चलचित्र 'फिटकिरी' र चलचित्र 'रागिनी एमएमएस-२'

चलचित्र 'फिटकिरी' र चलचित्र 'रागिनी एमएमएस-२'

चैत्र ७, २०७०

निर्देशक ः अनुप बराल  कलाकार ः सौगात मल्ल, दिया मास्के, शान्ति गिरी, निश्चल बस्नेत, धीरेन्द्र प्रेमर्षी, विक्रम परियार तथा रमेश रञ्जन झा। संगीतकार ः अर्जुन कुमार, गिरीश खतिवडा

यसअघि 'चपली हाइट' निर्माण गरेर उत्साहित निर्माता अर्जुन कुमारले सुमित मैनालीसँग मिलेर निर्माण गरेको चलचित्र 'फिटकिरी' को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ। रंगमञ्चमा लामो अनुभव हासिल गरेका अनुप बराल यही चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दैछन्। मेगा इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको यो चलचित्रलाई सस्पेन्स-थि्रलर भनिएको छ। नाटकहरू निर्देशन गरेर रंगमञ्चमा सफलता हासिल गरिसकेका बरालद्वारा निर्देशित पहिलो चलचित्र भएकाले 'फिटकिरी' समीक्षकहरूमाझ कौतूहलको विषय बनेको छ। रंगमञ्चबाटै चलचित्रमा स्थापित भएका सौगात मल्ल तथा दिया मास्केको जोडीले पनि दर्शकलाई सिनेमा हलसम्म तान्ने अनुमान गरिएको छ। चलचित्रमा सौगात प्रहरी अधिकृतको भूमिकामा छन् भने नृत्यांगना तथा रंगकर्मी दिया मास्केले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्। सहरी अपराधमा आधारित यो चलचित्रको पटकथा सञ्चारकर्मी यज्ञशले तयार पारेका हुन् भने पुरुषोत्तम प्रधान चलचित्रका छायाँकार हुन्। चलचित्रले काठमाडौं सहरका केही भिन्न आर्थिक-सामाजिक पृष्ठभूमिका चरित्रले भोग्ने जीवनका फरक-फरक रंग देखाउने प्रयास गरेको बताइन्छ। चलचित्रमा एउटा तिहार-गीतसमेत समावेश छ। चलचित्रको 'यो मायाको पहिरो' गीत लोकप्रिय भैसकेका छ जसमा भूपेन्द्र खड्काको शब्द तथा अर्जुनको कुमारको पाश्र्व गायन छ।

निर्देशक ः भूषण पटेल कलाकार ः सनी लियोन, प्रवीण डबास, सन्ध्या मृदुल, दिव्या दत्ता, साहिल प्रेम तथा करण मेहरा। संगीतकार ः यो यो हनी सिंह, मीत ब्रदर्स, चिरंतन भट्ट

आज शुक्रबार सार्वजनिक हुने बलिउड चलचित्र 'रागिनी एमएमएस-२' सन् २०११ मा प्रदर्शन भएको 'रागिनी एमएमएस' को सिक्वेल हो। चलचित्रको दोस्रो भागको कथा त्यहींबाट प्रारम्भ हुन्छ, जहाँ पहिलो भाग समाप्त भएको थियो। पहिलो चलचित्रमा रागिनी र उदय एउटा सुनसान स्थलमा अवस्थित घरमा डर्टी विकेन्डका लागि गएको देखाइएको थियो। उदयको योजना रागिनीलाई जानकारी नै नदिए एउटा एमएमएस बनाउनेछ। उक्त घरमा उनीहरूविरुद्ध निकै डरलाग्दा घटना घट्छन्। उदय अचानक गायब हुन्छन् भने रागिनीलाई मेन्टल अस्पतालमा भर्ना गरिन्छ। 'रागिनी एमएमएस-२' मा भने रागिनीको एमएमएस सार्वजनिक हुन्छ। एक चलचित्र निर्देशक त्यही एमएमएसमा चलचित्र निर्माण गर्न चाहन्छन्। उनले बलिउडकी एक नायिकासमक्ष रागिनीको भूमिका निर्वाह गर्न आग्रह गर्छन्। सनी लियोनले उक्त भूमिका निर्वाह गर्छिन्। ती निर्देशक एमएमएस बनेकै घरमा चलचित्रको छायांकन गर्न चाहन्छन्। चलचित्रको युनिट सुनसान घरमा पुगेपछि उनीहरूमाथि पनि डरलाग्दा घटना घट्छन्। आखिर त्यो घरमा किन त्यस्ता डरलाग्दा घटना घट्छन्, चलचित्रको क्लाइमेक्समा मात्र त्यसको रहस्योद्घाटन गरिएको छ।

प्रकाशित :चैत्र ७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्