चर्चामा रहनेहरु

चर्चामा रहनेहरु

चैत्र २८, २०७०

समयको आवश्यकताबोध गरेर समाजलाई प्रभावित गर्न सक्नेहरू सदैव चर्चामा आउँछन्। वर्ष २०७० मा पनि आफ्नो उपस्थितिले मुलुक र समाजका सबै वर्गको ध्यान आकृष्ट गर्न सक्ने केही व्यक्तित्व चर्चामा आए। यसरी चर्चामा आउने व्यक्तिहरूमा प्रधानमन्त्री सुशील कोइराला अग्रपंक्तिमा छन्। अघिल्लो संविधानसभा निर्वाचनमा क्षतिग्रस्त हुन पुगेको नेपाली कांग्रेसलाई संगठित गरेर कोइरालाले संविधानसभा निर्वाचन-२ मार्फत् नेपाली राजनीतिमा पुनः प्रमुख शक्तिका रूपमा स्थापित गरे। संविधानसभा-२ को गठनपछि प्रधानमन्त्री भएका कोइराला यस अवधिमा आलोचनाको पनि सिकार भए। खासगरी प्रधानमन्त्री भएपछि उनीमाथि 'सुस्त र निर्णय लिन नसक्ने' आरोप पनि लाग्यो। प्रधानमन्त्री कोइरालालाई यो वर्ष अन्तर्राष्ट्रिय मिडियाले पनि संसारकै 'सबैभन्दा गरिब सरकार प्रमुख' का रूपमा प्रमुखताका साथ कभरेज गरे। प्रधानमन्त्री निर्वाचित भएपछि कोइरालाले आफ्नो सम्पत्तिका रूपमा तीनवटा मोबाइल मात्र देखाएका थिए।

यसै वर्ष अन्तरिम सरकार प्रमुखका रूपमा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानसभा-२ को सफल निर्वाचन गराएर आफूलाई चर्चामा ल्याए। सरकार प्रमुख एवं न्यायालय प्रमुख दुवै पद ओगटेको आरोप खेपिरहेका रेग्मीले अन्ततः सरकार प्रमुखबाट अलग हुँदा प्रधान न्यायाधीश पदबाट समेत राजीनामा गरेर सर्वोच्च अदालतको गरिमा कायम राख्दै उच्च नैतिकताको उदाहरण प्रस्तुत गरे।

बितेको वर्ष मुलुकका लागि संविधानसभा-२ को निर्वाचन एउटा प्रमुख चुनौतीका रूपमा देखापरेको थियो। राजनैतिक कलह, बहिष्कारको आह्वान तथा हिंसाको धम्कीका बावजुद पनि संविधानसभा-२ को सफल निर्वाचन गराएर प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आफ्नो उपयोगिता प्रमाणित गरे। यसबापत उप्रेतीले आफूलाई जिम्मेवारी सुम्पने निकायबाट मात्र नभै नेपाली जनताबाट समेत ठूलो स्याबासी पाए।

संविधानसभा-२ कै निर्वाचनले यो वर्ष नेपालको राजनीतिमा कमल थापालाई नयाँ राजनैतिक खेलाडीका रूपमा स्थापित गर्‍यो । जनआन्दोलन-२ ले विस्थापित गरिसकेको हिन्दू राज्यको अवधारणा र राजतन्त्र दुवैको पक्षमा वकालत गरेर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संविधानसभा-२ मा चौथो ठूलो राजनैतिक शक्तिका रुपमा स्थापित भयो ।

संविधानसभा-२ को निर्वाचनपछि गठन भएको नयाँ सरकारका मन्त्रीहरूमा गफ दिएर चर्चामा आउने र काम गरेर चर्चामा आउने दुवै प्रवृत्ति देखियो । काम गरेर चर्चामा आउने मन्त्रीहरूमा अग्रपंक्तिमा रहे सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित । मन्त्री पण्डितले नेपाल सरकारको जागीर खाएर विदेशको डीभी, गि्रनकार्ड र स्थायी बसोबासको अनुमति लिएका कर्मचारीहरुमाथि कारबाही गर्ने प्रक्रियालाई अगाडि बढाएर व्यापक चर्चा पाए ।

बितेको वर्ष नेपालमा पनि आफ्ना कुरा मनाउन भोक हड्ताल गर्ने परिपाटी देखा पर्‍यो। यस्तो परिपाटीमा सबैभन्दा अगाडि देखापरे- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाड जोर्नी विशेषज्ञ डा. गोविन्द के.सी.। डा. के.सी.ले यो वर्ष चिकित्सा अध्ययनको क्षेत्रमा 'माफिया' हाबी भएको भन्दै त्यसका विरुद्ध आफ्ना माग सम्बोधन गराउन भोक हड्ताललाई मुख्य हतियारका रूपमा प्रयोग गरे र त्यसमा आंशिक सफलता पनि प्राप्त गरे। यसरी भोक हड्ताललाई हतियार बनाउने काममा डा. के.सी.लाई पछ्याउनेहरूमा गोरखाका नन्दप्रसाद अधिकारी तथा उनकी श्रीमती पनि देखा परे। अधिकारी दम्पतीले जनयुद्धकालमा माओवादीहरूबाट मारिएका आफ्ना छोराका हत्याराहरूलाई कारबाही हुनुपर्छ भनेर अन्नपानी बहिस्कार गरे। माग सम्बोधन नभएकाले उनीहरूको भोक हड्ताल अझै पनि जारी छ। यसैगरी वर्षको अन्ततिर फौजदारी अभियोगसम्बन्धी संयुक्त राष्ट्रसंघले जारी गरेको 'रोम विधान' लाई नेपालले अनुमोदन गर्नुपर्छ भन्ने माग राख्दै मानव अधिकारवादी कृष्ण पहाडी पनि भोक हड्तालमा उत्रिए। पहाडीले आफ्नो स्वास्थ्य नाजुक बन्दै गएपछि अनसन स्थगित गरेका थिए।

समाजसेवा सजिलो विधा होइन, न त यो रहर नै हो, तर झापाकी इन्दिरा रानामगरले नेपाली जेलमा रहेका बन्दीका सन्तानहरूलाई शिक्षा प्रदान गर्ने अभियान सञ्चालन गरेर नेपालमा मात्र नभै विश्वव्यापी चर्चा बटुलिन्। यस्तो कामका लागि इन्दिरालाई बालबालिकाका क्षेत्रमा नोबेल पुरस्कार मानिने स्वीडेनको वल्र्ड्स चिल्ड्रेन प्राइजमा मनोनयन गरियो।

यो वर्ष मुलुकमा कुनै व्यक्ति आमजनताको नजरमा वास्तवमै 'हिरो' का रूपमा स्थापित भए भने ती पारस खड्का हुन् । खड्काले नेपालजस्तो पूर्वाधार नै नभएको मुलुकलाई क्रिकेटजस्तो खेलको विश्वकपमा उपस्थित गराउने काम मात्र गरेनन्, नेपालका लागि केही महत्त्वपूर्ण जितहरूसमेत निकालेर पर्याप्त चर्चा र सम्मान कमाए । यस्तै चर्चा र सम्मान कमाउनेमा फुटबलर विमल घर्तीमगर तथा क्रिकेटर नेरी थापा पनि छन् । घर्तीमगरले साफ फुटबलमा १५ वर्षकै उमेरमा प्रवेश पाएर उम्दा खेल मात्र देखाएनन्, आफ्ना लागि प्रशंसकहरूको नयाँ वर्गसमेत सिर्जना गरे । यस्तै उपलब्धि महिला क्रिकेटर नेरी थापाले पनि हासिल गरिन् । कुनै पनि फम्र्याटको क्रिकेटमा नेपालका तर्फबाट शतक प्रहार गर्ने पहिलो महिला खेलाडी नेरी थापाले नेपाली महिला क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको अनुभव गरियो ।

अहिले धार्मिक पर्यटनको महत्त्व विश्वव्यापी रूपमा बढ्दै गएको छ । यही सेरोफेरोमा नेपालका प्राचीन धार्मिक तीर्थहरूको पुनरुत्थान गर्ने अभियानमा लागेका बाल सन्त मोहनशरण देवाचार्यले यसैवर्ष सुनसरीको चतरालाई प्राचीन हरिद्वारको रूपमा पुनस्र्थापित गर्ने कामलाई मूर्त रुप दिएर पर्याप्त चर्चा बटुले । उनको यो अभियानअन्तर्गत नै अहिले चतराले शास्त्रमा उल्लेख गरिएअनुसारको पाँचौं कुम्भ स्थलका रूपमा मान्यता पाएको छ भने त्यहाँ कुम्भ मेला जारी रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धित भए पनि चलचित्र र नाटक फरक विधा हुन्। यी फरक विधामा काम गर्ने कलाकारहरू पनि फरक नै हुन्छन्, तर यसै वर्ष नेपाली चलचित्रमा महानायकका रूपमा स्थापित भैसकेका राजेश हमालले आफूलाई रंगमञ्चमा समेत प्रस्तुत गरेर समाजको सबै वर्गबाट प्रशंसा बटुले।

कला र साहित्य फरक विधा हुन्, तर नेपाली कलाकारहरूको जमातमा एउटा बेग्लै पहिचान बनाएका हरिवंश आचार्यले यसैवर्ष आफ्नो आत्मकथा सार्वजनिक गरेर नेपालका स्थापित एवं मूर्धन्य साहित्यकारहरूलाई समेत अचम्मित तुल्याए। उनको कृति 'चिना हराएको मान्छे' यो वर्ष बेस्ट सेलर मानियो। नेपालमा स्थापित कलाकारहरू सफल चलचित्र निर्माता हुन सक्दैनन् भने प्रचलित मान्यतालाई तोड्दै दीपकराज गिरीले वर्षकै सफलतम चलचित्र 'छ एकान छ' निर्माण गरेर चर्चा बटुले। उक्त चलचित्रले गतिलो चलचित्रका लागि नेपालमा पर्याप्त बजार रहेको तथ्य पनि उजागर गर्‍यो। उता गायक रामकृष्ण ढकालले विश्व संगीतकै धरोहर मानिएकी भारतीय गायिका लता मंगेसकरसँग मिलेर आफूलाई नयाँ शैलीमा प्रस्तुत गरेर चर्चा कमाए। उता यसै वर्ष आफ्नो स्वर र शैलीले श्रोता र संगीतकर्मी दुवैलाई चकित बनाएका बालगायक प्रेम परियारले भविष्य आफ्नो भएको संकेत गर्दै नेपाली संगीतको ढोका ढकढक्याए।

नेपालबाट खाली हात अस्ट्रेलिया पुगेका शेष घलेले आफ्नो चातुर्य एवं क्षमता प्रयोग गर्दै आफूलाई अस्ट्रेलियाका अग्रणी व्यवसायीका रूपमा स्थापित गरे भने त्यस्तो उपलब्धिलाई नेपालमा समेत प्रयोग गर्ने प्रण गर्दै गैरआवासीय नेपालीहरूका नेता चुनिए।

चर्चाको यही लहरमा छन्— सीमान्तकृत समुदाय राउटेका नेता ऐनबहादुर शाही। अहिलेसम्म पनि आधुनिकताले नछोएको तथा जंगलमै रमाउने राउटेहरूका नेता ऐनबहादुर शाहीले नेपाल राज्यको अस्तित्व स्वीकार गर्दै नेपालको नागरिकता प्राप्त गरे। उनको यो कदमले राउटे समुदायलाई नेपालको मूलधारमा समावेश गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ।

प्रकाशित :चैत्र २८, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्