लोकप्रिय बन्दै ए लेभल

लोकप्रिय बन्दै ए लेभल

- एकराज सुवेदी

वैशाख ५, २०७१

एड्भान्स्ड लेभल क्वालिफिकेसनको छोटकरी रूप ए लेभल हो। एसएलसीपछिको शिक्षाको चर्चा गर्दा पछिल्लो समयमा ए लेभलको चर्चा निकै चुलिएको छ। ए लेभल सञ्चालकहरू विदेश पढ्न जान चाहनेहरूको भीडलाई नेपालमै रोक्न यो पाठ्यक्रमले निकै सहयोग पुर्‍याइरहेको दाबी गर्छन्। उनीहरू यसले गर्दा धेरै नेपाली रुपैयाँ बिदेसिनबाट जोगिएको बताउँछन्। ए लेभल नेपालको प्रमाणपत्र तह अर्थात् प्लस टु सरहको पाठ्यक्रम हो। यो तह उत्तीर्ण गरेपछि विद्यार्थीले विश्वको कुनै पनि विश्वविद्यालयमा स्नातक स्तरको अध्ययन गर्नका लागि आवेदन दिन पाउँछन्।

ए लेभल युनिभर्सिटी अफ क्याम्बि्रजद्वारा सञ्चालित कोर्स हो। क्याम्बि्रज युनिभर्सिटीको एउटा अंग क्याम्बि्रज इन्टरनेसनल एक्जामिनेसन अर्थात जिसिई बोर्ड हो। त्यसले जनरल सर्टिफिकेट अफ एजुकेसन अर्थात् जिसिई सञ्चालन गर्छ। जिसिईले गत ५० वर्षदेखि विश्वका करिब १ सय ७० देशमा लगभग ७० विषयमा ए लेभल क्वालिफिकेसन प्रदान गर्दै आएको छ।

पछिल्लो समयमा नेपालमा पनि ए लेभलको लोकप्रियता चुलिँदै गएको छ। सन् १९८६ मा बूढानीलकण्ठ स्कुलबाट प्रारम्भ भएको यो कोर्स हाल नेपालका ३४ कलेजले सञ्चालन गरिरहेका छन्। तीमध्ये विराटनगरको एक र पोखराका ३ कलेजले यो कोर्स सञ्चालन गरिरहेका छन् भने बाँकी सबै कलेज काठमाडौं उपत्यकामा छन्। ए लेभल अध्ययन गराइरहेका कलेजका प्रिन्सिपलहरू अहिले नेपालमा यसको लोकप्रियताबाट खुसी छन्। ए लेभल समयको माग भएको र विद्यार्थीका लागि पनि उपयुक्त भएकाले उनीहरू यस्तो कोर्स सञ्चालन गर्न पाउँदा गौरवको अनुभूतिसमेत गर्छन्।

चेल्सी इन्टरनेसनल कलेजका प्रिन्सिपल सुधीरकुमार झा अहिले नेपालका अब्बल विद्यार्थीहरूको रोजाइ ए लेभल भएको दाबी गर्छन्। एउटा राम्रो विद्यार्थीको सपना ए लेभल अध्ययन गर्नु हुन्छ। ए लेभलको कोर्समा अन्य कोर्सभन्दा लचकता पनि पाइन्छ। विद्यार्थीले उपलब्ध विषयमध्ये अंग्रेजी भाषा साहित्यबाट एउटा र बाँकी विषयबाट आफूले चाहेका कम्तीमा तीनवटा विषय लिन पाइने प्रावधान छ। यसमा एउटा विषयमा राम्रो अंक नआए फेरि परीक्षा दिन पाइने प्रावधानसमेत छ। परीक्षाको तालिका पनि पूर्वनिर्धारित भएकाले समयमै सबै कोर्स पूरा हुन्छ। ए लेभल अध्ययन गरेपछि विश्वस्तरीय जुनसुकै कलेजमा पनि भर्ना हुन पाइने भएकाले विद्यार्थी यो कोर्समा आकषिर्त भएको झा बताउँछन्। पछिल्लो समयमा नेपालमा ए लेभल अध्यापन गराइरहेका शिक्षकहरूको योग्यता वृद्धिमा समेत क्याम्बि्रज विश्वविद्यालयको सहयोग भैरहेकाले यसको लोकप्रियतामा अझै वृद्धि हुने झाको अनुमान छ। कमसेकम स्नातकोत्तर पूरा गरेका शिक्षक र उनीहरूका लागि पुनर्ताजगी तालिमको व्यवस्था विश्वविद्यालयले नै गराइरहेकाले त्यसो भएको झाले बताए।

जेभियर इन्टरनेसनल कलेजका प्रिन्सिपल लोकबहादुर भण्डारी ए लेभलको कोर्सलाई व्यावहारिक कोर्सको उपमा दिन्छन्। अन्य कोर्सहरूको व्यवस्थापन कमजोर छ भनेर आलोचना खेपिरहेको समयमा यो कोर्सले नेपाली विद्यार्थीलाई केही राहत दिएको छ। नेपालमा हुने राजनैतिक र अन्य कारणले गर्दा अन्य कोर्स सञ्चालक कलेजहरूले चाहेर पनि अपेक्षित नतिजा हासिल गर्न सकेका छैनन्, तर नेपालका ए लेभल अध्ययन गरेका विद्यार्थी विश्वका अन्य विद्यार्थीलाई पछि पार्दै टप लेभलमा आउन सफल भएका छन्। एसएलसीसम्म सिन्धुपाल्चोकको सामान्य स्कुलमा अध्ययन गरेका विद्यार्थीसमेत उत्कृष्ट बन्न सफल भएका छन्। नेपालमा ए लेभल अध्ययन गराइरहेका कलेजहरू अन्य देशका कलेजका तुलनामा कुनै पनि प्रकारले कम छैनन् भन्ने यो तथ्यले प्रमाणित गरेको भण्डारीको दाबी छ। हाल विश्वमा लोकप्रिय बन्दै गइरहेको अनलाइन शिक्षाको प्रयोग, अन्तर्राष्ट्रिय पहिचान आदिका कारण विद्यार्थीहरूको ज्ञानलाई निखार्न ए लेभलले ठूलो भूमिका खेलेको भण्डारी बताउँछन्।

ओरिएन्ट कलेजका प्रिन्सिपल नारायण बराल ए लेभलको अध्ययन विदेशमा गएर पढ्नका लागि मात्र हो भन्ने गलत सन्देश प्रवाह भएकोमा दुःखी छन्। ए लेभलको अध्ययनपछि विश्वका जुनसुकै कलेजमा अध्ययन गर्न सकिन्छ। यसको अर्थ नेपालका कलेजका लागि त झन् पहिलो रोजाइ हुने नै भयो। नेपालका सबै विश्वविद्यालयअन्तर्गतका कलेजहरूले यसलाई मान्यता दिन्छन्। ए लेभल महँगो शिक्षा भएको हल्ला पनि छ, तर विश्वस्तरीय शिक्षा भएकाले यो अलिकति महँगो हुनु स्वाभाविक पनि हो। दुई वर्षको अध्ययन गर्दा प्लस टु भन्दा लगभग ३०-४० हजार रुपैयाँ मात्र बढी लाग्छ। यसलाई अस्वाभाविक भन्न मिल्दैन। अहिले नेपालका प्रतिष्ठित कलेजले समेत ए लेभल अध्ययन गरेका विद्यार्थीलाई आफ्नो पहिलो रोजाइमा पार्न थालेका छन्।

लुम्बिनी कलेजका प्रिन्सिपल निलम श्रेष्ठ ए लेभललाई संसारका जुनसुकै कलेजले पनि मान्यता दिने भएकाले यसको लोकप्रियतामा वृद्धि भैरहेको बताउँछन्। अहिले विदेशमा गएर पढ्न रहर गर्नेहरू धेरै छन्, तर रहरसँगै नेपाली मुद्रासमेत बिदेसिन्छ। त्यसैले विदेशका जुनसुकै कलेजले पनि मान्यता दिने कोर्स नेपालमै अध्ययन गर्न पाएकाले नेपाली मुद्रा बिदेसिनबाट समेत जोगिएको छ। ए लेभलको कोर्समा भएको लचकताले समेत यसको आकर्षणमा वृद्धि गरेको श्रेष्ठले बताए। समयमै परीक्षा सञ्चालन, समय-समयमा पाठ्यक्रम परिमार्जन, पहिलो वर्ष गार्‍हो लागेमा दोस्रो वर्षमा समेत परीक्षा दिन पाइने व्यवस्था, विश्लेषणात्मक र गहिरिएर अध्ययन गर्नुपर्ने प्रावधान आदिका कारण विद्यार्थीको पहिलो रोजाइमा ए लेभल पर्ने गरेको श्रेष्ठ बताउँछन्। यी सबैका कारण एउटा सिर्जनात्मक क्षमतासहितको विद्यार्थीको विकास हुन्छ।

नेपालमा प्रतिवर्ष लगभग १ हजार ५ सय विद्यार्थी ए लेभल अध्ययनका लागि भर्ना हुन्छन् तर पनि सबै विद्यार्थीले ए लेभल अध्ययन गर्न भने पाउँदैनन्। यसका लागि अंग्रेजीमा राम्रो र एसएलसीमा पनि राम्रो अंक ल्याएको हुनुपर्छ। प्रवेश परीक्षा र अन्तर्वार्ताका आधारमा कलेजहरूले भर्ना लिन्छन्। कति कलेजले त ग्रुप डिस्कसनसमेत गराउँछन्। निश्चित समयमा लिने परीक्षाको मूल्यांकन र यसको प्रमाणपत्र सबै क्याम्बि्रज युनिभर्सिटीले प्रदान गर्छ। नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गर्नका लागि ए लेभल निकै उपयोगी छ। यस पछि नेपालमै आफूले चाहेको कोर्स अध्ययन गर्न सकिन्छ। विदेश जान चाहनेहरू पनि विश्वको जुनसुकै कलेजमा पनि अध्ययन गर्न सक्छन्। अध्ययनपछि नेपाल फर्केर देश सेवा गर्न सके भने नेपालका लागि यो एउटा ठूलो उपलब्धि हुन्छ। ए लेभलप्रति बढिरहेको विद्यार्थीको लहरका कारण उनीहरूको व्यक्तिगत क्षमता बढ्नुका साथै भविष्यमा देशलाई समेत निकै नै फाइदा पुग्ने आशा गर्न सकिन्छ।

ध्यान दिनुपर्ने केही कुरा

अहिले लाखौँ विद्यार्थी उच्च शिक्षा प्रवेश गर्ने तरखरमा छन्। त्यसका लागि सबैभन्दा पहिले उनीहरूले एसएलसी परीक्षाको नतिजाको स्थिति, प्राप्त अंक र आफ्नो क्षमता आँक्नुपर्छ। त्यसपछि आफ्नो रुचि कतातिर छ त्यसमा ध्यान केन्दि्रत गर्नुपर्छ।

अभिभावकसँग आफ्नो रुचिका बारेमा सल्लाह गर्नुपर्छ। साथीभाइको कुरा सुन्ने र मनन गर्ने काम पनि गर्नुपर्छ। अभिभावकको लगानी गर्ने क्षमता हेरेर मात्र कुन विषय अध्ययन गर्ने निर्णयमा पुग्नु उचित हुन्छ। आफूले पढ्न चाहेको विषय र कलेजका बारेमा साथीभाइ एवं अभिभावकसँग सल्लाह गरेर उच्च शिक्षाको प्रवेश र तयारीमा जुटे आफ्नो शैक्षिक निर्णयमा पछुताउनु पर्दैन।

शैक्षिक जगत्मा एसएलसी परीक्षाका साथै दस जोड दुई महत्त्वपूर्ण पाटो हो। त्यसैले विद्यार्थी तथा अभिभावकले विशेष चासो दिनु उचित हुन्छ। विद्यार्थीहरूमा एसएलसी पास हुनासाथ राम्रो-नराम्रो नछानी आत्तिएर तुरुन्तै एकातिर होम्मिने चलन छ, त्यसो गर्नु हुँदैन। कलेज तथा त्यसको गुणस्तर पनि बुझ्न विद्यार्थी तथा अभिभावक दुवै जुट्नुपर्छ।

हाल निजी क्षेत्रमा प्रशस्त स्कुल तथा कलेज सञ्चालनमा छन्। तिनीहरूबीच आकर्षक नारा तथा सुविधाको प्रलोभन देखाएर विद्यार्थी तान्ने होड चलेकाले छात्रछात्राहरू झुक्किन सक्ने सम्भावना पनि छ। विद्यार्थी तथा अभिभावकले अरुको भनाइमा नलागी विद्यार्थीको क्षमता, इच्छा, लगनशीलता तथा रुचि हेरेर निर्णयमा पुग्नुपर्छ। कतिपय विद्यार्थीको त लब्धांकपत्र हेरेर पनि कुन क्षेत्रमा उसले दक्षता हासिल गर्न सक्छ भन्ने कुरा छुट्याउन सकिन्छ। कतिपय कुरा त परीक्षाफलले नै देखाउँछ। हामीकहाँ एसएलसी उत्तीर्ण गर्दासम्म पनि भविष्यमा कुन क्षेत्रमा लाग्ने भन्ने कुरा स्पष्ट हुँदैन। निश्चित क्षेत्रमा जाँदा दस जोड दुई तह नै पहिलो खुड्किलो मानिन्छ। विद्यार्थीहरूले आफ्नो शैक्षिक गुणस्तर तथा दक्षताकै आधारमा विषय छनौट गर्नुपर्छ।

अहिले एसएलसी पास गर्नासाथ अलि राम्रो अंक ल्याउने अधिकांश विद्यार्थी विज्ञानतर्फ दौडने प्रचलन रहे पनि कतिपय विद्यार्थी अर्को विषयतर्फ लागेको पनि प्रशस्तै छ। हाल निजी क्षेत्रमा प्रशस्त कलेज तथा विद्यालयहरू सञ्चालित रहेकाले अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ, ठूल्ठूला भौतिक संरचना देखाएर मात्र शिक्षाको गुणस्तर राम्रो नहुने कतिपय शिक्षाविद्को ठम्याइ छ। शुल्क धेरै हुँदैमा गुणस्तर राम्रो हुन्छ भन्ने मान्यता पनि ठीक होइन, व्यावहारिक शिक्षा कस्तो छ, त्यो पनि हेर्नुपर्छ।

शैक्षिक वातावरण, शिक्षकको अनुभव, योग्यता तथा व्यावहारिक पक्षले नै विद्यार्थीलाई उचित मार्गमा डोर्‍याउँछ तर अहिले विद्यार्थी तान्न दलालको प्रयोगसमेत हुन थालेको बताइन्छ। भनिन्छ- यति जना विद्यार्थी ल्याए यस्तो र यति पुरस्कार दिने भन्ने होड पनि देखा पर्न थालेको छ।

हाल नेपालमा विद्यार्थीले एसएलसी पास गरेपछि कुन विषयमा अध्ययन गर्ने, भविष्यमा कस्तो शिक्षा लिने भन्ने विषयमा जानकारी दिने भरपर्दो व्यवस्था वा निकाय छैन। त्यसको अभावमा विद्यार्थी कुन विषय कस्तो हो, कसरी आफ्नो इच्छा पूरा गर्न सकिन्छ भन्ने विषयमा अलमलिने तथा गलत छनौटमा पर्ने गरेको पाइन्छ।

कतिपय कलेज प्रयोगशाला, पुस्तकालय तथा भौतिक अवस्थाको विज्ञापन गरेर विद्यार्थी तान्नेतर्फ लागेका देखिन्छन्, तर ती सुविधाको विद्यार्थीले कति उपयोग गर्छन् भन्ने विषयमा सोच पुर्‍याइएको पाइँदैन। कलेज छनोट गर्दा यस्ता विषयमा पनि गहिरिएर विचार पुर्‍याउनुपर्ने हुन्छ।

श्यामकुमार सिंह

प्रकाशित :वैशाख ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्