनि ब्रिजकोर्सअन्तर्गत नै पर्छन्।

ब्रिजकोर्समा विद्यार्थीलाई संकायअनुसार विभिन्न गाइड पुस्तक एवं श्रव्यदृश्य माध्यमबाट समेत पढाइन्छ। जसरी पनि लक्ष्यअनुसारको कलेजमा नाम निकाल्ने अभिप्राय सञ्चालक एवं विद्यार्थीहरूको हुन्छ। ब्रिजकोर्स पढेपछि नाम निस्कने कुरामा धेरैजसो विद्यार्थी ढुक्क हुन्छन्। समग्रमा भन्नुपर्दा बिज्रकोर्स भनेको उच्च शिक्षा अध्ययनका लागि विभिन्न साधन र परामर्शद्वारा विद्यार्थीलाई शिक्षा, उत्प्रेरणा एवं हौसला प्रदान गर्ने विधि हो।

के भन्छन् सञ्चालकहरू ?

ब्रिजकोर्स बाध्यता नभए पनि राम्रो परिणामका लागि आवश्यक पर्ने यसका सञ्चालकहरू बताउँछन्। बढ्दो ब्रिजकोर्स क्रेजसँगै यस्तो कक्षा सञ्चालन गर्नेहरूको लर्को नै लागेको छ। केही सीमित कलेजलाई मध्यनजर गर्दै पढाइने यस्तो कोर्सले एक खालको पहिचान नै बनाइसकेको छ।

लिंकेज एजुकेसन फाउन्डेसनका निर्देशक शशिकुमार शर्मा ब्रिजकोर्स पढ्दा पढ्न चाहेको कलेजमा नाम निकाल्न सजिलो हुने बताउँछन्। 'नाम निकाल्ने कुरा विद्यार्थीमा पनि भर पर्छ तर ब्रिजकोर्सले सहयोग भने गर्छ,' उनले भने। खाली समयको सदुपयोग एवं थप अतिरिक्त ज्ञानका लागि पनि ब्रिजकोर्स सहयागी हुने उनको भनाइ छ। 'परीक्षा र परिणामबीचको समयलाई सदुपयोग गर्नु ब्रिजकोर्सको उद्देश्य हो, यसका साथै प्रवेश परीक्षामा विद्यार्थीलाई केही राहत मिल्छ' उनले भनें। विद्यार्थीहरूको राम्रो तयारी एवं प्रवेश परीक्षा सफल गराउन आफूहरू हरसम्भव प्रयासरत रहेको उनले बताए। विज्ञान विषयका लागि ब्रिजकोर्स राहत सावित हुने भए पनि ए-लेभल एवं व्यवस्थापन संकायका लागि खासै उपयोग नहुने उनले बताए। 'कतिपय कलेजमा भर्ना खुलिसकेको हुन्छ, खासै तयारी गर्ने समय पनि पुग्दैन त्यस कारण ए-लेभल र व्यवस्थापन संकायका लागि ब्रिजकोर्स आवश्यक छ जस्तो लाग्दैन' उनले भने।

ब्रिजकोर्स गराउने पपुलर एजुकेसन फाउन्डेसनका राजकुमार महतो ब्रिजकोर्सप्रति विद्यार्थी एवं अभिभावकहरूको प्रतिक्रिया सकारात्मक रहेको बताउँछन्। 'अहिले ब्रिजकोर्सप्रति अभिभावक र विद्यार्थी दुवैको प्रतिक्रिया राम्रो छ' उनले भने। इन्ट्रान्समा नाम निकाल्न ब्रिजकोर्सले निकै सघाउ पुर्‍याउने उनको दाबी छ। प्लस टुको सिलेबसअनुसार मिहेनतका साथ पढाइने हुँदा एकातिर बिदाको समय पनि सदुपयोग हुने अर्कोतिर उच्च शिक्षा अध्ययनको प्रवेश परीक्षामा पनि राम्रो हुने भएकाले ब्रिजकोर्स आवश्यक हुने उनको तर्क छ। 'विद्यार्थी सफल हुने-नहुने कुरा विद्यार्थीहरूमा भर पर्छ तर ब्रिजकोर्स पढ्नेमा विद्यार्थीले नाम निकाल्ने संभावना धेरै हुन्छ' उनले भने।

'ब्रिजकोर्स पढ्ने र नपढ्ने विद्यार्थीको प्रवेश परीक्षाको नतिजा निकै फरक हुन्छ' भाइटल एकेडेमीका म्यानेजिङ डाइरेक्टर स्वस्तिका न्यौपानेले भनिन्। उस्तै-उस्तै नामबाट धेरैवटा संस्था खुलेकाले विद्यार्थीहरू झुक्किने न्यौपाने बताउँछन्। 'अभिभावक र विद्यार्थीहरू ब्रिजकोर्स पढाउने सिलसिलामा निकै झुक्किन्छन्, प्रचारको भरमा गलत ठाउँमा भर्ना हुन पुग्छन्, थोरै रकमले पढायो भन्दैमा जानु हुदैन, पढाइको गुणस्तर र विगतको नतिजा पनि हेर्नुपर्छ' उनले भने।

दोधारमा विद्यार्थी

ब्रिजकोर्स अध्ययनका क्रममा विद्यार्थीहरू ठगिने र दोधारमा पर्ने गरेका छन््। सञ्चालकहरूबीच नकारात्मक प्रतिस्पर्धा तीव्र हुँदा त्यसको प्रत्यक्ष मार विद्यार्थीहरूमा पर्न गएको छ। ब्रिजकोर्स सञ्चालनका लागि कहीँकतै दर्ता गर्नु नपर्ने हुँदा त्यसको कुनै निश्चित नियम पनि छैन। आ-आफ्नै ढंगले कसरी विद्यार्थीलाई आकषिर्क गर्न सकिन्छ भन्ने ध्येयले विभिन्न आश्वासनसहित विज्ञापन गरिन्छ। प्रतिष्ठित कलेजहरूका शिक्षकहरूले अध्यापन गराउने, शतप्रतिशत ग्यारेन्टी जस्ता भ्रम छरेर प्रचार गरिएको पाइन्छ। जसले गर्दा विद्यार्थीहरूले कुन संस्था राम्रो भन्ने पत्तो पाउन सक्दैनन्। चर्चामा आउँदैमा संस्थाले राम्रो पढाउँछ भन्न सकिँदैन।

राजधानीमा मात्र करिब ५० वटाभन्दा बढी ब्रिजकोर्स सञ्चालन गर्ने संस्था छन्। पछिल्लो समय मुलुकका विभिन्न सहरमा समेत ब्रिजकोर्स सञ्चालकहरू बढ्दै गएका छन्। कतिपय संस्थाले त शाखा नै विस्तार गरेर यस्तो कोर्स सञ्चालन गर्दै आएका छन्। विद्यार्थी आकर्षणका लागि कतिपय संस्थाले त छात्रवृत्तिको समेत व्यवस्था मिलाएका छन््।

यसका साथै ब्रिजकोर्सको शुल्कमा समेत मनपरी देखिन्छ। विज्ञान, ब्यवस्थापन, स्टाफ नर्स आदि विभिन्न प्राविधिक विषयमा सञ्चालन हुने ब्रिजकोर्समा सञ्चालकपिच्छे फरक-फरक शुल्क लिने गरिएको छ्। व्यवस्थापनको ब्रिजकोर्स ६ हजारदेखि ७ हजार रुपैयाँसम्म लिइन्छ भने एडभान्स साइन्सका लागि ६ हजार ५ सयदेखि ८ हजार ५ सय रुपैयाँसम्म लिइन्छ। त्यस्तै ए लेभल अध्ययनका लागि ६ हजार ५ सयदेखि ७ हजार ५ सय रुपैयाँसम्म लिइन्छ। कतिपयले थोरै शुल्कमा विद्यार्थीलाई भुलाउने गरेको समेत पाइएको छ।

अभिभावकको नजरमा ब्रिजकोर्स

अचेलका अभिभावकहरू विद्यार्थीको पढाइप्रति निकै सचेत छन््। ब्रिजकोर्सप्रति अभिभावकहरूको प्रतिक्रिया सकारात्मक नै पाइन्छ। एसएलसी लगत्तैको बिदा सदुपयोग गर्न र यसलाई केही सिक्ने अवसरका रूपमा उपयोगमा ल्याउन अभिभावकहरू पनि तल्लीन देखिन्छन्।

कम्प्युटर, खेलकुद, चित्रकला आदिका तालिम लिने उपयुक्त समय पनि यही नै हो। पछिल्लो समय फस्टाएको ब्रिजकोर्सले थप अध्ययनको बाटो खोलिदिएको छ। बिदाको समयमा अन्त लाग्दा पढ्ने बानीसमेत ब्रेक लाग्ने हुँदा अध्ययनलाई नियमितता दिनुपर्छ।

अभिभावक कृष्ण भण्डारी ब्रिजकोर्सलाई फुर्सद कटाउने उपयुक्त मेलोका रूपमा लिन्छन्। खाली समयमा गलत संगतमा लाग्नबाट जोगाउन पनि आफ्ना छोरा-छोरीलाई ब्रिजकोर्समा भर्ना गरेको उनले बताए। 'सोचेको कलेजमा नाम निस्किए अझ राम्रो, नाम ननिस्किए पनि समयको बर्वादी नहोस् र खराब संगतमा नलागोस भनेर ब्रिजकोर्समा भर्ना गरि दिएको हुँ' भण्डारीले भने। विद्यार्थीहरूमा अतिरिक्त ज्ञान प्राप्त हुने र विद्यालय संसारबाट बाहिरी संसार चियाउने मौका मिल्ने हुनाले ब्रिजकोर्स आवश्यक भएको उनको तर्क छ।

अर्की अभिभावक सम्झना कार्की पनि ब्रिजकोर्सलाई आधुनिक शिक्षण पद्दती मान्छिन्। ब्रिजकोर्सको नाममा बढ्दो विकृतिलाई लक्ष्यित गर्दै उनले भनिन् 'वास्तवमा यो अत्यावश्यक कुरा हो तर नियमन निकाय नहुंदा विकृति बढेको छ'। ब्रिजकोर्सलाई मनपरी भन्दा पनि परामर्श एवं मार्गदर्शनका  रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ। 'यो विद्यार्थीहरूलाई मनोवैज्ञानिक रूपमा उच्च शिक्षाका लागि तयार बनाउने पद्धति पनि हो त्यसैले ब्रिजकोर्सको नाममा सिडी तथा पुस्तक किनबेचमा भन्दा शिक्षणमा जोड दिनु पर्छ' कार्कीले बताइन्।

प्रकाशित :वैशाख ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्