रंगमञ्चमा नयाँ पुस्ता

चैत्र २८, २०७०

रंगमञ्चमा नयाँ पुस्ताको बलियो उपस्थिति भैरहेको संकेत वर्ष २०७० ले दिएको छ। नाटकमा काम गर्ने, हेर्ने दुवैमा युवाहरूको संख्या बढ्दो छ। अहिले नेपालमा रंगकर्ममै लागेर बाँच्ने स्थिति पनि बन्दै गएको छ। वर्ष २०७० मा शिल्पी नाटक घर तथा थियटर भिलेज खुले। शिल्पीमा मञ्चन गरिएको कोमा ः ए पोलिटिकल सेक्स र प्रतिविम्ब नाट्य समूहले प्रदर्शन गरेको कोर्टमार्सल एवं थिएटर भिलेजको चारुमति नाटक दर्शकहरूले रुचाए। अभि सुवेदीको नाटक लिएर गुरुकुल भारतको कर्नाटक पुग्यो। थिएटर भिलेजमै सुबेदीको अग्निको कथा प्रदर्शन भयो। सिक्किमबाट दुईवटा नाट्य समूह आफ्नो प्रस्तुति लिएर काठमाडौं आइपुगे। पशुपति राईको निर्देशन रहेको हेत्छाकुप्पालाई पनि दर्शकले रुचाए। नेपाली रंगमञ्चले वर्षभरि नै नेपाली नाटक प्रदर्शनमै जोड दिए। नेपाली नाटक नभएका बेला प्रदर्शन हुने विदेशी नाटकले दर्शकहरूलाई फरक स्वाद दिन्छन् भन्ने मान्यता पनि देखा पर्‍यो। सानो घेरा तोड्दै नाटक हेर्ने दर्शकहरूको घेरा ठूलो भयो र विविधता पनि थपियो। स्कुल र कलेजका विद्यार्थी, नेता तथा गृहिणीहरूमा नाटकप्रति चाख बढेको पाइयो।

निजी स्तरबाट खोलिएका सर्वनाम नाटकघर, शिल्पी नाटकघर, थिएटर भिलेज तथा मण्डला थिएटर आ-आफ्नो ठाउँमा सक्रिय भए। नाटक देखाउनुका अतिरिक्त कतिपय थिएटरले नाटकसम्बन्धी तालिम दिने कामको थालनीसमेत गरे। यसबाट भविष्यमा नाट्य क्षेत्रमा प्रशिक्षित नाट्यकर्मीहरू आउने सम्भावनाको ढोका खुलेको छ। सबैजसो थिएटरमा रंगमञ्चमा पूर्णकालीन रूपमा लाग्नेहरूको संख्या उल्लेख्य रूपमा बढ्यो। व्यावसायिकताले फड्को मार्‍यो। नाटकप्रति चाख लिनेहरू बढ्दै गएको देखियो भने विदेशीहरूसमेत नेपाल आएर नाटकसम्बन्धी तालिम दिने क्रमले निरन्तरता पायो। नेपाल आउने विदेशीहरूले हाम्रा मौलिक नाटकहरू हेर्ने, केही कुरा सिक्ने क्रमसमेत देखियो। अन्तर्राष्ट्रिय रंगमञ्च समुदायसँग नेपालका नाट्य समूहहरूको सुमधुर सम्बन्धलाई पनि वर्ष २०७० ले संकेत गर्‍यो।

उपत्यकाबाहिर पनि विभिन्न नाट्य समूह सक्रिय भए। हेटौंडाको तरंग नाट्य समूहले १० वर्षका. लागि हेटौंडा जेसिजको भवन भाडामा लियो। जनकपुरमा मिथिला नाट्य समूह आफ्नै हल बनाउन कस्सियो। जनकपुरमै ओमप्रकाश कर्णको समूहले छुट्टै हल भाडामा लियो। विराटनगरमा गुरुकुल सक्रिय भयो। धरान, झापा, भोजपुर तथा धनकुटाका नाट्य समूह पनि सक्रिय भए। पश्चिममा सडक नाटक गर्ने थुप्रै समूह भए पनि मञ्चमा नाटक गर्ने कमै देखिए। सुर्खेतमा आरंग नाट्य समूह सक्रिय देखियो। जुम्ला र मुगुका नाट्यकर्मीहरू पनि जुर्मुराए। पूर्वको तुलनामा पश्चिममा पूर्वाधारहरूको समस्या छ। तैपनि रंगकर्मीहरू रहरले काम गरिरहेका देखिए। नाटक कम लेखिने बिधा हो। पहिले-पहिले नाटकहरू लेखिन्थे तर प्रदर्शनमा आउँदैनथे। अहिले नाटक प्रदर्शन गर्ने क्रम बढेको छ, तर लेख्ने प्रचलन त्यति पाइँदैन। यतिबेला नेपाली भाषामा लेखिएका राम्रा नाटकको अभाव देखिएको छ।

(रंगकर्मी सुनिल पोखरेलसँग नरेन्द्र रौलेको कुराकानीमा आधारित )

प्रकाशित :चैत्र २८, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्