
मनिला सोताङ, गायिका
चैत्र १४, २०७०
'माया नमार है', 'आधी बाटो हिँडेपछि', 'हजार जुनीसम्म', 'तिमीबिना वाँच्न गाह्रो भो' जस्ता थुप्रै गीतमा हामीले मायाप्रीतिका कुरा गरेका छौं। यी गीत गाउँदा मलाई त्यतिबेलाको सम्झना हुन्छ, जतिबेला हामी (मनिला-उदय)ले एक-अर्कालाई बिस्तारै मन पराउन थालेका थियौं। हुन त सुरुको भेटमा मैले सोचेको पनि थिइनँ— हाम्रो प्रेम हुन्छ, विवाह हुन्छ र यति लामो यात्रा तय गर्नुपर्छ। देखभेट बाक्लिँदै गएपछि हामीबीच थाहै नपाई प्रेम बस्यो र हाम्रो सम्बन्धलाई जोड्ने सेतुचाहिँ संगीत भयो।
उहाँले त्यतिबेला एउटा गीत गाउनुभएको थियो, 'भावनाले भरिँदैन मेरो जिन्दगानी'। त्यही गीत सुनेर म उहाँसँग भेट्न इच्छुक थिएँ। गुरु मणिकमल क्षेत्रीले हाम्रो भेट गराइदिनुभयो। म कालिम्पोङबाट एसएलसी सकेर दार्जीलिङ आएकी। उहाँ त्यही कलेजमा अध्ययनरत। सुरुको भेटमा मैले उहाँलाई केवल साथीका रूपमा मात्र हेरें।
मभन्दा अघि नै उहाँको अर्कैसँग अफेयर थियो। पछि के कारणले हो, ब्रेकअप भयो। त्यही ब्रेकअपले गर्दा उहाँ धेरैजसो तनावमा देखिनुहुन्थ्यो। मैले सम्झाइबुझाइ गरें तर उहाँको मन सजिलै फर्किएन।
एक दिन उहाँ मेरो बर्थ डेमा आउनुभयो अनि मलाई बाहिर लिएर जानुभयो। बीच बाटोमा पुगेपछि अचानक के भयो, 'तिमी घर जाऊ' पो भन्नुभयो। त्यस किसिमको व्यवहारले मलाई नराम्रो लागिरहेको थियो। तेस्रो दिन मेरो हातमा एउटा चिठी आयो, जसमा 'नरिसाउनु है' लेखिएको थियो। मैले त्यसको सकारात्मक प्रतिक्रिया दिएँ। हामीबीच भावनात्मक सम्बन्ध बढ्दै गएपछि उहाँले प्रस्ताव राख्नुभयो। सुरुमा मलाई त्यस्तो प्रस्ताव स्वीकार गर्न गाह्रो भयो। पछि संगीतको क्लास लिएर र्फकने क्रममा 'के छ त विचार?' भनेर प्रतिक्रिया बुझ्न चाहनुभयो। मैले 'हुन्छ' भनिदिए।
त्यतिबेला उहाँ चुरोट पिउनुहुन्थ्यो। त्यसैले म चिठीसँगै चुरोट र मिठाई पठाउँथें। उहाँ पनि मलाई कानमा लगाउने झुम्काहरू पठाइदिनुहुन्थ्यो। कहिलेकाहीं फिल्म हेर्न गइन्थ्यो। त्यतिबेला डेटिङचाहिँ गएनौं र त्यसको आवश्यकता पनि थिएन। किनभने दुवै जना एकै ठाउँ संगीत सिक्ने भएकाले प्राय: भेट भैरहन्थ्यो। आउजाउ गर्दा साथै हुन्थ्यौं, बरु अहिले पो हामी ब्वाइफ्रेन्ड/गर्लफ्रेन्डजस्तो बाहिरतिर घुम्न जान्छौं।
प्रकाशित :चैत्र १४, २०७०



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्