रंगमञ्चमा नितु चन्द्राको डेब्यु

रंगमञ्चमा नितु चन्द्राको डेब्यु

चैत्र २१, २०७०

बलिउड सिल्भर स्क्रिनमा कुनै चमत्कार देखाउन नसकेकी अभिनेत्री नितु चन्द्राले हालै मात्र रंगमञ्चमा डेब्यु गरेकी छिन्। उनले उमराव जान शीर्षकको नाटकमा उमरावको भूमिका निर्वाह गर्न लागेकी हुन्। स्रोतका अनुसार यो नाटक दुबईमा मञ्चन हुँदैछ। अमेरिकामा समेत मञ्चन गरिने उक्त नाटकका सम्बन्धमा नितु भन्छिन्- इन्टरनेसनल स्टेजमा आफ्नो अभिनय प्रदर्शन गर्ने अवसरबाट म रोमाञ्चित छु। नितुले आफूलाई कहीँ कतै पनि डर पनि लागेको बताएकी छिन्। नितु रंगमञ्चको अभिनयबाट आफूले नयाँ र गम्भीर कुरा सिक्ने अवसर पाउने कुरामा ढुक्क छिन्।

इलियानाका मिस्टर राइट

बर्फीकी नायिका इलियाना डि क्रुज अभिनित 'मै तेरा हिरो' प्रदर्शनको तयारीमा छ। उक्त चलचित्रमा उनी अभिनेता वरुण धवनको जोडी बनेकी छिन्। चलचित्रमा अभिनयसँगै इलियाना वरुणबाट यो हदसम्म प्रभावित छिन् कि उनले सार्वजनिक रूपमै आफ्नो मिस्टर राइटमा अभिनेता वरुणको जस्तो व्यक्तित्व हुनुपर्छ भन्ने कुरा व्यक्त गरेकी छिन्। वरुणको व्यक्तित्व चार्मिङ, मेच्योर तथा अन्डरस्ट्यान्डिङ लागेको र आफ्नो जीवनमा यस्तै पुरुषको आगमन होस् भन्ने चाहना रहेको इलियानाले बताएकी छिन्।

जेम्सको रोजाइमा अमिताभ

हलिउड चलचित्र द मप्पेट्सका निर्देशक जेम्स बबिनले हिन्दी चलचित्रका लोकप्रिय अभिनेता अमिताभ बच्चन तथा इरफान खानसँग काम गर्ने इच्छा भएको बताएका छन्। उनी आफ्ना आगामी चलचित्रमा यी अभिनेताहरूले साथ दिए काम गर्न तयार रहेको बताइरहेका छन्। जेम्स अहिले आफ्नो नयाँ चलचित्र मप्पेट्स मोस्ट वान्टेडको प्रदर्शनको तयारीमा छन्। अब उनी द मप्पेट्सको सिक्वेलमा जुट्नेछन्। जेम्स उक्त नयाँ चलचित्रको माध्यमबाट भारतीय चलचित्रप्रेमीहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गर्ने योजनामा छन्। लसएन्जलस बस्ने निर्देशक बबिन हलिउड चलचित्रका लागि भारत उर्वर भुमी भएकाले पनि अब भारतकेन्दि्रत चलचित्र निर्माणमा ध्यान दिने बताउँछन्। बबिनले भनेका छन्- 'बलिउड र हलिउडको मिश्रणबाट जबर्जस्त परिणाम हासिल हुन सक्छ।'  

पारिश्रमिक बढाउँदै कंगना

कंगना रनावतलाई पछिल्लो चलचित्र 'क्विन' बाट पनि निकै राम्रो प्रतिक्रिया प्राप्त भयो। विशेषत: कंगनाको अभिनयको चलचित्र समीक्षकहरूले मुक्त कण्ठले प्रशंसा गरेका छन्। सम्भवत: त्यसकै परिणाम हो, कंगनाले आफ्नो पारिश्रमिक ह्वात्तै बढाएकी छिन्। ग्ल्यामरस तथा गम्भीर दुवै भूमिकामा सफलता हात पारिसकेकी कंगनाले सुजोय घोषको नयाँ चलचित्रका लागि साढे ३ देखि ४ करोड भारतीय रुपैयाँ पारिश्रमिक माग गरेको बताइन्छ।

कटरिना अब डाक्टर

पाकिस्तानी सलवार कमिजमा सजिएकी कटरिना कैफ कस्ती देखिएलिन्? भनिन्छ, पाकिस्तानी डाक्टरको भूमिकामा कटरिनालाई त्यही रूपमा उनको आगामी चलचित्र  'फेन्टम' मा देख्न पाइनेछ। चलचित्रमा उनी अभिनेता शैफ अलि खानको जोडी बनेकी छिन्। त्यसको ठीक विपरीत कटरिना अभिनेता ऋतिक रोशनसँग एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् चलचित्र 'ब्याङ ब्याङ' मा। नितान्त फरक भूमिकामा देखा पर्न लागिरहेकी कटरिनाका यी दुवै चलचित्र एकै पटक फ्लोरमा छन्।

प्रकाशित :चैत्र २१, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्