
शिल्पा पोखरेल, मोडल/नायिका
चैत्र १४, २०७०
छविराज प्रोडक्सन हाउसबाट निर्माण भएको चलचित्र लज्जाबाट डेब्यू गर्न लागेकी नायिका शिल्पा पोखरेलले १ सय ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। नवल नेपालद्वारा निर्देशित चलचित्र लज्जामा चर्चित नायक आर्यन सिग्देलसँग उनी नायिकाको भूमिकामा देखिँदै छिन्। झट्ट हेर्दा उनको लुक्स रेखा थापाजस्तो देखिए पनि अहिल्यै उनको स्थान र चर्चासँग दाँज्न नसुहाउने भएकाले यो प्रसंग पटक्कै मन नपर्ने शिल्पा बताउँछिन्। लज्जाको तयारी अन्तिम चरणमा पुगेपछि धेरै नै उत्साहित, रोमाञ्चित तथा आशावादी पोखरेलसँगको जम्काभेट :
हिजोआज केमा व्यस्त हुनुहुन्छ?
चलचित्र लज्जाको प्याकअपपछि अहिले त आराम गरिरहेकी छु।
पहिलो चलचित्रमा कस्तो अनुभव बटुल्नुभयो?
यो अवसरका लागि मैले आफुलाई भाग्यमानी मानेकी छु। छविराज प्रोडक्सन हाउससँग अनुबन्धित भएर निर्देशक नवल नेपालका साथै अब्बल नायक आर्यन सिग्देलसँग काम गर्न पाउनु खुसीको कुरा हो ।
तपाईंलाई त रेखा थापाजस्तो लुक्स भएकाले छविराज ओझाले अनुबन्धित गरेको भनिन्छ नि?
मैले १ सय ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छु। मलाई रेखा थापाजस्तो देखिएका कारण स्थान दिइएको भन्ने कुरामा विश्वास गर्दिनँ। विगतमा मैले म्युजिक भिडियोबाट आर्जन गरेको ख्याति, कार्यशैली र मप्रतिको विश्वासले नै अवसर दिनुभएको हो।
नायिका रेखा थापासँग आफ्नो नाम जोडिँदा त आनन्द महसुस गर्नुहुन्छ होला नि होइन?
होइन, मलाई उहाँजस्तो नायिकासँग नाम जोडेर आएका प्रंसग पटक्कै मन परेको छैन। म शिल्पा पोखरेल नै हुँ र शिल्पा पोखरेल नै रहन चाहन्छु।
अब म्युजिक भिडियोमा समय दिनुहुन्छ कि ठूलो पर्दालाई?
निश्चिय पनि सबैको उत्तर ठूलो पर्दा नै हुन्छ। म पनि त्यही भन्छु तर सेलेक्टेड म्युजिक भिडियोबाट आएको अवसर भने गुमाउनेछैन।
नेपाली चलचित्रमा जम्न नायिकाहरूले धेरै कुराको त्याग र समर्पण गर्नुपर्छ भन्छन् नि?
वास्तवमा नेपाली चलचित्र क्षेत्रमा नायिका तथा महिला कलाकारहरू ज्यादै आलोचित हुँदै आएका छन्, तर आफ्नो कार्यको सफल सम्पादन गर्न सक्ने क्षमता एवं आत्मविश्वास छ भने पक्कै पनि घृणित क्रियाकलापको चंगुलमा फस्नु पर्दैन।
चलचित्र लज्जामा कस्तो भूमिकामा देखिनुहुन्छ?
हाम्रो समाजमा, कार्यालयमा, सवारी साधनमा यात्रा गर्दा, एक्लै-दुक्लै हिँड्दा वा अन्य विषय प्रसंगहरूमा पनि पुरुषहरूद्वारा महिलामाथि गरिने 'सेक्सुएल ह्यारेसमेन्ट' को मैले खुलेर प्रतिवाद गरेको देख्नुहुनेछ।
- राजेन्द्र कार्की
प्रकाशित :चैत्र १४, २०७०













तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्